Goraksha

National Daily

नैतिकताको कसीमा मानव मूल्य

भुवन पोख्रेल
आज मानिस नैतिकता विहीन भएको । ढाँट, छल, कपट, चोरी, डकैतीमा मानिस बढी तल्लीन हुन थालेको छ । मानिसले नैतिकता भन्ने कुरा नै भुलेको छ । नैतिक सशक्षा आजको आवश्यकता जस्तै बनिसकेको छ ।

नैतिकता सिक्ने थलो घरपरिवार र विद्यालय हो यही विद्यालयले ठुलो मान्छे होइन, असल, कर्तव्यनित्य र इमानदार व्यक्ति बनाउन जोड दिनुपर्छ तर आजको शिक्षाले त्यो गरेको देखिँदैन । पहिले–पहिले शिक्षामा व्यक्तिको नैतिक मूल्यमान्यता, इमानदारिता, सहिष्णुता र कर्तव्य जस्ता विषयलाई प्राथमिकतामा राखिन्थ्यो र त्यही अनुसारको जनशक्ति उत्पादन हुन्थे । नैतिक शिक्षाको अभावकै कारण देशमा अहिले गुण्डा गर्दो, तोडफोड, प्राकृतिक सम्पदाहरुको अवैज्ञानिक दोहन र संस्थागत भ्रष्टाचार फस्टाउँदै आएको छ । नैतिक शिक्षा कमजोर भएको अवस्थामा स्वच्छ परिवार, स्वच्छ समाज, स्वच्छ देशको परिकल्पना नै गर्न सकिँदैन ।

तसर्थ सभ्य, सु–संस्कृत र समृद्ध समाज र देश निर्माणका लागि नैतिक शिक्षामा जोड दिनु आजको आवश्यकता हो । हातमा पीएचडी र स्नातकोत्तरको प्रमाणपत्र बोक्दैमा मानिस नैतिकवान हुँदैन ।
नैतिकवान हुन त उसको व्यवहार र चरित्र असल हुनु जरुरी छ । नैतिकता विहीन मान्छे धागो बिनाको चंगा वा लगाम बिनाको घोडा जस्तै भइदिन्छ । जब व्यक्तिमा नैतिक ज्ञान हुन्छ र व्यवहारमा लागु गर्दछ तबमात्र समाज सकारात्मक तरिकाबाट अगाडि बढ्दै व्यक्तिमा सदाचार, विनम्रता सद्भाव, प्रेमभाव, श्रद्धा, परोपकार, दया, माया, निष्ठा जस्ता सकारात्मक पक्षले स्थान पाउने छन् ।

अहिलेको समाज यही ढंगबाट अघि बढ्ने हो भने बुढा मातापिता घरबाटै तिरस्कृत भई माया ममताको भोको हुने छन् । एउटै पेटबाट जन्मेका दाजुभाइ दिदिबहिनी पनि टाढिँदै जाने छन् । घर परिवार भित्रै एकअर्काको शत्रु बनेर निस्कने छन् । एकले अर्कोलाई सताउने, हेप्ने, निचो देखाउने र आफू माथि पर्ने जस्तो मानवीय प्रवृति हाबी भइरहेको छ । एउटै परिवारका सदस्यहरु पनि मिलेर बस्न नसक्ने परिस्थिति सिर्जना भएको छ ।

मान्छेलाई सामाजिक सञ्जालमा रमाउने, फजुलमा समय र पैसा खर्च गर्ने गर्ने बानी परेको छ । कुनै दुर्घटना भइहाल्यो भने त्यहाँ गएर उद्धार गर्ने मानवीय प्रवृति हराइसकेको छ, बरु क्यामेरा खोलेर फोटो, भिडियो, खिच्ने र सामाजिक सञ्जालमा भाइरल हुने प्रवृति मँैलाएको छ । दुःखीलाई सहयोग गर्न, राम्रो कुरा सिक्न, सिकाउन र सुन्न एक आधाजनालाई मात्र समय मिल्छ ।

