Goraksha

National Daily

के अब राजनीतिक दल सुध्रिएलान् ?

पहलमान घर्ती

भदौ २३ र २४ गते भएको जेन–जी युवारुको विद्रोहले अप्रत्यासीत रुपमा सत्ता परिवर्तन भइ गैर दलीय रुपमा सत्ता सञ्चालन भएपछि अहिले फेरी एउटा बहस सतहमा आएको छ,के अब राजनीतिक दल सुध्रिएलान् ? संविधानले परिकल्पना गरेभन्दा बाहिर गएर सत्ता सञ्चालन भएपछि मुलुकको राजनीतिक अवस्था शून्यता पुगेको छ । सँगै अर्को बहस पनि सुरु भएको छ, राजनीतिक दल सुध्रिन्छन् की सुध्रिदैनन् । के पुरानै शैलीबाट राजनीतिक दल अहिलेको परिस्थितिमा अगाडि बढ्लान् ।

मुलुकका अधिकांश सरकारी निकायमा रहेको व्याप्त वेथिति, भ्रष्टाचार, कुशासनको अन्त्य गर्दै देशमा सुशासन, पारदर्शीता, जवाफदेहीताको माग गर्दै भदौ २३ र २४ गते देशका अधिकांश ठाउँमा जेन–जी युवाले आन्दोलन गरे । २३ गते शान्ति पूर्णरुपमा गर्ने भनिएको आन्दोलनमा राज्यले अधिक बल प्रयोग गर्दा आन्दोलनकारीले ज्यान गुमाएपछि २४ गते देशभरकै आन्दोलनकारी आक्रोसित भए । राज्यको नियन्त्रण बाहिर आन्दोलन गएपछि राज्यले ठूलो क्षति व्येहोर्नु परेको छ ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वाेच्च अदालत, संसद भवन, सरकारी निकायमा आन्दोलनका बेलामा क्षति पुगेको छ । आन्दोलन हिंसात्मक बन्दा ठुलो मात्रामा मानवीय र भौतिक क्षति व्येहोर्नु परेको छ । समग्र आन्दोलनका बेलामा भएका ज्याजती अध्ययन गर्नका लागि सरकारले छानविन समिति बनाएको छ । मुलुकमा रहेको व्याप्त वेथिति, कुशासन, भ्रष्टाचारलाई देखेर मानिस वाक्क भइसकेका थिए । जेन–जी युवाको आन्दोलनकै कारण केपी शर्मा ओली नेतृत्वको सरकार अप्रत्यासीत रुपमा बहिरगमन हुनपुग्यो र अहिले मुलुकमा गैरदलीय सरकार सञ्चालन भइरहेको छ ।

जेन–जी युवाको आन्दोलनको मुद्दालाई हेर्ने हो भने मुलुकमा रहेको बेथिति, भ्रष्टाचार, कुशासन अन्त्य गर्दै सुशासन, पारदर्शीता, जवाफदेहिता कायम गरौ भन्ने छ । भ्रष्टाचारीलाई कारवाही गर्न र नियन्त्रण गर्न राज्यका निकाय रहेका छन् । तर, ती राज्यका निकायले गरेका काम कारवाहीबाट जेन–जी युवा सन्तुष्ट हुन सकेनन् । यसमा खास बुझ्नु पर्ने कुरा के छ भने, राज्यका निकायले गर्ने भ्रष्टाचारसम्बन्धी काम कारवाही केही मात्रा प्रतिशोधपूर्ण पनि रहेका थिए भने भ्रष्टाचारसम्बन्धी उजुरी न्यायिक निकायमा नलगी आफैले पनि मुद्दा नचलाउने निर्णय गर्दथे । यी भए ठुला भ्रष्टाचारका बारेमा हुने छानविन र न्यायिक फैसला ।

जेन–जी युवा स–साना कुरामा पनि भ्रष्टाचार भएको वा विभिन्न माध्यमबाट भ्रष्टाचारजन्य कुरालाई प्रोत्साहित हुने काम गरेको गुनासो उनीहरुको थियो । जस्तो कुनै ठाउँमा अनुदानका लागि उस्तै प्रकृतिका व्यवसाय भएका मानिसलेसँगै अनुदानको आवेदन पेस गर्छन् तर समान प्रकृतिको व्यवसाय भए पनि कुनै राजनीतिक दलको नेता वा उस्को वरिपरी घुम्ने, नेतालाई कुनै पनि माध्येमबाट सघाउ पु¥याएको मानिसले अनुदान पाउने र गाउँको सोझो साधारण मानिसले राज्यका त्यस्ता सुविधा उपभोग गर्न नपाउएको स्थिति देखेका थिए । ठुला भ्रष्टाचारसँगै स–साना कुरामा पनि सुधारको आवश्यक जेन–जी युवाले देखेका थिए ।

