अरुलाई हैन,आफैलाई हेरौँ

नारायणप्रसाद श्रेष्ठ

‘सन्तोसी सदा सुखी, असन्तोसी सदा दुखी’ यो युक्ति त्यसै भनिएको होइन । मानिसको मनमा क्षणभरमा हजारौँ विचार आउन सक्छ । विचारले मन र मस्तिष्कलार्ई निर्देश दिन सक्छ । कर्म र व्यवहारमा आफूलाई उतार भनी निर्देश गर्न सक्छ । तसर्थ यसवेला यदि विचारलाई छटनी गर्न सकिएन, राम्रो नराम्रो परिणामको ख्याल गरिएन भने जीवनले नराम्रोसँग धोका पाउन सक्छ ।

आत्मा कमजोर भई असल कर्म गर्ने चिन्तन दिगभ्रमित हुनसक्छ । मन अशान्त भई स्वच्छ र पवित्र मन विचलित हुनसक्छ । तसर्थ मन भावनालाई स्वच्छ र पवित्र राख्न आफुले आफैलार्ई आफ्नो मनको तरंगलार्ई बुझी खुसी नै सुखको आधार हो भनी सन्तोषी हुन सक्नुपर्दछ । सन्तोसी सदा खुसी भनी क्षण–क्षणमा आउने विविध विचारलार्ई छटनी गरी राम्रा कुरालार्ई प्रोत्साहण गर्नुपर्दछ ।

म सबै जान्ने छु भनी घमण्ड गर्नु हुँदैन । सही र सत्य के हो त्यो छुट्टयाउने पवित्र मनलार्ई धमिलो पानीमा माछा मार्ने प्रवृतितर्फ उन्मुख गराउनु ल्याउनु आफू स्वयम् गलत बन्नु हो । यस्तो प्रवृतिले मानिसको विचार दृष्टिकोण र आचरणमा नराम्रो असर पु¥याउँछ । यसले मानिसको जीवनमा कलंक लाग्न सक्छ । जीवन सधै अधुरो भई सदा दुखी हुने स्थिति हुन्छ ।

श्रद्धा र विश्वास डगमगाई जीवित हुँदै मरे समान हुन्छ । त्यसैले अरुको कुरा गर्नुभन्दा आफूले आफैलाई हेरी आफूलाई विश्वास र भरोसा योग्य बनाउनु पर्छ । अरुको डाह गर्ने बानी छोड्नु पर्छ । स्वच्छ र पवित्र विचारले सिर्जिएका कर्मतर्फ आफूलाई परिचालन गर्न सक्नुपर्दछ । समय र परिस्थिति अनुकूल आफूलार्ई समायोजन गर्दै सबै सुखी र समृद्धि बनुन् भन्ने पवित्र विचार सम्प्रेषण गर्नु र सत्प्रवृत्ति धारण गर्नु नै जीवनको गतिशील मार्गको उद्देश्य हो भनेर आफूलार्ई सत्य पथमा लैजाने कोसिस गर्नुपर्दछ । सत्य कर्म चाहे त्यो सामाजिक आर्थिक र सांस्कृतिक लगायत अन्य क्षेत्र किन नहोस् सबै क्षेत्र इमान्दार भई जीवनको उद्देश्यलार्ई निरन्तर गतिशील बनाइरहनु पर्दछ ।

अरुलार्ई होइन आफैलार्ई हेरी आफूभित्रको प्रतिभा उजागर गर्ने कर्मशील योद्धा बन्न सक्नुपर्दछ । कर्मशील जीवनशैली भन्नु नै आफूलार्ई सन्तुष्टिको सागरमा डुबुल्की मार्ने आचरण प्रदर्शन गर्नु हो । यसका लागि ठूला–ठूला ऋषिमुनि र विद्वानले अपनाएको आचरणतर्फ आफूलार्ई प्रविष्ट गर्नुपर्दछ । जीवनको पूर्वार्धदेखि नै संयम र धैर्यशील भई अरुको सम्मान र आदर गर्न सिक्नुपर्दछ । सन्तोषी परम सुखी असन्तोषी परम दुःखी भनी आफूलार्ई खुसीको सागरमा डुबुल्की मार्ने बनाइ रहनुपर्दछ ।