मानव सभ्यताको इतिहास वर्ग संघर्षको इतिहास थियो । पहिले सरलबाट जटिल त अहिले जटिलबाट झनै जटिल तिर यो इतिहास मोडिँदै आएको छ, मानिसले आज मानिस चिन्दैन । स्वार्थ पूरा गर्न मानिसले मानिसको टाउको छिनाउन पनि हात काम्पदैन । कलम चालउने हातहरु आज हतियारमा भर पर्दै छन् । रगतले रगतको नाता बिर्सदै छन् । यस्तो नैतिकता र व्यवहारिकता हराइरहेको बेला नैतिक शिक्षाको आवश्यकता खट्किरहेको छ ।

सार्थक जीवनका लागि नैतिक मूल्य र मान्यता अपरिहार्य सर्त हो । जब मानिस नैतिक मूल्य, मान्यता र आदर्शबाट विमुख हुन्छ, त्यो समाजको कलंक हो । अन्याय, अत्याचार, भ्रष्टाचार, चोरी, लुटपाट, आतंक र अराजकर्ताको जन्म त्यहीबाट हुन्छ । त्यसकारण गल्ती नै नगर्ने र कारबाही गर्नु नपर्ने शिक्षा आवश्यक छ । हिजो हाम्रा अग्रज र हामीले पढेका नैतिक शिक्षा हटाउँदा आजको पिढीमा परेको दुस्प्रभाव र नैतिक विचलनले यही कुरालाई पुष्टि गर्दछ ।

हाम्रो धर्म, परम्परा, नैतिक मूल्य र मान्यताको जग भत्काइँदा आफ्ना आमाबाबु, गुरु, मान्यजन र अग्रजहरुप्रति गर्नुपर्ने मानसम्मान, मर्यादा र सामाजिक व्यवहारको पक्ष कमजोर हुँदा छोराछोरीले आफना आमाबुबा र अभिभावकसँग गर्ने व्यवहार र कर्तव्य भुलेका छन् । त्यसैगरी आज विद्यार्थीले शिक्षकलाई नटेर्ने, कर्मचारीले हाकिमलाई नटेर्ने, कार्यकर्ताले नेतृत्वलाई नटर्ने मन्त्रीले प्रधानमन्त्रीलाई नटेर्ने आदि ।
जुनसुकै क्षेत्रमा अराजकता बढेर जानुमा हाम्रो सही नैतिक शिक्षा नहुनु नै प्रमुख कारण हो । विद्यालय र क्याम्पसहरुमा नैतिक तथा अध्यात्मिक शिक्षा दिन आवश्यक छ । नयाँ पुस्ताका लागि पनि अध्यात्मिक शिक्षाको बाटो खुला गर्ने नीति राष्ट्रले लिनु पर्ने हुन्छ । जसबाट उनीहरुको चरित्र उच्च हुन जान्छ ।

पाश्चात्य शिक्षाले नेपाली सभ्यता र संस्कृतिलाई विस्थापित गर्ने काम नगरोस् । नैतिक शिक्षाको सम्बन्धमा कसैलाई पनि चासो नहुनु देश र देशबासीलाई दुर्भाग्य हो । शिक्षा शास्त्रीहरुले पनि नैतिक शिक्षाको खाका दिएका छैनन् । विद्यार्थीमा अहिले असन्तोष बढेको हुनाले नैतिक शिक्षाको आवश्यकताको महसुस हुन थालेको छ । प्राथमिक तहदेखि उच्च तहका विद्यार्थीलाई नैतिक शिक्षा दिन सक्दा समाजमा देखिने विकृतिहरु न्यूनीकरण गर्न सजिलो हुने देखिन्छ । युरोप, अमेरिकालगायत विश्वका अधिकांश देशमा युवाले तोडफोड हिंसा र हत्यामा भाग लिएको र राष्ट्रको सम्पत्ति खरानी बनाएका उदाहरण प्रशस्त पाइन्छन् । यस्ता उच्छृंखल बानी व्यहोराले राष्ट्रको छवि राम्रो पनि हुन सक्दैन ।

