मेरो खुशी : भैलो खेलेको पैसाले व्यापार सुरुआत …
समय पनि मलाई याद छ । विसं २०५४ सालको तिहारमा गाउँका साथीभाइ मिलेर देउसीभैलो खेलेका थियौँ । त्यो भैलोमा कति उठ्यो भन्ने त मलाई अहिले ठ्याक्कै याद भएन तर भैलो सकेपछि पैसा बाँड्दा दाइ यमबहादुर वली र मेरो बटामा ७ सय रुपैयाँ परेको थियो । त्यही पैसाको जोरबलले मैले बिजौरीमा व्यापारको सुरुआत गरेको थिएँ ।
त्यसैले मलाई बिजौरीमा स्थापित पनि बनायो । सुरुआतमा मैले एउटा ढेब्ली भाडामा लिएँ । ढेब्लीमा भएको एघार हजारको सामान उधारोमा लिएँ । भैलोमा कमाएको सात सय रुपैयाँले तुलसीपुरमा गएर मट्टीतेल ल्याएर मैले व्यापार सुरुआत गरेको हुँ । लेखिदिनु होला मेरो खुसी ढेब्लीबाट व्यवसायको सुरुआत । त्यही व्यवसाय अहिले करिब ३० लाख रुपैयाँसम्म पुगेको छ ।
यसैले मलाई व्यावसायिक संस्थाको नेतृत्वमा पनि पु¥याएको छ । आफ्नो खुसीलाई स्मरण गर्दै तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरी निवासी मुकेश वलीले भने । उनले व्यापार व्यवसाय थालेको दिन विसं २०५४ मङ्सिर २२ गते थियो । किनकि त्यो दिन पोलियो थोपा खुवाउने कार्यक्रम थियो । मेरो ढेब्ली व्यवसायको सुरुआत भएको हेर्न निकै भिड लागेको थियो । पहिलो दिन नै तीन सय पच्चीस रुपैयाँको बिक्री भएको थियो । अहिले मेरो दैनिक व्यापार ४० हजारको हाराहारीमा व्यापार हुन्छ ।
यही व्यावसायिक यात्राले मलाई बिजौरीमा बिजौरी उद्योग व्यापार संगठन निर्माण गर्न हौस्यायो । त्यसपछि बिजौरी उद्योग वाणिज्य संघतर्फ लम्कायो अनि म बिजौरी उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न सफल भए । म त्यो दिनलाई अहिले पनि झल्झल्ती सम्झन्छु । यही बेसले मलाई बिजौरीको व्यावसायिक क्षेत्रमा नयाँ काम गर्न हौस्यायो । बिजौरीमा लगाइएको व्यापार मेला पनि मेरो खुसीको क्षण हो । २०७७ सालमा बिजौरी उद्योग वाणिज्य संघको आयोजना भएको बिजौरी उद्योग व्यापार तथा पर्यटन एवम् कृषि मेला प्रदर्शनीको आयोजना गरेका थियौँ । त्यो दिन पनि मेरो खुसीको अविष्मरणीय दिन हो । किनकि त्यो मेला बिजौरी क्षेत्रकै पहिलो मेला महोत्सव थियो ।
जिल्लाभरिका दर्शक मेला भर्न बिजौरी आएका थिए । जसले यहाँको पर्यटकीय क्षेत्र छिल्लीकोटलाई चिनाउन सफल भएको थियो । स्थानीय उत्पादनलाई बजारीकरण गर्न हौस्याएको थियो । विजौरीबासीले घरआँगनमै राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुति हेर्न पाएका थिए, सपिङ गर्न पाएका थिए, अनि बिजौरी उद्योग वाणिज्य संघलाई मेलाबाट केही पैसा बचत भएको थियो । त्यसैले हामीलाई बिजौरी उद्योग वाणिज्य संघको सभाहल निर्माण गर्न हौस्याएको थियो । बिजौरीको हाडिमेको फाँटमा बालउद्यानसहित सय बढी व्यावसायिक स्टल, राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुतिले बिजौरी प्रफुल्लित थियो, त्यो बेला । लेखिदिनु होला मेरो खुसी बिजौरीमा व्यापार मेला … ।
त्यसो त मैले कोषाध्यक्षको जिम्मेवारी सम्हालेकै बेला बिजौरीको प्रख्यात सुदय शिवालयमा धार्मिक महायज्ञको आयोजना गरेर कम्तिमा ४८ लाख रुपैयाँ सङ्कलन गरेका थियौँ । त्यो बेला म मन्दिर व्यवस्थापन समितिको कोषाध्यक्षको जिम्मेवारीमा थिएँ । त्यही पैसाले मन्दिर परिसरमा विशाल सभाहलसँगै राधाकृष्ण मन्दिर र विवाहमण्डप पनि निर्माण गरेका थियौँ । अहिले बिजौरी शिवालयमा नित्य पूजाआजा तथा साप्ताहिक आरती पनि हुने गरेको छ । शिवालय मेरो खुसी हो । जसले मलाई धार्मिक मान्यता र मर्यादामा आकर्षित गरेको छ । आध्यात्मिक चिन्तन पनि बढाइदिएको छ ।
