Goraksha

National Daily

घुस्राका फाँटमा लहलह तोरी

खेमराज रिजाल
सौँडियार (दाङ), १० माघ । ‘तपाईँ ठिक दुईसाता पहिले आइदिएको भए यहाँको फाँटमा ढकमक्क तोरी फुलेको हुन्थ्यो, यसमा तपाईँ टिकटक सुटिङ गर्न सक्नुहुन्थ्यो, रिल बनाउन सक्नुहुन्थ्यो तर अहिले तपाईँ देख्दै हुनुहुन्छ, लहलह तोरी’, आफ्नो तोरीबारीमा स्वागत गर्दै घोराही उपमहानगरपालिका–७ घुस्राकी किसान सावित्रा शर्माले भनिन् । अहिले घुस्राको कम्तिमा ४८ बिघा फाँटमा लहलह तोरी फलेको छ ।

करिब एक दशकसम्म घुस्राबासीले एक कट्ठामा पनि तोरी खेती गर्दैनथे । कसैले साग खान तोरीको बिउ खोजे पनि गाउँमा पाउन मुस्किल हुन्थ्यो । क्रमशः एकपछि अर्को गर्दै घुस्रामा तोरी बाली फस्टाउन थालेको छ । यो वर्षदेखि त घुस्राबासीले एउटा कृषक समूह बनाएरै तोरी खेतीमा सबैलाई जोड्न थालेका छन् । यो समूहको नाम घुस्रा बहुद्देश्यीय कृषक समूह राखेका छन् । सम्भवतः समूहको नेतृत्वमा महिलाहरूकै बाहुल्यता देखिन्छ, सदस्य पनि महिला नै धेरै छन् । समूह बनाएसँगै उनीहरू यो वर्ष कृषि ज्ञानकेन्द्रसँग पनि जोडिए । कृषि ज्ञानकेन्द्रले उनीहरूलाई अनुदानमा तीन सय केजी उन्नत जातको स्थानीय तोरीको बिउ उपलब्ध गरायो अनि सबैले त्यही बिउ छरेर यो वर्ष उनीहरूले बिउ उत्पादनको तयारी गरेका छन् ।

‘तेलका लागि मात्र होइन, हामीले त यसपालि माउ बिउ उत्पादनको लागि तोरी खेती थालेका छौँ, ताकि घुस्रा तोरी बिउ उत्पादन जोन बन्न सकोस्’, समूहकी सचिव शारदा भण्डारी आचार्यले भनिन् । विसं २०७६ सालमा खुलेको समूहको उद्देश्य नै कृषिमा गाउँलाइ आत्मनिर्भर बनाउँदै निर्यातमुखी कृषिको सुरुआत गर्नु हो । समूहलाई उन्नत जातको बिउ मात्र होइन कृषि ज्ञानकेन्द्रले बिउ राख्ने सिडविन पाँचवटा, इलेक्ट्रिक काँटा दुईवटा, तोरी बालीमा विषादी छर्कनका लागि स्प्रे ट्याङ्की आठवटा तथा तोरी दाउनका लागि १५ थान त्रिपाल समेत उपलब्ध गराएको छ । यो सँगै तोरी उम्रेदेखि स्याहार्दासम्मका लागि प्राविधिक परामर्श दिनुका साथै समूहमा आबद्ध किसानलाई कृषि प्राविधिक तालिम समेत दिएपछि घुस्राबासी तोरी बिउ जोन बनाउन हौसिएका हुन् ।

कृषिले दिएको बिउ समूहमा आबद्ध ४८ जना किसानले जग्गाको क्षेत्रफलका आधारमा बाँडे । विषादी छर्ने ट्याङ्की पालैपालो प्रयोगमा ल्याए अनि तौल मेसिन र त्रिपाल पनि पालैपालो प्रयोग गर्ने तयारीमा छन् । घोराही–७ सौँडियार घुस्राकै विष्णा पाण्डेले यो वर्ष छ कट्ठा जग्गामा तोरी खेती गरेकी छन् । ‘गत सालभन्दा बिउ फेरेपछि यो वर्ष तोरी राम्रो फलेको छ, कति फल्छ त्यो त स्याहारेपछि मात्रै भनौँला’, विष्णाले भनिन् । उनको अनुमानमा यो वर्ष उनले कम्तिमा तीन मुरी तोरी फलाउने छिन् । सबै तोरी ग्रेडिङ गरेर बिक्री गर्ने उनको चाहना छ । त्यो गाउँमा सबैभन्दा धेरै जग्गामा तोरी खेती गर्ने मानबहादुर चौधरी हुन् । उनका खेतमा पनि लहलह तोरी लत्रेको छ । करिब छ बिघा जग्गामा उनले तोरी रोपेका छन् । नयाँ बिउ रोपेपछि राम्रो उत्पादन हुने लक्षण देखिएको मानबहादुरले बताए ।

