Goraksha

National Daily

तुलसीपुरको नीति तथा कार्यक्रम : प्राथमिकतामा स्वास्थ्य, कृषि र शिक्षा

बालाराम खड्का
तुलसीपुर, ५ असार । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममार्फत् जनताको जीवन जोगाउने, आर्थिक विकास, समृद्धि र समावेशी विकासका लागि केन्द्रित भएर कार्य गर्ने भएको छ । उपमहानगरको ७औँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख घनश्याम पाण्डेले यस्तो घोषणा गरेका हुन् । उनले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको बताए ।
कोभिड–१९ को विश्वव्यापी महासंकट अहिले पनि विद्यमान रहेको भन्दै जीवन रहे भविष्यमा विकास र समृद्धि देख्न पाइने भएकाले संघ, प्रदेश र स्थानीय सरकार सबैको ध्यान जनताको जीवन रक्षा नै भएको उल्लेख गरे । ‘जीवन जोगाउने कुरा यतिबेला सबैभन्दा महत्वको विषय हो, यसैका आधारमा स्वास्थ्य क्षेत्र सुदृढीकरणलाई यस आर्थिक वर्षको सबैभन्दा महत्वपूर्ण कार्यक्रममा प्रस्तावित गरिएको छ’–नगर प्रमुख पाण्डेले भन्ने । नीति तथा कार्यक्रममा कोभिड—१९ लगायतका महामारी तथा अन्य संक्रामक रोग न्यूनीकरण कार्यक्रमलाई उच्च प्राथमिकता दिन, रोकथाम, नियन्त्रण, पूर्व तयारी र प्रतिकार्यको व्यवस्था गर्दै पालिकाभित्र जीवन बचाउने औषधि, औषधिजन्य सामग्री तथा सुरक्षा सामग्रीको सहज आपूर्ति वा भण्डारणको व्यवस्था गरिने उल्लेख गरे ।
त्यस्तै भीमसेन नगर स्वास्थ्य प्रबद्र्धन केन्द्रलाई २५ बेडको तुलसीपुर मेट्रो अस्पतालको रुपमा विकास गरिने, अन्य संघसंस्थासँग मिलेर तुलसीपुर ट्रमा तथा सामुदायिक अस्पताल स्थापना गरी सञ्चालन गर्न आवश्यक कार्य गरिने नीति कार्यक्रम छ । नेपाल संस्कृत विश्वविद्यालयसँग हातेमालो गर्दै तुलसीपुर उपमहानगरपालिकालाई आयूर्वेद, योग तथा जडिबुटी चिकित्साको हबको रुपमा स्थापित गरिने, २ वर्षभित्र उपमहानगरलाई मोतियाविन्दुमुक्त नगरको रुपमा रुपान्तरण गरी उज्यालो संसार दृष्टि नगरका रुपमा विकास गरिने, तुलसीपुरलाई स्वास्थ्य उपचारको हबका रुपमा विकास गरी सबै स्वास्थ्य संस्थाहरुमा ल्याव सेवा सञ्चालन गरिने छ । राप्ती प्रादेशिक अस्पताललाई प्रदेश सरकारको समन्वयमा विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालका रुपमा विकास गरिने र राप्ती आँखा अस्पताल, बिजौरी प्रादेशिक आयुर्वेद अस्पताल, राप्ती आयुर्वेद अस्पताललाई संघ तथा प्रदेश सरकारको समन्वयमा पूर्वाधार विकास तथा गुणस्तरीय सेवाका निम्ति सहकार्य गरी आवश्यक कार्य गरिने नीतिमा राखिएको छ ।
