Goraksha

National Daily

मांसाहार : मानव जीवनको वरदान वा अभिशाप ?

ब्रह्माकुमार माधव तिमिल्सेना
शास्त्रमा– “तीक्ष्ण दन्त बक नखा,जिहवाया जल पाइना । जन्मैते मिलिताताक्षे,प्राणीनो मांसभोजिनः” अर्थात तीखा दाँत,वाङ्गगा नङग्रा ,जिव्रोले पानी पिउने,जन्मने वेलामा आँखा नखुलेका प्राणीहरुलाई मांसाहारी भनेर जान्नु भनी  परिभाषित गरिएको छ । विश्व स्वास्थ्य संगठनले बैज्ञानिक अनुसन्धान पश्चात स्वस्थ रहनका लागि सवैले खाने कुरामा एउटा नियम अपनाउनुपर्ने वताईएको छ । फाईवर अर्थात रेसादार खानेकुरा खाउ,वोसोयुक्त खाद्य कम गर । त्यसैगरी WHO को एक प्रतिवेदन अनुसार मांसाहारले धुम्रपान जत्तिकै हानी गर्छ । संसारको एक चौथाई प्रदुषणको कारण मासु नै हो । मानिसहरुले मासु खान छोड्ने हो भने ७० प्रतिशतसम्म प्रदुषण कम हुन्छ । वर्ष १९८५ का अमेरिकी नोवेल पुरस्कार विजेता वैज्ञानिक डा.एस.ब्राउन एवं डा. गोल्डस्टीनले सिद्ध गरेका छन् कि हृदयघातमा जिम्मेवार कोलेस्ट्रोलको अधिकांश मात्रा रगतमा देखा पर्नु मांसाहारको परिणाम हो । केभिन निलन आफ्नो अनुभव सुनाउँदै लेख्छन्– ‘म शाकाहारी भएँ किनभने जव मैले  मासु उत्पादनका लागि निर्मम ढंगले पशुपालन गरेको देखेँ । वधशालाहरुमा पशुलाई दिईएको असह्य प्रताडना आफ्नै आँखा अगाडी देखेँ,यस्तो अमानवीयता देखेपछि म भाव विह्वल भएँ । मभित्रको मानवीय चेतनाले मलाई शान्ति दिएन,किनकी मैले मासु खानु पशुहरुप्रतिको त्यही दुव्र्यवहारलाई मौन समर्थन गर्नु थियो ।’ डी.के.डान(अष्ट्रेलिया)को खोजका अनुसार —मासु खाने व्यक्तिको पेटमा ६० फिटसम्मको किरा पाईएका छन् ।  जर्मनीकी डा.एलिजावेथ वेगेन भन्छिन्— मासु केवल एक विलासिताको चिज हो र मानव जीवनमा यसको उपयोगिता शुन्य वरावरको छ ।
मृत जनावरलाई विर्सजन गर्ने चिहान हो, पेट होइन । यो शरीर एक मन्दिर हो,पेट शरीरको राजधानी हो न कि मृत पशुको रक्तमास पठाउने मुर्दाघर !
