Goraksha

National Daily

सफलताभित्र मित्रताको हात र साथ हुन्छ

नारायणप्रसाद श्रेष्ठ

मानव जीवन नैतिक धरातलमा सजिएको आस्था र विश्वासको धरोहर हो । जब मानिस मानिसबिच आस्था र विश्वास बढ्न थाल्दछ । अनि त्यहाँ मित्रभाव बढ्न थाल्दछ । सहयोग र सद्भावको वातावरण बन्दछ । आस्था जहाँ हुन्छ, त्यहाँ विश्वास हुन्छ । विश्वास भएर नै मानव जीवनले आफूलार्ई गतिशिल बनाउँदै अघि बढेको हुन्छ । यही विश्वासको आधारमा निर्माण भएको मित्रताको जगबाट नै मानिसले आफूलार्ई सृष्टिको इतिहासमा उत्कृष्ट बनाउन सफल भएको छ ।

जीवनमा आइपर्ने समस्या र आवश्यकतालार्ई सहजरुपले परिपूर्ति गर्दै खुसी साटासाट गर्न सफल भएको छ । तसर्थ निरन्तर गतिशिल भइरहने जीवनको यही उद्देश्यलाई बुझेर अहंकार होइन सदाचारी बनी मित्रताको जग मजवुद बनाउन सक्नुपर्दछ । मित्रता क्षणिक सौदामा होइन यो त जीवनको गतिशिलतासँगै अघि बढ्ने विश्वास हो भनी आफूलाई प्रस्तुत गर्न सक्नुपर्दछ । मित्रता कायम गर्दैमा सबै कुरा भइहाल्छ भन्ने पनि होइन तर पनि मित्रताले सहज वातावरण ल्याउन सक्छ भन्ने कुरामा दुई मत नहुन सक्छ । अर्को कुरा मित्रता भित्रको सबै कुरा सर्वगुणले भरिएको नहुन सक्छ । यसमा एक अर्कामा आफू अनुकुल स्वार्थ नहोला भन्न पनि सकिन्न तर पनि जीवनले निर्वाह गर्ने आरोह अवरोहलाई सहज गराउन एक अर्काबिच विश्वास र मित्रता हुन जरुरी हुन्छ ।

आस्था र विश्वासको कसौटीमा निखारिएको मित्रता स्वाभावत सबैको लागि आवश्यक कुरा पनि हो । जसले अन्तर हृदयदेखि मित्रता निभाउन जान्दछ उ कहिलै एक्लो हुनु पर्दैन । यो सत्य कसैले बिर्सनु हुँदैन । हुनत कतिपयले मित्र त दुई दिनका हुन्छ्न्, आफ्नो स्वार्थ पूरा गरिसकेपछि वास्ता प्रयोजन गर्दैनन् । यस्तो अवस्था पनि देखिन्छ भन्छन् । क्षणिक स्वार्थको लागि मित्रता गरेको कयौँ उदाहरण पनि देखिन्छन्, तर मित्रताको परिभाषा त्यस्तो होइन । सत्य त्यो होइन । किनकी जीवन भर साथ दिने संगी, अर्को अर्थमा परिवार, श्रीमान्श्रीमती बिचको सम्बन्ध पनि मित्रताले नै गासेको हुन्छ त्यसमा स्वार्थभन्दा स्नेह बढी हुन्छ । यो कुरा बिर्सनु हुँदैन । दुई दिनको मित्रता भनेको स्वार्थमा अल्झिएको आचरण हो । यस्तो मित्रताले जीवनलार्ई कहिलै वातावरण अनुकुल हुन दिँदैन । त्यसैले मित्रता यस्तो हुनुपर्छ जसले पछिसम्म याद गराइरहोस् । मित्रतामा आत्मियता झल्किरहोस् । यिनीहरु बिचको मित्रता त कृष्ण र सुदामाको जस्तो छ भनियोस् । जसले विगत, वर्तमान र भविष्यलाई पनि आधार बन्न सफल रहोस्, उदाहरण बन्न सफल होस् ।

