Goraksha

National Daily

विद्यालय ज्ञानको पवित्र मन्दिर

नारायणप्रसाद श्रेष्ठ

सामाजिक सरोकारको विषय ज्याँदै महत्वपूर्ण र फराकिलो दायरामा रहेको हुन्छ । कुनै पनि क्षेत्र चाहे त्यो सामाजिक, आर्थिक, सांस्कृतिक वा राजनीतिक क्षेत्र किन न होस् त्यहाँ भित्र परिचालित प्रत्येक कर्मले समाजलाई प्रत्यक्ष वा अप्रत्यक्ष प्रवाह पारिरहेको हुन्छ । त्यसैले मानवीय चरित्रले निर्वाह गर्ने कर्ममा गम्भीर रुपले चिन्तन मनन गरी कर्म गर्नुपर्दछ ।

मानव जीवनको उत्कृष्ट आचरणबाट नै समाज र सामाजिक मूल्य परिस्कृत हुने हुँदा यसतर्फ मानवीय चिन्तन गम्भीर बन्नुपर्दछ । किनकि मानिस स्वयम्ले आफ्नो कर्म द्धारा सामाजिक धरोहरको रुपमा आफुलाई प्रस्तुत गर्नुपर्ने हुँदा उसको आचरण र व्यवहारमा एक रुपता हुनुको साथै विचारमा निखारपन हुन जरुरी हुन्छ । तसर्थ आचरण र विचार प्रर्दशन गर्दा भावी पुस्ताका लागि सहि र स्पष्ट दिशा निर्देश गर्ने गरी विचार प्रतिपादन गर्नुपर्दछ ।

यसरी विचार प्रर्दशन गर्ने कर्ममा मानवले कही सेवालाई प्रमुख प्राथमिककामा राखी आफुलाई समर्पण गरिरहेको हुन्छ भने कही सेवाको साथै आफ्नो आवश्यकता पनि सहज परिपूर्ती हुने भावनाले कर्म गरिहेको हुन्छ । यति हुँदा हुँदै पनि मानिस आफ्नो भावना प्रर्दशन गर्ने क्रममा विश्वास र अविश्वासको भूमरीमा रमोलिरहेको पनि हुन्छ । एउटै विषय जो सम्बेदनशिल भएर पनि मानिसको कर्म र व्यवहारबाट सरल बनिरहेको हुन्छ भने कही यसलाई गम्भीर रुपर्ले मुल्याङ्कन भई विश्वास अविश्वास बढाई विचार भ्रमित भइहरेको हुन्छ । सामान्यतया यस्तो कार्य शिक्षा र स्वास्थ्य क्षेत्रमा देखा परेको पाइन्छ ।

शिक्षा र स्वास्थ्य सम्बेदनशिल विषय हुन् । यसले मानवीय जीवनको सुन्दर भविष्य निर्माण गरिरहेको हुन्छ । शिक्षाबाट नै ज्ञान बुद्धि र विवेकमा निखार आउने सत्य प्रमाणित भइसकेको पनि छ । विचारको प्रवाहले ल्याउने परिणाम नै सामाजिक मूल्य र मान्यता तथा संस्कार पनि हो । जब स्वच्छ र पवित्र विचार प्रवाहित हुने परिस्थितिको सिर्जना हुन्छ तब मात्र आर्दश समाज र सक्षम राज्य परिचालन नीति बन्न सक्दछ । जग बलियो नभए घर बलियो हुन सक्दैन । यो सत्य कदापि भुल्नु हुँदैन । त्यसैले आजको बच्चा भोलीको भविष्य हो भन्ने मान्यतालाई स्थापना गर्न आजैदेखि शिक्षा नीति र शैक्षिक वातावरणलाई समय सुहाउँदो बनाउनेतर्फ हामी सबैको ध्यान पुग्न जरुरी छ ।