मुकेश खुसीका क्षणहरू थप्दै छन् । मैले लेखिरहेको छु । भन्छन्, ‘मैले बुवाको खल्तीबाट छ सय रुपैयाँ चोरेर भलिबल किनेको कुरा त भन्नै भुलेछु । त्यो बेला मैले जनकल्याण मावि दुधरासमा कक्षा ६ मा पढ्थेँ । मलाई भलिबल क्रेज थियो तर स्कुलमा बल पाउन मुस्किल हुन्थ्यो । मैले बुवा टीकारामको खल्तीबाट राति छ सय रुपैयाँ चोरेँ । भोलिपल्ट स्कुल अलि चाँडो गएर दुधरासकै पुस्तक पसलमा तीन सय रुपैयाँको भलिबल किनेँ, त्यो पनि सेकेन्ड ह्यान्डको । बाँकी पैसाको गोटीवाला जुत्ता र मोजा । जब भलिबल मैले घर लगेँ, बुवाले सोध्नुभयो, कहाँबाट ल्याइस् ।’ मैले भने– तपाइँकै पैसा चोरेर किनेको ।
बुवाको रिस थामिएन, त्यो छाक मलाई घरमा खान पनि दिनुभएन । म रिसाएको बुवाबाट जोगिन हजुरबुवा झगबहादुरको घरमा रात बिताएको थिएँ । भोलिपल्ट आमाले गएर ल्याउनुभएको थियो । लेखिदिनुस् बुवाको चोरेको पैसाले किनेको सेकेन्डह्यान्ड भलिबल पनि मेरो खुसी हो । जसले मलाई भलिबलको जिल्लास्तरको खेलाडी बनाएको थियो ।
त्यही भलिबलले मलाई हेकुलीको टुर्नामेन्टमा सहभागी हुन हौस्याएको थियो । सिमसुन्दरपुरको टुर्नामेन्ट अनि घोराही भरतपुरको जिल्लास्तरीय टुर्नामेन्टमा पनि भाग लिन सफल मात्रै बनाएको दिएन, त्यसमा मैले पदक र प्रशंसापत्र पनि पाएको थिएँ । ती प्रमाणपत्रलाई मैले अहिले पनि फ्रेममा सुरक्षित राखेको छु ।
त्यसो त म रेडियोप्रेमी पनि हुँ । सञ्चार क्षेत्रमा पनि चासो राख्ने मान्छे हुँ । त्यही कारण मैले धेरैपटक रेडियो मध्यपश्चिममा फोनइन कार्यक्रममा बोल्ने मौका पनि पाएको थिएँ । त्यही समयमा मलाई रेडियोले आफ्नो स्टुडियोमा बोलाएर नियमित श्रोताका रूपमा सम्मान गरेको त्यो क्षणलाई पनि मैले अविष्मरणीय खुसीकै क्षणका रूपमा स्मरण गर्न चाहन्छु ।विस २०३६ पुस २५ गते तुलसीपुर उपमहानगरपालिका–१७ बघौसीमा जन्मिएका मुकेश वलीको कर्मथलो भने बिजौरी भयो । उनी बिजौरीमा व्यापारमा स्थापित पनि भएका छन् । अहिले उनी बिजौरी क्षेत्रका व्यापारी मात्र नभएर समाजसेवीका रूपमा स्थापित भएका छन् । दुधरासको जनकल्याण माविबाट एसएलसी पास गरेका मुकेशले जनता संस्कृत माविमा उत्तरमध्यमा उत्तीर्ण गरेका छन् ।
उनी बिजौरी व्यापार संगठनको संस्थापक हुँदै विभिन्न स्थानीय क्लबहरू तथा सामाजिक संघसंस्थामा आबद्ध भए । जिल्ला युवा सञ्जालका पूर्वअध्यक्षको भूमिका समेत निर्वाह गरेका वली बिजौरी उद्योग वाणिज्य संघको संस्थापक महासचिव हुँदै पूर्व अध्यक्ष, हाल नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको सचिव, सुदय रामेश्वर मन्दिरको व्यवस्थापन समितिको उपाध्यक्ष, कालिका मालिका देवीस्थान मन्दिर थानगाउँको कोषाध्यक्षको जिम्मेवारीमा छन् । भर्खरै सम्पन्न भएको अधिवेशनबाट मुकेश सर्वसम्मत रूपमा बेलझुण्डस्ी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सचिव जस्तो गरिमामय पदको जिम्मेवारीमा चुनिएका छन् र भन्छन्, ‘खुसी भनेको निरन्तर मिहिनेतको प्रतिफल हो ।’
प्रस्तुति : खेमराज रिजाल
