Goraksha

National Daily

रोल्पाली बालबालिकाको गुनासो : ‘समानता र रोजगारीमा पक्षपात सुरु भयो’

दिनेश दीपु सुवेदी

रोल्पा, ५ असार । रोल्पा नगरपालिका ९ होमाका १५ वर्षीय मानदेव बुढा दुई वर्ष पहिलेबाट काठमाडौंको इट्टाभट्टा जान थालेका हुन् । उमेर सानै भएपछि उनले त्यहाँ इट्टा बनाउने काम गर्थे । दिनमा एक हजारदेखि १५ सयसम्म इट्टा बनाउने उनले मासिक १०/१५ हजारसम्म कमाउने गरेका थिए । कक्षा ६ पढ्दापढ्दै विद्यालय छोडेका मानदेवका बुबाआमा पनि बहिनीलाई विवाहित दिदीकोमा छोडेर उपत्यकातिर इट्टा बोक्ने काम गर्छन् ।

कोरोना संक्रमणको त्राससँगै देश लकडाउनमा गएपछि करिब एक महिना इट्टाभट्टाको झ्याउलीमा बिताएका उनका परिवार बन्दाबन्दीपछि पुगेका हुन् । उनी अहिले पढाई छोडेकोमा पश्चाताप गर्छन् । ‘अब त काम पाए यतै बस्ने हो, कोरोनाले लास्टै दुःख दियो’ मानदेव भन्छन् ‘उतिबेला पढ्नु पर्छ पनि कसैले भनेन अनि पैसा कमाउने लोभमा इट्टा बोक्न गइयो ।’

रोल्पा नगरपालिका–९ होमाकै १८ वर्षीया शर्मिला बुढा पनि ९ कक्षा पढ्दापढ्दै सिन्धुलीको इट्टाभट्टामा लागेकी थिइन् । उनी पनि कोरोना संकटले लखेटिएकी पात्र हुन् । बुबा सानैमा बितेकी शर्मिलाले गत वर्षदेखि इट्टाभट्टा जान थालेको बताइन् । इट्टा भट्टाको झ्याउलीलाई घर बनाएर बसेकी उनले दिनमा एक हजारदेखि १५ सयसम्म इट्टा बोक्ने गर्थिन् । दैनिक पाँच/सात सय कमाउने गरेको उनले बताइन् ।

अर्काको ठाउँमा मजदुरी गर्न अति कठिन हुने भन्दै शर्मिला पाएसम्म यतै मजदुरी गर्ने सोचमा छिन् । ‘हामीले गर्ने मजदुरी नै हो, यहाँ काम पाइँदैन’ उनी भन्छिन्–‘हाम्रो काम त सबै डोजरले गरिदिन्छ ।’ घरछेउँमा हुने निर्माणको काम विभिन्न स्वार्थका कारण डोजरका हातमा परेपछि रोल्पालीहरु बाहिरी जिल्ला भौँतारिन वाध्य छन् । ‘उमेर छ, पाए त जस्तो काम पनि गर्न सकिन्छ, सकेसम्म अब इट्टा भट्टा जान नपरोस् भन्ने चाहाना छ’ शर्मिलाले भनिन् ।

आफूभन्दा पनि साना बालबालिकाहरु इट्टा भट्टामा मजदुरीमा लागेको देखेका मानदेव र शर्मिला यतिबेला दिक्क छन् । ‘मान्छे सबै उस्तै त हो नि, कसैका छोराछोरीले मजाले खान र पढ्न पाउने हामी भने बच्चैबाट मजदुरी गर्नु पर्ने ?’ शर्मिलाको आक्रोश थियो– ‘चुनावका बेला समानता अनि रोजगारीका कुरा गरे, अहिले आएर पक्षपात सुरु भइसक्यो, राम्रो स्कूलमा पढ्न नपाए पनि खान लाउन पाए त को जान्थ्यो र इट्टा भट्टामा ?’

इट्टा भट्टाको मजदुरीले कमाएको केही पैसाको मोवाइल र कपडा किनेका मानदेव र शर्मिलाजस्ता सयौँ बालबालिका मजदुरीको खोजीमा विद्यालय छोडेर बाहिरी जिल्ला जाने गर्दछन् । अहिले रोल्पाका अधिकांश क्वारेन्टाइनमा दर्जनौ बालबालिका छन् । मजदुरीमा गएका कति बालबालिका रोल्पा भित्रिए भन्ने आधिकारिक तथ्याङ्क कोही कसैसँग नभए पनि सयौँ बालबालिका रोल्पा भित्रिएको स्थानीय बताउँछन् ।