मासु सेवन विनाको जीवन पनि स्वस्थ र फुर्तिलो वन्न सक्छ ।  डां.लुई कुनेको विचारमा— मासु चाहे जुनसुकै जनावरको किन नहोस् शरीरको लागी विष समान छ । स्वीडेनका अनुसन्धानकर्ताहरुको अनुसार यदि तपाईँले दैनिक पाँच प्रकारका फलफूल र सागसव्जी सेवन गर्नुहुन्छ भने संभवतः तपाईँ दीर्घजीवि हुन सक्नुहुन्छ । उपरोक्त चिकित्सक एवं वैज्ञानिकका भनाईहरु समेतले मांसाहार मानव जीवनको वरदान नभै अभिशाप भएको स्पष्ट हुन्छ । अतः पशुहरु हाम्रो आहारका निम्ति जन्मेको होइनन् । तिनीहरुको जीवन तिनीहरुकै खुशीको लागि हो । पशुहरुलाई आफ्नो जीवन शान्तिपूर्वक विताउन पाउने अधिकार छ । आफूलाई सर्वश्रेष्ठ प्राणी ठान्ने मानिसले खानकै नियतले असहाय अमूक प्राणीलाई मार्नु र त्यही रक्तमांसमा रमाउनु वीरता होइन,यो मानवलाई शोभा पनि दिदैन । पृथ्वी सवै प्राणीको साझा घर हो ।

          मानवको स्वभाव कस्तो विचित्रको हुन्छ । मानिस औधी बुद्धिमान प्राणी भएरपनि निश्चित कुरामा आँखा चिम्लिन रुचाउँछ । अधिकांश मानिस सत्यतथ्य सुन्न चाहँदैनन् किनभने जानेर वा नजानेर मानिसहरु आफू वाँचिरहन सहारा भएका भ्रमहरु रहिरहुन्,यस्ता भ्रमहरु कसैगरी नटुटुन् भन्ने चाहान्छ । अन्यथा शाकाहारी हुनु जस्तो स्वस्थ,वैज्ञानिक,नैतिक र पर्यावरणीय हिसावले अत्यावश्यक भईसकेको विषयलाई वास्तै नगरेर वस्ने थिएनन् होला । प्रत्येक व्यक्ति शारीरिक र मानसिक दुवै रुपमा स्वस्थ हुन चाहान्छ । स्वास्थ्य नै सवैभन्दा ठूलो धन हो । त्यसैले माहात्मा वुद्धले भन्नु भएको छ– “ स्वास्थ्य नै तिम्रो जीवनको सवैभन्दा ठूलो र महत्वपूर्ण उपहार हो । तिमिले सम्यक भोजन अर्थात् खानामा संयम अपनाउन र अधिक भोजनको ईच्छा गर्नु हुदैन।” हो, यो अनुपम उपहारलाई हामीले सम्मानपूर्वक राख्न सक्नुपर्छ । तर स्वस्थ रहनका लागि आहार विहार र विचारमा ध्यान दिदै आद्यात्मिक चिन्तनका साथ केही सकारात्मक,प्रकृतिमैत्री एवं वैज्ञानिक आधारयुक्त परिवर्तन गर्नुपर्ने हुन्छ । मांसाहारी मानिसको यही विचार छ कि मासु सेवनले शारीरिक शक्ति प्राप्त गर्न सकिन्छ । शरीर सुदृढ र वलवान वन्दछ । लगातार कार्य क्षमतामा बृद्धी हुन्छ । अधिक कठोर परिश्रम गर्न सकिन्छ । यस्तो भन्नु र सोच्नु ठूलो भ्रम हो । यो एक निराधार तथा विवेकशुन्य तर्क सिवाय केही होइन । यदि हामी निस्पक्ष भएर विचार गरौ— हात्ती,घोडा,उँंट वा गोरु आदी जति पनि शाकाहारी पशु छन् तिनीहरु अधिक वलवान,भारी बोक्न सक्ने तथा