calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

भत्किएका ‘घर’का कथा

पार्वती बस्नेत
दाङ, ४ जेठ । ‘भाग्यमा दुःख लेखिएको छ भने जता गए पनि दुःख नै पाइने रहेछ’ दुःखले गिजोलिएको कथाका एक पात्र, यो कथाको अन्त्यको पर्खाइमा छिन् । यो कथाको पात्र बन्नबाट छुट्कारा खोजिरहेकै छिन्, उनी । तर दुःखी कथाको अंश सकिँदैन न त कथाको पात्र बन्नबाट छुट्कारा नै मिलेको छ । तब यी पात्र जता पनि दुःख मात्रै देखिरहन्छिन् । उनले बुझेकी छिन्, पाउने केवल दुःख मात्रै हो । भन्छिन् ‘जता पनि दुःख मात्रै देख्छु र त जता गए पनि दुःख मात्र पाउँछु ।’

गढवा गाँउपालिका–६ निबासी मञ्जु कुमाल, एक छोरी र एक छोराकी आमा । जीवनभर साथ दिने वाचा गरेका श्रीमानले यो वाचा तोडिदिए । अर्कै विवाह गरेर श्रीमान्ले बाटो मोडेपछि मञ्जुको जीवनको बाटो झन कठिन मोडमा पुग्यो । कैलालीका एक व्यक्तिसँग विवाह बन्धनमा बाँधिएकी थिइन्, मञ्जु । विहे भएको ९ वर्षपछि श्रीमान्ले काखमा दुई छोराछोरी उपहार दिएर छोडी हिँडे । मञ्जुका दुःखका दिन सुरु भए । दुई पैसा आउने ठाउँ कहीँ भएन् । जागिरे थिए श्रीमान् तर उनले अर्की विहे गरेर गएपछि खर्चपर्च दिनै छोडे । श्रीमान्ले गलहत्याएपछि आश्रय लिने थलो एक मात्रै थियो, माइती घर । दुई सन्तान बोकेर उनी माइती घर फिरिन् । माइतीले घरछेउ नजिकै ऐलानी जग्गामा खरले छाएको एककोठे घर बनाइदिए । त्यही एककोठे घरमा उनको सबथोक अटेको छ । दुई सन्तान अनि कुखुराको बास त्यही कटेरो बनेको छ । घरभित्रै चल्ला बस्छन्, खाना त्यहीँ बन्छ अनि सुत्ने र केटाकेटी पढने पनि त्यहीँ नै हो, घरको भित्तामा प्वाल परेको छ । ‘वर्षामा छानो चुहिन्छ, गर्मीमा सर्पको डर हुन्छ, डरैडरमा जिन्दगी चलेको छ’, मञ्जुले भनिन् ।

मञ्जुले अहिले कटाइ सिलाइ सिकेकी छिन् । बाख्रापालन पनि गर्दै आएकी छिन् । त्यसैबाट भएको आम्दनीले उनको घर खर्च चलेको छ । कहिलेकाहीँ त बिहान बेलुका के खाने भन्ने समस्या हुन्छ त्यो बेलामा उनलाई माइतीले सघाउँदै आएका छन् । अहिले मञ्जुकी छोरी ११ कक्षामा पढ्छिन्, छोरा ४ कक्षामा पढदै छन् । छोरीले आमाको दुःख, गरिबी सबै देखेकी अनि भोगेकी छिन् । त्यसकारण पनि उनलाई धेरै पढेर जागिर पाइएला भन्ने लागेको छैन । उमेर पुग्नासाथ नेपाल प्रहरीमा भर्ती हुने योजनामा अडिग छिन् । फलतः अहिलेदेखि नै अभ्यास गर्दै छिन् ।

