Goraksha

National Daily

आजदेखि एसइई : पाँच लाखभन्दा बढी परीक्षार्थी सहभागी हुँदै

दाङ,१८ चैत । आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक विष्णुप्रसाद ज्ञवालीले एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् ।

उनका अनुसार यस वर्ष पाँच लाख १२ हजार ४७१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । एसइई परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । एसइई लागि देशभरका एक हजार ९६५ वटा र जापानमा एउटा गरी कुल एक हजार नौ सय ६६ परीक्षा केन्द्र तोकिएको छ । उपनियन्त्रक ज्ञवालीले परीक्षामा ११ हजार ३७० विद्यालयका विद्यार्थी सहभागी हुने जानकारी दिएका छन ।

सबैभन्दा बढी परीक्षार्थी काठमाडौँमा रहेका छन् भने सबैभन्दा कम मनाङमा छन् । काठमाडौंका एक सय ३५ वटा परीक्षा केन्द्रबाट ४१ हजार १५५ जना विद्यार्थीले परीक्षा दिँदैछन्। सबैभन्दा कम मनाङमा एउटा परीक्षा केन्द्रबाट ३७ जना विद्यार्थीले परीक्षा दिनेछन् । जापानमा रहेका केन्द्रबाट २३ जना विद्यार्थी सहभागी हुने छन् ।

यसवर्ष ग्रेड वृद्धिका लागि ६५ हजार ८९५ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन । एक पटक परीक्षामा असफल भएका विद्यार्थीलाई कम्तीमा तीन पटकसम्म परीक्षा दिने अवसर प्रदान गरिएको छ । बोर्डका अनुसार यस वर्ष कोशी प्रदेशमा ८२ हजार ४८७, मधेसमा ९० हजार २४३, बागमतीमा एक लाख नौ हजार ५१३, गण्डकीमा ४३ हजार ९७२, लुम्बिनीमा ९१ हजार ८०२, कर्णालीमा ३९ हजार ७६९ र सुदूरपश्चिममा ५४ हजार ६३५ परीक्षार्थी सहभागी हुँदैछन् ।