लामो समयसम्म परिश्रम गर्नसक्ने हुन्छन् । अतःयो प्रमाणित भैसकेको छ कि मांसाहारीको तुलनामा शाकाहारी प्राणीमा शारीरिक ताकत अथवा शक्ति बढी हुन्छ । एउटा प्रयोग गरेर हेर्नुहोस —बाघ जन्मजात मांसाहारी छ केही तरिकाले उसलाई हलोमा नारेर जोतौ । एकैछिन थाक्नेछ र थचक्क वस्नेछ तर एउटा गोरु प्रचण्ड गर्मीमा दिनभर अथक भएर जोतिरहन सक्छ । त्यसैगरी हात्तीले जंगलका बृक्ष र झाडीहरु आफ्नो सूंढले जरैदेखि उखेल्न सक्छ । उंट र घोडा पनि कसैभन्दा कम कहाँं छन् र । आफ्नो पिठ्युमा क्विन्टल सम्मको भारी सहजताका साथ बोक्न सक्छन् । यति धेरै विशेषता मांसाहारी जनावरमा पाउन सकिदैन । मासु खाँदा शरीरको भलाई छ वा हानी ? सोचौ अनि विचार गरौ र समयमा नै उचित निर्णय गरी जीवनलाई सुन्दर वनाऔं । अर्कोतिर मान्यता छ कि मांसाहारबाट शरीरलाई प्रत्यक्ष रुपमा प्रोटिन पाउन सकिन्छ । यो भनाई पाचनक्रिया तथा रसायन विज्ञानको अनभिज्ञ व्यक्तिको लागी उपयोगी हुनसक्छ, जुन विवेकयुक्त छैन ।

         स्वस्थ शरीर हुन तीन पौष्टिक तत्वहरु ःप्रोटिन, बोसो र काव्रोहाइड्रेटको आवश्यकता पर्दछ । भोजन विद्या विशेषज्ञ एवं रसायन विशेषज्ञहरुको भनाई छ — अन्न,विउ,फल,दाल,दुध,घिंउ आदी शाकाहारी वस्तुहरुमा उपरोक्त तीनवटै तत्वहरु पाउन सकिन्छ तसर्थ मानव जीवनमा बाँच्नकै लागी मांसाहारको आवश्यकता छैन । आज मानिसहरुले माछा,मासु,अण्डा आदीलाई भ्रमबश प्रोटिनका दृष्टिकोणले सर्वोपरी खाद्य पदार्थ मानेका छन् । तर वैज्ञानिक परीक्षणले यस कुरालाई असत्य सावित गरिदिएको छ कि यि खाद्य बस्तुहरुको कारण भयंकर खतरनाक रोग उत्पन्न भईरहेको र प्रोटिनको मात्रा समेत निम्न स्तरको पाइएको छ । कुन कुन वस्तुहरुमा कति प्रतिशत प्रोटिन पाइन्छ केही विवरण यहाँ उल्लेख गर्नेे प्रयास गरिएको छ —मासुमा २०%,माछामा १६%,अण्डामा १३%,मुंगको दालमा २४%,मसुरोको दालमा २५%,मासको दालमा ३०%,मोमफलीमा २६%, र सोयावीनमा ४२% आदी आदी  । पाठकगण,के प्रोटिन प्राप्त गर्न अन्य प्राणीहरुको हत्या नै गर्नु पर्ने रहेछ त ? मानव न मांसाहारी प्राणी हो  न मासु उसको उचित आहार नै हो । ईश्वर पिताको सुन्दर रचना विवेकशील मानव यस पृथ्वीमा हामीलाई बांच्नको लागी प्रकृतीले सबकुछ दिएको छ तैपनि अरुको बांच्ने अधिकार हनन गर्नु त्यो पनि आफ्नो जिब्रोको स्वाद तथा स्वार्थ पूर्तिका लागी यो कस्तो मानवता हो ? यस प्रकारको प्रवृती त राक्षस, आतंकवादी तथा आतंककारी भन्दा अझ बढी भएन र ?