सँगै ठूला भ्रष्टाचारलाई दलीयकरण गरेर केहीलाई जोगाएको, जोगाउन खोजेको र प्रतिशोधपुर्ण रुपमा मुद्धा अगाडि बढाएको जेन–जी युवाले पनि देखेकै थिए । उनीहरुले खासमा नियम, कानुन र संविधान अनुसार काम भयोस् भन्ने चाहान्थ्ये । हाम्रो कर्मचारीतन्त्र पनि कस्तो गजवको छ भने, कुनै नेताको नाम लगेर कार्यालयमा गयो भने उसको नहुने काम पनि सहजै रुपमा अगाडि बढ्छ । तर, गाउँको कुनै साधारण मानिस कुनै अड्डामा पुग्यो भने उसको नियम, कानुन अनुसार सहजै रुपमा हुने कामलाई पनि यत्ति धेरै दुःख दिइन्छकी त्यो मानिसलाई कहिलै त्यो ठाउँमा जान नपरोस् भन्ने गरेर फर्किने गरी ।

त्यसमाथि पनि त्यो कर्मचारीको रुखो व्यवहारको त कुरै गरी साध्यै छैन् । यस्तो रुखो व्यवहार गर्ने कर्मचारी फेरि कुनै नेताको मान्छे हो, भन्ने थाहा पाउने वित्तिकै सर्पलाई गरुलको छायाँ परेजस्तै व्यवहार गर्ने गर्छन् । यो सबै सिस्टम पद्धती विगारेको राजनीतिक दल र तिनका स्टेक होल्डरले हो । २०६२÷०६३ को जनआन्दोलनपछि मिलिजुली बाडिचुडि सत्तामा पुग्ने,सत्तामा पुगेपछि आफ्ना नातेदार र वरिपरी घुम्ने आफ्ना कार्यकर्ता बाहेक अरुलाई हाम्रा नेताले जनता नै देखेनन् । त्यसैको परिणाम स्वरुप जेन–जी विद्रोहो भएको हो ।

नातागोता र आफ्ना वरिपरी घुम्ने कार्यकर्ताको राजषी जीवनशैली भएको जस्तै, अन्य जनताको जीवनशैली पनि त्यस्तै छ भन्ने नेतालाई लाग्यो र वरिपरी घुम्नेले जे भन्छन् त्यही ठिक हो भन्ने नेताकै कारणले आजमुलुक संविधानको मर्म विपरित चल्न बाध्य भएको हो । संविधान विपरित मुलुकको सत्ता सञ्चालन हुने स्थितिमा पु¥याउने यिनै राजनीतिक दल र तिनका नेता हुन् । खासमा नेताले आफ्ना नातागोता र सधै आफ्नो वरिपरी घुम्ने कार्यकर्ताको मात्रै पक्षपोषण गर्दा आजको स्थितिमा देश पुगेको हो । नेताका वरिपरी घुम्ने कार्यकर्ता बाहेक आम मतदाताले चाही सबैलाई समान व्यवहार चाहेका हुन्छन् ।

तर, हाम्रा नेताले आफ्नो पार्टीको पनि आफ्नो वरिपरी घुम्ने बाहेककालाई जनता नै मान्न छोडेको धेरै भइसकेको थियो । नेताले मुलुकलाई यस्तो सिर्जना गरिसकेको थिएकी उनको भनसुन बिना कहीँ कतै काम नै हुँदैन जस्तो । नियमित प्रक्रियाबाट हुनु पर्ने कर्मचारीको सरुवा, बढुवामा समेत नेतालाई घुस दिनु पर्ने अवस्था सबै समक्ष जग जाहेरै छ । यो कुरा आम जनताका लागि सह्यै थिएन । जेन–जी पुस्ता यो कुराको सुधार भएको हेर्न चाहन्थ्यो तर नेताहरु सुधार गर्नुको सट्टा सत्तामा पुग्ने वित्तिकै भ्रष्टाचारीको संरक्षण गर्ने, विचौलियाको रजगज हुने गरी काम कारवाही अगाडि बढाउने गरेका थिए । २०६२÷०६३ को जनआन्दोलनपछि मिलिजुली सरकार सञ्चालनमा पुगेका सबै नेता मन्त्रीले यस्तो काम गर्दै आएका थिए ।

