भगीरथ योगी आफैमा परिचित नाम हो । दाङमा, काठमाडौंमा तथा बेलायतमा पत्रकारिता गरेका उनी बिबिसी नेपाली सेवामा लामो समय काम गरेका एकजना वरिष्ठ पत्रकार हुन् । अहिले बेलायतमा रहेका उनले कोभिड–१९ सँग सम्बन्धित विषयमा छलफल चलाउने, समस्यामा परेका नेपालीहरूलाई सघाउने र सचेतनाका लागि अभियान नै चलाउने काम गर्दै आएका छन् ।
यो संकटको समयमा उनले आफ्नो भूमिका निर्वाह गर्दै गर्दा विदेशमा रहेका नेपालीहरूसँग धेरै अन्तत्र्रिmया पनि गरेका छन् । कोभिडका विरुद्धमा विश्वभर भइरहेका गतिविधि र पत्रकारिताले खेलेको भूमिकालाई नजिकबाट नियालिरहेका उनीसँग सातावार्ताका लागि हामीले सम्पर्क गरेका थियौंं । उनीसँगको कुराकानीका क्रममा विदेशमा रहेका नेपालीहरूको अवस्था, उनीहरूबीचको सम्बन्ध, विदेशमा कार्यरत नेपाली पत्रकारहरूको भूमिका, नेपालमा पत्रकारले खेलेको भूमिकाका साथै नेपाल सरकारको भूमिकालाई बाहिरबाट उनले कसरी हेरिरहेका छन् भन्ने विषयमा केन्द्रित रहेका छौं । प्रस्तुत छ, वरिष्ठ पत्रकार भगीरथ योगीसँग गोरक्ष राष्ट्रिय दैनिकले गरेको कुराकानी ।
बेलायतमा रहेका नेपालीहरूको अवस्था कस्तो छ ?
कोरोना भाइरसको संक्रमणबाट लाग्ने रोग (कोभिड–१९) बाट बेलायत निकै नराम्रोसँग प्रभावित भयो । अहिलेसम्म झन्डै ३ लाख १२ सय ००० ब्रिटिश नागरिकहरू कोरोना संक्रमित पाइएका छन् र ४३ हजार बढीको कोरोनाकै कारण निधन भइसकेको छ । बेलायतमा बसोबास गर्ने ६० जनाभन्दा बढी नेपालीको पनि कोरोनाका कारण दुखद् निधन भएको छ, जसमध्ये ६५ वर्ष माथिका भूतपूर्व गोर्खा सैनिकहरु धेरै हुनुहुन्छ । तर झन्डै तीन महिना लामो लकडाउनपछि अहिले नयाँ संक्रमण तथा कोरोनाका कारण मृत्युको संख्या कम हुँदै गएको छ र सरकारले पनि लकडाउन खुकुलो पार्दै लगेको छ ।
कोभिडसँग जुझ्ने सन्दर्भमा आपसी छलफल नेपालीहरूबीच कत्तिको हुने गरेको छ ?
शुरुमा त अलिकति त्रासको वातावरण थियो तर गैर आवासीय नेपाली संघ युकेलगायतका संघसंस्थाहरुले स्वयंसेवकहरु परिचालन गरी समस्यामा परेका नेपाली तथा भूतपूर्व गोर्खाहरुको पहिचान गर्ने, उहाँहरुलाई फार्मेसीबाट औषधि लगिदिनेलगायतका काममा सहयोग गर्दै आएका छन् । त्यस्तै केही सामुदायिक संस्थाले वृद्धवृद्धाको लागि खाना पकाएर घरको ढोकामा लगेर छाडिदिनेजस्ता काम पनि गरे । नेप्लिज डक्टर्स एशोसियशन, नेप्लिज नर्सेस एशोसियशनलगायतका संस्थाले पनि सहयोग गरे । लण्डनस्थित नेपाली दूतावासले संयोजनकारी भूमिका निर्वाह गर्दै आएको छ । कोरोना संकटका कारण रोजगारी गुमाएका, आर्थिक संकटमा परेका नेपाली विद्यार्थीहरुलाई नेपाली युवा, विद्यार्थीहरुकै संस्था मर्जिंग नेपसक्स, एनआएन युकेलगायतले आर्थिक तथा खाद्यान्न सहयोग गरे, जुन प्रशंसनीय छ ।
उनीहरुको लागि सञ्चारमाध्यमका सामग्रीहरू कत्तिको सहयोगी मानिएका छन् ?