         मनुस्यको शारीरिक संरचना बांदर तथा गुरिल्लासँग मिल्दो जुल्दो छ जो कि शाकाहारी छन् ।  मानव आदी कालमा(सत्य त्रेतायूग)शाकाहारी नै थिए । समयान्तरमा देहअभिमानका कारण जिव्रोको स्वाद लिप्सामा परेर मांसाहारी वन्न पुगेको देखिन्छ । मांसाहारले आयू घटाउंछ । रोग प्रतिशोधात्मक क्षमता कम गर्दछ,सहनशक्ति कमजोर हुन्छ । अमेरिकामा गरिएको एक अनुसन्धानमा १३.५ लाख मानिसको मृत्यु मांसाहारले हुन्छ ।  source:Physician committee for Responsive Medicine_आज हामीले जुन कहाली लाल्दो र मानवको नियन्त्रणभन्दा वाहिर जाँदै गरेको कोरोना भाइरसको महामारीको समाना गरिरहेका छौ, त्यो भाइरसको शुरुवातपनि चीनको बुहान शहर( जनावरको होलसेल मार्केट) बाट भएको हो । जहाँ संसारमा पाईने सवै जनावरको मासु सेवन गरिन्छ । एकपटक वर्तमान घटना समेत मानव सभ्यतालाई सोच्न वाध्न वनाएको छ कि मांसाहार मानव जीवनका लागि वरदान हो वा अभिशाप? त्यसैगरी हाम्रो देश नेपाल र छिमेकी भारतमा हृदयरोगीको संख्या बढ्नुको पछाडी मांसाहार प्रमुख कारक भएको कुरा पुष्टि भएको छ ।  मनुस्य  जीवनभर शाकाहारी रहन सक्छ यो संभव छ तर मासु मात्र सेवन गरी जिवित रहन सक्दैन यो कार्य प्रायः कठीन होइन असम्भव नै छ ।  मनुस्यको शारीरिक संरचना मांसाहारको अनुकूल होइन प्रतिकूल हुन्छ । परन्तु दुःखको विषय यही छ मनुस्य ति जनावरको मासु खान्छ जो शाकाहारी छन् । आज त मानवले जनावर त के मानिसको मासु खान बांकी राखेको छैन । ताइवान लगायतका देशहरुमा कानूनी रुपमा नै वच्चाहरुको मासु खान छुट दिइएको छ  । तपाई हामीलाई जानकारी छ मासु खाने जनावरको दांत तिखा र नङग्रा तेजधार भएका हुन्छन् । मांसाहारी पंक्षीहरुको चुच्चो मासु लुछ्न मिल्ने किसिमको हुन्छ । मांसाहारी प्राणीको वंगाराको संरचना पनि शाकाहारी भन्दा पृथक हुन्छ । मांसाहारी पशु पानी तथा दुध जस्ता तरल पदार्थ जिव्रोले चाट्छन जव कि मानिसलाई जिव्रोले चाटेर पानी÷दुध पिउन सक्ने अवस्था छैन । मानिसको आन्द्राको वनोट पनि मांसाहार योग्य छैन । शरीरले पचाउन समेत सक्दैन तसर्थ अपच र झाडा पखाला हैजा जस्ता समस्याहरुको शिकार भएका यर्थाथता हामीले भोगेकै छौ ।

