शिक्षक चार जना, विद्यार्थी शून्य
गोरक्ष समचारदाता
सल्यान, २४ मंसिर । जिल्लाकै सबैभन्दा पुरानो विद्यालयको रूपमा चिनिने शारदा नगरपालिका–३ पौवाबारीस्थित खड्गदेवी प्राथमिक विद्यालय विद्यार्थीविहीन बनेको छ । स्थानीय अभिभावकले आफ्ना सन्तानलाई निजी स्कूलमा लैजाने क्रम बढिरहँदा उक्त विद्यालय विद्यार्थी शून्यप्रायः बनेको हो ।
शिक्षकहरूले राम्ररी नपढाएको भन्दै अभिभावकले आफ्ना बच्चा निजी स्कूलमा लैजाने गरेको र नियमित विद्यार्थीहरू पनि पढ्न नआउने गरेको स्थानीय अगुवाहरू बताउँछन् । एकदेखि पाँच कक्षासम्म सञ्चालित विद्यालयमा प्रधानाध्यापकसहित तीन स्थायी र एक बालविकास सहयोगी गरी विद्यालयमा चार जना शिक्षक कार्यरत छन् । विद्यार्थीविहीन भए पनि उनीहरू विद्यालयमा हाजिर गरेर दिउँसो एक बजेतिरै घर फर्कने गरेका छन् । यसैबीच विद्यार्थी नहुँदा यो विद्यालय सुनसान मात्र नभइ बन्द हुने अवस्थामा पुगेको छ ।
विसं १०९० ताका भाषा पाठशालाको रूपमा सञ्चालित उक्त विद्यालय लामाचौतारास्थित खड्गदेवी मन्दिरको प्राङ्गणमा भवन निर्माण गरेपछि ४० वर्ष अघि खड्गदेवी प्रावि नामाकरण गरिएको थियो । प्रधानाध्यापकदेखि सबै शिक्षक महिला रहेको विद्यालयमा शिक्षक र सम्बन्धित निकायले अनुगमन पनि नगर्दा पठनपाठनको गुणस्तर पनि खस्किँदै गएको स्थानीय अगुवाहरूको गुनासो छ । जसकारण आफ्ना बालबालिकालाई अन्यत्र लैजानु परेको अभिभावकहरू बताउँछन् ।
कतिपय बालबालिका त विद्यालय नै जाने गरेका छैनन् । अभिभावाक आइतु सिंह भन्छन्, ‘दुई जना नातिनतिना स्कूल जानै छोडेका छन् । पढ्न जाऊ भन्दा पनि पढाइ नै हुँदैन किन जाने भनेर घरमै बस्छन् ।’ सम्बन्धित निकाय र शिक्षकहरूकै लापरबाहीका कारण यो पुरानो विद्यालय अहिले नाजुक अवस्थामा पुगेको स्थानीय डिल्ली बस्नेतले गुनासो गरे । शिक्षकहरूले पनि शिक्षा सुधारका लागि कुनै उपाय नखोजेको बस्नेत बताउँछन् । बस्नेतकाअनुसार कुनै बेला २ सयसम्म विद्यार्थी भर्ना हुने गरेको उक्त विद्यालयमा हाल १६ जना मात्रै भर्ना भएका छन् ।
अघिल्लो वर्ष भने जम्मा १९ जना भर्ना भएका थिए । त्यसमा पनि उनीहरू नियमित रूपमा पढ्न जाने गरेका छैनन् । त्यसो त विद्यालय यस्तो अवस्थामा पुग्नुमा शिक्षकहरू मात्रै नभएर अन्य सम्बन्धित निकाय पनि उत्तिकै जिम्मेवार रहेको बताउँछन्, अभिभावकहरू । प्रधानाध्यापक मिजु महर्जन भने अन्य सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ भइरहँदा यहाँ त्यस्तो अवसर नहुँदा विद्यार्थीहरूको आकर्षण घटेको बताउँछिन् । साथै अभिभावकको भूमिका निर्वाह गर्ने कोही नहुँदा व्यवस्थापनमा केही कमजोरी भएको उनले स्वीकार गरिन् ।
‘विद्यार्थी बढाउन हामीले कोसिस नगरेका होइनौँ । घर–घरमा पुगेर विद्यार्थी खोजेर समेत ल्यायौँ तर हाम्रो प्रयास प्रभावकारी हुन सकेन’, उनले भनिन् ‘अभिभावकबाट खासै सहयोग मिलेन, बच्चाबच्ची पनि धेरै छैनन् । हुनेखानेका छोराछोरी सबै निजीमा गइसके । यहाँ त आर्थिक अवस्था कमजोर भएका मात्रै भर्ना भए । ती पनि नियमित आएनन् । अहिले त आउनै छाडेका छन् ।’
उनकाअनुसार आर्थिक वर्ष २०७२ मा विद्यार्थी नभएकै कारण शारदा नगरपालिका ३ बडाखोलास्थित द्वारिका र सिरुवारस्थित वीपी स्मृत्ति प्रावि खडगदेवी प्राविमा गाभिएका थिए । तीन विद्यालय मर्ज हुँदा ५० देखि ६० विद्यार्थी भएका थिए । अहिले शून्य छन् । विद्यार्थी कम भएपछि आफूहरूले केही वर्षदेखि नै मर्ज गर्न आग्रह गर्दै आए पनि सम्बन्धित निकायले चासो नदेखाएको महर्जनको गुनासो छ ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सरिता महर्जन भने सम्बन्धित निकायले विद्यालय संरक्षणमा ध्यान नदिएको र शिक्षकहरूले गुणस्तर शिक्षा दिन नसकी झारा टार्ने काम गरेकाले विद्यालय विद्यार्थीविहीन बन्न पुगेको बताउँछिन् । शारदा नगरपालिका सल्यानकी शिक्षा शाखा प्रमुख संगीता भण्डारीले पनि पछिल्लो समय अभिभावकहरू निजी स्कूलमा आकर्षित हुँदा खड्गदेवी प्रावि विद्यार्थीविहीन बन्न पुगेको बताइन् । वडामा एउटै विद्यालय भएकाले विद्यार्थीविहीन भए पनि मर्जको प्रक्रिया अगाडि नबढाएको उनी बताउँछिन् । तर विद्यालयमा कार्यरत शिक्षकलाई भने आउने शैक्षिक सत्रदेखि अन्य विद्यालयमा पठाउने तयारी भइरहेको उनले बताइन् ।