विद्यालय ज्ञान र विवेक निर्माण गर्ने पवित्र मन्दिर हो । जहाँ शान्त, स्वच्छ र नैतिक आचरणको श्री गणेश हुन्छ । केही समय अघि विद्यालयमा जाने क्रममा त्यहाँको बस्तु स्थिति हेर्ने र बुझ्ने अवसर हामीलाई मिलेको थियो । कतिपय सामुदायिक विद्यालयका शिक्षक शिक्षिकासँग शैक्षिक वातावरणबारे छलफल गर्ने समय जुटेको थियो । शिक्षा जस्तो सम्बेदनशिल विषय भित्र रहेको पवित्र मन्दिरमा रहनु हुने शिक्षक र शिक्षिकाहरु वर्तमान शिक्षा नीतिबाट खासै सन्तुष्टि हुनु हुँदो रहेन छ । उहाँहरु भन्दै हुनुहुनुथ्यो शिक्षा नीति त हात्तीको देखाउने दाँत र खाने दाँत अलग भए झै छ ।

अभिभावक र विद्यालयबीच वर्षाैदेखि द्धन्द भइरहेको भन्न कत्तिपनि नहिच्चकिचाही उहाँहरु भन्दै हुनुहुन्थ्यो । उहाँहरु आफै सन्तुष्टि हुनुहुँदो रहेन छ । कोही शैक्षिक वातावरणदेखि, कोही सरुवाको विषयदेखि, कोही व्यवस्थापन समितिको एकाधिकार स्वक्षाचारी व्यवहारदेखि चिन्तित हुनुहुँदो रहेछ भने कतिपय शिक्षक ंन्यायालयको ढोका घचघच्याउन बाध्य भएको कुरा पनि उहाँहरु भन्दै हुनुहुन्थ्यो । नत शैक्षिक सुधारबारे कसैलाई चिन्ता छ । नत नीति निर्माता नै यस विषयमा गम्भीर छन् ।

हामीले तपाईहरु जस्तो ज्ञान र विवेकले भरिएको ज्ञानीले पनि त्यस्तो कुरा भन्न सुहाउँछ र ? भनि प्रश्न गर्दा उहाँहरुको एउटै जवाफ छ के गर्ने सरकार स्वयम् शिक्षा नीति कसरी सुगम हुन सक्छ । त्यो नीति बनाउन असफल छ । सरकारमा रहेका सबै नेतृत्वहरु अभिभावक र विद्यालयबीच द्धन्द बढाउन लागेको देखिन्छ । नीतिकार केवल शिक्षालाई राजनीतिको दृष्टिको हेर्दछन् । शैक्षिक वातावरण सुधार गर्नुको बदला तेरो मेरोको राजनीतिक भित्र शिक्षक र विद्यालयलाई परिचालन गर्न मै उध्त छन् । खै कसरी शैक्षिक वातावरण गुणात्मक बनोस् ।

साच्चीकै भन्नुपर्दा सधै राजनैतिक खिचातानि र तनाव भित्र रहेर शिक्षकले कसरी विद्यार्थीलाई ज्ञानी बनाउन सक्षम हुन सक्लान् ? सधै तनाव र असन्तुष्टिको सेरोफेरोमा रहेर के शिक्षकले विद्यार्थीलाई सुधारान्मूख ज्ञान हासिल गराउन सकिन्छ र ? उहाँहरुको उल्टै प्रश्न थियो । उहाँहरु नैतिक शिक्षा र व्यवहारिक ज्ञान बढाउने कुरामा एकमत हुनुहुन्छ । शैक्षिक वातावरण स्वच्छ र गुणात्मक बनोस् । त्यसतर्फ बढी चिन्तित भएको पनि देखिन्छ । नीतिकार स्वयम् भ्रष्ट र नैतिक पतन भइरहेको वर्तमान परिपेक्षमा शैक्षिक गुणस्तर बढाउने सपना देख्नु भनेको दिउँसै सपना देख्नु हो भनि पनि भन्नुहुन्छ ।

