Goraksha

National Daily

प्रेम र सम्बन्ध

आदिम केसी

व्यस्त सहरको साँघुरो गल्लीबाट केही भित्र पसेपछि आउने एउटा पुरानो घर छ । घरको अवस्था हेर्ने हो भने निर्माण भएपछि त्यसले कुनै रङ पाएको छैन । बाहिरबाट हेर्दा त्यो घर भग्नावशेषजस्तै लाग्छ । गाउँबाट सहर गएकाहरूको वासस्थानले घरका प्रायः कोठाहरू भरिभराउ छन् । मलाई पनि बडो जोखिम परेको हो यो घरमा डेरा पाउन । झण्डै एक महिनासम्म भौतारिएपछि बडो मुस्किलले हातपाउ जोडेर पाएको कोठा हो यो । गल्लीजस्तै साँघुरो छ कोठा । घरको बाहिरी रुपजस्तै अस्तव्यस्त छ कोठाको सजावट ।

टेवलमा नअटाएर भुइँमा पनि छरिएका छन् किताब । बेडमा पनि कपडा र किताबले आफ्नो अड्डा जमाएका छन् । मानौं सबै वस्तुले आआफ्नो ठाउँलाई पूरै ओगटेर अरूको स्थानमा समेत अतिक्रमण गरेका छन् । एकातिर पढाइको चटारो त अर्कोतिर बेरोजगार जिन्दगीलाई रोजगारमूलक बनाउने दिनभरको सारहीन प्रयासले थकित भएको तनलाई त्यही अस्तव्यस्त कोठाको सानो पलङमा पल्टाएको छु । मनभरि नानाथरीका सपनाका महलहरू बनिरहेका छन् । मानौं म कल्पनामा सफलता र असफलताको तुलना गर्दै सुन्दर जीवनको तान बुनिरहेको छु । मेरा सपनासँगै म माथिमाथि उडिरहेको छु, मधुकरको वायुपङ्खी घोडाजस्तै, समुद्र माथिमाथि, पहाड माथिमाथि, बादल माथिमाथि ।

मोवाइलको घण्टी बज्यो, मेरो स्वर्णीम तन्द्रा भङ्ग भयो । आज धेरै समयपछि उसको फोन आएको थियो । मेरो मनको कुनामा उसको स्थान अझैं नै सुरक्षित थियो । ऊ मेरो मायाको पात्र थिई । माया फरकफरक हुन्छ । सबैसँगको माया एकै प्रकारको हुँदैन रहेछ । मायाको रङ फरक हुन्छ । मायाको स्वरुप फरक हुन्छ । मायाको विशेषता फरक हुन्छ । आमाबाबुको माया, श्रीमान( श्रीमतीको माया, छोराछोरीको माया, साथीभाइको माया, प्रेमीप्रेमिकाको माया यस्तै यस्तै…….। तर यी सबै मायाभन्दा फरक थियो ऊप्रतिको माया । उसको मायालाई कुन विन्दुमा राख्ने मैले कुनै भेउ नै पाएको थिएन । तर किन लाग्छ उसको माया म स्वयं अनविज्ञ थिएँ ।

तैपनि उसको स्मृति मेरो मानसपटलमा बारबार प्रतिबिम्बित भइरहन्छ । उसको सम्झनाले मलाई स्पर्श नगरेको दिन नै थिएन । मानौं, ऊ मेरो जीवनको अभिन्न पाटो हो । मेरो श्वासप्रश्वासको हरेक प्रवाहमा ऊ छे । हुन त मैले उसलाई प्रेमिकाको दुष्टिले हेरे कि हेरन त्यो पनि छुट्याउन सकेको छैन । उसले हेरी कि हेरेनी त्यो मलाई थाहा छैन । सबैसँग मिजासिलो व्यवहार दर्शाउने मेरो स्वभावले पनि होला प्रायको सम्बन्धले मसँग घनिष्ठ रूप लिन्थे । यस्तै घनिष्ठ सम्बन्धको तारमा गाँसिएकी थिई राधा पनि मसँग ।

उसले स्कुले जीवनलाई खै किन हो अल्पविराम लगाइछे । त्यो पनि मैले धेरै पछि नै थाहा पाएँ । लामो समयसम्म ऊसँग भेटघाट पनि भएको थिएन, न त फोन वार्ता नै भएको थियो । ऊसँग फोनवार्ताको सहज अवस्था पनि थिएन । उसकी सहेलीले भनेपछि मात्र थाहा पाएँ, उसले पढ्न छाडेछे । कारण थाहा पाएन । सायद हुनसक्छ सौतेनी आमाको टोकोसो र छुद्र व्यवहारले दिक्दार भएर होला पढाइसँग उसले सम्बन्ध विच्छेद गरेकी । पहिले पनि निकै गुनासो गर्थी सौतेनी आमाको । सधैभरि आफू मानसिक अस्वस्थ भएको बारबार मलाई जानकारी गराउँथी । आमाको अनुहारसँग राम्रोसँग परिचित हुन नपाउँदै उसले आमा गुमाई । भन्थी फूफूहरू पनि यस्तै व्यवहार गर्नुहुन्छ, मामा माइजूको व्यवहार पनि यस्तै छ, सबैले आमा टोकुवा भन्छन् ।