बेलभुण्डी कोरोना विशेष अस्पताललाई प्रदेश स्तरकै सरुवा रोग नियन्त्रण अस्पतालका रुपमा विकास गर्न संघ र प्रदेश सरकारसँग सहकार्य गरिने नीति तथा कार्यक्रम रहेको छ । कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण तथा व्यवसायीकरण गरी कृषि उत्पादनमा बृद्धि गरिने, भू–उपयोगको नीति निर्माण गरी जग्गाको वर्गीकरण गरी कृषि उत्पादनको पकेट क्षेत्र निर्धारणलाई निरन्तरता दिइने र उन्नत वीऊको प्रयोगलाई बृद्धि गर्न वीऊ उत्पादन क्षमतालाई बढाई वीऊको आयातमा कमी गर्दै किसानलाई उन्नत वीऊको सहज उपलब्धता र हाइब्रिड वीऊ प्रतिस्थापन दरमा बृद्धि गरी वीऊविजन बैंकको स्थापना गरिने नीति कार्यक्रम रहेको छ । कोभिड–१९ को महामारीका कारण घरगाउँमा फर्किएका युवाहरुलाई कृषि क्षेत्रमा गाउँघरमै रोजगार दिन जग्गा बाँझो नराख्ने नीतिलाई निरन्तरता दिँदै बाँझो जग्गाहरुमा खेती प्रणाली विस्तार गरी रोजगार सिर्जना गरिने र जग्गा बाँझो राख्नेलाई दण्ड जरिवाना गरिने छ ।
जग्गा चक्लाबन्दी गरी सामूहिक तथा व्यावसायिक खेती प्रणालीको विकास गर्नुका साथै कृषि उत्पादनको बजारीकरणका लागि वडास्तरका कृषि उत्पादनहरुलाई नगरको कृषि उपज बजार केन्द्रसँग जोडिने र कृषि उत्पादनको उचित भण्डारणको व्यवस्थापन गर्नका लागि कोल्ड स्टोर, गोदाम घर स्थापना गरी कृषि उत्पादनको क्षति र अभाव हुनबाट संरक्षण गरिने छ । कृषि क्षेत्रमा लगानी बृद्धि गर्न तथा साना कृषकहरु, कृषि व्यवसायीहरुलाई सहुलियतपूर्ण दरमा कर्जा उपलब्ध गराउन वित्तीय संस्थाहरुसँग समन्वयकारी भूमिका निर्वाह गरिने र कृषि व्यवसायीकरण तथा कृषकको बाली सुरक्षा गर्न कृषि बिमा कम्पनीहरुसँग समन्वय गरी कृषि बिमालाई प्रोत्साहन गरिने कार्यक्रम रहेको छ । नीति तथा कार्यक्रममा विश्वभर फैलिएको महामारीको कारण शैक्षिक संस्थाहरु बन्द गर्नु परेको अवस्थामा वैकल्पिक विधिबाट विद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिइने र विद्यार्थीहरुको सूचना प्रविधिमा पहँुचको आँकलन गर्न सर्वेक्षण गरी इन्टरनेट, टेलिभिजन, रेडियोका माध्यमबाट दूर–शिक्षा प्रदान गरिने व्यवस्था गरिने, सबै विद्यालयहरुलाई क्रमैसँग इन्टरनेटको पहुँच पु¥याउन विशेष कार्यक्रम सञ्चालन गरिने, ई–लाइब्रेरी र प्रविधिबाट टाढा भएका विद्यालय र विद्यार्थीहरुलाई अफलाइन डिजिटल कन्टेन्टको व्यवस्था गरिने छ ।
तुलसीपर उपमहानगरपालिकामा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई संस्कृत वाङ्मय, पूर्वीय दर्शन, आध्यात्मिक आयुर्वेदिक, प्राकृतिक चिकित्सा, वैदिक कृषि, वास्तुशास्त्र, इञ्जिनियरिङ, योग र पौराणिक शास्त्रहरुको अध्ययन र अनुसन्धान केन्द्रका रुपमा विकास गर्दै यसको समयानुकूल आधुनिकीकरण र व्यवसायीकरण गर्न विश्वविद्यालयसँग साझेदारीमा कार्यक्रमहरु सञ्चालन गरिने कार्यक्रम छ । त्यस्तै सिंचाई अन्तर्गत खेतीयोग्य सबै जमिनमा सिंचाई सुविधा विस्तार, पानी भण्डारण क्षमता बृद्धि गरी पानीका स्रोत संरक्षण र नगरका साना खोलाहरुमा हार्भेष्टिङ ड्याम निर्माण गरी सिंचाईको प्रबन्ध मिलाइने, संघ र प्रदेश सरकारको समन्वयमा ग्वारखोला र पातुखोलामा हाइड्याम निर्माण गरी सिंचाई सुविधा विस्तारका साथै आकाशेपानी संकलन गरी सिंचाई पोखरी निर्माण र परम्परागत पोखरीहरुको संरक्षण तथा विस्तारको सम्भावनाका आधारमा सिंचाई आयोजनामा मर्मत सम्भार कोषको व्यवस्था गर्नुका साथै तुलसीपुर उपमहानगरपालिका भित्रको सुख्खा क्षेत्रमा आकाशे पानी संकलन प्रविधिलाई विकास गरी प्रयोगमा ल्याइने नीतिमा राखिएको छ ।
