Goraksha

National Daily

क्रोध व्यवस्थापन (Anger Management)

ब्रह्माकुमार माधव तिमिल्सेना

सामान्यतया मानिसले क्रोधलाई स्वाभाविक भावनाको अभिव्यक्ति भनी व्याख्या गरेको पाइन्छ । क्रोधको अवस्थामा मानिसको मस्तिष्क भन्दा जिभ्रो चाँडो चल्छ भनिन्छ । क्रोध मानिसको नियन्त्रण बाहिर गयो भने यसले कार्य र सम्बन्ध मात्रै होइन सारा जीवनलाई नै चौपट पारिदिन सक्दछ । क्रोधलाई कुनै अनुचित वा हानिकारक काम कुरो देख्दा उत्पन्न हुने मानसिक उग्रता,रीस, रोष भनी अथ्र्याइएको पनि पाइन्छ । क्रोध एक भावनात्मक अवस्था हो जुन सामान्य झर्को मान्ने अवस्थादेखि तीव्र रोष वा झोकसम्म पुग्दछ ।

श्रीमद्भगवद् गीतामा क्रोधलाई ठूलो शत्रु र आसुरी स्वभावका रूपमा प्रस्तुत गरिएको छ । मानिसलाई अहिले तमोप्रधान बनाउने कारण काम, क्रोध, लोभ, मोह, अहंकार जस्ता पाँच विकारहरू हुन् । यी विकारहरूबाट मुक्त नभई मनुष्य आत्मा सतोप्रधान बन्न सक्दैन भन्ने ज्ञान शिवबाबाले हामीलाई दिनुभएको छ । हुनत यी विकारहरू स्वतन्त्र जस्ता देखिन्छन् तर सूक्ष्म अध्ययन र अवलोकन गर्ने हो भने यी पाँचै विकारहरू एक अर्कासँग सम्बन्धित पनि देखिन्छन् । कतिपय अवस्थामा काम विकारका कारण क्रोध उत्पन्न भएको पाइन्छ भने कैयौं सन्दर्भमा लोभ, मोहका कारण वा अहंकार वश पनि क्रोध उत्पन्न भएको पाइन्छ ।

राजयोगको अभ्यासले क्रोधका सबै कारणहरूलाई निर्मूल गर्न मदत गर्दछ । यो संसार एक नाटक हो भन्ने भावराख्ने, लगाव रहित अवस्थामा रहने र नियमित राजयोगको अभ्यास गर्नाले क्रोधलाई व्यवस्थित गर्न सकिन्छ । क्रोध व्यवस्थापनका लागि ईश्वरीय महावाक्य हाम्रा लागि मार्गदर्शक हुनेछ ।

मानिस भित्र रहेका पाँच विकारहरू मध्ये क्रोध माइलो विकार हो यसबाट मानिस भित्रको दैवी भाव समाप्त भएर आसुरी भाव जागृत हुन्छ र मानिसले अनैतिक र अस्वाभाविक कार्य गर्न पुग्दछ । भनिन्छ क्रोधको कारण भन्दा पनि त्यसको परिणाम भयंकार खतरनाक हुन्छ । अर्थात् सानो कारणबाट उत्पन्न क्रोधले उत्पातकारी परिणाम ल्याउन सक्दछ । भयका आँखा अगाडि र क्रोधका आँखा पछाडि हुन्छन् । क्रोध सदा मुख्र्याईंबाट शुरु हुन्छ र पश्चात्तापमा समाप्त हुन्छ ।

