Goraksha

National Daily

एक्लोपन भित्रको स्वतन्त्रता

बिनोद पोख्रेल
२०७८ बैशाख २० गते
आज यो परिवेशबाट जसरी पनि बच्ने भन्ने कुरा मेरो मनमा आएको छ । यो कुराले केही प्रश्नहरु उठाएको छ ।प्रश्नहरुमसँग मात्र सम्बन्धित छन् । मेरो सोच, मेरो परिवेश र मेरो धारणामा सीमित छन् । यिनी अरु कसैसँग नमिल्न सक्छन् । एउटा प्रश्न म मेरो परिवार अझ प्रष्ट रुपमा भन्दा मेरी श्रीमती, मेरा छोराबुहारी, नातिनातिनीसँग बच्न सक्छु कि सक्दैन ।

त्यस्तै तिनीहरुसँग बचेर म बाँच्न सक्छु कि सक्दैन । दोस्रो कुरा त्यसरी बचेर बाँचे भने मैले जीवनलाई यथावत धान्न र चलाउन सक्छु कि सक्दैन ? अर्को प्रश्न उनीहरुबाट बचेर म सबै कुराबाट बच्न स्क्छु कि सक्दैन ? अरु कुनै समस्या मेरो जीवनमा नभएको हो ? परिवारसँग बचेर म सुरक्षित हुनसक्छु कि स्क्दैन ? अर्को प्रश्न त्यसरी बच्नु ठिक वा गलत र त्यो पनि मेरै जीवनका लागि । यस्ता प्रश्नहरु आए जसको न त मसँग ठ्याक्कै मिल्ने उत्तर भएको जस्तो लाग्छ न त चित्त बुझ्ने तर्क ।

एउटा कुामा भने म सतर्क छुँ । मबाट वा मेरो माध्यमबाट जानेर वा नजानेर कसैलाई कुनै प्रकारको अप्ठेरो पनि हुन्न । त्यसका लाग म सुरक्षित हुन पनि आवश्यक छ । बाँकी कुरा बारे त मेरो मनले अहिले पनि आफैसँग बृहत छलफल गरिरहेकै छ । श्रद्धा, स्नेह, आत्मीयता जस्ता गुणहरु ममा पनि छन् । हिजो एकछिन समय निकालेर चारजनालाई फोन गरेँ । सबै वर्तमान परिवेशको प्रभावबाट ग्रसित तर संयोगले सबै सकारात्मक प्रगतिमा भएकाले त्यो पनि एउटा सन्तुष्टिको ग्याप बन्यो । सबै सुरक्षित होऊन् ।

कसैलाई यो लगायत कुनै समस्या भोग्न नपरोस्् भन्ने चाहना छ तर यो चाहना व्यवहारमा पूर्ण पले लागू हुन सक्देन । यस्तो परिवेशले कतिलाई मासेर जान्छ र बाँच्नेहरुलाई त्रास दिएर जान्छ । सायद नमीठो भाषामा जीवनको यथार्थबारे सप्रमाण शिक्षा पनि दिन्छ । तर हामीमध्ये धेरै यो शिक्षा बुझ्ने हैसियतमा पुग्न सकेका छैनौँ । मेरो बुझाई र तर्कमा केकति दम छ त्यो मलाई पनि थाहा छैन तर एउटा तर्क राख्न मन लाग्यो । यो रोगको प्रभाव श्वासप्रश्वासमा पर्ने हो । त्यसका लागि अक्सिजन प्रशस्त मात्रामा लिन सक्नुपर्छ वा पाउनुपर्छ ।

अहिले हाम्रो यहाँ समस्या भनेकै अक्सिजनको कमीले ल्याएको भयानक स्थिति बनेको छ । उता मास्क लगाउन अति जरुरी भन्ने पनि गरिएको छ । मास्कले पक्कै पनि मनपरी अक्सिजन लिन धेरैथोरै बाधा पार्छ । यो द्विविधामा के गर्ने ? खुलेर स्वास तान्ने कि मास्क लगाएर स्वास तान्ने ? धेरै कुराले म अलमलमा छु । के गर्ने के नगर्ने भनेर निर्णय गर्न सकेको छैन । त्यसैले मबाट कसैलाई नराम्रो प्रभाव नपरोस् भन्ने एउटा मात्र धारणा बनाएर घरमा बसेको छु ।

यस्तोभन्दा पनि एकाङ्की भनाइ हुनसक्छ । तागत नभएर पनि र सामाजिक जिम्मेवारी सम्झेर पनि घरमै सीमित भएको छु । आफ्नो मनोदशा सम्झेर आफै हाँस्न मन लाग्छ । आफ्नो शारीरिक अवस्था भोगेर आफै दिक्क लाग्छ । अझ विभिन्न तर्क सुन्दा अब त मिच्छाट पनि लाग्न थालेको छ । तर्कले कसलाई के गरेको छ र !