मानवीय हिसाबले मान्छेका आवश्यकता हुन्छन् । यसको अर्थ यो होइन की देशै लुट्नु । स्वभाविक रुपमा मानिसमा इच्छा, आकांक्षा हुन्छन् नै तर हाम्रा नेता यत्ति धेरै इच्छा, आकांक्षा प्रकट गरेकी अर्बौबाट भ्रष्टाचारको मुद्दा लाग्ने गरेर । आम मानिसको जस्तै नेताका पनि आवश्यकता हुन्छन् भनेर राज्यले सावर्जनिक पदधारण गरेका मानिसलाई राज्यबाटै विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ । तर, हाम्रा नेतालाई त्यो सुविधाले पुगेन र थप भ्रष्टाचार वा त्यस्तै प्रकृतिको क्रियाकलापमा संलग्न हुँदै आएका थिए । चुनावमा जाँदाबाटै सुरु हुन्छकी फलानाले यत्ति पैसामा टिकट किन्यो भनेर । यसको सार जनताले बुझेको जस्तो नहुन सक्छ । तर, हावा नचली पात हल्लिन भन्ने कुरा पनि सत्य हो ।

नेताले तल्लो तहमा चुनावको टिकट दिँदा यत्तिसम्म बनाइसकेका थिएकी, दिनरात चाकरी गर, की पैसाले टिकट किनेर जाउ भन्ने अवस्थामा पु¥याएका थिए । यसमा पैसा नहुने र जीवन नै राजनीतिमा लागेर सकेकालाई यो कुराले पूर्णरुपमा निरासा बनाएको थियो । निर्वाचनका बेलामा नेताले मुठ्ठाका मुठ्ठा पैसा खर्च गरेका सबैले देखेकै छन् । त्यत्रोको पैसा कहाँबाट आउँछ, नेताका न नियमित रुपमा आउने कुनै स्रोत नै हुन्छन् । यस्ता कुरामा जनताले पारदर्शीता खोजेका हुन् ।

यसका बिच पनि अहिलेको परिस्थिति अनुसार दल सुध्रिनन्छन् की सुध्रिदैनन् भन्ने आम मानिसलाई चासोको विषय बनेको छ । सुध्रिनु भनेको नेतृत्व परिवर्तन मात्रै हो भन्ने होइन । पुराना नेतामा पनि नविन्तम सोच, विचार, काम गर्ने नयाँ शैली, समयसापेक्ष दृष्टिकोण हुनसक्छ । तर, हाम्रापुराना नेताबाट त्यस्तो कुनै सम्भावना वा दृष्टिकोण देखिइएन र र त्यो जेन–जी आन्दोलनले पुष्टि गरिसको छ । आफ्ना कमजोरी सच्याउँदै, चरित्र, नीति, संगठन र नेतृत्वलाई सुधार्दै देश र जनताप्रति जिम्मेवार बन्नु राजनीतिक दल र तिनका नेताको मुख्य दायित्व हो ।

तर, यतातिर कुनै दलको ध्यान गएको देखिएन । भ्रष्टाचार नियन्त्रण, शक्ति सन्तुलन, जनताप्रति जवाफदेही, सुशासन, पारदर्शिता र जवाफदेहिता सहितको निर्णय, समय सापेक्ष नीतिगत र कानुनी सुधार हुनु अहिलेको आवश्यकता हो । सत्ता सञ्चालन गर्दा हाम्रा दलले यस्ता कुराको कुनै महसुस नै गरेनन् भने पार्टीमा रहेका अधिकांश नेता मुल नेतृत्वको चाकरी गर्नमै व्यवस्त भएर अहिले पनि नेता सुध्रिने छाटकाट कतै देखिन्न ।

