खुशी कसरी रहने ?
सुप्रिया मां
सबै मानिसहरुले जीवनमा खोजेको खुशी हो । आफ्नो मन संधै खुशी रहोस भनेर धेरै तयारिहरु गरिन्छ । हामीले गरिने सबै कार्यहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मनलाई खुशी र सन्तुष्ट बनाउनका लागि नै हो । तर जतिनै तयारी गरे पनि मनले खोजेको सबै कुरा पाए पनि मन भने दुःखी नै रहन पनि सक्छ, दुःखी नै रहन्छ । धेरै कम मानिसहरु मात्र जीवन भरी खुशी भएर बाँचेका हुन्छन् । धेरैजसो मानिसहरु जीवन भरी दुःखी भएर बाँच्दछन् र दुःखी भएरै मर्दछन् ।
यहि संसारमा केही मानिसहरु आफुसंग केही नभए पनि जीवन भरी खुशी रहेका छन् भने केही मानिसहरु जति नै उपलव्धी भए पनि, जतिनै भौतिक रुपमा सम्पन्नभए पनि कहिल्यै खुशी देखिदैनन् । दुःखका भावना, निराशापन, असन्तुष्ट मन लिएर बाँचेका हुन्छन् । मानिस कसरी खुशी हुन्छ, खुशी हुनका लागि के गर्नुपर्छ, के चाहिन्छ, यो हामी सबैको चिन्तनको बिषय हो ।
अरु मानिसहरुले जे गरेका छन् मैले पनि त्यही गरे भने म पनि खुशी हुन्छु भन्ने सोंच छ भने त्यो गलत साेंच हो । त्यसरी खुशी सम्भव छैन । खुशी नितान्त व्यक्तिगत भावदशा हो । खुशी मनको एउटा स्थिति (State of Mind) हो । मनलाई खुशी राख्नका लागि मनलाई राम्रोसंग बुझ्नु पर्दछ । त्यो मानिसले यस्तो कुरा पायो र खुशी छ, म पनि त्यही कुरा पाए भने खुशी हुने थिए । त्यो मानिसले राम्रो पद पायो, राम्रो गाडी पायो, राम्रो घर छ, भौतिकरुपले सम्पन्न छ र खुशी छ, मेरो त्यो छैन र दुःखी छु । त्यो सबै पाएभने म पनि खुशी हुने थिए, पाएकै छैन त्यसकारणले खुशी छैन । यस्तो सोंच छ भने अब यो सोचलाई बदल्नु पर्छ । बाहिरको भौतिक सम्पन्नताले, भौतिक बस्तुहरुले, भौतिक उपलव्धिहरुले हाम्रो मनलाई कत्ति पनि फरक पर्दैन भन्ने चै होइन, केही त फरक पर्छ तर हामीले साेंचे जस्तो फरक पर्दैन । थोरै र छोटो समयका लागि थोरै खुशी मिल्न सक्छ वा कत्ति पनि नमिल्न सक्छ । त्यो मानिसले यस्तो गर्छ र खुशी भएको छ म पनि त्यही गर्छु र खुशी हुन्छु भन्ने हो भने मनले हामीलाई धोका दिन सक्छ ।
हाम्रो मन पनि धेरै बाठो र चलाख भै सकेको छ । पहिलाका मानिसहरुको जस्तो सोझो र सरल मन अहिलेका मानिसहरुमा छैन । यो एक्काइसौं शताव्दिमा आएर मनले धेरैकुरा देखीसकेको छ र जानी सकेको छ । अरुले जे गरे म पनि त्यही गर्छु र खुशी हुन्छु भनेर त्यही नक्कल गरेर मनलाई खुशीपार्न सकिदैन ।
