रिपोर्टरको डायरी : किन छोएन नर्सको पीडाले कसैलाई ?
देवेन्द्र बस्नेत
सोमबार बेलुका डेरामै थिएँ । झण्डै ८ बजेको हुनुपर्छ । बिरवहादुर खत्री(बिरु) दाइको फोन आयो । अघिल्ला दिनमा पनि ‘हेल्लो हाई’ चलिरहने बिरु दाइको त्यो दिनको फोन भने अलिक फरक थियो, भन्नुभयो, ‘एकजना नर्सलाई घरबेटीले निकालेछन् ।’ कोरोना संक्रणको खतरा देखेर आफ्नो घरमा बसेकी स्वास्थ्यकर्मीलाई डेरा निकाला गर्ने घरधनी कति अधर्मी ? मन घोत्लीयो ।
मेरो मन घोत्लाइको अर्थ यो पनि हो कि म पनि डेरावाल हुँ । मेरो घरबेटीले पनि कोरोनाको त्रासका कारण घर बाहिर निस्कन पान्नस् मात्रै भन्दिए भने…? मेरो मानसपटलमा ति नर्सलाई एक पात्र मात्रै बनाएँ, उनलाई गरिएको ज्यादतीको पीडामा आँफूमा रुपान्तरण गरेँ ।
हामी कोरोनाको त्रासका कारण घरभित्रै थन्कीएका छौँ । कोरोनाको कहरका बेला ज्यानको बाजी लगाएर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई डेराबाटै निष्काशन गर्नु कुनै कोणबाट पनि जायज थिएन, यो निकै अमानवीय थियो । ति नर्स सृजना खड्कालाई न्याय दिलाउन प्रयास गर्नुु म एक नागरिकको कर्तव्य थियो ।
उनको फोन नम्बर पत्ता लगाएँ । फोन संवाद गरेँ । बिरु दाइले यो खवर सुनाउँदा जत्ति मन कुँडिएको थियो, पीडित नर्सको पीडा सुन्दा मन भतभती पोल्यो । उनको पीडा बोल्दैथियो ‘मलाई अन्याय गर्ने घरबेटीलाई कानुनले पाठ सिकाओस् ।’ म घरबेटीको पहिचानमा लागेँ । उनलाई आँफूलाई डेरा निकाला गर्ने घरमुलीको नाम थाहा रहेनछ । उनकी श्रीमतीको नाम मात्रै भन्न सकिन् । न त घरबेटीको नम्बरनै थियो । रात छिप्पीदै गईरहेको थियो, अब भोलीको प्रतिक्षामा थिएँ म, ति नर्समाथि भएको अमानवीय व्यवहारको हिसावकिताब खोज्नका लागि । बिहानै लकडाउनलाई छिचोल्दै म कार्यरत रेडियो स्वर्गद्धारीमा पुगेँ ।
डेरा निकाला प्रकरणलाई पुष्टि गर्ने कार्यमा लागेँ । हरे भगवान, ति स्टाफ नर्सलाई डेरा निकाला गर्ने घरबेटी त सरकारी कर्मचारी वडा सचिव नारायण आचार्य रहेछन् । सरकारी ब्यक्ति घरबेटीले नर्सलाई डेराबाटै निकाल्ने सम्मको हर्कत ? पेशाले म पत्रकार । तर म समाचार ब्रेकको रेसमा थिएन । एउटा निकृष्ट कार्यका हिस्सेदारलाई कानुनले सबक सिकाओस् अनि पीडितलाई न्यायको अनुभुत गराईदेओस् भन्ने बढि चिन्तन थियो । घोराही नवलपुरको यो घटना भएकाले मैले नजिकै महदेवामा रहेका मेरा गुरु विपुल पोख्रेललाई यो घटना र पीडकको बारेमा जानकारी गराएँ । नेपाल पत्रकार महासंका केन्द्रीय उपाध्यक्ष बिपुल दाइको अपेक्षा पनि उहि थियो, ‘कानुनी उपचारका लागि पहल ।’
यो प्रश्नको जवाफ मेरा सामु तेर्सिन्छ भने मैले पत्रकार बनेर हैन, ‘डेरावाल नागरिक’का रुपमा दिने छु । हो, म त्यहि डेरावाल नागरिक भएकै कारण ति सचिव पक्राउ हुँदा मेरो मनमा आनन्दको भाव तरंगित भएको हो ।