जसरी व्यक्तिको सर्वांगिण व्यक्तित्व विकास लागि शिक्षाको अपरिहार्य मानिन्छ । उसैगरी शिक्षामा नैतिकताको विषय पनि रहनु आवश्यक छ । शारीरिक विकासका लागि योग, व्यामदेखि विभिन्न खेलकुदको व्यवस्था व्यवस्था गरिएको हुन्छ तर व्यक्तिको नैतिक उत्थान कसरी हुन सक्छ भन्ने कुरालाई सर्वथा उपेक्षा गरिन थालेको छ । व्यक्ति, परिवारदेखि समाजसम्म नैतिक शिक्षाको आवश्यकता पर्दछ ।
व्यक्तिमा सुसंस्कारको विकासका लागि नैतिक शिक्षाको आवश्यकता पर्दछ तर आजको बढ्दो आधुनिकताको प्रभाव, खुला समाज तथा उपभोक्तावादी संस्कृतिका कारण परिवारमा समेत नैतिक मूल्य मान्यता हराउन थालेको छ । यो गम्भीर चिन्ताको विषय हो ।

नैतिक ज्ञानका साथ कुनै पनि व्यक्तिको जन्म भएको हुँदैन । माता, पिता, शिक्षक, अग्रज, एवम् भित्रजनबाट पछि क्रमशः नैतिक ज्ञान प्राप्त हुने हो । नयाँ चेतनाको उदय साथै जीवनको गहिराईका बारेमा जान्न, कर्तव्यको पहिचान गर्नका लागि नैतिक शिक्षा नै जरुरी मानिन्छ । व्यक्तिमा सत्कर्मप्रति अभिप्रेरित गराउनका साथै समाज र समग्र राष्ट्रकै उत्थानका लागि परोक्ष रुपमा नैतिक शिक्षाबाट नै उत्प्रेरणा प्राप्त हुन्छ । बढ्दो उपभोक्तावादी संस्कृतिका कारण अहिले भ्रष्टाचार, दुराचार, छलकपट तथा विभिन्न अपराधका घटनाले प्रश्चय पाउन थालेका छन् । यस्तो प्रवृतिले व्यक्तिमा अहंकार, प्रतिशोधलाई बढवा दिनाका साथै सामाजिक मूल्यमा मान्यताको समेत ह्रास हुन्छ ।

विद्यालयको पाठ्यक्रममा विगतमा रहेको नैतिक शिक्षा विषयलाई अचेल हटाइएको देखिँदै छ । यसलाई पाठ्यक्रममा सामेल गरिनु पर्नेमा विभिन्न क्षेत्रबाट माग हुन थालेका कुरा समेतलाई दृष्टिगत गर्दै पाठ्यक्रमसुधारको आवश्यक छ । व्यक्तिको चरित्र निर्माणसित समेत जोडिएको नैतिक शिक्षाले कसैको अहित गरेको छैन र गर्दैन पनि । मर्यादास्थिति उल्लंघन नहोस्, थितिको पालना होस् भन्नका लागि पनि यो विषयलाई परित्याग गर्न मिल्दै न । एउटा सभ्य मानिस बन्न नैतिक शिक्षाको ठुलो महत्व हुन्छ । अनुशासन जन्मेदेखि मृत्यु नहुन्जेलसम्म मानव जीवनमा लागु हुने कुरा हो तर अहिले नैतिक शिक्षाको अभावका कारण समाज भाडिँदै गएको छ । सभ्य र समृद्ध समाज निर्माण गर्ने जिम्मा हामी सबैको हो ।

समाजमा व्याप्त लागुपदार्थ दुव्र्यसनको समस्या पनि नैतिक शिक्षाको अभावबाट सिर्जना भएको हो । कुलतमा भस्नबाट बालबालिकालाई जोगाउन नैतिक शिक्षा आवश्यक छ । बुबा काममा व्यस्त आमा पनि व्यवस्त हुँदा सन्तान घर बाहिर रमाउन थाल्छ । साथीभाइको संगतले दुव्र्यसनको सिकार भइदिन्छ । आफ्नो छोराछोरी के गर्दै छन् ?
संगत कस्तो गरेको छ चासो राख्ने अभिभावक नहुँदा केटाकेटी लागुऔषध दुव्र्यसनको सिकार बनिरहेका छन् । विद्यायल पठाएपछि आफ्नो सम्पूर्ण जिम्मेवारी पूरा भएको ठान्ने अभिभावकको प्रवृतिका कारण बालबालिका कुलतमा फस्छ । समाजमा हुने कुनै पनि वेथिति देखेर पनि नदेखे झै गरियो भने त्यसले सिंगो समाज नै प्रभावित तुल्याउँछ । त्यसैले सबैले आ–आफ्नो क्षेत्रबाट बेलैमा चासो पु¥याउनु पर्ने हुन्छ ।