कोरोना त्राससँगै कर्मथलो छोडेर थाँथथलो खोज्न आतुरहरु यतिबेला गृहजिल्ला भित्रिरहेका छन् । विशेष गरी मजदुरी गर्न बाहिर जिल्ला गएकाहरु आफ्नो गाउँ फर्किन हतारोमा देखिएका हुन् । रोल्पालगायत पश्चिमी जिल्लाका अतिविपन्नहरु ‘घरगाउँमा डोजरले रोजगारी खोसेपछि’ भारतलगायत उपत्यकाका इट्टा भट्टा र पोखरा, बाग्लुङ, रसुवा, पर्वत, सिन्धुपाल्चोक जिल्लामा मजदुरीका लागि जाने गर्दछन् ।

‘जनप्रतिनिधिले आफ्नो गाउँमा रोजगारी सिर्जना गर्न नसक्दा कति मतदाता बाहिर जिल्ला गएका रहेछन् भनेर प्रष्ट देखेका छन्, अबको समय उनीहरुले बाहिर जिल्ला गएका मजदुरको तथ्याङ्क राखेर गाउँमै रोजगारी सिर्जना गर्नुपर्ने देखिन्छ’–स्थानीय दलवीर घर्तीले भने । दैनिक विभिन्न नाकाबाट दर्जनौँ रोल्पाली भित्रिएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । स्वयम्सेवक परिचालन गरेर तथ्याङ्क राख्नसके आउँदा दिनमा विकासका काममा सहभागी गराउँदै निर्माण सुरु गर्नुपर्ने स्थानीय बताउँछन् ।

‘अब असामान्य स्थिति सङ्लियो भने विकास निर्माणमा स्थानीय जनशक्तिको अधिक्तम प्रयोग गर्नुपर्छ । जसले गर्दा दिगो विकास र जनशक्ति व्यवस्थापन पनि हुन्छ’–जलजला बहुमुखी क्याम्पस रोल्पाका उपप्राध्यापक गोकर्ण पुन भन्छन्–‘त्यसो गरेमा एक प्रकारले वेरोजगारीको अन्त्य समेत हुन्छ, यो समयमा स्थानीय सरकारले रोजगारीतर्फ ध्यान दिनै पर्छ, रोल्पालीहरु मजदुरीका लागि नै बाहिर जाने गर्छन् पसिनै बगाउनु छ भने आफ्नै जिल्लामा रोजगारी दिनुको विकल्प छैन ।’

‘सयाँैको संख्यामा घर आएका मजदुरहरुलाई जिल्लामै व्यवस्थापन गरेर दीर्घकालीन योजना निर्माण गर्दै आगामी दिनमा अगाडि बढ्नुको जिकल्प देखिँदैन’–रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले भने–‘हामिले जिल्ला भित्रिएका रोल्पाली मजदुरहरुलाई विभिन्न आयोजनामा परिचालन गनुपर्ने विषयमा छलफल गरेका छौँ ।’ उनका अनुसार जिल्लामा सबैले रोजगारीका लागि १२÷१५ हजार रोल्पालीलाई यतै काम लगाएर आत्म निर्भर र स्वरोजगार बनाउनुपर्छ ।

ठूलो संख्यामा मजदुरहरु जिल्ला भित्रिएको दृश्य देखेका रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी पनि अब जिल्लामै रोजगारी सिर्जना गर्ने गरी योजना ल्याउनुपर्ने बताउँछन् । केसीले भने–‘विकास निर्माण र कृषिमा मानव शक्तिको अधिक्तम प्रयोग गर्दै आगामी योजना सञ्चालन गर्नुपर्ने छ, अब घर आएकाहरु विदेश र मजदुरीका लागि बाहिर जिल्ला जानु नपर्ने गरी योजना सुरु हुन्छ ।’

देशमा गरिएको लकडाउनपछि रोल्पा भित्रिनेमा इट्टाभट्टा गएका बालबालिकाको संख्या छ । चरम गरिबी छल्न मजदुरीका लागि बाहिर जानेहरु यतिबेला घर सम्झेर आउन थालेका हुन् । जिल्लामा हुने विकास निर्माणमा स्थानीय सहभागिता नभएपछि बाहिरिनुको विकल्प छैन । विभिन्न इट्टा भट्टामा मजदुरी गर्ने बालबालिका सबै अभावका कारण त्यहाँ पुगेको बताउँछन् । नायिकेको पछि लागेर इट्टा बोक्न जाने उनीहरु भन्छन्–‘हामी उता गयौँ भने यता बाआमालाई पनि खर्च टार्न सजिलो हुन्छ ।’

फ्रिडम फोरमसंगको सहकार्यमा तयार गरिएको ।