निर्वाचन डायरी : ‘सामाजिक सञ्जालमा असामाजिक हर्कतहरू’
खेमराज रिजाल
दाङ, ११ फागुन । घोराहीको सहिदगेटमा ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा दीप प्रज्ज्वलन गरेर घर फर्केपछि मोबाइलको स्क्रीनमा तुलसीपुरको विरेन्द्र चोकमा उपस्थित एउटा भिडमा एमालेको चुनाव चिह्न अङ्कित झण्डा जलाइएको दृश्य देखियो ।
फागुन ८ गते घोराहीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्न आउने पार्टी सभापति रवि लामिछानेलगायतका नेतालाई स्वागत गर्न जम्मा भएको भिड थियो, त्यो । भिडले झण्डा मात्र जलाएन, एमाले अध्यक्ष विरुद्ध नारावाजी ग¥यो अनि स्व. राजा वीरेन्द्रको शालिकमाथि कुल्चेर तस्वीरहरू पनि लिइरहेको देखिन्थ्यो । कस्तो संयोग, साँझको दीप प्रज्ज्वलन, राति करिब १०ः०० बजे झण्डा जलाएको राप ।
उत्सवमय बन्नु पर्ने निर्वाचन नदिकिँदै गर्दा यस्ता उद्दण्ड रापले एकथरिलाई मात्र पोलेको छैन, जलाउने स्वयम् व्यक्ति, पार्टी, समाज, सुरक्षा निकाय र सरकारलाई समेत पोलेको छ । त्यही रापले करिब दुई दिनसम्म चुनाव स्थगन हुने चर्चासमेत सामाजिक सञ्जालमा पोखिन थाले । गृहमन्त्रालयले यसै घटनालाइ लिएर राष्ट्रिय सुरक्षा समितिको बैठक बस्नुप¥यो ।
चुनावी सभा आयोजना गर्ने रास्वपाले झण्डा जलाउने रास्वपा कार्यकर्ता नभई घुसपैठ भएको विज्ञप्ति जारी गर्नुप¥यो । निर्वाचन आयोगले रास्वपा जिल्ला समितिलाई यो विषयमा स्पष्टीकरण सोध्नुप¥यो । यसै सन्दर्भमा पश्चिम नेपालको सुरक्षा बुझ्न लुम्बिनी प्रदेशको बुटवल आएकी प्रधानमन्त्री सुशीला कार्कीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पुगेर शान्तिको कामना गर्नुप¥यो ।
एमालेले प्रतिकारमा कालोझण्डा मात्र देखाएन, रास्वपाको तुलसीपुरस्थित सम्पर्क कार्यालयमा समेत सामान्य तोडफोड गर्नुप¥यो । प्रहरीले मोबाइलमा खिचिएको भिडिओ अनुसन्धान गरी झण्डा जलाउनेलाई पक्राउ गर्न धेरै श्रमशक्ति खर्चनुप¥यो, अझै समस्या त पक्राउ परेका व्यक्तिलाई कस्तो कानुनी कारबाही गर्ने भन्ने विषय छलफलकै क्रममा छ । यो नियमित निर्वाचन नभएर विशेष परिस्थितिमा हुन लागेको आवधिक निर्वाचन हो ।
निश्चित उद्देश्य, लक्ष्य अनि गन्तव्यको पाइला कोर्ने निर्वाचन हो । यसलाई उत्सवमय बनाएर मताधिकार प्रयोग गर्ने अवसर मतदातालाई हो तर यस्तो उत्सवका बेला उत्पन्न हुने रापले कसैलाई पनि फाइदा, कुनै पनि पक्षबाट दिँदैन । यसो गर्दैमा न सहानुभूतिको मत बढ्न सक्ने छ, न त अर्को पक्षको मत विभाजित नै हुनेछ । खाली यसले त नेपाली नेपाली बिचको आक्रोश मात्रै पैदा गर्नेछ ।
अब निर्वाचनको मिति आउन करिब १० दिन मात्रै बाँकी छ । यी दिनलाई उद्दण्डताका रापरहित बनाउन सक्यौँ भने मुलुकले नयाँ जनादेश प्राप्त संसद् र सरकार पाउनेछ । यसैमा सबैको उद्देश्य केन्द्रित होस् । किनकि फागुन २१ गते प्रतिनिधि सभाको नेतृत्व चुन्न मतदान होइन मताधिकार जाहेर गर्ने दिन हो । दानबाट प्रतिफलको आशा गर्न सकिँदैन तर मताधिकार प्रतिफलको आशासहित हुन्छ ।
सामाजिक सञ्जालमा नकारात्मक सन्देशहरू यति चाँडै भाइरल भइदिन्छन् कि सकारात्मक सन्देशहरू भाइरल हुन त्यो भन्दा दशगुणा बढी समय लाग्नेछ । मोबाइलको स्क्रीन सार्दै गर्दा एकजना जेन–जी बहिनीले नेपाली कम्युनिस्ट पार्टीको प्रचार स्वरूप कुनै घरको छतमा राखिएको तारा अङ्कित झण्डा निकालिन, अनि पैतालामुनि राखिन् । त्यति मात्र गरिनन्, उनले त्यसको भिडियो बनाएर आफैँले सामाजिक सञ्जालमा समेत पोस्ट गरिन् ।
उक्त तस्बिर पनि यति चाँडै भाइरल भइदियो कि उनलाई तालीको होइन, लाखौँ गालीको वर्षात भयो । आफ्नै मनले हो वा कसैको सल्लाहमा, उनले त्यो झण्डा च्यातेकोमा क्षमा माग्दै अरूलाई त्यसो नगर्न सुझावसहितको अर्को भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिन् । उनी झण्डा च्यातचुत पार्दा जति उत्साहित थिइन्, माफी माग्दा उनको चेहरामा भरपूर आत्मग्लानि देखिन्थ्यो । परिणाम यस्तो हुन्छ भने यस्ता उद्दण्डताका क्रियाकलाप किन ? आक्रोशमा कि बेसुरमा … ।
यस्ता रापकै शृङ्खलामा कतिपयले नेपाली कांग्रेस पार्टीको झण्डा र चुनाव चिह्नमा पिसाबसमेत फेरिदिएका दृश्यहरू क्षणभरमै भाइरल भइदिन्छन् अनि यसो गर्नेलाई क्षणभरमै पश्चाताप र आत्मग्लानि पनि हुन्छ । के आत्मसन्तुष्टि दियो त यसले ? यस्ता उद्दण्ड क्रियाकलाप गर्ने कुन गाउँका रहेछन् ?
कसका छोरा रहेछन्, कसका बुबा रहेछन्, कसका भान्जा रहेछन्, कुन पार्टीका रहेछन् ? सारा नालीबेली जनताले खोजी खोजी जानकारी लिन लालायित देखिन्छन् । त्यसैले पनि निर्वाचनलाई उत्सवमय बनाऔँ । आफूलाई सत्य सावित गर्न अरूलाई असत्य प्रमाण्ति गर्न खोजे त्यो गन्तव्य कहिलै सार्थक हुँदैन । अरूलाई नराम्रो देखाउन त आफूले राम्रो बनेर देखाउने होइन र ? त्यसैले सामाजिक सञ्जालमा असामाजिक हर्कतहरू प्रदर्शन नगरौँ ।
