Goraksha

National Daily

महाबिर पुनद्वारा दाङका एम्बुलेन्स चालकलाई पीपीई सहयोग

दाङ,२ बैशाख । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डा.महावीर पुनले बनाएका पीपीई दाङका एम्बुलेन्स चालकलाई उपलब्ध गराइने भएको छ ।

दाङका एम्बुलेन्स चालक र रक्तसंचार केन्द्रमा कार्यरतहरुका लागि डा.पुनले निशुल्क उपलब्ध गराएका ३६ थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई आज मंगलबार हस्तान्तरण गरिएको छ।

राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डा.पुनले बनाएका पीपीई दाङमा ल्याउन भूमिका खेल्नु हुने युवा समाजसेवी नरेन्द्र पुन तथा उक्त पिपिई काठमाडौबाट दाङसम्म ल्याई पुरउन सहयोग गर्नु हुने शिक्षामन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतमलाई प्रजिअ रिजालले धन्यवाद दिँदै प्राप्त भएको पिपिई दाङमा आपतकालीन यो बेलामा संचालनमा रहेका १४ वटा एम्बुलेन्स, रक्तसञ्चार केन्द्रलाई वितरण गरिने बताएका थिए । प्रजिअ रिजालले भने, ‘प्राप्त भएको पीपीई अब पालैपालो बोलाएर एम्बुलेन्स चालकलाई दिन्छौँ, यसले उहाँहरु र एम्बुलेन्समा सवार हुने विरामीलाई थप जाखिम हुनबाट बचाउनेछ।’

दाङमा करिव ५ दर्जन एम्बुलेन्स भएपनि विपदको यो बेलामा १४ वटा एम्बुलेन्स मात्र चौबिसै घण्टा सेवारत छन् । अरु एम्बुलेन्स आवश्यकता अनुसार परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरानाको महाविपत्तिका बेलामा चौविसै घण्टा खटिएका दाङका एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई राष्ट्रिय आविष्कार केन्द्रले पीपीई उपलब्ध गराई दाङलाई सहयोग गरेको भन्दै प्रजिअ रिजालले डा. महावीर पुनलाई धन्यवाद दिएका थिए ।

पीपीई हस्तान्तरण कार्यक्रममा प्रदेश सभा सदस्य इन्द्रजित थारु, पत्रकार महासंघका केन्द्रिय सचिव उदय जिएम, स्थानीय जनप्रतिनिधि, पत्रकारलगायतको उपस्थिति रहेको थियो।