घुस्रामा तोरी खेती यति राम्रो हुन्छ भन्ने विश्वास गाउँमा बोरिङ गाडिएपछि मात्रै हो । केही वर्ष पहिले मात्र भूः तथा जलाधार संरक्षण कार्यालयले गाउँमा डिपबोरिङ गाडिदिएपछि त्यसबाट छ इञ्चको पाइपभरि पानी बाह्रैमहिना आउँछ । गाउँलेले घण्टाको एक सय रुपैयाँ तिरेर बालीमा पानी सिँचाइ गर्न पाउने गाउँका अगुवा रोबरबहादुर केसीले भने । ‘यो गाउँमा तोरी फल्छ कि भनेर सुरुमा मैले तोरी खेती सुरु गरेँ, अब बिस्तारै घुस्राका फाँट लहलह तोरीले भरिएको छ’, केसीले भने । गाउँमा बाह्रैमास सिँचाइ सुविधासँगै बाँझा खेतमा लहलह तोरी धान र तरकारी फल्न थालेपछि वैदेशिक रोजगारीमा गएका माधव शर्मा पनि खेतीपातीलाई व्यावसायिक बनाउन भर्खरै गाउ फर्केका छन् । ‘हामी गाउँलाई नै कृषिमा आत्मनिर्भर बनाउन चाहन्छौँ’, माधवले भने । माधव गोराथोकी पनि पछिल्लो समय व्यावसायिक कृषिमा जोडिएका छन् ।

अब घुस्राका खेतबारी बाहै्रमहिना व्यस्त हुनेछन् । फागुन पहिलो साता तोरी स्याहारिसकेपछि उनीहरूले मकै रोप्ने छन् । जेठ महिनामा मकै तयार भएपछि फेरि वर्षातको मौसममा धान खेती गर्नेछन् । कसैले मकै नरोपेर बेमौसमी तरकारी खेती गर्ने योजना बनाएका छन् । ‘हामी घुस्रालाई बेमौसमी तरकारी खेतीको हब बनाउन चाहेका छौँ, यसका लागि समयमा मल बिउलगायत उत्पादनको बजारीकरणमा सरकारले सहजीकरण गरोस् भन्ने हाम्रो चाहना छ’, मानबहादुरले भने । उनीहरूले घोराही उपमहानगरपालिकाबाट पनि हाइब्रिड तरकारीको बिउलगायतमा अनुदानको अपेक्षा गरेका छन् तर यति ठुलो तरकारी पकेट क्षेत्रलाई उपमहानगरपालिकाले खासै वास्ता नगरेको उनीहरूको दुःखेसो छ ।

‘हाम्रो सबैभन्दा नजिकको सरकार भनेकै स्थानीय सरकार हो, त्यसैले हामीले आशा पनि यही सरकारबाट गरेका छौँ’, मानबहादुरले भने । त्यसो त घुस्राबासीले यही फाँटमा अघिल्लो वर्ष पनि बेमौसमी तरकारी खेती गरेको बताएका छन् । फागुनदेखि जेठ महिनासम्म उनीहरूले लौका, बोडी, तीतेकरेला, भिन्डीलगायतका बेमौसमी तरकारी प्रशस्त फलाएको बताए । बजारीकरणको समस्या र बिचौलियाको हस्तक्षेपका कारण उनीहरूले श्रमको मूल्य भने पाउन नसकेको गुनासो गरे । स्थानीय सरकारसँग उनीहरूले बजारीकरणको व्यवस्थापनको बढी अपेक्षा गरेका बताएका छन् ।

नयाँ जातको तोरी खेती सुरु गरेको समूहले यो वर्ष सबैभन्दा राम्रो तोरी फलाउने समूहमा आबद्ध किसानलाई पुरस्कृत गर्ने समूहका अध्यक्ष सावित्राले बताइन् । उत्कृष्ट कृषक छनोट गर्न कृषि ज्ञानकेन्द्र तथा उपमहानगरपालिकाको कृषि शाखालाई उनीहरूले निम्तो दिएका छन् । यसैगरी उनीहरूले उत्पादन गरेको तोरी बिउका लागि उपयुक्त छ वा छैन भनेर नमुना सङ्कलन गर्न कृषि ज्ञानकेन्द्रको प्राविधिक टोली मङ्गलवार बारीमै पुगेको छ ।

‘हामी दाङ जिल्लालाई तोरी बिउ उत्पादन पकेट क्षेत्र बनाउन चाहन्छौँ, कहाँको बिउ सबैभन्दा बढी उपयुक्त हुन्छ भनेर नमुना सङ्कलन गर्न यहाँसम्म आइपुगेका छौँ’, कृषि ज्ञानकेन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले भने । कृषि ज्ञानकेन्द्रले दाङलाई तोरी बिउ उत्पादन क्षेत्र बनाउन यो आर्थिक वर्ष जिल्लाका विभिन्न तीन स्थानमा सघन विशेष बाली कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम घोराही उपमहानगरपालिका–७ घुस्रा तथा शान्तिनगर गाउँपालिकाको १ र ३ नम्बर वडामा नमुना खेती सुरु गरिएको कार्यालयले जनाएको छ ।