Goraksha

National Daily

जागिरमा स्थायीत्व पाउँदाको खुसी

जागिरे जीवनसँगै सामाजिक कार्यमा तल्लिन तुलसीपुर उद्योग वाणिज्य संघमा विगत २१ बर्षदेखि अनवरतरुपमा क्रियाशील, जो व्यक्ति सधै खुसी र कर्ममा विश्वास गर्दछ । कार्यालयको काम होस् वा समाजमा हुने विभिन्न किसिमका सांस्कृतिक, सामाजिक काममा सक्रिय सहभागिता जनाउँदै सेवामा लाग्ने व्यक्ति पारेश्वर भट्टराई । साविक पवननगरमा जन्मिएर हाल तुलसीपुर–९ मा बस्दै आएका भट्टराईले आफ्नो पहिलो खुसी २०५७ सालमा कार्यालय सचिवको रुपमा जागिरमा स्थायित्व पाउँदाको लागेका सुनाए ।

‘म २०५६ सालमा तुलसीपुर उद्योग वाणिज्य संघमा प्रवेश गरेको हुँ । त्यससँगै २०५७ सालमा स्थायी भएपछि म ज्यादै खुसी भएको थिए’, उनले भने ।

तीन बर्ष जति शिक्षण पेशा अंगालेका भट्टराईले तत्कालीन संघका अध्यक्ष स्व. विष्णु केसी र सचिव हेमन्त रिजालको पालामा आफू स्थायी भएको सम्झिए । त्यसमा उनले तत्कालीन तुलसीपुर नगरपालिका मेयर शंकरप्रसाद आचार्यले पनि आफूलाई धेरै सहयोग गरेको सुनाए । ‘म यहाँसम्म आउनमा उहाँहरुलगायत अन्य व्यवसायी नेता तथा पूर्व अध्यक्षज्यूहरुको हात छ’, उनले भने ।

जीवनका उकाली–ओरालीहरुमा खुसी त धेरै छन् तर मेरो पहिलो खुसी जागिरे जीवनमा स्थायित्व पाउँदा हो, यसैलाई लेखिदिनुहोला’, भट्टराईले भने । उनले आफू सामान्य परिवारमा जन्मिएको र त्यहाँ जागिर स्थायी हुँदा अब जीवन धान्न सजिलो हुने भो भन्ने लागेको सुनाए । ‘म तुलसीपुर उद्योग वाणिज्य संघमा प्रवेश गर्दा पनि खुसी लागेका थियो, त्योसँगै कार्यालय सचिवको स्थायी नियुक्ति भयो त्यो मेरो लागि पहिलो खुसी थियो’, उनले भने । उनले २०५७ साल मंसिर ८ गते आफू स्थायी भएको भन्दै त्यस दिन सो खुसी परिवारसँग साटेको बताए ।

‘यो मंसिर ८ गते मलाई सम्झना छ, यो दिन म असाध्यै खुसी भएको थिएँ, त्योसँगै उनले अर्को खुसी तुलसीपुर उद्योग वाणिज्य संघले २०६५ सालमा मध्यपश्चिमाञ्चलस्तरीय क्षेत्रीय महोत्सव लगाउँदा र त्यसमा आफूले पनि धेरै मेहनत गरेर महोत्सव सफल हुँदा लागेको सुनाए । त्यो महोत्सवले अलिकति भए पनि उद्योग वाणिज्य संघको आर्थिक विकास र यस क्षेत्रलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चिनायो । ‘त्यसमा पनि मलाई खुसी र गर्व लाग्ने गरेको छ’, भट्टराईले भने ।

त्यस्तै उनले तुलसीपुरमा अञ्चल अस्पताल निर्माणार्थ महापुराण लगाएर अस्पताल स्थापना भएकोमा पनि खुसी व्यक्त गरे । ‘त्यतिबेला दिपेन्द्रकुमार खत्री अध्यक्ष हुनुहुन्थ्यो, मलाई सचिवालयको जिम्मेवारी दिइएको थियो’ उनले भने । २०६२ सालमा लगाएको महापुराणमा थुप्रैले सहयोग गरेको र सो सहयोगबाट अञ्चल अस्पताल स्थापना हुनुका साथै संकलित रकमले भवन निर्माण गरी अस्पताललाई स्थापना भएको देख्न पाउँदा आफूलाई खुसी लागेको उनले सुनाए ।

