Goraksha

National Daily

चैते धान रोपाईमा व्यस्त किसान, सरकारबाट सहयोग नपाएको गुनासो

घोराही,२ बैशाख । दाङको बंगलाचुली गाउँपालिका–४ गहतेरा निवासी मुगा डाँगी अहिले चैते धान रोप्न व्यस्त हुनुहुन्छ । गर्मी मौसमका कारण अन्य स्थानमा खडेरी परेको समयमा उहाँको परिवारलाई सुकाखोलाको पानीले सिञ्चित भएको करिब चार रोपनी जग्गामा धान रोप्दै हुनुहुन्छ ।

खाली समयमा बस्नुभन्दा पानीको सुविधा भएको र उत्पादन पनि राम्रो हुने भएकाले बर्सेनी चैते धान खेती रोप्दै आएको डाँगी बताउँनुहुन्छ । धान रोप्दै गर्नुभएकी डाँगीले भन्नुभयो,‘सिचाईको राम्रो सुविधा र उत्पादन पनि राम्रो हुने भएकाले पहिलेदेखि नै चैते धान खेती गर्दै आएका छौ । खेतीका लागि पानीको समस्या छैन ।’ चैते र बर्खे धान गरेर वर्षमा दुई बाली धान खेती गर्दै आउनुभएकी डाँगीले बर्खे धानको तुलनामा चैते धान राम्रो फल्ने बताउँनुहुन्छ । अहिले रोपेको धानमा राम्रो धान लागेको हुन्छ रोग केही पनि लाग्दैन ।

पहाडी क्षेत्रमा एक बाली मात्रै खेतीले परिवारलाई खानसँगै घरव्यवहार चलाउन समस्या हुने भएकाले सकेसम्म थोरै जमिनबाट धेरै उत्पादन लिनका लागि पनि आफुहरुले प्रत्येक बर्ष चैते धान खेती गर्दै आएपनि स्थानीय सरकारले भने सहयोग गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘किसानले आफ्नै लगानी र मेहनतमा खेती गर्ने हो सरकारले हामीलाई केही सहयोग गरेको छैन । पक्की सिचाई कुलो निर्माणसँगै उन्नत जातको बीउ र मल सहयोग गरे धेरै उत्पादन हुने थियो तर सरकारले सहयोग गरेको छैन ।’

मुगा डाँगी जस्तै गहतेरा निवासी कमला घर्ती पनि चैते धान रोप्दै हुनुहुन्छ । खेतमा रोपेको गहुँवाली भित्राएर कमला चैते धान रोप्न व्यस्त हुनुहुन्छ । ६ रोपनी जग्गामा चैते धान खेती गर्दै आउनुभएकी घर्तीले बर्खेभन्दा अहिले रोपेको धान राम्रो उत्पादन हुने बताउनुहुन्छ । घर्तीले भन्नुभयो,‘खाली समयमा बस्नुभन्दा धान खेती गर्दा उत्पादन राम्रो हुने भएकाले खेती गर्ने गरेका छौ ।’ घरपरिवारका लागि फुर्सदको समयमा चैत धान खेती थप आम्दानीको श्रोत बन्ने गरेको घर्तीमगर बताउनुहुन्छ । चैतको अन्तिमतिर रोपेर सक्ने गरि खेतीमा लागेको उहाँ बताउँनुहुन्छ । उहाँले भन्नुभयो,‘फागुनमा राखेको धानको ब्याड हो । यो चैतको अन्तिमतिर रोपिसक्नुपर्ने हुन्छ ।’ बेमौसमी खेतीका रूपमा रोपिने चैते धानबाट राम्रो आम्दानी हुने भएपछि आफुलगायत गाउँका अधिकांस किसानले खेती गर्दै आएको उहाँ बताउँनुहुन्छ ।

जिल्लामा चैते धान बंगलाचुली गाउँपालिका–३ र ४ र घोराही उपमहानगरपालिका १ का सुकाखोलाका अधिकांश रोप्ने गरेका छन् । वर्षमा दुईबाली धान खेती गर्ने स्थानीयवासीहरुले बर्खेभन्दा चैते धानबाट राम्रो आम्दानी लिने गरेको गहतेरा निवासी चूर्ण डाँगी बताउँनुहुन्छ । चैते धान प्रवद्र्धनका लागि स्थानीय वा प्रदेश सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने भएपनि नगरेको गुनासो गर्नुहुन्छ । सरकारले सहयोग नगर्दा पहिलेको तुलनामा पछिल्लो समय किसान कम भएको समेत बताउँनुहुन्छ ।

किसानले अहिले रोपेको चैते धान साउनको पहिलो सातातिर पाक्ने गरेको बताउनुहुन्छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार घोराही उपमहानगरपालिका १, बंगलाचुली गाउँपालिका ३ र ४ सँगै देउखुरीका केही स्थानमा चैते धान खेती हुने गरेको छ । ज्ञान केन्द्रका अनुसार जिल्लामा करिब दुई हजार पाँच सय हेक्टरमा चैते धान खेती हुने गरेको छ ।