घरपरिवारले पनि छोराछोरीलाई कलिलै उमेरमा घर बाहिर छात्रवासमा राखिदिने गर्दा सन्तनमा एक्लोपनको सिकार भई नैराश्यता बढ्छ । माया र अपनत्वको अभावका कारण बालबालिका कुलतमा फस्न सक्छन् । सानै उमेरमा सन्तानलाई आफूबाट अलग राख्दा सन्तानमा पनि बुबाआमा र घरपरिवार प्रतिको मायामा कमी आउँछ । सन्तानलाई सानै उमेरमा नै नैतिकता र अनुशासन घरपरिवारबाटै सिकाउनु पर्दछ । स्वतन्त्रताको नाममा बच्चालाई स्वच्छ र छाडियो भने अलि नियन्त्रणभन्दा बाहिर जान सक्छन् ।

अहिलेको पुस्ता अध्यात्मिकभन्दा भौतिकवादमा रमाउने हुँदा जसरी हुन्छ पैसा कमाउनमा तल्लीन छ । जे कुरामा पनि नाफा घाटासँग तुलना गर्दछन् । माया, सद्भाव, सदाचार, सहानुभूति जस्ता मानवीय व्यवहारहरुलाई तराजुमा तौले झै नापजोख गर्न सकिँदैन यी कुराहरुको मापदण्ड पनि तोक्न सकिँदैन, यसलाई व्यवहारिक रुपमा अनुभव गर्दै र भोग्दै जाने हो । यहाँ मानिसभित्र रहेको मानवता रुख लिँदै बन्दै गएको । नैतिकता हराउँदै छ र त्यो सदाचारी, सद्गुणी, व्यक्तिहरु पनि भेट्याउन मुस्किल पर्दै छ ।

भौतिकवादी दुनियामा मान्छेको मूल्य उसँग कति धन सम्पत्ति छ त्यसकै आधारमा मूल्यांकन हुने गर्दछ । कुनै व्यक्तिसँग प्रशस्त धन पैसा छ भने उसलाई सबैले उच्च सम्मान दिन पनि हिचकिचाउँदैनन् । कसैसँग आर्थिक हैसियत कति छ त्यही आधारमा सामाजिक मूल्य पनि निर्धारण हुन्छ । समाजमा पैसा छैन, धन सम्पत्ति कम छ भने अरुहरुले त्यस व्यक्ति बौद्धिक क्षमता भएको सरल र असुल नै रहेछ भने पनि मानिसले भन्ने गर्दछन् ।

शिक्षा त लियो तर यसले केही आर्थिक उपलब्धी गर्न सकेन भन्ने गरिन्छ । पढाइ लेखाइ गरेर शिक्षित भए पनि आर्थिक उन्नती गर्न नसक्नेलाई समाजले जति प्रतिष्ठा दिनु पर्ने हो त्यति नदिन सक्छ । यहाँ मान्छेको मानव मूल्यलाई भौतिकवादी र्भर सोच्दा अध्यात्मिक मूल्य खस्कदै गएको छ । मानिस एक चेतनशील प्राणी हो । मानिसको बौद्धिक तथा चेतनात्मक प्रवृतिले समाज स्थापना भयो । समाजलाई व्यवस्थित र मर्यादित बनाउन मानिसहरुले विभिन्न किसिमका नीति नियम तथा मूल्यमान्यताहरु निर्माण गर्न थाले ।