क्रोधले गर्दा मानिसले पलपल प्राप्त हुने सुखलाई गुमाइ रहेको हुन्छ, मानिस मूर्ख बन्दछ, मानिसको मन र शरीरको मांसपेशी, मुटु, मस्तिष्क र प्रतिरोध क्षमतामा प्रतिकूल प्रभाव पार्दछ, हीनतावोध वनाईदिन्छ । एलेक्जेण्डर पोपको भनाईमा क्रोध अर्थात् अरुले गरेको भूलमा स्वयंलाई सजाय दिनु हो । त्यसैगरी सुकरात भन्नुहुन्छ–क्रोधको आरम्भ मूखर्ताबाट हुन्छ भने अन्त पश्चातापमा हुन्छ । क्रोधको सिंहासनमा बस्ने वित्तिकै विवेक त्यहाँबाट खिस्किन्छ –एम हेनरीको परिभाषा यस्तो रहेको छ । थोमस जेफरसन,अमेरिकी पूर्व राष्ट्रपतिले क्रोधको विषयमा आफ्नो यस्तो विचार व्यक्त गर्नुहुन्छ –यदि क्रोधमा हुनुहुन्छ भने दशबार सोच्नुहोस् जब ज्यादा क्रोधित अवस्थामा हुनुहुन्छ भने हजारबार सोच्नुहोला । तसर्थ,क्रोध अप्रत्यासित नकारात्मक भावनाको तिब्र प्रहारको अनुभव वा अभिव्यक्ति हो ।

क्रोधका कारणका बारेमा पनि विभिन्न मतहरू पाइन्छन् । कसैले निराशा, पीडा, हतोत्साह,,अन्याय, अस्वस्थ आलोचना, त्रास आदिका कारण उत्पन्न हुन्छ भन्दछन् भने कसैले क्रोधबाट कतिपय अवस्थामा अरूलाई नियन्त्रण गर्न सकिन्छ भन्ने भ्रमपूर्ण विश्वास पनि राख्दछन् पहिला सानो–सानो कुराको असहमतिबाट उत्पन्न सोच क्रमशःबढ्दै जाँदा क्रोधको रूप लिन्छ । ईष्र्या,घृणा,कमजोर स्वभाव,पुराना स्मृतिहरू,व्यर्थ र नकारात्मक संकल्प आदिको संस्कार र कतै अरूबाट सम्मानको अपेक्षा,सम्मान गुम्ने भय,आत्मविश्वासमा कमी, तमोप्रधान भोजन,चिन्ता,क्षति,कसै प्रतिको लगाव,अहंकार,नियमित टिभी सिरीयल हेर्ने आदिलाई पनि क्रोधको कारणका रूपमा अथ्र्याइएको पाइन्छ। बाह्य क्रोध ः–जो शब्दद्वारा नेत्र द्वारा,व्यक्त हुन्छ जस्तै चिल्लाउनु, शोरमचाउनु, मारपिट गर्नु, रुनु,आक्रोसित हुनु बदला लिनु,उत्तेजित हुनु, वैरभाव राख्नु विद्रोह गर्नु,हिंसा गर्नु, आदि हुन भने आन्तरिक क्रोध ः–असहयोको भावना, असन्तोषको भावना,कार्य गर्ने इच्छा,घृणा, ईष्र्या,अरुको आलोचना गर्नु, निन्दा गर्नु,दोष निकाल्नु,खराब मनोस्थिति,अधिरता आदि हुन । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको आद्यात्मिक प्रयोग तथा अनुसन्धान केन्द्रमा गरिएको अनुसन्धान अनुसार मेरोपन,ईष्र्या,कामना पूरा नहुनु,कमजोर स्वभाव, पुराना स्मृतिहरू,स्नेहपूर्ण सम्बन्धको अभाव, योगको कमी, कार्यमा असफलता,पुरmषार्थमा कमी, कसैको झुटो व्यवहार, व्यक्तिगत मामलामा हस्तक्षेप आदि क्रोधका कारण भनेर पहिचान गरिएको छ ।

