Goraksha

National Daily

कोरोना कविता : ‘फेरिएको नियमितता’

 

विनोद पोख्रेल

आज भोलीको नयाँ नियमितता
घरदेखि पक्की सडकको यात्रा
त्यो सडक छुन नै डर लाग्ने

मानौ छाती खोलेर सडकले
मलाई हाँक दिइरहेको छ,
आ ! म माथी हिड्न सक्ने भए
विचार गरुँ तेरो हिम्मत..

तर पनि म जान सकिरहेको छैन
किनभने मेरो मनको कुनै कुनामा
सानो सुक्ष्म भाइरसको डर छ
लगभग सबै गेट बन्द भएका छन्

आफ्नो बुद्धिमत्ताको प्रदर्शन गर्दै
अरु ग्रह उपग्रह जितेको मानिस
ब्रह्माण्डको ज्ञान भएको तागत
सबै घरभित्र सिमित छ

यसैलाई बुद्धिमानी मान्दै
आफुलाई कैद गर्दै छ
केही भयावह परिबेश देखेर
केटाकेटीहरु कुनामा लुके झै
कुन्नी कताकता लुकिबसेको छ
सायद महान मानवजातीलाई पनि
सुच्छम कोरोना भाइरसको डर छ

देश बिदेशका कुरा गर्नेहरु
नेपालको अरुसंग तुलना गर्दा
सधै नेपाललाई हेप्नेहरु पनि
कति दौडादौड गर्दै घर खोज्दैछन्
कति आउन नपाएर छट्पटिएका छन्
यही घरको संझना गरेर
आफ्नाहरुलाई संझिएर
आत्तिएर, कति त रोएर
जसरी तसरी दिन कटाउदै छन्
सायद तर्कहरु सबै हराए
कोराना भाइरसको त्रासमा
आफ्नै घर सुरक्षित देख्दैछन्

पुलिस लागेकोछ, प्रशासन लागेको छ
स्वास्थ्यकर्मी विचारा प्रयास गरेकै छन्
तै पनि नयाँ र अकल्पनीय
एउटा अकल्पनीय संस्कृती जन्मिएको छ
म तिम्रो घरमा आउँदैन मित्र
तिमि पनि मेरो घरमा आउनु हुँदैन
हाम्रो संस्कारले कल्पना नगरेको
यस्तो भावना पनि त आउने रैछ
उनीहरुलाई पनि त कोरोनाको डर छ

पुलिस प्रशासनसित डर छैन
कानूनहरु मान्दै मान्दैनन्
अति जान्ने ठूला ठूलाहरु पनि
उसले कत्ति टेरेको छैन
लुकेको पनि छैन, देखिएको पनि छैन
तै पनि यसलाई अराजक भनेर
आतंककारी वा राष्ट्र विरोधी भनेर
कनै सरकारले थुन्न सक्दैन
बरु आफै सकेसम्म थुनिने प्रयासमा छ
यिनलाई पनि त कोरोनाकै डर छ ।