निर्वाचन स्वच्छ बनाऊ
सम्पादकीय
उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । संघीय संसद र प्रदेशसभा सदस्यका लागि आज उम्मेदवारी दर्ता हुँदै छ भने स्थानीय तहको निर्वाचनका लागि आउँदो २७ गते उम्मेदवारी दर्ता हुने छ । दाङमा एउटा प्रदेशसभा सदस्य र एउटा वडा अध्यक्षको निर्वाचन हुँदैछ । क्षेत्र नं. ३(ख)का लागि आज उम्मेदवारी दर्ता हुनेछ भने घोराही उपमहनगर पालिका १६को बडा अध्यक्षका लागि २७ गते उम्मेदवारी दर्ता हुने छ । यो प्रक्रियासंगै चुनावी माहौल आफै तातिदै जाने छ ।
राजनीतिक दलहरु मतदाताको घरदैलोसम्म पुगेर मत माग्ने अभ्यास यहाँ रहेको छ । त्यो क्रम अब भोलीवाट देखिने पनि छ । दलहरु यसरी मतदाताको घरसम्म पुग्दा मतदातालाई चुनावी प्रक्रियामा भाग लिनका लागि उत्प्रेरणा पनि मिल्ने छ र निर्वाचनमा अधिक से अधिक मतदान हुने छ ।
जनताले आफ्ना प्रतिनिधिहरु आफै छान्न पाउनु लोकतान्त्रिक पद्दतिको एउटा महत्वपूर्ण बिशेषता हो । यो बिशेषतालाई जति प्रभावकारी र सही ढंगले उपयोग गर्न सकिन्छ, त्यती नै लोकतन्त्र प्रतिको आकर्षण बढ्दै जाने छ । दलहरुले मतदातालाई मतदान केन्द्रसम्म ल्याउन भूमिका खेल्छन् नै । यसो भन्दैमा राज्यको भूमिका कमजोर वा थोरै भए पुग्ने भने अबश्यै हैन । निर्वाचन आयोगले निर्वाचनका प्राबिधिक र प्रशासनीक कामहरु त आफ्नो क्षेत्राधिकार भित्र रहेर पुरा गर्छ नै । यसभन्दा बाहेक दुई कुरामा उ अझ बढी गंम्भिर देखिन जरुरी हुन्छ । एउटा, मत हाल्ने मतदाताको मत बदर नहुनका लागि उनीहरुलाई सचेत बनाउने भूमिकामा उ अझै प्रभावकारी बन्न जरुरी छ । अर्को, निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउनका लागि उसको भूमिका अझ शसक्त देखिन आबश्यक छ । यी दुई भूमिका निर्वाहका क्रममा निर्वाचन आयोगलाई सघाउनु सबैको दायित्व पनि हो । गत निर्वाचनमा दाङमा हाल उपचुनाव हुँदै गरेका स्थानहरुमा गरेर २ हजार भन्दा बढी मतहरु बदर भएको तथ्यांक रहेको छ । दुई हजार मतदाताहरु दिनभर लाइनमा बसेर आफ्नो विवेकको आधारमा प्रतिनिधि चुन्दै गर्दा उनीहरुको चुनाई गणना हुन नपाउनु भनेको गंम्भिर बिषय हो । त्यस्तै मतदाताको विवेकका आधारमा उनीहरुका प्रतिनिधि चुन्ने पद्दति भनेर चिनिने लोकतन्त्रमा हुने निर्वाचन पूर्ण रुपमा आचारसंहिताको परिधी भित्र रहेर हुनुपर्दछ । मतदातालाई प्रभावित पार्ने र तामझाम गर्ने प्रबृत्ति हाम्रा चुनावहरुमा देखिएका छन् । ती प्रबृत्तिवाट निर्वाचनलाई मुक्त राख्न आयोग अझै प्रभावकारी ढंगले प्रस्तुत हुन जरुरी छ ।
मतदाताहरु पनि निडर र स्वतन्त्र भएर निर्वाचनका हरेक प्रक्रियामा प्रस्तुत हुन जरुरी छ । मुद्दाहरुमा छलफल गर्ने, नेतृत्वलाई वा उम्मेदवारलाई मुद्दामा काम गर्न प्रतिबद्ध बनाउने ढंगको प्रस्तुती मतदाताहरुका तर्फवाट हुन आबश्यक हुन्छ । आश गर्ने र आशिर्वाद थाप्ने रोगवाट सबै मतदाता मुक्त हुन जरुरी छ । अझ भन्नुपर्दा, निर्वाचनको समयमा दल–वदल गर्ने, यो क्षेणलाई अवसर मानेर सानो लोभलालच प्रदर्शन गर्ने त्यसै आधारमा मत हाल्ने प्रबृत्ति पनि मतदाताहरुमा देखिने गरेको छ । यस्तो अदूरदर्शी निर्णयले जनता घाटामा पर्ने, नेतृत्वलाई दम्भी बनाइदिने र निर्वाचन पद्दतिप्रति अबिश्वास जगाइदिने काम गर्दछ । यी सबै कुराहरुमा सबैको चासो र चिन्ता देखिनु पर्नेहुन्छ ।