कसै कसैले मेरो त बानी नै यस्तो छ कसैले झुटो बोल्यो वा नराम्रो काम गरिरहेको छ भने मलाई त रीस उठिहाल्छ भन्ने गर्छन् । कसै–कसैले भन्ने गर्छन् मेरो त क्रोध नगरौं भन्ने भावना रहन्छ तर अमुक अवस्था वा कारणले मलाई पनि क्रोध उठिहाल्दछ । यस्ता आत्माहरू विशेष परिस्थितिमा रिसाउने गरेको पाइन्छ । कतिले क्रोधमाथि विजय प्राप्त गर्नमा धेरै सफलता पाएका भए पनि थकान,आफूले अत्यन्तै विश्वास गरेको विचार,स्थिति वा अवस्था प्रतिको अविश्वास, बारम्बार झुटो कुराको अभिव्यक्ति वा व्यवहार आदिको अवस्थामा क्रोध व्यक्त गरेका पाइन्छ । यसलाई पनि उपयुक्त मान्न त सकिँदैन नै । भगवान शिवले हामीलाई क्रोध मात्रै होइन क्रोधको अंशवंश पनि राख्नुहुँदैन भन्ने सल्लाह दिनुहुन्छ । क्रोधको शस्त्र हैन,प्रेमको शस्त्रको प्रयोग गरौ जसले चमत्कारिक कार्य गर्दछ । प्रेम यस्तो शक्ति हो जसले पत्थरलाई पनि पगाल्न सक्छ । निर्वल मनमा क्रोधको प्रवेशता हुन्छ । जो मनुस्य सदैव भावुक हुन्छ यसैमाथी क्रोधको आक्रमण सजिलै हुन्छ । जहां अहंकार त्यहां क्रोधको जन्म हुन्छ । क्रोध उत्पन्न हुने मुख्य कारण मनुस्यको कामनाहरु पूर्ति नहुनु हो ।

क्रोधबाट उत्पन्न परिणाम वारे चर्चा गरौ – शारीरिक असर ः–क्यान्सर,तनाव,डिप्रेशन,ब्लड प्रेसर,मधुमेह अन्तश्रव प्रणालीमा असर,रोग प्रतिशोधक क्षमतामा कमी आदि समस्या देखा पर्दछ भने मानसिक असरमा ः–समझको अन्त, निणर्य शक्तिको कमी,विस्मृती आदि हुन् त्यसैगरी सामाजिक परिणाम ः–सम्बन्ध विग्रिन्छ, हिंसा उत्पन्न हुन्छ,बदला को भावना जागृत हुन्छ,अड्डा अदालत धाउनुपर्ने समस्या भोग्नुपर्ने हुन्छ । सम्राट अलेक्जेण्डर महान भारतबाट ग्रीसतिर फर्कने समयमा एक जना योगीलाई साथैमा लैजाने मनसायले जंगलमा ध्यानरत एक योगी महात्मालाई भेटेर उनलाई असंख्य धनधान्य सेवक आदि दिने आश्वासन सहित आफूसँग जान आग्रह गरे पनि ती महात्माले अनिच्छा व्यक्त गर्दा अलेक्जेण्डरले आफू महान् विजेता भएकाले महात्माले नमानेमा बल प्रयोग गरेर लैजाने बताउँदा पनि टसमस भएनन् र अलेक्जेण्डरले मृत्युदण्ड सम्म दिने धम्की दिए । तर ती महात्माले मुस्कुराउँदै भने पहिला त तिमीले मलाई मार्न पनि सक्दैनौ किनकि म अविनाशी अजर, अमर आत्मा हुँ । अनि तिमीले आफूलाई विजयी त भन्यौ तर यथार्थमा तिमी मेरो दासका पनि दास हौ भने ।

क्रोधी अलेक्जेण्डरले मार्ने मनसायले तरवार निकालेर त्यसको कारण सोधे । ती महात्माले भने मैले योगको अभ्यासले क्रोधमाथि विजय प्राप्त गरेको छु,त्यसैले क्रोध मेरो दास हो तिमी त त्यही क्रोधका दास रहेछौ । महात्माको यस्तो जवाफले विश्व विजेता अलेक्जेण्डरलाई एक पटक सोच्न बाध्य वनाएछ र महात्मालाई नमन गर्दे आफ्नो बाटो लागेछन । जुन घरमा क्रोधको बास हुन्छ त्यहांको सर्व खजाना खाली हुन्छ । क्रोध अग्नि हो,यसले आफूलाई मात्र नभै अरुलाई समेत जलाई दिन्छ । क्रोधले पानीको घडा समेत सुकाई दिन्छ । क्रोध एक भयंकर भूत हो भने सुख शान्ति प्रेम खुशी र सन्तुष्टता सर्वश्रेष्ठ सम्पति हुन । क्रोधले मनुस्यको विवेक नष्ट गरिदिन्छ । क्रोध बुद्धिको परम शत्रु हो यसले मनुस्यको निर्णय शक्ति कमजोर वनाईदिन्छ । अतः विवेशशील संसारको सर्वश्रेष्ठ मानव आत्माहरु अव यस्तो जहरलाई त्याग्ने प्रयास गरौ ।
एकजना राजालाई पंक्षी पाल्ने शौख थियो । राजालाई पंक्षीहरु मध्ये परेवा अत्यन्तै प्रिय लाग्दथ्यो । परेवालाई कहिले आफ्नो हातमा त कहिले काँधमा अनि कहिले टाउकोमा बस्न दिन्थे अर्थात परेवासँग खेल्न उनलाई निकै आनन्द आभूती हुन्थ्यो । एक समय राजा शिकार गर्न वनमा गए । हिड्दै जाँदा उनको घोडा अरु मन्त्री र सहयोगी भन्दा निकै अगाडी थियो ।

