calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

राप्ती साहित्य परिषद दाङ शाखाद्वारा १९१औँ कृति समीक्षा तथा नयाँ वर्ष शुभकामना आदान प्रदान, नवगठित कार्यसमितिमा दुई सदस्य मनोनित

घोराही, ३० चैत ।राप्ती साहित्य परिषद जिल्ला शाखा दाङले आयोजना गर्दै आएको नियमित कृति समीक्षा अन्तरगत आज १९१औँ कृति समीक्षा तथा नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

परिषद जिल्ला शाखा दाङका नव निर्वाचित अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार गणेश विषमको प्रमुख आतिथ्यमा परिषदको सभाहलमा सम्पन्न भएको हो ।

सो अवसरमा साहित्यकार कुलबहादुर वलीद्वारा लिखित कविता संग्रह राष्ट्रियता जागरणको समीक्षा गरिएको छ । कवि वलीको कविता संग्रहको समीक्षा राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासीले गर्नुभएको थियो । कविता परिस्कारवादीसँगै लोक चेतनालाई उजागर गर्ने खालको रहेको बताउँदै समीक्षक डा. उदासीले कविताले देश र माटोलाई सरल र सरस रुपमा उजागर गरेको बताउनुभयो ।
देश र राष्ट्रियतालाई मुल धारमा राखेर रचित कविता संग्रहले नेपाल र नेपालीपन बोलेको हुँदा यो आम नेपालीको कृति बनेको बताउनुभयो ।

कार्यक्रममा लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, प्रगतीशील लेखक संघका निवर्तमान प्रदेश उपाध्यक्ष केशव थापा, राप्ती साहित्य परिषद दाङका निवर्तमान अध्यक्ष दीपक शर्मा समीर, साहित्यकारहरु हरिप्रसाद पाण्डेय, हरिप्रसाद पौडेल स्वर्णशिखा, नगेन्द्र गुरु, दामोदर पौडेल, सुभाष न्यौपाने, धनसिंह गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैबीच, राप्ती साहित्य परिषद जिल्ला शाखा दाङको गत २४ गते सम्पन्न जिल्ला अधिवेशनबाट मनोनित हुन बाँकी दुई जना सदस्यलाई आजको भेलाले मनोनित गरेको छ । जस अन्तरगत तुलसीपुर क्षेत्रबाट बिमला डाँगी बिकलता, घोराही क्षेत्रबाट रीता गौतमलाई जिल्ला कार्यसमितिमा मनोनित गरिएसँगै कार्यसमिति ११ सदस्यीय बनेको छ । भेलाले जिल्ला शाखाको सल्लाहकारमा राप्ती साहित्य परिषद जिल्ला शाखाका पूर्व अध्यक्ष डा. लोकराज पराजुली, कमलमणि देवकोटा र निवर्तमान अध्यक्ष दीपक शर्मा समीरलाई चयन गरिएको छ । परिषदका जिल्ला उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गर्नुभएको थियो ।।