जिसस रोडमा गुलमोहर टुरिजम

खेमराज रिजाल
दाङ, ४ जेठ ।

एका बिहानै करिब डेढदर्जन जति क्यामेरामेन आइपुग्छन् । उनीहरू आई नपुग्दै फोटो सुट लिने क्लाइन्ट भेला भइसकेका हुन्छन् । युवा पे्रमिल जोडीका साथ, आमाहरू नानी बोकेर, अधबैँसेहरू मेकअप गरेर अनि बृद्धबृद्धा समेत अचेल यही क्षेत्रमा केही समय कटाउँछन् । यो क्षेत्र हो, घोराहीको मुख्य बजार सहिदगेटदेखि दक्षिण जिसस रोडको । ‘फूलैफूल दिन्छौं कि काँडैकाँडा दिन्छौ कि मत फूलै रोज्ने हो …’ यस्तै गीतमा भिडिओ सुटिङ भइरहेको छ । यदि केही आनन्द, केही खुसी, केही उत्साह र केही जाँगरको अनुभूति गर्नु छ भने पहिलो गन्तव्य यही बनेको छ । जहाँ भूइँभरि गुलमोहरका फूलका पत्र छरिएका छन् । रुख राताम्मे छन् । राताम्मे गुलमोहरमा तस्बिर कैद गर्नेहरू पनि उत्तिकै उत्साहित देखिन्छन् ।

करिब एक महिना पुग्नै लागेको छ, गुलमोहर फुलेको । अर्थात् वैशाख पहिलो सातादेखि घोराही उपमहानगरपालिका—१५ स्थित जिसस रोड त्यही फुलेको गुलमोहरका कारण भाइरल मात्र बनेन नागरिकका बुझाइमा यो एउटा फूल पर्यटन पनि हो । गुलमोहरको मनमोहक दृश्यमा आफूहरू जोडिन चाहन्छन्, उनीहरू । शुक्रवार बिहान पौनेदश बजे नै एउटा युवा जोडी भेटियो । सोधेँ, ‘कहाँबाट आएको ?’ उनीहरूको जवाफ थियो, ‘सल्यानबाट ।’ ‘केका लागि आउनुभयो ?’ फूलसँग तस्बिर खिचाउन ।’ ‘तपाईँहरूको नाम, ठेगाना नि ?’ ‘त्यो त नभनौँ, कपुरकोटबाट तुलसीपुरसम्मका लागि मात्र झरेका थियौँ, पछि सम्झ्यौँ, जिसस रोडको गुलमोहरको फूल । हामीले पोहोर साल पनि यी गुलमोहरका बुटामुनि पूरै एक दिन टिकटक बनाएर बिताएका थियौं ।’ उनीहरूले नाम चाहिँ भनेनन् ।

उनीहरू जस्तै एक जोडी प्युठान नौबहिनी गाउँपालिकाबाट पनि फोटो सेसनका लागि शुक्रवारै यहाँ आइपुगेका थिए । सपना र बिमल । उनीहरूले राम्रो क्यामेरा म्यान खोजिरहेका थिए । सायद उनीहरूले बोकेको मोबाइलमा भन्दा प्रोफेस्नल क्यामेराले खिचेको तस्बिर स्मार्ट पोजको हुन सक्ला । त्यसैले एक स्न्यापको २० रुपैयाँका दरले उनीहरूले पाँच÷पाँच स्न्याप फोटो र प्रतिभिडियो एक सय रुपैयाँ तिरेर पाँचवटा भिडियो समेत बनाएको बताए । यी तबिर र भिडिओलाई उनीहरूले सामाजिक सञ्जालमा पोस्ट्याउने बताए । उनीहरूले सोधिरहेका थिए, ‘अन्त कतै पनि छ यस्तो गुलमोहर गार्डेन ?’ नजिकैका राम्जाली चिया पसलकी साहुनीले भनिन्, ‘यही मात्रै हो अब यो धेरै दिन रहने पनि छैन । वर्षमा एक महिना मात्रै यही सिजनमा फुल्छ, गुलमोहर ।’

ढकमक्क फुलेका एक दर्जन जति गुलमोहरका बोटमुनि तस्बिर खिचाउन करिब एक महिनादेखि त्यत्तिकै सङ्ख्यामा क्यामेराम्यान आइरहेका छन् । क्यामेराम्यानको बिहानको खाजा, खाना पनि यही क्षेत्रमा हुने गरेको छ । ‘कहिलेकाहीँ त दिनमै १२ हजार रुपैयाँसम्म कमाइ हुन्थ्यो तर यसपालि भने त्यति धेरै आगन्तुक नआएजस्तो लाग्छ’, एक जना क्यामेराम्यान तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुरका कर्या परियारले भने । तैपनि कुनै दिन खाली हात फर्कनु परेको छैन । ती क्यामेराम्यानले खिचाएका फोटो र भिडिओ सम्बन्धित व्यक्तिकै मोबाइलमा राखिदिने रहेछन्, तत्कालै ।