अरुको धनसम्पत्ति एस आराम पद प्रतिष्ठालार्ई देखेर आफूलार्ई सोही अनुरुप प्रदर्शन गर्न छलछामपूर्ण राजनीतिक बाटो अपनाउनु भ्रष्ट र आचरणहिन अनैतिक कर्म गर्नु भनेको आफैलार्ई दुःख बेसाउनु हो । यसले मानवीय चेतनालाई कमजोर बनाउँछ । यस्तो परिस्थिति उजागर हुनु भनेको आफ्नो मनलार्ई विचलित बनाउनु हो । यसले आफूलाई हिनताबोध गराउँछ । हिनताबोध हुनु भनेको आफैमा निराशा भई आफूभित्रको सत्यतालार्ई भुल्नु हो । यस्तो परिस्थिति सिर्जना भई जब मनरुपी पवित्र गंगाको धारमा दुःखरुपी कसिंगर जाग्न थाल्दछ, तब त्यहाँ स्वच्छ र पवित्र विचारमा खियालाग्न सुरु हुन्छ ।

यसले विचारमा संकुचन बढाई दृष्टिमा लोभ र मोह रुपी अभिलाश जाग्न सुरु हुन्छ । यसले मानव अन्तरनिहित सत्यता लोप हुन गई मै खाउ, मै लाउ, मै मोज मजा गरु भन्ने भाव जागृत हुन पुग्दछ । जहाँ स्वार्थ हुन्छ त्यहाँ टकरावको वातावरण बन्न गई परिस्थितिले नयाँ मोड लिने अवस्था हुन्छ र विकृतिले बास बस्न थाल्दछ । मानिसमा अहंकारको बिज झाँगिन गई आचरण र व्यवहारमा क्रुरता बढ्न थाल्दछ । अशान्त र हलचलले विचार र व्यवहार गलत कर्मतर्फ अग्रसर भई मानिस स्वयम् पतित बन्न पुग्दछ ।

अशान्ति र स्वार्थभावले जागृत कर्म गर्नु भनेको क्षणिक स्वार्थ त पूरा होला तर कालान्तरमा यो जीवनको लागि दुःखको सागर बन्न पुग्दछ । यस्तो परिवेशमा मानिसले जानेर वा नजानेर पनि गल्ती माथी गल्ती गर्दै जान्छ । उ न त आफूलाई ढुक्कसँंग राख्न सक्छ न त उसको जीवनचर्या खुसी नै हुन सक्छ । उ हर हमेशा एउटै चिन्तनमा गुम्सी रहन्छ । उसका विचार मरेतुल्य हुन्छ । विचारमा हलचल पैदा भई उ आफ्नो हैन अरुको इशारामा चल्ने हुन्छ । विचार शून्य भई अरुले जे भन्यो त्यो मान्य हुन्छ । उसभित्रको सत्य गुम्न पुग्दछ । उ आफू सक्षम हुँदा हुँदै पनि अरुको विचारमा चल्न बाध्य हुन्छ । जब अरुको विचारमा उसको मानसिकता चल्न थाल्दछ, त्यस पछी उ न त नयाँ कुरा गर्न सक्षम हुन्छ, न त नयाँ सोच र चिन्तनका साथ आफ्ना विचार प्रदर्शन गर्न सक्दछ । उसको विचारमा ताला लाग्नु भनेको उसको भावना गुम्सिनु हो ।