भट्टराईले त्यसमा पूर्वअध्यक्ष तथा उद्योगी व्यवसायी र समाजसेवी सबैले सहयोग गरेका बताए । त्योसँगै बामदेव शर्माको सहयोगमा राप्ती प्रादेशिक अस्पतालको हाताभित्र कालिकादेवी ब्लड बैंक स्थापना गर्दा पनि खुसी लागेको सुनाए । ‘मैले त्यो ब्लड बैंक स्थापना गर्दा कार्यकारी सचिवको रुपमा पनि काम गरे, हामी सबैको सहयोग र साथले ब्लड बैंक स्थापना भयो त्यसमा पनि मलाई निकै खुसी लागेको छ’, भट्टराईले भने । उनले रगतको अभावमा छटपटिएका बिरामीहरुले हाल सहज सेवा पाउँदा आफूलाई खुसी लाग्ने गरेको सुनाए । ‘ब्लड बैंक स्थापना भएपछि धेरैले सेवा पाएका छन्, कोही पनि रगतको अभावले ज्यान गुमाउनुपर्ने अवस्था छैन’, उनले भने । २०५३ सालदेखि भमकेको पवन बोर्डिङ स्कुलमा शिक्षण गरेका भट्टराईले दूरदराजमा आफूले शिक्षाको ज्योति सबैलाई बाँढेकोमा पनि खुसी व्यक्त गरे ।

‘मैले करिब ३ बर्ष शिक्षण गर्दा धेरै विद्यार्थीहरुलाई शिक्षा दिए, मैले पढाएका विद्यार्थी हाल विभिन्न क्षेत्रमा छन्’, उनले भने । उनीहरुले आफूले पढाएका विद्यार्थीहरुले विभिन्न समयमा आफूलाई सम्झदा धेरै खुसी लाग्ने गरेको सुनाए । त्यस्तै उनले भमकेमा बस्दा गाउँघरमा रात–बिरात बिरामीहरुलाई तुलसीपुरसम्म ल्याएर उपचार गराएको तथा धेरैको ज्यान जोगाएकोमा खुसी व्यक्त गरे । आफूसँग मोटरसाइकल भएको र मोटरसाइकलमा दैनिकजसो गाउँका व्यक्तिलाई उपचारका लागि ल्याएको सम्झिए । ‘त्यो समयमा धेरै सवारीका साधनहरु हुँदैनथे, मोटरसाइकलमा हालेर धेरैलाई सेवा पु¥याएन पाउँदा खुसी लाग्ने गरेको छ’, उनले भने । त्यस्तै विभिन्न सहकारीमा बसेर काम गर्दा पनि खुसी लागेको उनले सुनाए ।

भट्टराईले तत्कालीन अध्यक्ष विमल रिजालको पालामा सदस्य यज्ञबहादुर केसीले दोघरेमा जग्गा प्रदान गरी सो ठाउँमा सभाहल बनाउन महायज्ञदेखि महोत्सवको समेत रकम हालेर सभाहल बनाउन पाउँदा पनि खुसी व्यक्त गरे । उनले सो समयमा आफूले सचिवालयको काम जिम्मेवारीपूर्वक पूरा गरेकोमा खुसी व्यक्त गरे । त्यस्तै २०४७ सालमा एसएलसी पास गर्दा तथा २०६५ सालमा राप्ती बबई क्याम्पसबाट बीए पास गर्दा अर्को खुसी प्राप्त भएको उनले सुनाए । भट्टराईले घरबाट आफूलाई धेरै सहयोग मिलेकोमा पनि खुसी व्यक्त गरे । ‘मेरो श्रीमतीको पनि म यहाँसम्म आउनमा धेरै हात छ’, उनले भने ।

‘मैले एकपाइला फाल्दा श्रीमतीले दुर्ई पाइला अगाडि बढ्छिन्, मलाई त्यसमा पनि धेरै खुसी लाग्ने गर्दछ’, भट्टराईले भने । उनले घरमा ८ बर्षीय वुवा र आमाहरुलाई सेवा गर्न पाउँदा अर्को खुसी लागेका सुनाए । भट्टराईले छोरालाई सफ्टवेयर इन्जिनियर विषय पढाउन र छोरीलाई ग्लोबल आइएमईमा जागिर खादा खुसी लागेको सुनाए । ‘छोराछोरीले पनि राम्रो प्रगति गरेका छन्, यसमा पनि म खुसी छु’, भट्टराईले भने ।

प्रस्तुती : बालाराम खड्का