अरुको नक्कल गर्ने कुरा गर्दा मलाई कतै पढेको एउटा कथा याद आयो । एउटा टोपी बेच्ने व्यापारी थियो । उ सधैं टोपीको भारी लिएर सहरमा बेच्न जाँन्थ्यो । बाटोमा ठूलो रुख भएको एउटा चौतरीमा भारी बिसाएर बिश्राम गर्दा उ निदाएछ । व्यापारी निदाएको मौका पारेर बांदरहरुले सबै टोपी लिएर रुखमाथि गए । उस्ले टोपी लिन धेरै युक्ति लगायो तर सकेन । अन्त्यमा उस्ले आफ्नो शीरको टोपी जमिनमा फालिदियो । त्यो देखेर सबै बादरहरु आफुसंग भएको टोपीफालेर जमिनको टोपी लिन आए । ब्यापारिले आफ्ना सबै टोपीहरु टिप्यो र बाटो लाग्यो । केही वर्षपछि त्यस्तै अर्को व्यापारी पनि टोपी बेच्न शहरतिर हिड्यो । बाटाको त्यही चौतारिमा बिश्राम ग¥यो । बांदरहरुले टोपी लगे भने मैले युक्ति जानेको छु, युक्ति सिकिसकेको छु भनेर ढुक्कले निदायो । यो युक्ति उस्ले आफ्ना बाजेसंग सिकेको थियो । निदाएको मौका पारेर बांदरहरुले सबै टोपी रुखमाथी लगे । उस्ले आफुले जानेको पहिलाको व्यपारिले लगाएको युक्ति लगायो र आफ्नो सिरको टोपी जमिनमा फालिदियो । तर बांदरहरु आफुले लगेको टोपी फालेर जमिनको टोपी लिन आएनन् बरु जमिनको टोपी पनि लगे । उस्ले बांदरहरुलाई ढुङ्गाले हान्यो, तर्सायो, जिस्कायो तर केहि लागेन । उल्टै एउटा बादरले उस्लाई जिस्काउदै भन्यो “तिम्ले मात्रै युक्ति सिकेका छौ र हामीले पनि जानिसकेका छौ, हाम्रा पनि बाजे छन् ।”
हाम्रो मन पनि बांदर जस्तै हो । मनले पनि धेरै कुरा जानिसकेको छ । बाहिरका थोरै उपलव्धिले अब हाम्रो मन खुशी हुनेवाला छैन । यसरी नयाँनयाँ कुराहरु दिएर मन खुशी बनाउन खोज्ने हो भने धेरै र ठूलो उपलव्धी चाहिन्छ वा धेरै कुराहरु दिनुपर्ने हुन्छ । यसरि छोटो समयको लागि खुशी मिल्न सक्ला वा खुशी नमिल्न पनि सक्छ ।
अहिले पश्चिम देशका मानिसहरु यसरी नै भौतारिइरहेका छन् । उनीहरुले सबै भौतिक उपलव्धी हासिल गरिसके, पाउनु पर्ने सबै कुरा पाइसके, अब मनलाई नयाँ के दिएर खुशी बनाउने ? दिनु पर्ने केही पनि बाँकि छैन तर मन भने दुःखीको दुःखी नै छ । मानिसहरु अझ धेरै दुःखी देखिन्छन् । बाहिरको सम्पन्नताले, भौतिक समृद्धिले, पद प्रतिष्ठाले खुशी दिने हो भने अमेरिकाका मानिसहरु सबै भन्दा खुशी हुनुपर्ने हो, तर त्यस्तो छैन । मनलाई खुशी बनाउन उनीहरु के गर्दैनन् ?, कता जादैंनन् ?, कस्ता कस्ता नयाँ कुराहरु खोज्दछन् । तर पनि मानिसहरु दुःखी नै छन् । बाहिरको उपलव्धिले छोटो समयको लागि खुशी त देला तर फेरि त्यही निराश, बेचैनी, असन्तुष्टी र उहि दुःखी मन ।