राम्रो र मिठो बचन कहिल्यै सुनेन । आँखाभरि आँसुको दह जमाउँथी क्षणभरमै अनि घुक्कघुक्क र काँपेको आवाजमा गुनासो गर्थी आमालाई चिन्न नपाउँदै मैलै कसरी टोके आमालाई ? उसको प्रश्नको उत्तर मैले कहिल्यै दिन सकेन । अहिलेसम्म पनि उसको प्रश्न मेरासामु अनुत्तरित नै छ । तनभरि चोट र मनभरि पीडा बोकेर उसले आफ्नो जीवनलाई कछुवाकै गतिमा भए पनि घसारीरहेकी थिई । मैले बारबार उसलाई यति मात्र भन्थे( जीवन भनेकै सङ्घर्ष हो, चुनौतिसँग सामना गर्नुपर्छ, भाग्यमा लेखिएको लेखान्तलाई कर्म गरी खाने हो ।

मायालु स्वरमा मेरो हलो भन्ने स्वागतद्वार उघार्ने प्रयासमा हैसे थप्दै बोली ऊ( नमस्ते । औपचारिकतालाई निभाएपछि उसले कुराको प्रसङ्गलाई फरक मोड दिने प्रयास गर्दै थिई । मैले हतारिदै सोधेँ( तिमीले किन पढाइ छाडेको ? ऊ अनायासै खित्किदै हाँसी । अनि बोली( छाडेको होइन विश्राम लिएको हो । सायद उसलाई म आज पहिलो पटक यति खुसी सुन्दैछु, देखेको छैन । उसलाई यति खुसी भएको मैले कहिल्यै देखेको छैन । मलाई पछुतो लाग्यो उसलाई यो खुसीको अवस्थामा देख्न नपाएकोमा । तिमीलाई सधैं यस्तै खुसी भएको सुन्न पाऊँ, देख्न पाऊँ, म यति मात्र बोले । म आफूलाई यस्तै राख्ने प्रयास गर्छु ऊ बोली ।

भन किन फोन गरेकी ? मैले सवाल उठाएँ ।
किन गर्नु हुँदैन र ? उसले ठाडो जवाफ दिई ।

त्यसै फोन गर्ने मान्छे त होइनौ फेरि यति लामो समयपश्चात फोन गरेकी छौ त्यसैले सोधेको ? मैले कारण पेस गरेँ । मेरा गुण त कहिले देख्छौ र तिमी सधैं अवगुण नै देख्छौ तिमी, उसले मधुर स्वरमा भनी, सायद ऊ यतिबेला मलिन भएकी होली । उसको मनमा पीडाको अर्को बज्र प¥यो होला । मलाई राम्रोसँग थाहा छ उसको मलिनताको बारेमा ।

एक दिन स्कुल जाँदा स्कुलै नगएर बाटैमा रहेको चौतारीको मुनि रहेको फाँटमा बसेर हामी दिनभर खेलेका थियौँ । झण्डै सात आठ जना साथी हामी त्यो दिनभर त्यही फाँटमा खेलेका थियौं । खुला आकाशमा उड्ने धोबीहरू लखेटी लखेटी छोप्यौं । अनि धोबी र धोबीनी छुट्याउने, उनीहरूको विवाह गरिदिने रमाइलो खेल खेल्यौं । त्यही धोबी छोप्न खोज्दा काठको छेस्काले मेरो खुट्टामा घाउ बनायो । रगत बग्यो । मेरो खुट्टाबाट बगेको रगतले उसलाई निकै दुखी बनाएको थियो । पीडाले मेरा आँखा भरिला भएका थिए । सायद आँसुले भरिएका मेरा आँखाले उसलाई पनि पीडा दिए होलान्, उसले आफ्ना कोमल हातले मेरा भिजेका आँखालाई ओभानो बनाउने प्रयास गरी । मैले पीडाको स्वरमै सोधें( किन पुछेकी मेरा आँसु ?