२०७८ बैशाख २१ गते

बिरामी भएर लेख्न छोडेको थिएँ । करिब चार महिना लेखिनँ । लेख्नै सकेनँ । शरीरले पनि साथ दिएन । मस्तिष्कले पनि जाँगर गरेन । त्इसपछि फेरि सुरु गरेको पनि साढे तीन महिना भएको छ । एउटा नयाँ नोटबुक आज सकिएको छ । नोटबुकहरु धेरै छन् मसँग । कलम पनि छन् । भावनाहरु निरन्तर बगिरहने सानो नदीजस्तै छन् । भावना शून्य हुनु भनेको जीवनबाट विश्राम लिनु हो । जगतबाट अलग हुनु हो । त्यो नहुँदासम्म कापी–कलमको हर्जा नहोस् ।

मैले आफ्ना अनुभव र आफ्ना भावनाले लेख्ने हो । यो अरुलाई कति मनपर्छ वा कति लाभदायक हुन्छ ? त्यो मेरो मतलवको विषय नै होइन । म त आफू अभिव्यक्त हुने मात्रै हो । हिजो मात्रै विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो । परिस्थितिले होला यसको समाचार कम आयो तर आयो । यो दिनलाई पनि मैले वाक तथा प्रकाशन स्वतन्त्रता सम्झाउने र त्यसबारे प्रतिबद्ध हुने दिनको रुपमा लिन्छु । अभिव्यक्ति स्वतन्त्रताको दिनको रुपमा लिन्छु । वाक तथा प्रकाशनको अधिकार मानिसका मौलिक अधिकारमध्येकै एउटा महत्वपूर्ण अधिकार हो ।

अधिकारको प्रयोग गर्दा अरुको अधिकारलाई अवमूल्यन गर्नु हुँदैन । त्यो पक्ष अलग हो । यो सबैलाई लागू हुनुपर्ने हो तर सामान्यतया सत्ताले आफूलाई जहिले पनि सुपेरियर ठान्ने र अरुको अधिकार नियन्त्रण गर्न सक्नुलाई एकप्रकारको सफलता मान्ने चरित्र देखिन्छ । प्रजातान्त्रिक व्यवस्था भएका देशहरुमा जनताको मतको भरमा निर्मित आवधिक सरकारहरुले समेत कतिपल्ट यस्तो गर्ने गर्दछन् । यसले सत्तासीनहरुको महत्वाकांक्षालाई प्रदर्शित गर्छ । अरुको अधिकारलाई कुण्ठित पार्नु वा अवमूल्यन गर्नु प्रजातान्त्रिक चरित्र नै होइन ।

प्रजातन्त्र भनेकै एक अर्थमा अरुको अधिकारको सम्मान, विचारको सम्मान हो । विश्वमा कोही पनि विशेष अधिकार वा सुपेरिओर्टी लिएरु जन्मेको हुँदैन । ऊ विशेष हुन त समाजमा, राष्ट्रमा उसले विशेष काम गर्न सक्नुपर्छ । समाजले उसलाई विशेषको दर्जामा लग्नुपर्छ । आफूलाई आफै विशेष सम्झनेहरुले घमण्डका शिकार मात्र हुन् । आजभोलि विभिन्न संगठन, विभिन्न पदहरु बनेका छन् । अझ धेरै बन्लान् । यिनको नेतृत्वमा पुग्नु ठूलो कुरो होइन ।

ठूलो कुरो सकेसम्म पूरै समाजलाई नसके आफ्नो वर्ग वा समूहलाई मात्रै भए पनि सशक्त बनाउन सफल बनाउने काम के–कति गर्न सकिन्छ, त्यो हो । यसका लागि पनि अभिव्यक्ति स्वतन्त्रता आवश्यक छ । आलोचनाले पनि गल्ती बुझ्न र नदोहो¥याउन निर्देशन दिने गर्छ । समर्थनले शक्ति दिन्छ । त्यसकारण दुवै महत्व उत्तिकै छ । यिनको सदुपयोग गर्ने क्षमता हुनुपर्छ । केही त गर्न सकिन्छ । स्वतन्त्रताको सदुपयोग गर्न सक्ने हो भने धेरै गर्न सकिन्छ । दुरुपयोग गर्ने हो भने धेरै बिगार्न सकिन्छ । स्वतन्त्रता मानवीय चरित्र पनि हो । आवश्यकता पनि हो । यसको सदुपयोग गर्नतर्फ लागे सफल र दुरुपयोग गर्नतर्फ लागे व्यक्ति र समाज दुवै असफल हुने हो ।