लकडाउन उल्लंघन गर्नेलाई छोप्न प्रहरीको नयाँ उपाय
लिलाधर वली
दाङ, चैत २४ ।काेराेना भाइरसकाे संक्रमणबाट बच्न लागु गरिएकाे लकडाउन अवज्ञा भएपछि दाङकाे घोराहीमा प्रहरीले ‘स्टिकी क्याच’बाट पक्राउ गर्न शुरू गरेकाे छ । अत्यावश्यक कामबाहेक बिना काम घर बाहिर हिडेकाहरुलाई वडा प्रहरी कार्यालय घोराही आफैले निर्माण गरेको स्टिकी क्याचको सहायताले समात्न शुरू गरेकाे छ ।
साेमबार प्रहरीले १२ जनालाई लट्ठीको सहायताले पक्राउ गरेकाे छ । जसमा ८ जना पुरूष र ४ जना महिला रहेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन । बाटोमा हिडिरहेकाहरु कोरोना भाइरसबाट संक्रमित पनि हुनसक्ने भएकाले सोझै समात्दा प्रहरीमा पनि संक्रमण हुने खतरा रहने भएकाले प्रहरीले आफै बनाएकाे लट्ठीको सहायताबाट समात्न थालेकाे प्रहरीले बताएको छ ।
अनावश्यकरुपमा धेरै मान्छे सडकमा हिड्दा लकडाउन प्रभावकारी नहुने भएकाले यस्तो उपाय अपनाइएको प्रहरीकाे भनाइ छ । यस्तै जिल्लामा लकडाउन अवज्ञा गरी सवारी साधन चलाउने पनि उल्लेख्य रूपमा पक्राउ परेका छन् । सोमबार जिल्लाका विभिन्न स्थानबाट ५७ वटा सवारी साधन पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ । जसमा सबैभन्दा धेरै माेटरसाइकल रहेका छन् । प्रहरीले दिएकाे जानकारी अनुसार ५६ वटा माेटरसाइकल रहेकाे छ भने १ वटा ट्रक रहेकाे छ ।