नेपाल पत्रकार महासंघ युकेको भूमिका यहाँ उल्लेख गर्नु सान्दर्भिक होला । संघको सल्लाहकारको रुपमा म पनि संलग्न रहेँ । हामीले बेलायतमा रहनुभएका नेपाली जनस्वास्थ्यविद्हरु, चिकित्सकहरुको सहयोगमा यहाँको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले प्रकाशन गरेका सामग्रीहरु नेपालीमा अनुवाद गरेर समुदायसम्म पुराउने काम गर्यौं । नेपाल पत्रकार महासंघ युकेले भूतपूर्व गोर्खा समुदायको सूचनासम्बन्धी आवश्यकता कस्तो छ भनी एउटा नमूना सर्वेक्षण पनि ग¥यो । त्यसै अनुसार विभिन्न अनलाइन तथा रेडियोबाट जानकारीमूलक सूचना सामग्री प्रचार–प्रसार गर्ने काम भएको छ ।
एक पत्रकारको रुपमा तपाईले कोभिड–१९ सँग संसार जुझ्दै गर्दा मिडियाको भूमिका कस्तो देखिरहुनभएको छ ?
वास्तवमा कोरोना संकट सञ्चारकर्मीको रुपमा हामीले व्यहोर्नुपरेको हाम्रो जीवनकै सबैभन्दा ठूलो समाचार पनि हो । यसबाट संसारभरि अरबौं मानिस प्रभावित भएका छन् । एक करोडभन्दा बढी मानिसहरु संक्रमित भएका छन्, ५ लाखभन्दा बढीको निधन भइसकेको छ । व्यापार–व्यवसाय बन्द छन्, करोडौं मानिसले रोजगारी गुमाएका छन् । यो स्वास्थ्य संकट अहिले आर्थिक र सामाजिक संकटमा बदलिएको छ, कतिपय मुलुकमा यसले राजनीतिक उथलपुथल पनि ल्याउन सक्ने अनुमान गरिएको छ । यस्तो बेला मिडियाको भूमिका अवश्य नै महत्वपूर्ण हुन्छ । साबुन पानीले मिची–मिची हात धोऔं, अनुहार छोप्न मास्क लगाऔं, बहिर निस्कँदा भौतिक दूरी कायम गरौँजस्ता जीवन जोगाउने सूचना दिन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका छ । त्यस्तै कोरोना संकटसँग जुध्ने नाममा गरिएका भ्रष्टाचार, अनियमितता, अव्यवस्थित क्वारेन्टाइनहरु र स्वास्थ्य सेवाको स्तर जस्ता विषयलाई सार्वजनिक बहसमा ल्याउन र सम्बन्धित पदाधिकारीहरुलाई जवाफदेही बनाउन पनि मिडियाको भूमिका अरु महत्वपूर्ण भएर गएको मैले पाएको छु ।
बेलायतबाट हेर्दा नेपालमा कोभिड–१९ सँगको यहाँको सरकारको भूमिकालाई कसरी नियालिराख्नु भा’छ ?
गत अप्रिल महिनाको पहिलो हप्ता बेलायत सरकारले १० दिनभित्र लण्डनमा ४ हजार बेड क्षमताको नयाँ अस्पताल बनायो । ब्रिटिश सेनामा कार्यरत गोर्खा सैनिकहरु पनि रातदिन खटिनु भयो । तर कहिँ, कतैबाट एक पाउन्ड पनि गडबड भयो कि भन्ने प्रश्न उठेन । तर नेपालमा पीसीआर मेसिन किन्न होस् वा स्वास्थ्यकर्मीहरुलाई चाहिने व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) किन्न, संस्थागतरुपमा र ठूलो मात्रामा भ्रष्टाचार भइरहेको आरोप लागेको छ, तर प्रधानमन्त्री स्वयंले विवादित व्यक्तिहरुको बचाउ गरिरहनुभएको छ । विदेशमा अलपत्र परेका नेपालीहरुलाई घर फर्काउन सरकारले शुरु गरेको चार्टर्ड उडानहरुमा महंगो शुल्क तोकिएको आरोप लागेको छ । सरकारले कोरोना संकटसँग जुध्न खर्च गरेको भनेको १० अर्ब रकमको हिसाब मागेर युवाहरु सडकमा उत्रँदा प्रधानमन्त्री आफै अहिले हिसाब किन चाहियो भन्नुहुन्छ । आम जनता रोगले भन्दा भोकले मर्ने स्थिति आउँदा पनि सरकारको उपेक्षा निकै चित्त दुख्ने खालको छ ।
तपाईंको तर्फबाट सरकारलाई केही सुझाव वा आग्रह केही छ कि ?
