Goraksha

National Daily

उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी निरीक्षक पाण्डेय सम्मानित

देउखुरी,१९ चैत । जिल्ला प्रहरी कार्यालय दाङले वडा प्रहरी कार्यालय लमहीमा कार्यरत प्रहरी निरीक्षक रोशनराज पाण्डेयलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र गढवा दाङको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो । “प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२” लाई शान्त, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै पाण्डेयलाई प्रशंसापत्र प्रदान गरिएको हो ।

त्यस्तै चैत ७ गते कपिलवस्तु जिल्लामा धार्मिक विवादका कारण संवेदनशील अवस्था सिर्जना भएको समयमा उनले धैर्यता, संयमता तथा विभागीय नीति–निर्देशनअनुसार उच्च जिम्मेवारीका साथ खटिँदै सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम गर्न अनुकरणीय भूमिका खेलेको प्रशंसापत्रमा उल्लेख गरिएको छ ।

नवनिर्मित भवन उद्घाटनका लागि दाङ आउनु भएका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी निरीक्षक पाण्डेयलाई उक्त प्रशंसापत्र प्रदान गर्नु भएको हो । प्रहरी निरीक्षक पाण्डेयको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।