अचानक जंगलको वीचमा राजा हराए । अधिक प्यास लागेपछि पानीको खोजीमा घन्टौ वितेछ । त्यही सिलसिलामा ठूलो चट्टानको किनाराबाट पानीको थोपा तपतप झरेको देखेपछि राजाले प्याला निकालेर भर्न थाले । धेरै समयपछि प्यालामा जम्मा भएको पानीलाई पिउन खोज्दा काँधमा बसिरहेको परेवाले उडेर आफ्नो पखेटाले त्यो पानी सहितको प्याला भूँइमा खसालि दिएछ । राजालाई क्रोधको पारा चढेर आयो परन्तु संयम राखेर पुनः प्याला भर्नको लागी थापेछन् । लामो समयको प्रतिक्षापछि प्यासले आकुल व्याकूल राजाले प्याला उठाएर पिउन मात्र के खोजेका थिए । परेवाले फेरी पनि उडेर पानी पोखि दिएछ । यस पटक भने राजाको रिसको सिमा रहेन, तत्काल परेवाको घाँटीमा थिचेर भूँइमा पछारेछन्् । विचरा परेवा तत्काल मरेछ । रिसले चूर भएका राजाले फेरी पानी भर्न खोज्दा जव राजाको दृष्टि चट्टान माथी पर्यो तव राजा आश्चर्यमा परे ओ ! मरेको सर्पको शरीरबाट विष पानीमा झरिरहेको थियो । राजा काँप्न थालेछन् । हाय ! यो जल पिएको भए त म मर्ने रहेछु । कठै परेवाले दुई पटक पानी भूईमा खसालेर मलाई बचाएको रहेछ तर मेरो क्रोधले त्यसलाई मारे भन्दै निकै विलौना गरेछन् तरपनि परेवा राजाको हातबाट मारिसकिएको थियो । यही घटना स्मरण गर्दे राजा जीवनभर पश्चातापको अग्निमा जलिरहेछन् । पाठक महोदय, राजा र पंक्षीको यस कहानीले हामीलाई क्रोधको परिणाम हमेशा खतरनाक हुने सत्यताको उजागर गर्दछ । कहिलेकतै सतहमा हेर्दा बाहिर गल्ती देखिएता पनि भित्र गुप्त कल्याण लुकेको हुन्छ । अद्यात्मले हामीलाई गुप्त कल्याण देख्ने नेत्र प्रदान गरेको छ । यदि कसैले साच्चै गल्ती गरेको छ उसलाई क्षमा गर्न सक्नु श्रेष्ठ हतियार हो । क्षमाको परिणाम कहिल्यै गलत हुदैन ।

