Goraksha

National Daily

उत्तरी बेल्टमा असफल बन्दै डिपबोरिङ

खेमराज रिजाल
तुलसीपुर, १६ चैत । करिब आधादशक अघि बेलझुण्डी खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाले सक्राम खोलामा डिपबोरिङ खनेर उपभोक्तालाई पिउने पानीको विकल्प खोज्यो ।

पटक पटक विभिन्न स्थानमा धसिएका डिपबोरिङ सफल भने हुन सकेनन् । अन्ततः बेलझुण्डी खानेपानी मुहान खोज्दै रोल्पा सीमासम्म पुगेर मुहानको पानी उपभोक्तालाई उपलब्ध गरायो, सहलगानी आयोजनामार्फत् । अहिले सहलगानी आयोजना सञ्चालनमा आएपछि बेलझुण्डी खानेपानीका उपभोक्तालाई अब कम्तीमा २० वर्षका लागि पिउने पानीको अभाव झेल्नु पर्नेछैन ।

तुलसीपुर खानेपानीले उपल्लो क्षेत्रमा मुहानसँगै जमिनमुनिको पानी निकाल्न डिपबोरिङबारे अभियान थाल्यो तर सम्भव नभएपछि बबईमा डिपबोरिङ गरी लिफ्ट सिँचाइमार्फत् आफ्नो कार्यक्षेत्रका उपभोक्तालाई पानी उपलब्ध गराउने अभियानमा छ । घोराही खानेपानीले पनि डिपबोरिङका विकल्प उत्तरी क्षेत्रमा असफल भएपछि अन्ततः बबई लिफ्टिङ सहलगानी आयोजना रोज्यो ।

सहलगानीको आयोजनाबाट सम्भवतः आजै शनिवार पानीको परीक्षणसमेत गरियो । आयोजना सफल देखिएको छ । खानेपानीलाई राज्यले मौलिक हकका रूपमा स्थापित गरे पनि उपभोक्ता संस्था यसको मारमा छन् । उपभोक्ताबाट मासिक शुल्क उठाउँदै गर्दा पानी नपाएर संस्थाहरू बेचैन अवस्थामा छन् ।

तुलसीपुर उपमहानगरपालिका–१८ र १९ का उपभोक्तालाई पिउने पानी उपलब्ध गराउँदै आएको तुलसीपुर–१८ आकाशीस्थित जुरपनिया मैनातारा खानेपानी तथा सरसफाइ समितिले चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट प्राप्त बजेटले डिपबोरिङबाट पानी निकाल्ने प्रयास ग¥यो तर धेरै स्थानमा त्यो सम्भव भएन । उत्तरी बेल्टमा डिपबोरिङको सम्भावना न्यून मात्र रहेको शनिवार आयोजित समितिको १०औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनमा बोल्ने खानेपानी पदाधिकारी तथा उपभोक्ता नेतृत्वले गुनासो पोखे ।

महाभारत क्षेत्रमा घटिरहेको हरियाली, पानीको रिचार्ज भइरहने ती क्षेत्रमा चुनढुङ्गाको अनियन्त्रित उत्खनन् तथा बढ्दो जलवायु परिवर्तनको असरका कारण क्रमशः दाङको उत्तरी क्षेत्रमा खानेपानीको समस्या विकराल हुने देखिएको छ ।

हरेक खानेपानी संस्थाले सतहमाथिको मुहान सुक्दै गएको मात्र नभएर सतहमुनिको भूमिगत जलस्रोत उत्तरी क्षेत्रमा सम्भव नरहेकोमा चिन्ता व्यक्त गरेका छन् । जुरपनिया मैनातारा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रामकुमार डाँगीको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा अधिवेशनमा बोल्दै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले उत्तरी क्षेत्रमा क्रमशः भूमिगत जलस्रोतको अवस्था कमजोर बन्दै गएकाले पानी चुनौतीका रूपमा देखिएको बताए ।

यसका लागि पानी रिचार्ज गर्न कृत्रिम पोखरी निर्माणदेखि मुहान संरक्षणमा समेत उपभोक्ताको ध्यान पुग्न आवश्यक रहेको उनको अभिव्यक्ति थियो । ‘विकाससँगै धेरै विनाश हुन्छन्, यसलाई सन्तुलित राख्न वातावरण संरक्षणका कार्यक्रम सँगसँगै लैजानु पर्ने हुन्छ’, प्रमुख अतिथि न्यौपानेले भने, ‘प्रदेश सरकारले अब मुहान संरक्षण तथा जलवायु परिवर्तनको बढ्दो प्रभाव न्यूनीकरणमा कार्यक्रम ल्याउनेछ ।’

साधारणसभामा शुभकामना व्यक्त गर्दै विशिष्ट अतिथि तथा ग्रामीण तथा सहरी खानेपानी महासंघका केन्द्रीय अध्यक्ष खेमराज वलीले सरकारले पिउने पानीलाई मौलिक हकका रूपमा राखे पनि कार्यान्वयन भने चुनौतीपूर्ण रहेको बताए । मुनाफारहित यस्ता संस्थामा सरकारले आयकर लिनु अर्को दुर्भाग्य रहेको उनको अभिव्यक्ति थियो ।

‘सिँचाइका लागि सरकारले विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिने तर पानी वितरण प्रणालीमा खर्च हुने विद्युत महसुलमा भने शून्य प्रतिशत छुट यो कस्तो मौलिक अधिकार हो ?’, अध्यक्ष वलीको प्रश्न थियो । सोही अवसरमा बोल्दै बेलझुण्डी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष प्रदीप गौतमले सरकारले उत्तरी क्षेत्रमा चुनढुङ्गा उत्खनन्को अनुमति दिँदा जिल्ला क्रमशः सुख्खा मरुभूमीकरणतर्फ उन्मुख भएको बताए ।

‘कौडीका भाउमा चुनढुङ्गा बेचिँदैछ, यसले हामीलाई पानी सङ्कट ल्याएको छ’, अध्यक्ष गौतमले भने । पानीको रिचार्ज हुने चुनढुङ्गाको उत्खनन्मा सरकार गम्भीर हुनु पर्ने उनको अभिव्यक्ति थियो । जुरपनिया मैनातारा खानेपानीका उपाध्यक्ष शेषमणि कुवरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा समितिका सचिव दामोदर बस्नेत (राकेश)ले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष यम केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष यकमान्त भण्डारी, छर्छरे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव शंकर नेपाली, रास्वपाका प्रतिनिधि शिवराज केसी, नेपाली कांग्रेसका प्रतिनिधि वीरेन्द्र खड्का, एमालेका दामोदर न्यौपाने, नेपाली कम्युनिष्टका डिल्ली दँदेल, संस्थाका पूर्वअध्यक्ष शेरबहादुर खड्का तथा संस्थाका सल्लाहकार हिमबहादुर डाँगीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभा तथा अधिवेशनमा आर्थिक अवस्था कमजोर भएर पनि संस्थामा नियमित रूपमा महसुल बुझाउने उपभोक्ता द्वय जानकुमारी घर्ती र मोहन कमीलाई सम्मान गरिएको थियो । साधारणसभाको सहजीकरण सचिव बस्नेतले गरेका थिए । साधारणसभाको बन्दसत्र जारी छ । साधारणसभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।