उपमहानगरपालिका भित्रका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रसँग जोडिने भाषा, साहित्य, कला, संस्कृति र सम्पदाको संरक्षण, सम्बद्र्धन गरी प्रचारप्रसार अभियानलाई तीव्रता दिइने र विभिन्न जातजातिका स्थानीय परम्परागत कला संस्कृतिलाई सांस्कृतिक पर्यटनका रुपमा विकास गर्र्दै ऐतिहासिक तथा पुरातात्विक पर्यटकीय स्थलहरुको खोज अनुसन्धान र जिर्णोद्वार गरिने छ । छिल्लीकोटमा केवलकार सञ्चालनका सार्वजनिक निजी साझेदारीमा आवश्यक कार्य गरिने र टरिगाउँ विमानस्थलको स्तर बृद्धि, थप उडान विस्तार र इन्धन डिपो स्थापनाका लागि पहल गरिने छ । खाद्य सुरक्षा तुलसीपुरमा बेरोजगार रहेका तथा विश्वव्यापी कोभिड १९ को महामारीको कारणले रोजगारी गुमाएर भारतलगायत अन्य मुलुकबाट फर्किएका स्थानीय नागरिकको तथ्याङ्क लिएर उनीहरुको योग्यता, सीप, क्षमता र अनुभवको आधारमा वर्गीकरण गरी श्रम बैंकमार्फत् रोजगारी उपलब्ध गराइने र वेरोजगार युवाहरुलाई सीपमूलक तालिम सञ्चालन गरी वीऊ पुँजी वा प्राविधिक सहयोग उपलब्ध गराइने नीति ल्याएको छ । एक घर एक रोजगारको अभियानलाई निरन्तरता दिइने र खाद्य उत्पादन बृद्धि, सुरक्षित भण्डारण गरी शून्य भोकमरी अभियानलाई निरन्तरता दिइने छ । द्वन्द्वपीडित, जनयुद्ध तथा अन्य आन्दोलनका घाइते परिवार, शहीद परिवार, कोभिडका कारण रोजगारी गुमाउने व्यक्ति, महिला, अपाङ्गता भएका व्यक्ति, दलित र अल्पसंख्यकले सञ्चालन गर्ने उद्योग तथा व्यवसाय दर्तामा विशेष छुटको व्यवस्था गरिने नीति रहेको छ । खानेपानी तथा सरसफाई गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिने, स्वच्छ पानी स्वस्थ जिन्दगानीलाई मूर्त रुप दिन नगरका सबै घरधुरीमा स्वच्छ पिउने पानी पु¥याउने अभियानलाई निरन्तरता दिइने नीति रहेको छ । त्यस्तै तुलसीपुरको भू–उपयोगको नीति निर्माण गरी कार्यान्वयन गरिने छ ।
सार्वजनिक जग्गाहरुको संरक्षण तथा अव्यवस्थित जग्गा प्लटिङ रोकिने र कृषि र आवास क्षेत्र छुट्याएर बस्ती विकासको काम अगाडि बढाइने छ । भूमि व्यवस्थापन अन्तर्गत नगरभित्र रहेका वास्तविक सुकुम्बासीको पहिचान एवम् व्यवस्थापन गरी गैरसुकुम्बासीबाट अतिक्रमण गरिएको सार्वजनिक जग्गा व्यवस्थापन गरिने र भूमिहीन, सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया अगाडि बढाइने छ । ‘सूूचना तथा सञ्चार, दिगो विकासको आधार’ नीतिलाई प्राथमिकता दिई टेलिफोन, इन्टरनेट आदिको पहुँचलाई अभिबृद्घि गरिने छ साथै सूचनाको हकसम्बन्धी कानुनलाई व्यवहारमा कार्यान्वयन गरिने छ ।