फलतः मैले दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई यो घटनाबारे जानकारी गराएँ । ति नर्सको नम्बर माग गरेबमोजिम मैले ‘सिडिओ साब’लाई नम्बर उपलब्ध गराएँ । सिडिओ साबले पनि यो घटनामा तत्काल रेस्पोन्स देखाउनुभयो । ति नर्ससंग उहाँको कुराकानी भएछ । अहिलेको यो बिषम परिस्थितिका बेला डेरा निकाला गरिएकी नर्सलाई न्याय दिलाउनका लागि एउटा अध्याय पुरा गरिसकेको थिएँ । अब बाँकी रह्यो समाचार । म कार्यरत नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुईँटेल सरसंग मेरो यो बिषयमा कुराकानी भयो । ‘यो अमानवीय कार्यलाई जति सक्यो चाँडो ‘एक्सपोज’ गर्नु पत्रकारको दायित्व हो’ गुणराज सरले भन्नुभयो ।
अब मैले मेरो आफ्नो कर्म पुरा गर्नुथियो । ‘कोरोना कहर : डेराबाटै निकालिइन् नर्स’ यो हेडिङ कुँदेर तयार पारेको समाचार केहिबेरमा नागरिक न्यूज अनलाईनमा प्रकाशित भयो ।
केहिबेरमै यो समाचार अन्य अनलाईनहरुमा साभार भएर प्रकाशित हुने क्रम ह्वात्तै बढ्दैगयो । म ति नर्ससंग पनि नियमीत सम्पर्कमै थिएँ । समाचार फैलँदै जान थालेपछि उनको मन पनि बेचैन बन्दै गएछ । ‘भोली मलाई अप्ठेरो पर्ने त हैन ?’ उनको मनभित्रको यो छट्पटाहटलाई सकेजति मत्थर पारिरहेकै थिएँ । मंगलवार दिउँसो पख उनै घरमुली नारायण आचार्य पक्राउ परे । यो खवरले मनलाई ठूलो राहत दिलायो । माफ गर्नु होला, पत्रकारले किन यसरी एकपक्षीय भएर सचिव पक्राउ परेको घटनालाई राहत मान्ने ? यो प्रश्नको जवाफ मेरा सामु तेर्सिन्छ भने मैले पत्रकार बनेर हैन, ‘डेरावाल नागरिक’का रुपमा दिने छु । हो, म त्यहि डेरावाल नागरिक भएकै कारण ति सचिव पक्राउ हुँदा मेरो मनमा आनन्दको भाव तरंगित भएको हो ।
घरबेटी पक्राउ परेपछि नर्स सृजनालाई प्रहरीले बोलायो, साँझ झण्डै ६ वजेतिर हुनुपर्छ । जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्राईले मलाई फोन गर्नुभयो र भन्नुभयो, ‘देवेन्द्रजी, नर्स बहिनीले जाहेरी दिन मान्नुभएको छैन, कारवाहीका लागि जाहेरी अनिवार्य नै हो, तपाई पनि आइदिने की ?’
जिल्ला प्रहरी कार्यालय पुगेँ, प्रहरी निरिक्षक राजन गौतमले यो मुद्दा हेरिरहनु भएको रहेछ । मास्कले छोपिएको मुख, मन्द बोलीबाट डर प्रष्फुटन भैरहेको थियो ति नर्सको । वडा सचिवसंग पंगा लिन कसरी सम्भव छ ? ति नर्सका सामु खडाभएको यो जटिल प्रश्न थियो । त्यहि त उनी चाहन्थीन ‘यो घटना यतिमै सेलाओस्, ताकी म भोली सहजै ढंगले घोराहीमा हिँड्न सकुँ, काम गरेर खान सकुँ ।’ तथापी मैले ढाडस दिने कर्तव्य पुरा गरेँ । उनकै न्यायका लागि बोलेको न हो म त । उनलाई न्याय प्राप्तीका लागि अनुरोध गरेँ । तर उनको त्रासदीको बार मेरो अनुरोधले भत्काउन सकेन । अन्ततः केस ढिसमिस भयो, छुटे दोषी सचिव ।
समाचार लेख्नु मेरो पेशागत धर्म थियो, लेखेँ । घटना सार्वजनिक गरेँ । तर प्रमुख उदेश्य त ति नर्सलाई न्याय दिलाउनु थियो । म अनभिज्ञ छु, नर्सले न्याय पाइन त ? झण्डै ५,६ घण्टा प्रहरी नियन्त्रणमा बसेर घरबेटी सचिवले आफ्नो कुकर्मको सजाय पुरा गरे ? के कारवाहीको स्वरुप यतिनै हुनु पर्ने हो ?
