Goraksha

National Daily

विरहिणी नयाँ वर्ष

अम्बिका चन्द ओली

नदीजस्तै बनेर बगिरहेको समय
झन् तीव्र गतिमा बगिरहेको यो उमेर
परिस्थितिको बन्द जेलभित्र बसेर
सानी नानीले विश्व चियाउँदै गर्दा
बैँस चढेका गुलाफका फूल टिप्न पनि
मन डराइरहेको छ
आजभोलि गुलाबका फूलमा पनि
सुवास छजस्तो लाग्दैन
दोपट्टा उडाउने गरी चलेको बतासले पनि
तनमा शीतलता प्रदान गर्दैन
प्रियतमको सम्झनाका रेखाहरूले अधर स्पर्श गर्दै
जीउभरि काउकुती लगाउँदा पनि
कुनै न्यानो महसुस हुँदैन ।

भित्तामा झुन्डएिको पुरानो पात्रो नियालेँ
खै किन हो
पात्रोमा कोरिएका राता–हरिया–काला अक्षरहरूको
रङ पनि फुस्रो देखियो
आँखा धमिला हुन् कि रङ मधुरो हो
पात्रो र मेरा हातका रेखाहरूसँगसँगै हेरेँ
उहिले मेरा बाको मागी–विवाह गर्दा
आमाले बालाई पछि लगाई सिउँदो रातो पारेर
पहिलोपटक माइतीघर टेक्दा
मलाई आमाले पेटमा र बाले ढाडमा बोक्दा
म स्कुल टेक्दा होस् वा कक्षाहरू उक्लिँदा
वा मैले पहिलो र अन्तिम प्रेमपत्र लेख्दा
त्यही पात्रो हेरी–हेरी हरेक वर्ष– साल फेरिए
सालसँगै पात्रा पनि फेरिए
हरेक महिना पात्रोका पानाहरू पल्टिए
तर कहिल्यै फेरिएन गरिबको जीवन
न त अहिले क्षितिजको जूनजस्तै बनेका
मेरा बा र आमाको थाप्लोको नाम्लो नै फेरियो ।

पात्रोसँगै छेउमा झुन्डिएको ऐना हेरेँ
ऐना हेरेर आधा मुस्कुराउँदा
आँखाछेउका चाउरी परेका रेसा अलि मोटा देखिए
यस्तो लाग्यो–
पात्रो मेरो पूरा जवानीका दिन गनेर झुन्डिरहेको छ
पात्रो फेरिएको यो दिन
हुनेखानेले ब्याङ्क्वेटमा नयाँ वर्ष मनाउँथे
हुँदा खानेले मेलापातमा नयाँ वर्ष मनाउँथे
तर यसपालि हुनेखाने र हुँदा खाने सबैले
बार्दलीबाट बाहिर हेरेर मनाइरहेछन् नयाँ वर्ष
बार्दलीमै उभिएर मेरा सबै प्रियजनहरूलाई
नयाँ वर्षको लाखौँ, करोडाँै र अर्बौं शुभकामना
१ वैशाख, २०७७
काठमाडौँ