 शव्द कठोर हुन सक्ला– मासु खानु भनेको शव(लाश) खानु समान हो । आत्मा शरीरबाट निस्केपछि पाँच तत्वले वनेको शरीर निर्जिव मानिन्छ । निस्प्राण शरीरलाई मुर्दा भनिन्छ, जसलाई अशुद्ध भनेर मानिसहरु छोए पनि स्नान गर्दछन् । जुन घरमा मृत शरीर हुन्छ अरुले त्यहां खाना त के पानी समेत पिउंदैनन् । कोही कोही त लाश देख्नासाथ डराउन थाल्छन चिच्यांउछन या कराउंछन् । वाघले आफूले मारेको जनावरलाई कसैले यस्सो छोइदिएको थाहा पायो भनेपनि खादैन तर मानिसले कयौंदिनसम्म घरमा राखेर खाने गर्दछ । मांसाहार गर्ने व्यक्तिहरु यस्तै मृत लाश खाने भएकोले शवाहार भन्दा अन्यथा नहोला । कुनैपनि पशु पंक्षीको हत्या नगरी मासु मिल्दैन परन्तु हत्या पश्चात शरीरमा भएको खुन पानीमा रुपान्तरण हुन्छ,सड्न थाल्छ र दुर्गन्ध फैलिन्छ । मृत शरीरमा हुने रासायनिक प्रतिक्तियाको कारण संक्रामक रोगले माहामारीको रुप लिन सक्छ ।  लाशलाई श्मशानघाटमा लगेपछि चितामा राखेर जलाइन्छ या त आ आफ्नै परम्परा अनुसार गाडिन्छ,वगाइन्छ । परन्तु आजको अति सुसंस्कृत सभ्य कहलाउने मानव जनावरको शव मासुलाई भान्साघरमा ल्याई भांडोमा पकाउंछ र खान्छ । अव विचार गरौ मानव पेट मसानघाट भएनर ? मन्दिररुपी शरीरमा मुर्दा भैसकेको मासुलाई स्वादिष्ट परिकार मान्नु मानव जगतका लागी कदापी शोभा दिंदैन । “भनिन्छ जस्तो अन्न उस्तै मन । जस्तो पानी त्यस्तै वाणी” सोच्नुहोस् त मानव मन कसरी स्वस्थ हुन सक्छ? कसरी शान्त रहन सक्छ ? त्यही मनले हिंसात्मक कार्य नगरी कसले गर्छ ? मनमा दयाभाव,करुणा प्रेम कहांबाट उत्पन्न हुनसक्छ?

        आद्यात्मवादीहरुको मान्यता छ कि मनुस्यको विचार स्वभाव संस्कार र भावनाको प्रभाव उसको शरीरमा पर्दछ । बैज्ञानिक परीक्षणको निस्कर्ष अनुसार  जव कुनै पशु वा पंक्षीहरु मार्न लगिन्छ त्यस समय उक्त प्राणी आफ्नो प्राणको भिख मागीरहेको हुन्छ । उसभित्रको भय,क्रोध चिन्ता आदीको प्रभाव रगत एवं मासुमा विषाक्त तत्वहरुको रुपमा  विलय हुन्छन जसको कारण प्रोटिन,बोसो काव्रोहाइड्रेट विकृत द्रव्यमा परिणत हुनुले त्यस्तो खाद्य पदार्थ अशुद्ध तथा खान अयोग्य हुन्छ । वास्तवमा मासु खानेहरुले यस शव्दको अर्थलाई संझिनु जरुरी छ । मांस अर्थात जसलाई म खाईरहेको छु त्यसले एक दिन मलाई खानेछ । यो एक दुश्चक्र हो । यस जन्ममा मैले जसलाई खादैछु अर्को जन्ममा मलाई हिंसाको शिकार हुनु पर्ने हुन्छ । यसरी मेरो भोजन मेरै काल वनेर जन्म जन्मान्तरसम्म मलाई पिछा गर्न छोड्ने छैन । त्यसैले प्रकृतिका सर्वश्रेष्ठ सुन्दर रचना मानव आफ्नै सानो भाइको जिउने अधिकार किन खोस्दैछौ? म बांचु र अरु मरुन भन्ने राक्षसी प्रवृतीलाई छोडिदेउ ।
बैज्ञानिकहरुले  मासु सेवनबाट अनेक रोगहरुको उत्पति भएको पत्ता लगाएका छन् ।
  मासु अम्लीय पदार्थ हो,जसले आन्द्रामा सडन पैदा गर्छ र पाचन प्रणालीलाई कमजोर पार्छ फलतः पेटका रोगहरु अधिक हुने संभावना