हाम्रो खुशी अरुको हातमा छ र अरुसंग भर पर्छ भने खुशी हुने सम्भावना लगभग सून्य नै हुन्छ । अरुले प्रेम गरे खुशी नगरे दुःखी, राम्रो भन्दिए खुशी नराम्रो भन्दिए दुःखी, कसैले केही दिए खुशी नदिए दुःखी । खुशी हुन अरुसंग भरपर्ने मानिसको जीवन एउटा फुटबल जस्तो बन्दछ, जस्ले जताहान्यो तेतै जाने, भौतारिएको जीवन । खुशीको साँचो अरुको हातमा नदिएर अफ्नै हातमा राख्नुपर्छ, होइन भने खुसी परनिर्भर हुन्छ ।
खुशी हुनका लागि मनलाई व्यवस्थापन गर्नुपर्छ । मनस्थिति परिवर्तन नगरिकन परिस्थिति परिवर्तन गरेर केहि फरक पर्दैन । दुःखीहुने मनलाई नै परिवर्तन गर्नुपर्छ । बाहिरको कुरा जतिनै परिवर्तन गरे पनि दुःखलाई नै समातेर बस्ने बानी छ भने त्यस्तो मानिस कहिल्यै पनि खुशी हुन सक्दैन् ।
खुशीहुने र दुःखीहुने मानिसको आफ्नो बानी र बानीबाट बनेको स्वभाव र सस्कार हो । खुशीहुने बानी नै हरायो, अभावलाई हेर्ने बानी छ भने जस्तोसुकै उपलव्धिले पनि मानिस दुःखी नै रहन्छ ।
खुशीका लागि कुनैपनि सर्त राख्नु हुंदैन । हाम्रा सबै सर्तहरु कहिल्यै पनि पुरा हुदैनन् । पुरा भै हाले पनि फेरि नयाँ सर्त जन्मिन्छ । केही कुरा नपाए पनि अहिले र यहीं, यसै क्षण, जस्तोसुकै परिस्थितिमा, जस्तोसुकै अवस्थामा भित्रबाट आफै खुशी रहने बानी बसाल्नुपर्छ । यस्तो बानी भएको मानिसलाई संसारका कुनै पनि मानिसले, कुनैपनि परिस्थितिले दुःखीबनाउन सक्दैन ।
जीवनमा केही गर्न चाहन्छौं भने चुनौतिहरु पनि आइरहन्छन् । केही गर्न खोज्दा कहीले सफल र कहीले असफल पनि भइन्छ । जीवन हामीले भने जस्तो गरेर चल्दैन । परिस्थिति जस्तो पनि आउनसक्छ । सबै परिस्थितिमा खुशी हुने बानी छ भने बाहिरको परिस्थितिले हामीलाई कहिल्यै पनि दुःखी बनाउंदैन ।
आफुसंग जे छ त्यसलाई मूल्य दिने हो र त्यसमा खुशी हुने हो । पाएको कुराको सदुपयोग र उपभोग गर्ने हो । जे छैन, त्यसलाई प्राप्त गर्नका लागि प्रयास गर्ने हो । अभावलाई समातेर दुःखी हुने होइन ।
मनलाई एउटा विधायक दृष्टीकोण र सकरात्मक भावना चाहिन्छ । ध्यानगर्न सिक्ने हो भने ध्यानले हामीलाई वर्तमानमा खुशी भएर, विधायक दृष्टीकोण र सकरात्मक भावना लिएर जीउने कला सिकाउँछ । जीवनभरि खुशीभएर जीउन चाहनेले ध्यान गर्न अति नै आवश्यक छ ।
परिस्थिति होईन मनस्थिति बदलेर खुशी र आनन्दित जीवन बाँचौ । सबैको जीवनमा खुशी र आनन्द आओस् । यही कामनाका साथ आजलाई यति नै, हरी ॐ !
-सुप्रिया मां आनन्दपथ संस्थाका संस्थापक हुनुहुन्छ ।
