घोराही १३ मा मनोविमर्शसम्बन्धी सचेतना कार्यक्रम
गोरक्ष समाचारदाता
दाङ, ६ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा मनोविमर्शसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको आयोजना र घोराही उपमहानगरपालिका वडा नं. १३ को सहयोगमा मनोविमर्शसम्बन्धी सचेतना कार्यक्रम भएको हो ।
वडामा रहेका विद्यालयका शिक्षक, टोल विकास संस्था, सहकारी संस्था, मठ मन्दिरको नेतृत्व, विभिन्न सामाजिक संघसंस्थाका नेतृत्वकर्ता, महिला स्वास्थ्य स्वयम्सेविका, जनप्रतिनिधि, कर्मचारीहरूको उपस्थितिमा मनोविमर्शसम्बन्धी सचेतना प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष डुल्लुराम पोख्रेललले पछिल्लो समयमा मानसिक समस्याका घटना बढ्दै गएकाले वडाबासीलाई मानसिक समस्या, मनोसामाजिक समस्याबारे सचेतना प्रदान गर्ने उद्देश्यले वडाले कार्यक्रमका गरिएको बताए ।
उनले पछिल्लो समय आधुनिकता र प्रविधिको विकाससँगै विविध कारणले मनोसामाजिक समस्या बढिरहेको बताउँदै आगामी दिनमा वडाबासीलाई सचेत बनाउन वडा कार्यालय लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रका बरिष्ठ मनोविमर्शकर्ता लक्ष्मी ढकाल र मनोविमर्शकर्ता निर्मला चौधरीले मनोविमर्शसम्बन्धी प्रशिक्षण दिएका थिए । जसमा मनोविमर्श भनेको के हो, मनोसामाजिक समस्या भनेको के हो, मनोसामाजिक समस्या हुनुका कारण, मनोसामाजिक समस्याका लक्षण, समाधानका उपायलगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रका कार्यक्रम प्रमुख आरके शीतलको अध्यक्षता एवम् वडाध्यक्ष डुल्लुराम पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य रामकली घर्ती, वडा सदस्य राजीवराज हौजाली, वडा सचिव कौसल बस्नेतलगायतले भनाइ राखेका थिए । कार्यक्रममा ५० जना बढीको सहभागिता रहेको थियो ।