प्रवल रहन्छ । वालवालिकाको गलग्रन्थिको सूजनको प्रमुख कारण हो मांसाहार ।
  मांसाहारीलाई हृदय रोग तथा क्यान्सर हुने खतरा बढी हुन्छ ।
  मासुमा पाइने यूरिक एसिडले वाथ,मूत्र रोग, रक्त–विकार,दम,इन्फ्लुन्जा र अनेकौ प्रकारका दुखाई सम्वन्धि समस्याले ग्रसित
बनाउँछ  ।
  रोगी एवं बुढो पशुपंक्षीहरु विषाक्त किटाणुले भरिएका हुन्छन् जसको कारण धेरै समयसम्म मासु पकाउंदा पनि ति जिवाणुहरु नमर्ने
भएकोले मानव शरीरमा प्रवेश गरी क्षयरोगको जन्म हुन्छ ।
  मानव शरीरको तापक्रम मांसाहारी प्राणीको तुलनामा कम र आन्द्राको संरचना समेत सानो हुने भएकोले पचाउन गाह्रो हुन्छ र
पूर्णरुपमा शरीरबाट निष्काशन गर्न कठिनाई हुन्छ ।
  निमोनिया, टाइफाइड, अपेन्डिसाइटिस,आन्द्रामा सुजन, पित्तको पत्थरी जस्ता समस्याहरु मांसाहारबाट हुने गर्दछन् ।

        उपरोक्त सन्दर्भ र चर्चाले समेत मांसाहार मानव जीवनका लागी घातक मात्र हैन महाअभिशाप हो भन्ने पुष्टि गर्दछ । इतिहास साक्षी छ मानवका पूर्वज श्री लक्ष्मी श्री नारायण, श्री सीता श्रीराम मर्यादा पुरुषोत्तम देवी देवता थिए,जो सदैव पुजनीय र चिर स्मरणीय छन् । जसको मनुस्यहरु पूजा आराधना गरेर धन्य धन्य वन्छन् । भगवानलाई जहिले पनि फल मेवा तथा अन्य मिष्ठान्न भोजको भोग लगाइन्छ तर कहिल्यै मासु अण्डा लसुन प्याजको भोग र प्रसाद  स्वीकार गराईदैन । मांसाहारी मानवको मनमा अन्य प्राणी प्रति दया,पे्रम,उदारता,कृपा वा करुणाको भावना आउन सक्दैन । त्यस्ता व्यक्तिहरुबाट अरुको प्रति शुभभावना शुभकामना राख्नु र परोपकारको आशा राख्नु निरर्थक समान हुन्छ । मांसभक्षी मानव मानवीय दर्जाबाट तल झर्दछ,तव मानव र दानव वीचको रेखा नै मेटिन पुग्दछ । परिणाम संसारमा अनाचार,पापचार,हिंसाको वोलवाला हुनु र मंगल संसार जंगलमा परिणत हुन पुगेको छ । यो स्वयंसिद्ध छ कि मांसाहार एक भयंकर विनासकारी हिंसक बृति हो । अतः कर्मको गहन गति संझेर मांसाहार त्याग्नुमा नै सांचो अर्थमा मानवको कल्याण समाएको छ । यस्ता  तामसिक भोजन मानव जीवनका निकृष्ट आहार हुन,जसले आत्मा र शरीर दुवैलाई अस्वस्थ वनाउंछन् । व्यक्ति जवसम्म स्वस्थ रहदैन तवसम्म स्वस्थ समाजको निर्माण “हत्केलाले सूर्य छेक्नु” समान हो । मनको दाश वनेर जिव्रोको क्षणिक स्वार्थ र स्वादमा यस्ता भोजनमा आफ्नो आयू र इज्जत नगुमाऔं । आनन्दको नाममा मूल्यवान जीवनलाई औचित्यहीन नवनाऔं । विचार हजुरहरुको पाप कर्मको झोला बोकेर हिड्ने वा पुण्य कर्महरुको खाता जम्मा गरी जन्म जन्म सौभाग्यशाली वन्ने ???