अहिलेको वर्तमानलाई हेर्दा मानिसको सोच केवल आफू कसरी अरुको प्रिय बन्न सकिन्छ, मेरो स्वार्थ कसरी परिपूर्ति गर्न सकिन्छ भनी स्वार्थ केन्द्रित मित्रता गरेको पनि देखिन्छ । बोल्दा अरुलाई होच्याउने, मान मर्दन गर्ने गरी बचन लगाएको तथा मित्र त हो भनी हल्का रुपले उसको विचारलाई दबाउने गरेको पनि देखिन्छ । वास्तवमा यस्तो मित्रता राम्रो होइन । कहिले अहंकार वश नमिठो शब्द प्रयोग गरी आपसी विश्वासमा पूर्ण विराम लगाउन खोजिएको पनि हुन्छ । यस्तो मित्रताको वास्तविकता एकदिन उजागर भएर नै छोड्छ । यस्तो मित्रताको पर्दाफास भएरै छोड्छ । स्वार्थ केन्द्रित मित्रता गर्नु भनेको अहंकार र घमण्डलाई प्रोत्साहन दिनु हो । अर्को कुरा मित्रता किन र कुन कुराको लागि किन गर्ने भनी त्यसै कुराभित्र मुखरित हुने गरी यदि मित्रता गर्न खोजिएको हुन्छ भने यसले कहिले खुसीको अनुभूति दिन सक्दैन । फेरि मित्रतासँगै हिड्दै र घुम्दैमा हुने कुरा पनि होइन ।

हलो हाइ गरी, चिया गफ गर्दैमा हुने कुरा पनि होइन । मित्रता त आत्मासँगको सामिप्यता हो । सँगै बस्नु, घुम्नु, खानु पिउनु मनका कुरा साटासाट गर्नु यी मित्रता जगाउने माध्यम पक्कै हो तर देखावटी र बनावटी भावबाट प्रतिपादित मित्रता केवल स्वार्थ र मतलवसँग गाँसिएको हुन्छ । जबसम्म आफूलाई अनुकुल प¥यो मित्रता ग¥यो, घनिष्टता देखायो । जब स्वार्थ सिद्ध हुन्छ वा अब त्यो सँग अब मैले कुनै मतलव हासिल गर्न सक्दिनण् भन्ने सोच बढ्यो छोड्यो यस्तो मित्रता राखिन्छ भने त्यो मित्रता वास्तविक जीवनको लागि दुर्भाग्य हो । यस्तो माया मित्रता नजानिँदो किसिमले टुट्दै जाने, सम्पर्क विहीन हुँदै जाने र तथा आत्मियता हराउँदै जाने, चासो नराख्ने हुन्छ ।

तसर्थ यस कुरातर्फ समय मै विवेक पु¥याउन जरुरी हुन्छ । अहिले सहयोगी आत्मा सबै मेरा हुन् हाम्रो मित्रता केवल सहयोग मात्र होइन सद्भाव र भावी पिढीको लागि मार्ग निर्देशन हो भन्ने विचार, आत्मियता, निकै कमजोर भएको छ । आत्मियता दर्शाउँदै मनैदेखि यो मित्र हो यसप्रतिको मेरो भावना सकारात्मक हुनुपर्छ । उसलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ । बोल्दा मिठास, हेर्दा हसिलो चेहेरा, भनेर भनिएको अवस्था अहिले निकै कमजोर भएको देखिन्छ । यस अवस्थामा धन सम्पत्ति र ऐसा आराम तथा सुख अनुभूति गर्ने लालसमा मित्रता भएको देखिन्छ । वास्तवमा यसतो क्षणिक सुखानुभूति गर्ने मित्रताले मनुष्य आत्मालाई कमजोर बनाउँछ ।

महल र झुपडीमा बस्ने व्यक्तिको चाहाना र मित्रता भिन्दा भिन्दै जस्तो देखिए पनि उनीहरुको आत्माको स्पन्दन एउटै किसिमको हुन्छ । यस्तो किसिमको मित्रताको इच्छाशक्ति फरक हुनसक्छ । अर्को कुरा रकममा सटही र भौतिक सुविधा केन्द्रित मित्रता भएको छ भने जुन दिन रकम र सुविधा छुट्दछ त्यसपछि उनीहरु बिचको सम्बन्ध सधैको लागि अस्ताउँछ । यस समय हिजो आर्जन गरेको मित्रता ताशको घर झै भत्किन्छ । त्यसैले मित्रता सहयोग र सद्भावमा मात्र नभई आत्मासँग जोडिएको हुनुपर्छ भनिएको हो । प्रकृतिको नियम आफैमा सत्यमा आधारित छ । यो समय र परिस्थिति अनुसार बदलिँदै गएको पनि हुन्छ ।

