लमही महोत्सव आजदेखि
टेकबहादुर पुन
लमही, १० माघ । सातौँ देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सव–२०८१ को उद्घाटन आज (विहीवार) हुने भएको छ । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले गर्ने भएका छन् । माघ १० देखि २७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
देउखुरी उद्योग वाणिज्य संघ लमहीको आयोजनामा लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा सञ्चालित जैविक विविधता ग्रिन पार्कभित्र सातौँ कृषि, पर्यटन तथा देउखुरी व्यापारिक महोत्सव २०८१ आयोजना गर्न लागिएको हो ।
‘कृषि पर्यटन उद्योग तथा व्यापार देशको समृद्धिको बलियो आधार’ भन्ने मूल नाराका साथ लमहीको खस्किएको व्यापार उठाउने उद्देश्य र देउखुरीमा पर्यटक कसरी भित्राउने भन्ने लक्ष्यले लमहीमा महोत्सव सञ्चालन गर्न लागिएको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले बताए । उनले नेपाली कला संस्कृति संरक्षण र संवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताए । महोत्सवमा कृषिका लागि विशेष स्टल राखिने उनले बताए ।
महोसत्सवबाट सङ्कलित रकमबाट आइसियुसहितको एम्बुलेन्स खरिद गर्ने, अजम्मरी सामुदायिक वन उपभोक्त समूहद्वारा सञ्चालित जैविक विविधता ग्रिन पार्कलाई व्यवस्थापनमा सहयोग गर्ने देउखुरी उद्योग वाणिज्य संघका बरिष्ठ उद्योग उपाध्यक्ष केशवराज पोख्रेलले जानकारी दिए । देउखुरी उवासंघ लमहीका अध्यक्ष ठकुरीले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् ।
महोत्सव स्थलमा स्टेज, स्टल, सचिवालय कक्ष तथा प्रदर्शनी स्थल निर्माणलगायतका काम सम्पन्न भइसकेका छन् । यस क्षेत्रका समग्र सम्भावना उजागर गरी आर्थिक, सामाजिक प्रतिकूलता र विषम सामाजिक परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायलाई पुनःस्थापित गर्न महोत्सव उपलब्धिमूलक हुने अध्यक्ष ठकुरीको भनाइ छ ।
महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी र कृषि प्रविधिलाई व्यवसायमा जोड्न विशेष जोड दिइने बताइएको छ । यसैगरी यस वर्षको महोत्सवमा करिब पाँच लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि गरी तीनसय वटा स्टल रहने भएका छन् ।
महोत्सवलाई व्यवस्थित तवरले सञ्चालन गर्न विभिन्न उपसमिति गठन गरिएको छ । यसैगरी महोत्सवमा प्रवेश शुल्क एक सय, विद्यार्थीलाई ८० रुपैयाँ कायम गरिएको छ भने ज्येष्ठ नागरिकलाई महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । फरकफरक समुदायका फरकफरक मौलिक सांस्कृतिक झलक महोत्सवमा गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा झाँकी प्रदर्शनीमा सहभागी भएकामध्ये उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने भएको छ । महोत्सवमा राखिने तीन सय स्टलमध्ये दुई सय ५० वटा स्थानीय व्यापारी, ५० वटा कृषि क्षेत्रलाई कायम गरिएको छ । महोत्सवमा पार्किङको निशुःल्क व्यवस्थापन गरिनेछ भने नेपाल औषधी व्यवसायी संघ दाङसँगको समन्वयमा महोत्सव अवधिभर निःशुल्क प्राथमिक उपचार केन्द्रको स्टल राखिने छ । लमही नगरपालिकासँग समन्वय गरी महोत्सवमा बारुण यन्त्र समेत राखिने आयोजकले जनाएको छ ।
