Goraksha

National Daily

कोरोना परिवेशले देखाएको चाँदीको घेरा

विनोद पोख्रेल

कोरोना संकटले कहिले छोड्ने हो, थाहा छैन । यसलाई सकारात्मक रुपमा लिनेहरु पनि सामाजिक सञ्जालमा भेटिएको देख्दा कही कही मलाई पनि चित्त बुझ्छ । सबै सकियो भनेर अथवा म अप्ठ्यारो भोग्न बाध्य भए भनेर रोएर, कराएर मात्र हुँदैन ।

एसएलसीमा पढ्दा हो सायद, ‘जुनसुकै बादलमा चाँदीको घेरा हुन्छ’ भनी पढेको थिए । यसको आसय, आशा गर्ने पक्ष सबै ठाउँमा हुन्छ, त्यो आफुले देख्न र प्रयोग गर्न सक्नु पर्छ भन्ने हो । अहिलेको परिवेशले पनि केही पाठ पढाएको छ । आाफ्नो घर जस्तो सुरक्षित स्थान कहीं हुँदैन । आफ्नो परिवार जस्तो सहयोगी कोही हुँदैन । यस्ता केहीं कुराहरु प्रमाणित भएका छन् । त्यस्तै धनभन्दा जीवन धेरै ठूलो कुरा हो भन्ने पनि प्रमाणित भएको छ । आफ्नो परिवारसंग थोरैमा सन्तुष्ट भएर बस्नुको महत्व र परिवारलाई छाडेर धन कमाउन अन्यत्र पुग्नुको समस्यामा के फरक हुन्छ ? त्यो पनि यो बेला धेरैले भोगेको हुनु पर्दछ । साँच्चै भन्ने हो भने यो परिवेशले उपभोगवादलाई नै ललकारेको छ । त्यस्तै मानवीय सफलता भनेर मानिने बिज्ञानलाई नदेखिएरै धुलो चटाएको छ । जीवनका लागि चाहिने आबश्यक अनशासन समेत सिकाएको छ र अनुशासन मान्दाको परिणाम पनि देखाएको छ । एकान्तको महत्व, त्यस्तै आत्मचिन्तनको महत्व पनि सिकाएको छ । बाबु आमा र भएको भौतिक सम्पत्तिसमेत छाडेर सून्यवाट जीवन सुरु गर्न विकसित र सुबिधायुक्त भनिने देशमा पनि के कती खतरा र दूर्गती भोग्नु पछ भन्ने पनि सिकाएको छ ।

जीवनमा सुख चाहिन्छ, यसमा विवाद छैन । तर त्यो भन्दा पहिले शान्ती चाहिन्छ । त्यो भन्दा पनि ठूलो कुरा त जीवन चाहिन्छ भनेर बुझाएको छ, यो अबस्थाले । आफ्नो ठाउँमा आफ्नासंग बस्दा नै बढी सुरक्षित र बढी शान्त हुन सकिन्छ भन्ने कुरा सिकाएको छ । यसरी लामो अबधीसम्म संगै बस्दा एक अर्कासंगको सम्बन्धको रुप र सिमासमेत फेरिन्छ भन्ने मेरो अनुमान छ । यसको पनि नकारात्मक भन्दा सकारात्मक असर नै बढी पर्नेमा म बिश्वस्त छु । पहिले आफुले गरेका कतिपय व्यवहारहरु र अरुका बारेमा गरेका मुल्याङ्कनहरु समेत फेरिन सक्छन् । नयाँ सोंचहरु बन्न सक्छन् ।

सानो उदाहरणको रुपमा राख्न सकिने कुरा, मोटो मसिनो सबै मिलेर उत्पादन गरेर खान पाए र संगै बस्न पाए मात्रै पनि ठूलो सन्तुष्टि प्रााप्त गर्न सकिन्छ भन्ने सोंचको विकास हुन सक्छ । जीवन धान्नु र उपभोगवादी बन्नुमा धेरै फरक छ । हामी उपभोगवादी बन्दै गएकोले हो, आफ्नालाई केही नसम्झने र अरुलाई विशेष देख्ने चरित्र बनेको । उपभोगवादले नै हो हामीलाई विदेशीको नोकर बन्न प्रेरणा दिएको । यी कुराहरुलाई हामिले बुझ्यौं र बुझाउन सक्यौं भने राष्ट्रवाद बलियो र आफैमा आधारित अर्थतन्त्रको समेत अपेक्षा गर्न सकिन्छ । जस्को परिणाम, समाजमा आएका धेरै बिकृतीको अन्त्य र आपसी सद्भावको विकास पनि हुनसक्छ । यसका लागि वर्तमान परिवेशको मुल्याङ्कन गर्ने र सकारात्मक अठोट गर्ने सोंच बन्नु पर्छ । अहिलेलाई बादलमा चाँदीको घेरा यही हो ।