अहिलको परिस्थितिमा पनि पार्टीलाई सुधार गरेर अगाडि लैजानेभन्दा पनि अधिकांश नेता मुल नेतृत्वको चाकरी गर्नमै व्यवस्त छन् । आफ्नो भिजन प्रस्तुत गरेर अगाडि बढ्नेभन्दा पनि मुल नेतृत्वको आर्शिवाद बिना अगाडि जान सकिन्न भन्ने अधिकांश नेतालाई लागेको छ । मुल नेतृत्वले पनि आफ्नो वरिपरी चाकरी गर्ने बाहेक अरुले भनेको कुनै पनि कुरा सुन्दैनन् । मुल नेतृत्वले चाकरी चाहने र अन्यले नेता चाकरी गर्नमै व्यस्त हुँदा मुलुकको परिस्थिति बिग्रिदै गएको थियो । अनि अर्को कुरा मुल नेतृत्वको चाकरी गर्दै सत्तामा आफू नभए पनि रजगज गर्ने दाउँमा अरु नेता देखिन्छन् । यस्तो प्रवृत्ति देखेर पुराना नेताले स्वस्फुर्त रुपमा राजनीतिबाट बिदा लिएको हेर्न आम जनताले चाहेका छन् । चुनावमा जनताले हरायको खण्डमा बाहेक नेता आफै सुध्रिने वालाका चाही छैनन् ।

दल, नेता वा कुनै शासक सुध्रिनु भनेको वेथिति, भ्रष्टाचार वा त्यस्तै प्रकृतिका काम उप्रान्त नगरोन् र मुलुकमा सुशासन, पारदर्शीता, जवाफदेहिता होस् भन्ने हो । यो देशमा रहेको व्यप्त भ्रष्टाचार, वेथिति र भनसुन प्रवृत्ति सुध्रियोस् भन्ने हो । यसका लागि दल पहिला सुध्रिन आवश्यक रहेको छ । राजनीतिक शून्यमा पुगेको अवस्थामा धेरै दलले आधिकारीक रुपमा कुनै प्रतिक्रिया दिएका छैन् । १÷२ दिन संसद विघटन गरेको विज्ञप्तिमार्फत् विरोध गरे पनि अन्य कुरामा दल बोलेका छैनन् । फागुन २१ मा तोकिएको चुनावपछि कसले राज्यसत्ता सञ्चालन गर्छ त्यो पछिको कुरा हो । जेन–जी आन्दोलनले अहिले राजनीतिक शून्यतामा पुगेको, अवस्थामा दलले आफूलाई कसरी प्रस्तुत गर्छन्, आम चासोको विषय बनेको छ ।

जेन–जी आन्दोलनपछि पुराना नेताका उपदेयता सकिएको छ । यिनै नेताका कारणले जेन–जी आन्दोलन गर्न बाध्य भएका हुन् । दल र नेताका बारेमा माथि जे जति उल्लेख गरिएको छ, त्यसले पनि पुराना नेताको आवश्यकता सकिएको देखाउँछ । यिनिहरु सुध्रिदैनन् भन्न धेरै गाह्रो मान्नु पर्ने अवस्था छैन । यी नेता आफै सक्किलान तर, सुध्रिदैनन् । दलका प्रमुख र राज्य सत्तामा पुगेका नेताले यत्तिसम्म वेथिति सिर्जना गरेकी अब जनताले विश्व गर्ने सिन्को भरको आधारसम्म राखेका छैनन् । यसमा राजनीतिक दल खराब भन्ने पक्कै होइन मात्रै दलमा आवद्ध भएका मानिसको प्रवृत्ति खराब हो । यी पुराना नेताको प्रवृत्ति सुधार हुने कतै पनि देखिँदैन ।

खास गरी प्रवृत्तिको सुधार हुन आवश्यक रहेको छ । संस्थामा पनि थोरै धेरै कमी कमजोरी हुन सक्लान्, तर नेताका प्रवृत्ति चाही अत्यास लाग्दो छ । जनताले यो कुराको सुधारा खोजेका हुन् । जुन व्यक्ति शासक बनेर जान्छ उसका प्रवृत्ति देखेर जनता आजित भइसकेका थिए । दल र तिनका नेताले अब प्रवृत्ति सुधार गर्न आवश्यक छ । नत्र भने आम निर्वाचनमार्फत् जनताले नै त्यसको फैसला गर्नुपर्छ ।
अहिलेकै अवस्थामा दल चुनावमा जादा दलको कस्तो परिणाम आउँछ भन्ने पनि आम चासोको विषय बनेको छ । दलको परिणाम अपेक्षाकृत त कहिलै हुन्न उनीहरुका लागि । तर, अहिलेकै अवस्थामा दलले आफूलाई नसच्च्याए नसोचेकै परिणाम चुनावमा व्येहोर्नु पर्ने अवस्था आउँछ । किनभने अहिलेको समाज र मतदाताले परिवर्तन खोजेका छन् । त्यसैको एउटा रुप हो जेन–जी आन्दोलन ।