मेरो धरहरा
पद्म देवकोटा
१
मैले यौटा संरचना स्वप्निएको थिएँ
जसको जग, तला र गजुर
छापामार सत्यका थिए ।
त्यसको सुन्दर वनावट, त्यसको उज्यालो रङ्ग,
त्यसको भव्य उपस्थितिको कल्पनामा
यौटा नयाँ सभ्यताको विस्तार थियो ।
यस्तो सत्यको धरहरा खडा गर्ने वाचा गरेथेँ,
आफैंसँग यस्तो वाचा गरेथेँ ।
२
काम थालेँ भन्नैपर्छ ।
दीक्षाको आत्मबलले सत्यका अभिव्यक्ति
एकमाथि अर्को राख्दै
सफा नियतको चुनसुर्कीले गाँस्दै, गाँस्दै
केही उठाएँ !
तर के पाएँ ?
नैतिकताको धराकम्पनले
कालो बादल छायो ।
ख्यालठट्टाका शैक्षिक बज्र
के टिक्थे जब वरपर कालो
भ्रष्टाचारको छारो छायो,
सत्का ईंटा लड्दा वरपर
प्रकाश हरायो ?
कालो बादलबाट वर्षे –
वर्षे ठग औ अत्याचारी
वर्षे फैसला, न्याय हरायो !
वर्षे धनाढ्य, शक्तिशाली !
सुनका ढिक्का !
सभ्यताको धरोहर मेरो
यस आँधीले अड्न दिएन
यसपाली ।
३
हेरेँ वरपर
भवन अरू जो उभिइरहेका देख्दा
लाग्यो अचम्म ।
कुन सामग्री प्रयोग भएछन्
भनी बसेँ म गम्न ।
मिल्यो जवाफ !
चाहान्छौ के शान रवाफ ?
यौटै तथ्य बुझे पुग्छ ।
नाटक खेल ! झेल ! झेल !
कथा बनाऊ धेर !
आखिर बाँचिरहने जगमा
यिनै बाहेक अरू को छ ? हेर !
कथाभन्दा बलियो सत्य छैन !
आख्यानभन्दा बलियो बज्र हुँदैन,
गोहीको रोदनभन्दा मार्मिक
केही हुँदैन, केही हुँदैन !
सच्चा दिलले तिम्रो निम्ति
विश्व रुँदैन !
हाल कथा रे खेल नाटक !
तिम्रो धरोहर केहीले छुँदैन ।
रोलान् केही मूर्ख सन्यासी,
केही साधु,
तर तिनका आँशू तल गिर्दैमा
पृथ्वी डग्मग हुँदैन ।
४
लोक–प्रवाह विरुद्ध चल्ने
डुब्छ ! डुब्छ !
साथ दिनेको बुद्धि, दौलत
खुब छ !
-डिल्ली वजार काठमान्डौ।