         सधै आफैसँग प्रश्न गर्ने गरौ –‘ के म बाँच्नका लागि भोजन गरिरहेको छु वा भोजनका लागि बाँचिरहेको छु ?’ अवश्यपनि  जीवन रक्षार्थ भोजन ग्रहण गर्ने कुरामा सवैको राय एकमत हुनसक्छ । पोषणयुक्त स्वस्थ शाकाहारी भोजनले बुद्धिलाई हल्का,तिक्ष्ण,शक्तिशाली एवं सृजनशील वनाउन मद्दत गर्ने कुरा जगजाहेर छ । विश्वमा सफलतालाई नजिकबाट चुमेका महान हस्तीहरुमध्ये प्रायःजसोले सात्विक भोजनलाई अंगीकार गरेको इतिहास साक्षी छ । भौतिक विज्ञानका पिता अल्वर्ट आइन्स्टाइन,अंग्रेजी कवि,नाटककार तथा विश्वप्रशिद्ध लेखक विलियम शेक्सपियर,भारतका पूर्व राष्ट्रपति मिसाईलम्यान डा.ए.पि.जे.अव्दुल कलाम,रोमन क्याथोलिक नर्स मदर टेरेसा,माहात्मा गान्धी,भारतीय सुपरस्टार अभिताव वच्चन,विश्वस्तरीय १४० राष्ट्रमा फैलिएको ब्रह्माकुमारीज संस्थाकी पूर्व प्रशासक १०४ वर्षीया राजयोगिनी दादी जानकीजी जस्ता मुर्धन्य व्यक्तित्वहरुको भोजनशैलीले एक दूरगामी सन्देश बोकेको छ । त्यसैगरी विश्वप्रशिद्ध महान कवि,दार्शनिक,वैज्ञानिक,कलाकार,लेखक धार्मिक गुरुहरु जस्तै पाइथागोरस,लियोनार्दो दा भिन्ची,जर्ज वर्नाड शा,अरस्तु,सुकरातको शाकाहारी जीवनशैलीको आफ्ना कार्यहरुले  विश्व प्रभावित गर्न सफल भए ।  सवै धार्मिक ग्रन्थद्धारा करुणा र अहिंसाको उपदेश दिईएको पाईन्छ । न त वेद,उपनिषद,श्रीमद्धभगवद् गीता न त सिक्खको पवित्र गुरुग्रन्थ साहिबा,न त इसाई धर्मको पवित्र बाइबल र प्रारम्भिक पुस्तक क्लेमेन्टाइन होमिलिजका उपदेश, न त मुहम्मद हासिबको पाक कुरान न त जैन धर्मग्रन्थ वा शान्तिका दूत गौतमबुद्धको उपदेश पञ्चशील तथा संसारका कुनैपनि पवित्र ग्रन्थले भोजनको लागि कहिल्यै पशुहरुको मासु र धार्मिक भावनालाई पूर्ति गर्नका लागि पशुको बली दिन स्वीकार गरेका छन् । सनातन धर्मका अनेक शास्त्र वा ग्रन्थले सत्य,अहिंसाको नै शिक्षा दिएका छन् भने हामी यहाँ कुन आधार प्रमाण र मान्यताबाट मांसाहारलाई प्रश्रय दिदै आएका छौ ? उपरोक्त भनाईबाट कुनै धर्म सम्प्रदाय वा पन्थको धार्मिक भावनालाई आलोचना गर्ने तथा हानी पुरयाउनु आशय होईन अपितु मांसाहार वा शाकाहारको प्रश्न भन्दापनि मानवीयताले के भन्छ ? त्यतिमात्रै स्मरण गराउने सानो प्रयास हो ।