क्रोध व्यवस्थापन सम्वन्धमा चर्चा गरौ – क्रोध व्यवस्थापनका लागि बोल्नु भन्दा पहिले विचार गर्ने, आत्मविश्वासका साथ अरूका विचारलाई सम्मान गर्दै आफ्ना विचार राख्ने, शारीरिक अभ्यास गर्ने, समय निकालेर दिनमा कैयौं पटक शान्तिमा रहने, लामो श्वास प्रश्वास लिने, मन र शरीरलाई आरामसँग राख्ने आदि सल्लाह पनि दिइन्छ । अतः क्रोधमाथि विजय प्राप्त गर्नका लागि यसको प्रभावलाई चुलिन दिनुपूर्व होसियार हुनु आवश्यक छ । सबैभन्दा पहिला आफ्नो आन्तरिक स्थितिको स्वयम् अवलोकन गरेर नराम्रा संस्कारहरूमा परिवर्तन गर्ने, हरेक व्यक्तिको भिन्नै परिस्थिति र मानसिक, भावनात्मक तथा बौद्धिक अवस्था रहेको कुरा स्वीकार गर्ने, अरूले आफूले भनेको नमान्दैमा हतास नबन्ने, सके अर्को दिनसम्म र नसके केही क्षणका लागि क्रोधलाई स्थगित गर्ने,पानी पिउने वा टहलिने,नकारात्मक विचारहरू हटाउने, नरिसाउने प्रतिज्ञा गर्ने, सेवा गर्दा कुनै आशाले होइन कर्तव्यवोधले गर्ने,हरेक कुरामा कल्याण देख्ने,अरूसँग तुलना नगर्ने, विगतका गल्तीहरूको स्मरण र भविष्यको चिन्ता नगर्ने, ईष्र्या नगर्ने, लगाव रहित बन्ने,अरूलाई सहयोग गर्ने,आलोचकलाई शुभचिन्तक ठान्ने,बदलाको भावना नराखी बिर्सेर क्षमा गरिदिने उपाय लाभदायी हुन सक्दछन् । यसको साथै क्रोध व्यवस्थापनका केही अन्य सहज उपायहरुमा गहिरो स्वास लिने,मानसिक स्थितिलाई आरामको अवस्थामा लैजाने,मौन या आवाजलाई कम गर्ने प्रयास गर्ने,क्रोध आएको वेला मुखमा पानि राख्ने,विश्व अविनासी नाटकमा निश्चय राख्ने,क्रोध आयो भने त्यसलाई डिलिट गरिदिने गहिरो नींद कम्तिमा पनि ६ घण्टा,सकारात्मक दृष्टिकोण राख्ने सम्झौता या नियम बनाऔं,आवेशमा नआऔं,समस्याको समाधान खोज्ने बानी बसाला,ैंक्षमाभाव राखौं,क्रोेध आएको समय कडा परिश्रम गरौं ।

उपरोक्त वाहेक राजयोगको अभ्यासले क्रोधका सबै कारणहरूलाई निर्मूल गर्न मदत गर्दछ । यो संसार एक नाटक हो भन्ने भावराख्ने, लगाव रहित अवस्थामा रहने र नियमित राजयोगको अभ्यास गर्नाले क्रोधलाई व्यवस्थित गर्न सकिन्छ । क्रोध व्यवस्थापनका लागि ईश्वरीय महावाक्य हाम्रा लागि मार्गदर्शक हुनेछ । सरलता पनि क्रोध मुक्तिको उपाय हो । शिवबाबा भन्नुहुन्छ— “जो सरल हुन्छ ऊ सुन्दर हुन्छ । सरलता पहिरनमा मात्रै होइन बरु सबै कुरामा हुनुपर्दछ । निरहंकारी बन्नु अर्थात् सरल बन्नु हो । क्रोध रहित अर्थात् सरलता हो । लोभरहित अर्थात् सरलता । यो सरलता पवित्रताको साधन हो । रोबलाई पनि अहंकार वा क्रोधको वंश भनिन्छ । त्यसैले रोव देखाउनु हुँदैन रुहाव अर्थात् आत्मिक स्थितिमा अवश्य रहनु छ । कसैले गाली गरेमा वा कसैले झुटो आरोप लगाए पनि क्रोध गर्नुहुँदैन । यस्तो अवस्थामा पनि अपकारीमाथि उपकार गर्नु हाम्रोे कर्तव्य हो । क्रोध विकारलाई सहनशक्तिका रूपमा परिवर्तन गरेमा एक शस्त्र बन्न सक्दछ, यही क्रोध–अग्नि योग–अग्निका रूपमा परिवर्तन हुनेछ,जसले हामीलाई होइन हाम्रो पापलाई जलाउनेछ । चाहे जस्तोसुकै संस्कारको होस् कृपा वा दयाको भावना वा दृष्टिले पत्थरलाई पनि पानी बनाईदिन्छ । बिरोधी आफ्नो ठाउँमा आउँछन् । स्वभाव नमिल्नेहरू सहयोगी बन्न सक्दछन् र सुमधूर सम्बन्ध जुट्दछ । मौनता (साइलेन्स) को शक्तिले क्रोध–अग्निलाई शीतल बनाइदिन्छ । कोहीकोहीले भन्छन् क्रोध त होइन जोश आउँछ । त्यो पनि क्रोधको अंश हो । जसका लागी संकल्पमा पनि शान्त, बोली र कर्ममा पनि शान्त हुनुपर्छ । हामी त प्रेम तथा स्नेहका सागर परमात्मा पिताका अविनाशी सन्तान हौ भने क्रोध कहाँबाट आयो ? अमृतबेला १५ मिनटको योग अभ्यास आदीबाट क्रोध व्यवस्थापनमा सफलता प्राप्त गर्न सकिन्छ । अतः आध्यात्मिक उपायहरूको अवलम्बन गरी परमात्मा पिताबाट श्रेष्ठ स्वमान र शक्ति प्राप्त गरी निरन्तर उच्च स्थितिमा रहनाले क्रोध व्यवस्थापनमा सफलता प्राप्त गर्न सकिन्छ ।