भौतिक संसारमा रहेको भौतिक जीवनलाई सुखी बनाउने मूल्यमान्यता नै भौतिक मूल्यमान्यता हुन् । यस्ता मूल्यहरुले मानिसको भौतिक आवश्यकताहरुको परिपूर्तिसँग सम्बन्धी हुन्छन् । मानिसको आचरण, चरित्रसँग सम्बन्धीत मूल्यहरु नैतिक मूल्य हुन् । यस अन्तर्गत इमानदारिता, आचर, चत्रिरसँग, सत्यवादीता दया, पवित्रता, स्थायित्व, जवाफदेहिता र सचचरित्रता आदि नैतिक मूल्य हुन् ।
आत्मिक भनेको मनसँग सम्बन्धित विषय हो । हामीले इन्द्रीयद्वारा अनुभूति गर्ने विषय भौतिक विषय हुन् । जस्तै हामीले अनुभव गर्ने, आँखाले हेर्ने, कानले सुन्ने, चाख्ने आदि । अध्यात्मिक एक किसिमको अनुभूति हो जसले मानिसको मनमा शान्ति र आनन्द प्राप्त हुन्छ । अध्यात्मिकता हाम्रो हृदय उर्जाको स्रोत अध्यात्मिक तत्व हो ।

अध्यात्मिकता हाम्रो हृदयको आस्था, विश्वास, निष्ठा आनन्द सिर्जना गर्दछ । अध्यात्मिकता त्यस्तो उर्जा हो । जसले मानिसलाई दैविगुणमा रुपान्तरण गरिदिन्छ । मानिसप्रतिको माया भाव पनि आत्मिक मूल्यभित्र पर्दछ । सद्भाव, सत्यप्रतिको निष्ठा, दान, मन तथा इन्द्रीय नियन्त्रण आदि आत्मिक मूल्यभित्र पर्दछ । मानिसको मनलाई शत्रु पनि र मित्र पनि मानिन्छ । नियन्त्रित मन मानिसको भित्र हो भने अनियन्त्रित मन मानिसको शत्रु हो ।

त्यसैले इन्द्रीयहरुलाई अनियन्त्रित छोड्नु हुँदैन भन्ने मान्यता पनि हाम्रा शास्त्रहरुमा उल्लेखित छ । मानिस भित्र भक्ति भावना पनि आवश्यक छ । मानिले ईश्वरप्रति, आफ्ना गुरुप्रति, मातापिताप्रति, विदाप्रति भक्ति भाव राखे मात्र अध्यात्मिक विकास हुन्छ भनेका छन् । शान्ति अध्यात्मिकताको अनिवार्य सर्त हो । अशान्त वातावरण र मनभित्र अशान्ति भएको अवस्थामा मानिसले आत्मज्ञान प्राप्त गर्न सक्दैन । अध्यात्मिक उन्नतीका लागि मानिसमा शान्तिप्रियताको गुण हुनै पर्दछ । शरीर, मन, बचन र कर्मले कसैप्रति हानी नपु¥याउनु अहिंसा हो । अध्यात्मिक व्यक्तिले हरेक किसिमका हिंसात्मक गतिविधिबाट टाढै बस्नु पर्दछ ।

विश्व समुदायमा नै नैतिक र मानव मूल्य स्खलन भइरहेको छ । पद, पैसा, शक्ति र स्रोत साधनमाथिको पहुँच प्राप्त गर्नका लागि मानिस मूल्यहरुलाई छोडेर प्रतिस्पर्धामा अघि बढेको छ । यस्ता प्रतिस्पर्धाले संसारमा विभिन्न किसिमका नकारात्मक असर परिरहेका छन् । मानिसको आत्मसम्मान कसरी स्थापना हुन्छ । अरुको सम्मान कसरी गर्ने, समाजका विभिन्न मुद्दा र द्वन्द्वलाई कसरी समाधान गर्ने, सामाजिक न्याय कसरी स्थापना गर्ने यी सिप क्षमता भएका जनशक्ति उत्पादन गर्न पनि मानवीय मूल्य र नैतिक मूल्यमा आधारित शिक्षा आवश्यक छ ।