सम्पादकीय : अलपत्र नागरिकको उद्धारमा पनि ध्यान जाओस्
कोरोनाको संक्रमण बिरुद्धमा संसार एक भएर लड्दै छ । यो बेला यो लडाई जित्नका लागि अनिवार्य अस्त्र भनेको सबैको एकता हो । यो एकता टिकाई राख्नका लागि उत्तरदायित्व र मानवीय संवेदनालाई केन्द्र विन्दूमा राखेर निर्णय गरिनु पर्दछ र त्यस्ता निर्णयहरुमा सबैको अपनत्वभाव महसुस हुने परिस्थिति निर्माण गर्नुपर्दछ । अन्तराष्ट्रिय संस्थाहरु, राज्य र स्थानीय सबै संरचनाहरुको निर्णयको आधार उल्लेखित दई कुराको जगमा उभिएर हुनुपर्दछ ।
कोरोना बिरुद्धको लडाईंको रणनीति कतै क्रुर वा निर्दयी त बनिरहेको त छैन ? भन्ने तर्फ सबै गंभिर बन्न जरुरी हुन्छ । यो कोणबाट पछिल्लो समयमा कम हेरिएको देखिन थालिएको छ । सिमानामा अड्किएकाहरु र पैदल काठमाडौं छाड्न चाहनेहरुका सन्दर्भमा आबश्यक र उचीत निर्णय लिन हामी चुकिरहेका छौं । यहाँ नेरको चुक्दा लकडाउन उल्लंघन हुने र मानवीयताको व्यवास्ता हुने अबस्था देखिएको छ । चिकित्सकहरु, सुरक्षाकर्मीहरु र सञ्चारकर्मीहरुसहितको वर्ग यतिबेला चुनौती मोलेर काम गरिरहेका छन् । उनीहरुलाई चुनौती मोलेर काम गर्नका लागि उत्प्रेरित गर्ने तत्व भनेकै उनीहरुको उत्तरदायी र मानवीय भावना नै हो । यस्तो बेला भावनाको कुरा प्रधान भएर आउँछ ।
पुर्व तयारीका लागि भौतिक संरचना निर्माण सन्तोषजनक रुपमा भैसकेको अबस्था छ । भारतीय सिमानामा थुप्रै नेपालीहरु अलपत्र झै अबस्थामा छन् । धार्चुलामा अड्किएका एक नेपाली कर्णाली नदी पौडिएर पार गरेर नेपाल आए । त्यो कम्ती पीडाको प्रकट रुप थिएन । त्यस्तै पीडा बोकेर सिमानामा बसिरहेकाहरुलाई बिषेश व्यबस्था गरेर नेपाल ल्याएर सुरक्षित रुपमा नराख्ने हो भने उनीहरु र उनीहरुका परिवारलाई हुने तनावलाई महसुस गर्न नसकिए पनि अलिअली अनुमान गर्न सकिएला । सरकारी तथ्यांक अनुसार ३० हजारको हाराहारीमा क्वारेन्टाइन बेडहरु निर्माण भएका छन् । सरकारी तथ्यांक अनुसार नै भन्नुपर्दा ती मध्य झण्डै ९ हजारमा मात्र मानिसहरु बसेका छन् । २१ हजार बेडहरु खाली रहेका छन् । सिमानावाट सुरक्षित रुपमा उनीहरुलाई ती बेडसम्म पुराउने प्रबन्ध गर्नका लागि कुनै ठूलो अलग तयारी गर्ने पर्ने अबस्था हुँदैन । यो व्यबस्थापकीय काममा सरकार र सम्बन्ध सबै संरचनाहरुवीचको परिपक्व समन्वय भने जरुरी हुन्छ ।
उता, ‘भोकै मर्नु भन्दा काडमाडौंवाट बाहिरिन ठिक’ भन्दै पैदल निस्कनेको संख्या पनि उल्लेख्य नै देखियो । उनीहरुलाई यसरी निस्कन बाध्य पार्न हुँदैन । ‘काठमाडौंमा मर्दैनौ हामी छौ’ भनेर बिश्वास दिलाउनु पनि मानवकल्याणको कार्य हो । यो राज्यको दायित्व पनि हो । तसर्थ यसरी मानवीय आधारमा परिस्थितिलाई बुझ्ने र त्यसलाई सम्बोधन गर्ने काममा सबै सरोकारवाला र नागरिक स्वयम् समेत गंभिर बन्न जरुरी छ । यतीबेला विवादित निर्णय, अपरिपक्व निर्णय र निर्ममतापूर्ण प्रस्तुती प्रकट गर्दा त्यसले कोरोना बिरुद्धको एकताबद्ध लडाईंको परिवेश निर्माण गर्ने सम्बन्धमा समस्या उत्पन्न गर्न सक्छ । सबैले सोंचौं, अलपत्रहरुको उद्धार र भोकै मर्ने अबस्थाको अन्त्यका लागि पनि आकस्मिक रणनीति निर्माण गरेर दायित्व बहन गरौं ।