निश्चय पनि एक आध्यात्मिक व्यक्तित्व कहिल्यै पनि क्रोधी हुन सक्दैन । सरलता, आत्मिक स्थिति, परोपकारी भाव,सहनशक्ति,कृपा वा दया भाव,मौनताको शक्ति,पवित्रताको पालना, स्नेहको स्वमान, क्रोधमुक्तिको प्रतिबद्धता जस्ता अभ्यासले क्रोधमुक्त बन्न सकिन्छ । आत्मा भाइ–भाइको दृष्टि राख्ने, ड्रामाको यथार्थतालाई भित्रैबाट अंगीकार गर्ने गरेमा क्रोधलाई घटाउन प्रत्यक्ष लाभ हुन सक्दछ । क्रोध व्यवस्थापनमा भोजनको ठूलो महत्व रहन्छ । सात्विक भोजनले स्वाभाविकका रूपमा मनलाई शान्त बनाउँछ । पवित्रता, स्नेह सद्भाव विकास गर्न मदत गर्दछ । क्रोध हटाउने प्रतिबद्धता सहितको नियमित ज्वालामुखी यादको अभ्यासले शुरुमा क्रोध उत्पन्न भएको केही मिनटपछि मात्र पश्चात्ताप हुने, दोस्रो चरणमा क्रोध उत्पन्न हुँदाहुँदै क्रोध गर्न नहुने अनुभूति हुने, त्यसपछिको चरणमा क्रोध नै नउठ्ने र अन्त्यमा क्रोधी उपर करुणा र स्नेहको भाव उत्पन्न हुने गर्दछ । यसका लागि निरन्तर स्वमानको अभ्यास र परमात्मा प्रति अटल निश्चयको आवश्यकता हुन्छ । राजयोगको निरन्तर अभ्यासले क्रोधमुक्त जीवन बनाउन मदत मिल्छ भन्ने कुरा हामीले स्वयम् अनुभव गरिसकेका छौ । यहाँहरुको चाहना छ भने आउनुहोस यस कार्यमा सहभागी वन्नुहोस र आफ्नो जीवनलाई आनन्दित पार्नुहोस् ।

