जनप्रतिनिधि र कर्मचारीका लागि क्षमता विकास तालिम
टेकबहादुर पुन
देउखुरी, २० चैत । लमही नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीलाई क्षमता विकास तालिमको आयोजना गरेको छ । पाँच दिवसीय क्षमता विकास तालिमको आइतवार लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले उद्घाटन गरेका हुन् ।
कार्यक्रमको पहिलो दिन लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बारे सहजीकरण गरेका थिए । तालिममा घरजग्गासम्बन्धी सिफारिस तथा न्यूनतम मूल्याङ्कन, स्थानीय तहको एकल अधिकार र साझा अधिकार, राष्ट्रिय झण्डाको प्रयोग विधि, पञ्जीकरण, सामाजिक सुरक्षा र अनलाइन नागरिकता, टिप्पणी, निर्णय लेखन र सरकारी कागजात धुल्याउने विधि, राजस्वको अवधारणा, स्थानीय तहको राजस्व परिचालनको अधिकार, स्थानीय तहको आर्थिक ऐन निर्माण, सार्वजनिक खरिदका विधिहरू, बेरुजु फस्र्योट र न्यूनीकरणको उपाय जानकारी गराइएको लमही नगरपालिका प्रशासन शाखा प्रमुख महेश थापाले जानकारी दिए ।
कार्यक्रममा बोल्दै लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले कर्मचारीको दक्षता क्षमता र सेवा सहजतालाई दिगो बनाउन यस्ता तालिमले ठुलो योगदान दिने बताए । क्षमता विकास तालिममा सहभागी हुँदै उपप्रमुख लक्ष्मी योगीले तालिमले कर्मचारीहरूमा उत्प्रेरणा तथा पुनर्ताजगी दिने बताइन् । उनले सिकेका कुरा व्यवहारमा लागु गर्नसके देश र जनताको लागि सहज हुनेसमेत बताइन् । प्रशिक्षार्थीलाई उत्प्रेरणा जगाउँदै लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले कर्मचारी र जनप्रतिनिधिमार्फत् सेवाग्राहीले सहज रूपमा सेवा पाउन र सेवालाई थप चुस्त दुरुस्त बनाउन यस्तो तालिमले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
प्रशिक्षणमा सहभागीलाई सिकाइले आफ्नो अनुभव दक्षता र रचनात्मक कार्य गर्न उत्प्रेरणा प्राप्त गर्न सो तालिमको आयोजना गरिएको बताए । कार्यक्रमको प्रशिक्षकको रूपमा लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा, मालपोत कार्यालय लमहीका प्रमुख रामप्रसाद खनाल, गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पुनाराम शर्मा, इलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेम आचार्य, राजस्व विज्ञ दामोदर गिरी, कोलनीका दाङका प्रमुख मोहनकुमार जैसवाल रहेका छन् ।