तिम्रा आँखामा भरिएका आँसुले मैले तिम्रा आँखामा आफूलाई देखेन त्यसैले पुछे( उसले जवाफ दिई । दुखेको छ ? उसले सोधी । मैले उसलाई दुखी बनाउन चाहन्नथें, त्यसकारण पनि नाइँ भने पीडाको स्वरमा । उसलाई पत्यार लागेन, पत्यार लाग्ने कुरा पनि थिएन । उसले केके झार खोजेर ल्याई । सायद मेरो चोट उसलाई पनि बराबर दुखेर होला मेरो खुट्टाको रगत आफ्नो खुट्टामा पनि दली अनि झारलाई थिचेर मेरो घाउ निको बनाउने चेष्टा गरी ।

मलाई अहिले लाग्छ उसको त्यस्तो क्रियाकलापले हाम्रो सम्बन्धमा सायद आत्मीयता थप्न बल पु¥याएको थियो । खेलकै क्रममा हामी साथीहरू दुई घरमा विभाजित भयौं । एक घरबाट अर्को घरमा जन्ती जाने खेल सुरु ग¥यौं । ऊ दुलही बनेकी थिई । हामीले कृष्णलाई बेहुला बनायौं । हामी जन्ती गयौं । विवाह कार्य सम्पन्न भयो । बेहुली अन्माउँदा ऊ साँच्चिकै रोई, डाको छाडेर रोई । मानौं ऊ साच्चिकै बेहुली बनेर अन्माइदै छे ।

त्यतिबेला मैले देखेको हुँ उसको पीडाले भरिएको अनुहार । पछि बेलुका घर फर्किदा एक्लै भएको मौका पारेर सोधें( तिमी साँच्चैभन्दा किन रोएको ? उसले सहजै जवाफ दिई तिमी किन बेहुला नबनेको ? उसको प्रश्नले मलाई मौन बनाएको मलाई अझैं पनि ताजा याद छ ।

सायद यतिबेला पनि ऊ त्यस्तै मलिन भएकी होली । मैले सरी भनें । ऊ गनगनाउन थाली । म चुपचाप लागेर उसको गनगन सुन्न थालें । अनि सोधें किन फोन गरेकी ?
म घररुपि झ्यालखानाबाट मुक्त भएँ । त्यही खबर गरुँ कि भनेर ।

कसरी ? मैले हत्तारिएर सोधें ।
मैले कर्म घर रोजें । उसले सहजै जवाफ दिई ।

म छाँगाबाट खसेझैं भएँ । केही बोल्न सकेनँ । मेरो तन काँपेर आयो ।शरीर नाताकत भएर आयो । खुट्टा थरथराउन थाले । कोठा फनफनी घुम्न थाल्यो । अतितका स्मृति एकएक गरी क्यामराका रिलझैं फनफनी घुम्न थाले । ऊ एकोहोरो भन्दै थिई (सौतेनी आमाको टोकोसो सहन सकेन । तिमी सहर गयौ । दुःखमा साथ र सहानुभूति दिने तिमी थियौ, तिमी पनि टाढा भयौ, जीवनबाट हार खाएँ, आफ्नो जीवन आफैंलाई भार भयो । बोझ भएर बाँच्नुभन्दा त आखिर एक दिन मर्ने नै हो भनेर मृत्युलाई अँगाल्न थालेकी थिएँ । धनवीर काकाले फर्काउनुभयो अनि कृष्णसँग घरजम गराई छोरी कै दर्जा दिएर राख्नुभएको छ । अब हामी पनि पढ्न सहर आउने रे , तिमीसँग चाँडै भेट हुन्छ । थाहा छ कति भयो तिमीलाई नदेखेको ? कहिले देखुझै भएको छ, कहिले भेटुझैं भएको छ……….ऊ यस्तै यस्तै बरबराउदै गई ।

मेरो मन भारी भएर आयो ।सम्झनामा आयो स्कुल नगएर फाँटमा खेलेको दिन । अनि सोच्न थालें अब उसलाई मैले मायाको कुन दर्जामा राखूँ, उसको खुसीलाई कसरी मजवुत बनाऊँ अनि यो मन कसरी सम्हालूँ । एक दिन ऊ र म मात्र चौतारीमा दिनभर खेलेका थियौं । उसले भनेकी थिई तिमी र म पनि चौतारीको वर र पीपलझैं भए बाँचौंला । त्यतिबेला उसको कुरालाई हावामा उडाउँदै भनेको थिएँ ( धत् वर पीपलझैं भएर कसरी बस्ने ? वर र पीपल त सँगै मात्र छन् भेट त कहिल्यै हुँदैन ।

सायद हाम्रो सम्बन्ध पनि यस्तै भयो । नजिक भएर पनि कहिल्यै सँगै नहुने । समयले कति कोल्टो फेर्दो रहेछ । समय कति बलवान् छ अनि गतिशील छ । अनि यसैले जोड्ने सम्बन्ध यसैले छुटाउने सम्बन्ध । कस्तो अनौठो छ कतै आँसु कतै हाँसो । कतै हर्ष कतै विष्मात् । म यस्तै यस्तै अतित स्मृतिमा हराइरहेको थिएँ । पल्लो कोठाबाट कराउँदै आएको नरेशको आवाजले झसङ्ग भएँ, पकाउन बसालेको तरकारी डढेर सुकेको गुइँठाजस्तै भएछ । सायद मेरो मन पनि यस्तै भएको छ ।