वर्षापछि हिउँद, हिउँद पछि वर्षा यो प्रक्रिया हिजो पनि थियो । आज पनि छ र जबसम्म यो पृथ्वी र सृष्टिको इतिहास रहिरहन्छ । तबसम्म रहिरहन्छ । त्यस्तै मानव इतिहासको सुरुसँगै बढेको मित्रता पनि क्षणिक स्वार्थ र मोह जालमा नफसी निरन्तर बगिरहने जल प्रवाह जस्तै हुनुपर्दछ । तुरुन्तै प्राप्त गरी तुरुन्तै स्वाद लिने चाहना बढाउनु, भन्नु, भनेको स्वार्थी चिन्तन हो । जीवन छोटो छ । हामी बिच किन वैरभाव राख्ने भन्ने सोच यदि गरिदैन र केवल शक्तिको पछाडि र स्वार्थ सिद्ध गर्ने कल्पनामा आधारित विचार सम्प्रेषण गर्ने प्रेमको नाटक गर्ने हो भने यसले अरुलार्ई होइन आफूलार्ई क्षति पु¥याउँछ ।
त्यसैले आफूभित्रको क्षमता र सर्वशक्ति सम्पन्न गुणको आज्ञाकारी बन्न आफैले विचारमा पवित्रता दर्शाउन सक्नुपर्दछ । विभिन्न अनावश्यक कुराबाट अलगै रही मुस्किललार्ई पनि सहज बनाउने सहजयात्री बन्न सक्नुपर्दछ । म भित्र उत्पन्न हुने अहंकार र स्वार्थलार्ई समाप्त गरी जीवनलाई सहज गति उन्मुख बनाउनु पर्दछ । जीवन हिरा हो यसको चम्किलो र उज्यालो पन यसको विशेषता हो भन्ने बुझी आफूलाई प्रस्तुत गर्नुपर्दछ । वर्तमानले भविस्य निर्धारण गर्छ भन्ने मान्यता बोकी म मा आउने अहंकारी प्रवृत्तिलाई समाप्त गरी सच्चा आत्मियता जगाउने मित्रता कायम गर्नुपर्दछ ।

वर्तमान प्रत्यक मानव जीवनको लागि अवसरको रुपमा आएको छ । यस समयमा हामीले आफूले आफैलाई आफूभित्रको क्षमता बुझेर मित्रता बढाउन सक्नुपर्दछ । भविष्य उज्यालो अध्यारो हुने कुनै ग्यारेन्टी छैन । छ त केवल आशाका किरण मात्र । तसर्थ रुपलार्ई होइन चैतन्य र आचरणलार्ई पहिचान गरी आफ्नो स्मृतिलार्ई समर्थवान बनाएर अमृत रस पिउने उत्तम विकल्पको रुपमा प्राप्त अवसरलार्ई मित्रताको कसिलो निस्वार्थ भावले बाधेर जीवनको उद्देश्यलाई मुखरित गर्न सक्नुपर्दछ । दिव्य गुणधारी भएर बाहिरी आवरणमा देखिने अवगुणलाई परित्याग गर्नुपर्दछ । जीवनलाई सहज वातावरण अनुकूल लैजानको लागि मित्रता अनिवार्य आवश्यकता पर्न सक्छ भन्ने मान्यता राखी आफ्नो कर्मबाट कसैलार्ई पनि दुःखकष्ट र मानहानी हुने किसिमले कर्म गर्नु हुँदैन ।

विचारमा श्रेस्ठता, कर्ममा निष्पक्षता देखिने गरी एकअर्काबिच समझदारी कायम गर्नुपर्दछ । जीवनलाई आस्था, विश्वास र भरोसा युक्त बनाई अन्तर्मुखी भाव जागृत हुने गरी प्रेम भाव दर्शाउनु पर्दछ । ज्ञानको माध्यमबाट जीवनमा देखा पर्न सक्ने रावणरुपी विचारलाई परित्याग गर्ने क्षमता अभिवृद्धि गर्नुपर्दछ । जीवनको हरेक सफलताभित्र मित्रताको हात र साथ रहेको हुन्छ भन्ने मान्यता बढाई एकले अर्कालाई हेर्ने दृष्टिकोणमा पवित्रता झल्कने कार्य गर्नुपर्दछ । तब मात्र जीवनले उत्तम गति लिन सक्छ । वर्तमान यही खोजिरहेको छ । अस्तु ।