      आजको सभ्य मानिसमा संस्कार भर्नु पर्ने जरुरत छ । जसमा संस्कारहीनता छ त्यही व्यक्तिले मांसाहारलाई समर्थन गरिरहेको हुन्छ । जंगली अवस्थाबाट मानिस सभ्यता तर्फ उन्मुख भएको दावी गर्देछ । दुनियांभरको जंगल उजाड भैसक्यो तर सभ्यता र संस्कृतीको कुरा गर्दा जंगली सोचले आजको मानव समाजलाई छोड्न सकिरहेको छैन ।  आज हामी देख्दैछौ कि बाघ,हात्ती गैडा चितुवा आदीको संरक्षण हुन्छ तर कमजोर जनावरहरु खसि वाख्रा कुखुरा हांस परेवा,माछा इत्यादीलाई मारेर खाने गरिन्छ । मानिसहरुको तर्क छ कि यदि यी पशुपंक्षीलाई हत्या गरी खाइएन भने पृथ्वीमा यिनीहरुको संख्या वढ्छ र पर्यावरणीय सन्तुलन विग्रिन्छ,मारामारी हुन्छ आदी आदी । अहो यो कस्तो विम्डवना ∕ त्यसो भए विश्वको जनसंख्या साढे सात करोड भन्दापनि बढी भैसक्यो र पृथ्वीले भार थेग्न नसक्ने अवस्था श्रृजना हुदैछ । अव त खुलेआम हत्यारालाई समर्थन गरे भैहाल्यो नि । किनकी तिनीहरुले पनि जनसंख्या बृद्धीलाई सजिलै रोकिरहेका छन् । तसर्थ किन चाहिए कानून ?किन चाहिए अदालत? वर्तमान समयमा हेर्दा चोर डांकु भ्रष्टा«चारी लुटेरा वलात्कारी, उग्रवादी आतंककारी कैदी वन्दि सवैलाई बांच्ने अधिकार छ । मानव अधिकारको नाममा विभिन्न संस्थाहरु स्थापना भएका छन् । तर विचरा ति निरीह प्राणी जसले कसैको केही विगारेका छैनन । ति अमूक जनावरको अधिकार खै ? पशु अधिकारको पक्षमा किन कतै आवाज सुनिदैन ? तसर्थ एउटै शव्दमा भन्दछु—मांसाहारको समर्थन मानवता विरोधी कार्य हो । मलाई अचम्म लाग्दछ ति धर्मगुरु प्रति जसले धर्मको आधारमा केवल गाई सुगुर जस्ता केही सिमित जनावरहरुको हत्यामा विरोध गरेको सुन्दा । हिन्द,ुमुस्लिम, बौद्ध,सिक्ख ईशाई जैन, फारसी सवै धर्म भन्दा मानव धर्म सवैभन्दा ठूलो हो । खै यो कुरा आजको धर्म धर्मगुरु र धार्मिक अभियन्ताहरुले बुझ्न र बुझाउन सकेको ? मेरो विचारमा सिर्फ २,४ वटा पशु पंक्षीको हत्यामा मात्र रोक लगाउने हैन कि अव सम्पूर्ण जीवजन्तुहरुलाई हत्या गर्ने कार्य हमेशा हमेशाको लागी प्रतिवन्ध लगाउनु जरुरी छ ।  मांसाहारका विरूद्ध अावाज समेत नसुिनएकाे हाेइनन् । उनीहरूकाे तर्क छ मांसाहारमा राेक हैन शाकाहारी जस्तै सन्तुलन मिलाउनु पर्छ । जहाँ जे विश्लेषण गरेपनि विज्ञान,धर्म वा प्रकृती संरचना समेतबाट अस्वीकृत मांसाहार  मानव जीवनका लागि कदापी लाभदायक हुनै सक्दैन । स्वास्थ्य,वातावरण र  मानवीय संवेदना समेतलाइ मध्यनजर गर्दा हाम्राे अादी सनातन संस्कृती गरिमा र प्रतिष्ठालाइ जिवन्तता दिन शाकाहारी जीवनशैलीमा समस्त मानव कल्याण समाहित छ । त्यसैले मांसाहार कुनै हालतमा पनि वरदान सावित हुनैसक्दैन वरू एक हिंसक वृती र सभ्य समाजकाे  कलंक हाे ।

लेखक ब्रह्माकुमारीज मधुवन आद्यात्मिक पुनर्जागरण केन्द्र,घोराही दाङ्गका प्रवक्ता हुन ।