त्यसो त सरकारले टिकटक बन्द गरेपछि यो क्षेत्रको गुलमोहर पर्यटनमा पनि धक्का लाग्यो । जिसस रोडमै होटेल व्यवसाय गरेर बसेका एक जना साहुजी भन्छन्, ‘टिकटक ब्यान्ड नगर्दासम्म त कति भिड हुन्थ्यो कति, यो सडकमा सवारी साधनलाई बाटो छिचोल्नै मुस्किल हुन्थ्यो । कास्कीदेखि चितवनसम्मका मान्छे आउँथे, यहाँ यो फूलैफूलको सुन्दरता हेर्न ।’
पछिल्लो समयमा जिसस रोड गुलमोहर टुरिजम क्षेत्रका रूपमा प्रख्यात हुन थालेको छ ।

स्थानीयको प्रचारप्रसारभन्दा पनि सूचना प्रविधिको सहज पहुँचका कारण जिल्ला बाहिरका नागरिकले पनि आफ्ना सामाजिक सञ्जालमा गुलमोहरको बुटमुनि खिचेका तबिर पोस्ट गरिरहेको देखिन्छ । यसलाई अझै व्यवस्थित गर्न सके यो क्षेत्रलाई गुलमोहर टुरिजमका नाममा पनि चिताउन सकिने नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ बताउँछन् । जिल्ला समन्वय समिति परिसरमा रोपिएका गुलमोहरको सौन्दर्यता मात्रै नभएर जिल्ला समन्वय समिति भित्रको फूलैफूलको बगैँचाले पनि फूलप्रेमीलाई तानिरहेको साक्षी खबर दैनिकका प्रकाशक÷सम्पादक सुनील पोख्रेलले बताए । उनले जिल्ला समन्वय समितिले यो फूलैफूलको बगैँचालाई एउटा आकर्षक फूलबारीका रूपमा विकास गरी यसबाट आय आर्जन गर्न सकिने सम्भावना पनि औल्याए ।

त्यसो त गुलमोहर फूलको आकर्षण बढ्दै गएपछि गत सालदेखि जिल्ला समन्वय समितिले पनि आफ्नो कार्यालय परिसर क्षेत्रमा थप गुलमोहरका विरुवा रोप्न थालेको छ । ‘फूलप्रति नागरीक मोह बढिरहेको सन्दर्भमा हामीले गुलमोहर पर्यटनलाई थप आकर्षक बनाउन फेरि पनि बिरुवा रोपेका छौं’, जिल्ला समन्वय समितिका समन्वय अधिकारी मोहन सुवेदीले भने । उनको बुझाइमा सायद मुलुकभरमा दाङ जिल्ला समन्वय समिति नै फूलैफूलको बगैँचा जस्तो छ । करिब चारदशक अघि रोपिएका गुलमोहर बुढा हुँदै जान थालेपछि यसको सुन्दरतालाई निरन्तरता दिन गत असारमा थप एक दर्जन गुलमोहरका बिरुवा रोपिएको जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले बताए । आगामी असार, साउनमा पनि समय मिलाएर गुलमोहरलगायतका फूल तथा अन्य प्रजातिका बिरुवा रोपिने पनि समन्वय प्रमुख शर्माले बताए ।

कहिले रोपिए जिससमा गुलमोहर ?
जिल्ला समन्वय समितिमा यसको अफिसियल विवरण त छैन । तैपनि जानकारका अनुसार वि.सं २०४३ को वर्षमा यहाँ करिब ५० जति गुलमोहर रोपिएका थिए तर त्यो बेला स्याहारसुसारको अभाव हो वा हावा पानीले साथ दिएन । करिब एक दर्जन मात्रै बिरुवा सप्रिए । तत्कालीन जिल्ला विकास समितिको नयाँ भवन वि.सं २०४२ मा निर्माण सम्पन्न भयो ।

त्यसलाई काठका पोलमा काँडेतार लगाएर कम्पाउण्ड बनाइएको थियो । तत्कालिन जिल्ला सभापति खिमबहादुर शाहका पालामा यो क्षेत्रमा गुलमोहरका बिरुवा रोपिएको त्यसबेलाका कर्मचारी ऋषिराज जङ्गलीले गोरक्षलाई बताए । म त्यो बेला जिल्ला पञ्चायत कार्यालयमा कर्मचारी थिएँ । हामी भ्रमणका क्रममा बुटवलको त्यसबेलाको ट्राफिक चोकको सडकको वल्लो पल्लो किनारामा गुलमोहर ढकमक्क फुलेको देख्यौँ । त्यसको रिपोर्टिङ जिल्ला सभापति खिमबहादुर शाहलाई ग¥यौँ, उहाँ राजी हुनुभयो र हामीले जिल्ला वन कार्यालयबाट गुलमोहरका बिरुवा ल्याएर यस प्राङ्गणमा रोपेका थियौँ’, जङ्गलीले भने, ‘त्यो बेला जिल्ला वन कार्यालयका प्रमुख यमबहादुर थापा थिए ।’ यहाँ बिरुवा नभएका कारण वनले अन्यत्रैबाट यी विरुवा मगाइदिएको थियो ।

त्यसो त गुलमोहरको मनमोहक दृश्यलाई अन्यत्र पनि विस्तार गर्न खोजिएको थियो । तत्कालीन जिल्ला पञ्चायतका कर्मचारी जङ्गली पछि त्रिभुवननगर जेसीजको अध्यक्ष बनेको बेला जेसीजले मसोट, चौपट्टा सडकखण्डमा पनि गुलमोहरका केही बिरुवा रोपेको थियो । सायद स्याहारसुसार नभएर हो कि हावा पानी नमिलेर ती बिरुवा फुल्ने उमेरसम्म बाच्न सकेनन् ।