उहाँहरुको यति मात्र गुनासो छैन । शिक्षा नीतिमा देखेको अस्वाभाविक राजनैतिक हस्तक्षेपदेखि विद्यालय व्यवस्थापन समिति गठनमा देखिएको राजनीतिक कारणले पनि योग्य शिक्षक अयोग्य बन्नुपर्ने अवस्था रहेको कुरा भन्न छुटाउनु हुदैन । शिक्षक र शिक्षिका प्रतिव्यवस्थापन समितिले देखाउने अभद्र व्यवहारले पनि शैक्षिक वातावरण धमिलिएको उहाँहरु बताउनु हुन्छ । विद्यालय जस्तो पवित्र मन्दिरमा छुद्र वचन र अपमानित व्यवहार हुनु यो विडम्बना मान्नुपर्दछ । विद्यालय त आशा र भरोसाको केन्द्र पो बन्नुपर्दछ ।

मानव अस्तित्वको श्री गणेशसँगै उसलाई आवश्यक पर्ने अन्य विविध क्षेत्र तब मात्र उसको प्राप्तिको विषय भित्र व्याख्या हुन सक्छ । जब उ ज्ञानी र स्वस्थ हुन्छ । ज्ञान बिनाको विवेकबाट जीवन अर्थहिन बन्ने र अर्थहिन चरित्रले निर्माण गर्ने वातावरण स्वयम्मा प्रदुषित हुने कुरा घाम जस्तै छर्लङ्ग छ । यदि यो सोचलाई अन्यथा मान्ने हो भने परिस्थितिले निश्चित दिशा निर्धारण गर्न सक्दैन । त्यसैले नीतिकारदेखि शैक्षिक वातावरणमा सम्लग्न सबैले यसको वास्तविकता बुझ्न जरुरी हुन्छ ।

जीवन छ त हामी छौ भनि हरेक क्षेत्रको विकास सँगै बालमनोविज्ञानलाई बुझेर नैतिक शिक्षामा आधारित सिकाई पद्धतिको विकास गर्न स्वयम् शिक्षक अभिभावक र अधिकार प्राप्त असधिकारी एवम् विज्ञ, ज्ञानी र विवेकि बन्न जरुरी छ । वर्तमान समयमा यससँग सम्बन्धित सरोकारवाला निकाय अत्यन्त व्यक्तिगत लाभ भित्र चिन्तन गरेको देखिन्छ । मेहनत र पसिनाको कमाइ भनि आफ्नो ज्ञानलाई रकममा सटहि गरेको अवस्था पनि देखिन्छ । वास्तवमा यस्तो अवस्था देखा पर्नु भनेको शैक्षिक वातावरण धमिलो हुनु हो ।

तसर्थ शिक्षा जस्तो पवित्र मन्दिरलाई राजनैतिक करण गरी शैक्षिक वातावरणलाई धमि ल्याउने कार्यगनेतर्फ हामी सधै सचेत र जागरुक भइरहनु पर्दछ । आजको बच्चा भोलीको भविष्य हो भन्ने कुरा सबैले मनन गरी व्यवहारीक जीवनमा प्रयोग गर्ने वावतावरण बनाउन लागि परौँँ । जब सम्म शैक्षिक वातावरण गुणात्मक र नैतिकतामा आधारित सत्यसँग प्रवाह हुन सक्दैन तबसम्म भविष्यको नक्षेत्र उज्वल बन्न सक्दैन भन्ने सत्यलाई नभुलौँ ।

यसले राष्ट्रियता र राष्ट्रिय जागरणमा समेत असर पु¥याउन सक्छ । त्यसैले शिक्षा नीति र नीतिकार दुवै यसका जिम्मेवार छन् भन्ने बुझि आजैदेखि शिक्षालाई सुधारोन्मूख बनाउन शिक्षालाई नैतिकता र व्यावहारीक जीवन पद्धतिसँग गाँसेर अघि बढ्नु परेको छ । विद्यालय पवित्र मन्दिर हो । यसको संरक्षण गर्नु हामी सबैको जिम्मेवारी हो । यस कुरालाई कसैले नभुलौँ ।