तसर्थ विचारमा सकारात्मक भाव जागृत हुने आचरण र कर्मतर्फ आफ्ना भावनालाई न्यौछावर गरी समय परिस्थिति अनुकुल आफूलाई परिचालन गर्न सक्नुपर्दछ । सत्यमा आधारित कर्मतर्फ आफूलाई परिस्कृत गर्नुपर्दछ । सत्य कर्म र व्यवहार मेरो आदर्श हो भनी इमान्दार र सच्चा सेवाधारी चिन्तक बन्नु पर्दछ । जीवन यस्तो भाडो हो जो देख्दामा भरिएको जस्तो देखिए पनि यो खाली नै हुन्छ । त्यसमा धेरै अटाउने ठाउँ हुँदा हुँदै पनि मानिसले आफूलार्ई अहंकारवश पूर्ण भएको ठान्दछ ।

मानिस आफूलार्ई पूर्ण ठान्नु भनेको अहंकार घमण्डले भरिनु हो । जसरी सागरमा जति पानी जम्मा भए पनि त्यो भरिएको देखिन्छ त्यसरी नै जीवन पनि त्यस्तै हो । त्यसमा जति अहंकार घमण्ड राख उसको इच्छापूर्ति हुँदैन । म सम्पन्न भए भनेर उसले कहिले सन्तुष्टि मान्दैन । ऊ जति पाउँछ त्यति नै पाउने आशामा उ । लागिरहन्छ । अन्तिम क्षणमा उ न त केही गर्न सक्छ न त उसको विवेकले नै केही गर्न सक्छ । जसरी जगबिनाको घर कमजोर हुन्छ त्यसरी नै उसका विचारहरु डगमगाई रहन्छ । तसर्थ जीवनयापनको बलियो आधार विश्वास भएकोले यो कुरा सबैले बुझ्न जरुरी हुन्छ ।
विश्वासले परिवार, समाज, राष्ट्र, बनेको हुन्छ । मानव जीवन विश्वासले भरिएको सागर हो यसलार्ई बुझ्नु पर्दछ । विश्वासले भरिएको मानव जीवन ज्ञान, सिप, माया र आत्मियताले भरिएको हुन्छ । जीवनको हरेक कर्ममा विविधता हुन सक्छ तर उसभित्रको सत्यता एउटै हुन्छ । त्यस्ता व्यक्तिको परिचय पूर्वार्धदेखि उत्तरार्धसम्म एउटै भएर गतिशील भएर अगाडि बढेको हुन्छ । ऊ सकारात्मक चिन्तनको धनी हुन्छ । ऊ पद प्रतिष्ठा र घमण्डमा कहिले रोमलिँदैन ।

असल आचरण र सेवा भावमा समर्पित हुनु नै उसको जीवनको लक्ष्य हुन्छ । तसर्थ परिस्थितिलार्ई स्वीकार गरी जीवनलार्ई उत्तम गति दिन र बाटोमा आउने समस्यालार्ई समाधान गर्दै जीवन प्रेमको सरोबर हो भन्ने ठानी आफूलार्ई समर्पण गर्नुपर्दछ । जसरी सागरको पानी बाफ भनेर बादल बनी पानी पर्छ खोलानाला नदी भएर बग्दछ त्यसरी नै जीवन पनि जन्मन्छ निश्चित कर्म गर्छ र पुन जहाँबाट उत्पन्न भएको हो त्यही पुग्दछ । फेरि उत्पन्न हुन्छ नष्ट हुन्छ । यो जीवनचक्र भनेकै यस्तै हो ।

यसैले यस कुरालार्ई मनन गरी दुःखमा होइन सुखको अनुभूति गर्ने आफूभित्रको खुसी र सत्यतालार्ई मनन गरी मनुष्य जीवन हिरा हो, यसले काट्न पनि जान्दछ, चम्किन पनि जान्दछ र चम्काउन पनि जान्दछ भन्ने सोच राखी उज्यालो दिशामा आफूलार्ई प्रदर्शन गर्न आफै सकारात्मक भएर अघि बढ्नु पर्दछ । तब मात्र जीवनको सफल आधार बन्न पुग्दछ । मन चंगा त कठौतीमा गंगा भनेझै सन्तोषी सदा सुखी असन्तोषी सदा दुःखी भन्ने युक्ति सार्थक हुन्छ । अस्तु ।