नर्स डेरा निस्काशन प्रकरणपछि केहि प्रश्नहरु पनि उब्जिएका छन् मेरो मनमा । मलाई सोध्न मन छ उनै नर्सको हकहितका लागि बनेको नर्सिङ संघ कहाँ हरायो हिँजो अनि आज ? एक्ली नर्स भोलीको त्रासदीले लुकलुक काँपि रहँदा ढाडस दिनेसम्मको दायित्व यो संघले पुरा गर्न किन सकेन ? डेराबाट निकालिएकी ति नर्स प्रति संघको चिन्ता हुनै नपर्ने ?
कोरोना संक्रमण बेलाको यो बिषम परिस्थितिका बेला डेराबाट नर्स निष्काशन हुनु मानवअधिकार हनन्को घटना भित्र पर्दैन ? मानव अधिकारबादी संघसंस्थाहरुलाई प्रश्न । ति नर्समाथि भएको मानव अधिकार हनन्को घटनामा बोल्नलाई केल्ले रोक्यो ? अनि सामाजिक अभियानको रुपमा आँफूलाई अग्रपंक्तीमा राख्दै आएको नागरिक समाज खोइ कहाँ गयो ? ति नर्स नागरिक हैनन् ? ति नागरिकलाई परेको पीडामा जोडिएर विगतको जस्तै अभियान थाल्न किन सकिएन छ ? शायदै महान यि संघसंस्थाहरु हिँजो एउटै स्वरमा ति नर्सको बारेमा बोल्थे होला त, आजदेखि कोरोना संक्रमणको डरले नर्सलाई डेरा निकाला गर्ने घरबेटीलाई उनको दोषको पाठ कानुनले सिकाउन सुरु गरिसकेको हुन्थ्यो ।
एउटी नर्सलाई न्याय दिलाउनका लागि गरेको मेरो यो प्रयासलाई ‘गलत’ भनेर ब्याख्या गर्न खोजियो पनि । मलाई यसले विचलीत कत्तिपनि बनाउँदैन । किनकी आँफ्नो पक्षमा बढाईचढाई गरेर लेखिदिएको समाचारलाई मात्रै हामी समाचार मान्दै आएका छौँ, तर हाम्रो कमजोरी वा खोट समाचारले पहिल्याईदियो भने त्यो समाचार सहि हुन्न, गलतै हुन्छ, लेख्ने पत्रकारनै दोषी हुन्छ । यो विगतदेखि भोग्दै आएको कुरा हो, यसैले म यसलाई यति ठूलो बिषयका रुपमा लिँदैन । तर आफ्नो सचिवलाई प्रहरीले थुनेपछि वडा अध्यक्षलाई छटपटाहट हुनु स्वाभाविकै पनि हो । सचिवलाई छुटाउन जानु पनि उहाँको मानसपटलले आफ्नो नैतिकता ठान्यो होला । तर जनप्रतिनिको यो भूमिकालाई आमनागरिकले कसरी हेर्लान् ? यत्तिसम्म चाहिँ सोचेको भए हुन्थ्यो कि जनप्रतिनिध ज्यू !
आफ्नो सचिवलाई छुटाउनका लागि प्रहरी कार्यालयमा दिउँसोबाटै खटिएका वडा अध्यक्षले आफ्नो सचिवको दोष देख्ने त कुरै भएन, उनी त निर्देष हुन् । दोषी को ? समाचार लेख्ने पत्रकार ? झुठो समाचार लेख्ने ? भनेर ममाथि प्रश्न खडा गरेका वडा अध्यक्षलाई चुनौती दिँदै भन्दै छु ‘हातमा मट्यांग्रा हैन, कलम छ । कलमले अँझै लेख्छ, लेखिरहने छ, तर तपाईले प्याच्च बोलेको जस्तो झूठो हैन, तपाईको सचिव भएर पो तपाईको नजरमा दोषी व्यक्ति पनि निर्दोष भए अनि पत्रकारले लेखेको समाचार झूठो भयो, तर म भन्छु तपाईका सचिवले गरेको कार्य निक्रिष्ट हो, म सहि छु, मैले लेखेको समाचार सहि छ ।’