यस्तै गढवा गाँउपालिका वडा नं. ६ मनिकापुर निबासी ७० वर्षीया सुन्तली बुढाथोकी अहिले बेघर भएकी छिन् । उनी अहिले छिमेकीको घरमा महिनाको एक हजार रुपैयाँ भाडा तिरेर गुजारा गर्दै आएकी छिन् । ‘जन्मिँदा एक्लै मर्दा पनि एक्लै त हो तर यो संसारमा रहुञ्जेल दुःख–सुख साट्नलाई आफ्ना चाहिने हो तर मेरा त आफैँले जन्माएका सन्तानले मलाई बेघर बनाए’, उनी भक्कानिइन् । ३२ वर्ष पहिले बिरामी श्रीमान्को निधन भयो । छोराछोरीको रेखदेख पालनपोषणको जिम्मा एकल रूपमा सुन्तलीको काँधमा आयो । ‘बा छैनन् अरूले हेप्लान भन्दै हुर्काएँ तर अहिले तिनै सन्तानले मेरो नाममा रहेको जग्गा थाहै नदिई आफ्नो नाममा नामसारी गरेर लगे’, सुन्तलीले भनिन्, ‘अनि मलाई घरबाट निकालिदिए ।’ ७० वर्षको बुढ्यौली शरीर तर पनि जोश जाँगर अझै छ । कतै ऐलानी जग्गा पाए टहरो हालेर जिन्दगी बिताउने थिएँ भन्ने लाग्छ, उनलाई ।
श्रीमती बितेपछि एक्लिएका गढवा गाउँपालिका वडा नं. ५ प्रनाह निवासी रामु चौधरीका दुई छोरा भारतबाट नफर्केको वर्षौ भइसक्यो । कमाउन भन्दै भारत गएका दुई छोरा नफर्किएपछि रामुलाई पनि ज्याला मजदुरी गरेर गर्जो टार्ने बाध्यता आइलाग्यो । रामुको विगत रमाइलो थियो । साथमा छोरा थिए, मिठोमसिनो पकाएर खान दिने, दुःख, सुःख साट्ने श्रीमती थिइन तर श्रीमती टिबी लागेर बितेपछि उनी एक्लिए । उनी एक्लै भएको अहिले १५÷१६ वर्ष भइसक्यो । उनी एक्लै भौँतारिएर हिँड्न थाले । भाइगोत्यारको आँगनमा टहरो बनाएर उनले जीविका चलाउँदै आएका छन् ।

अहिले पनि उनी बिहान बेलुकाको छाक टार्न अर्काको घरमा गएर काम गर्ने गर्दछन् ।
गढवा गाँउपालिका वडा नम्बर ५ निवासी श्यामी चौधरी पनि एकल महिला हुन् । उनका दुई छोराछोरी छन् । श्रीमान्को मृत्युपश्चात घरको सम्पूर्ण जिम्मेवारी उनीमाथि नै आइलाग्यो । छोरीहरूको शिक्षादीक्षा, लालनपालन र खर्चको जोहो गर्नलाई उनी जिल्ला बाहिर इँट्टाभट्टामा गएर काम गर्न थालिन् । घरमा रहेका साना छोराछोरीको आफन्त, छरछिमेकले रेखदेख गर्दिन्छन् । घर चुहिने अवस्थाको छ, एक्लै बच्चा मात्रै बस्दा रातमा केही हुन्छ कि भन्ने मनमा पिरले सताइरहन्छ, उनलाई ।

‘वर्षामा घरभित्र पानी पस्ने डर, गर्मीमा सर्पले टोक्छ कि भन्ने डर लाग्छ’, श्यामीले भनिन् । जिन्दगी सँगै बिताउने श्रीमान् एक्कासी बिरामी भएर तीन वर्ष अघि बितेपछि आफन्तीहरूले समेत हेय दृष्टिकोणले हेर्न थाले । तत्पश्चात श्यामीलाई छोराछोरीलाई राम्रोसँग पढाउनु पर्छ भन्ने लागेर गाउँघरमा ज्याला मजुरी गर्न थालिन् । गाउँघरमा सधैँ काम नपाईने भएपछि भने जिल्ला बाहिर गएर काम गर्नु पर्ने बाध्यता आएको श्यामी बताउँछिन् । ‘पढेको छैन, ज्याला मजुरीको काम सधैँ पाइँदैन’, श्यामीले भनिन्, ‘सुरक्षित बस्ने बाँस भइदिए मात्र पनि ठुलो राहत हुथ्यो ।’