मनमा बारम्वार उत्पन्न हुने नकारात्मकताले सुखको अनुभूती कदापी हुन सक्दैन । फेरी खुशी माग्नुपर्ने हुन सक्छ । शान्तिको लागी तड्पिनु पर्ने हुनसक्छ । जस्तो हाम्रो धारणा वन्छ त्यस्तै हाम्रो संकल्प वन्छ । शान्ति मेरो स्वधर्म हो, खुशी मेरो स्वभाव हो । क्रोध मेरो दुश्मन हो यही संकल्पले सारा दिन चिन्तन मनन गर्ने हो मलाई विश्वास छ अनि मेरो अनुभवले भन्छ एक दिनमा जादु त हुदैन यद्यपी विस्तारै विस्तारै यसको प्रभाव हाम्रो मनमा, विचारमा र कार्य व्यवहारमा पर्दै जानेछ । त्यसलाई स्वभाविक वनाउन नियमित राजयोगको अभ्यास र ईश्वरीय महावाक्यरुपी मनको खुराक दिनु जरुरी छ । हाम्रो विचार धारामा वदलाव आएमा अवश्य नै क्रोध व्यवस्थापन गर्न सकिन्छ र जीवनलाई सही गन्तव्य तर्फ लैजान सकिनेमा दुई मत हुन छैन्। । शक्तिशाली व्यक्ति त्यो हो जसले स्वयंलाई नियन्त्रण गर्न सक्छ । क्रोध मुक्तिको सहज उपाय आफ्ना अनावश्यक कामनाहरुको समाप्ती गर्नु हो । तपाई हामी सवैलाई ज्ञान भएको कुरा हो कि हरेकको आ–आफ्नै सामथ्र्य हुन्छ । हरेकले हाम्रो इच्छा र चाहना अनुरुप कार्य गर्न सक्दैन । हामीलाई अरुको क्षमता योग्यता र भावनाको कदर गर्न जान्नुपर्छ साथै उनीहरुको परिस्थितिलाई समेत पहिचान गरी उचित व्यवहार गर्न सिक्नुपर्छ । जीवनको विभिन्न क्षेत्रमा उत्पन्न हुने किन ? भन्ने शव्दबाट क्रोधको शुरुवात हुन्छ । म जे चाहन्छु सवैले त्यस्तै गर्नुपर्छ भन्ने विचार सवैभन्दा पहिला मन मस्तिष्कबाट हटाउन सक्नुपर्छ क्रोधको अग्निलाई शान्त पार्नु छ भने । धैर्य एक महान गुण हो । धैर्य नै क्रोधको औषधी हो । रोकौ तुरुन्त प्रतिक्तिया दिनु भन्दा पहिला आफ्नै मनलाई । एक मिनेट धैर्य गरेर केही वोल्नै छ भने बोलौ । मानव जिव्रोमा हड्डी छैन तर यसले हजारौ हड्डीहरुलाई तोड्न सक्छ । चलेको गोली र वोलेको वोली फर्केर आउंदैन भन्ने कुरा त सवैले सुनेकै छौ । ए अन्धेका औलाद अन्धे पानी है वा जमिन है देखता नही – द्रोपदीको यही वोली महाभारत भएको कहानी हामीले पढेका र सुनेका छौ ।

तसथर््ा जरुरी छ आफ्नो वोली माथी संयमता अपनाउनु । अन्यथा त्यसवाट उत्पन्न हुने भयानक दुश्परिणामले कसैको कल्याण गर्ने छैन । क्रोधले विचारलाई दूषित गरिदिन्छ । क्रोधले व्यक्तित्वलाई मलिन पारिदिन्छ तसर्थ मलाई क्रोध गर्नु छैन यो प्रतिज्ञा गरौ । एक महिनासम्म प्रतिदिन विहान सवेरै उठेर आफ्नो प्रतिज्ञा दोहोर्याउ,केही सुन्दर विचार मनमा लिउँ तव क्रोध अवश्य नै खत्तम भएर जानेछ वा व्यवस्थापन हुनेछ । यहाँहरुको आजको दिन वा जीवनभर क्रोध मुक्त वनोस् । संकटको यस घडीमा सवैमा प्रेम ,क्षमा र कल्याण तथा शुभभावना वनिरहोस् । धैर्य र संयमताका साथ विपरित परिस्थितिमा विजय प्राप्त गर्ने शक्ति पशुपतिनाथ शिव परमात्माबाट मिलीरहोस् यही शुभेच्छा र शुभभावना शुभ विहानी । ओम् शान्ति ।

लेखक ब्रह्माकुमारीज मधुवन आद्यात्मिक पुनर्जागरण केन्द्र घोराही,दाङ्गका प्रवक्ता हुन ।