एक सञ्चारकर्मीको रुपमा कोरोनासँग सम्बन्धित सही र वैज्ञानिक जानकारी आम जनतालाई व्यवस्थितरुपमा पुराउन सरकारले ध्यान दिनुपर्ने देख्छु । स्वास्थ्य मन्त्रालयले गर्ने दैनिक ब्रिफिङजस्तै सातैवटा प्रदेश सरकारहरुले पनि आ–आफ्नो प्रदेशमा संक्रमितहरुको स्थिति र संक्रमण रोक्न सरकारले गरिरहेका कामहरुको बारेमा जानकारी गराउनु राम्रो हुन्छ । त्यस बाहेक हामीसँग रहेका सामुदायिक एफएम रेडियोहरु र अन्य सञ्चारमाध्यमहरुलाई पनि आम जनसमुदायलाई व्यवहार परिवर्तन गर्न उत्प्रेरित गर्न परिचालित गर्नु उपयोगी हुनेछ ।
अनि नेपाली मिडियाको भूमिकालाई कसरी विश्लेषण गर्नुहुन्छ यतिबेला ? नेपाल बाहिर रहेका नेपालीसँग तपाईंको सम्पर्क भइराखेको छ विभिन्न माध्यमबाट, के भन्नुहुन्छ उहाँहरू ? नेपाल फर्कने आतुरता कस्तो पाउनु भा’छ ?
लकडाउनका कारण लाखौं नेपालीले रोजीरोटी गुमाएको, सयौं किलोमिटर पैदलै हिंडेर घर फर्केको समाचारहरु सञ्चारमाध्यमले नै सार्वजनिक गरेका हुन् । कोरोना कहर शुरु भएयता संस्थागतरुपमा भइरहेको भनिएको भ्रष्टाचार र फजुल खर्चबारे पनि सञ्चार माध्यमहरुले हरेक दिनजसो रिपोर्ट गरिरहेका छन् । आफ्नै जीवन खतरामा पारेर सञ्चारकर्मीहरुले गरिरहेको सूचना प्रवाहको हामीले प्रशंसा गर्नुपर्दछ । नेपाल बाहिरका नेपालीहरु पनि कोरोना कहरबाट आफै प्रभावित हुनु हुन्छ, तर नेपाल र नेपालीलाई सक्दो सहयोग गर्न उत्सुक देखिनु हुन्छ । खासगरी खाडी मुलुकहरु, मलेसियालगायतका मुलुकमा कार्यरत, रोजगारी गुमाएका, बिरामी नेपालीहरु महिनौंदेखि स्वदेश फर्कन पर्खिरहनुभएको छ । सरकारले अहिलेसम्म भारतबाहेकका मुलुकबाट १० हजार बढी नेपालीहरुलाई स्वदेश फिर्ता ल्याएको छ, तर अझै दशौँ हजार नेपालीहरु घर फर्कन पर्खिरहनु भएको छ । उहाँहरुमध्ये कमजोर आर्थिक स्थिति भएका नेपालीहरुलाई सर्वोच्च अदालतले आदेश दिएजस्तै निःशुल्करुपमा स्वदेश ल्याउन सरकारले ढिला गर्नु हुँदैन ।
अहिले नेपाल फर्किएकाहरू कोभिड नियन्त्रणपछि फेरि विदेश फर्कने मनस्थितिमा रहेको पाउनुभाको छ कि नेपालमै बस्ने ?
भारतबाट फर्किएका कैयौं नेपालीहरु त आफ्नो रोजगारदाताले बोलाएपछि त्यसतर्फ जान थालेको समाचारहरु आएका छन् । खाडी मुलुकहरुमा तेलको मूल्य घटेका कारण धेरै कम्पनीहरुले ठूलो संख्यामा कामदारहरुलाई हटाएका छन् । त्यहाँ फेरि रोजगारीको अवसर मिल्ने सम्भावना कम देखिन्छ । त्यसैले स्वदेश फर्केका लाखौं नेपालीहरुलाई नेपालमै रोजगारी उपलब्ध गराउनुपर्ने आवश्यकता छ । यसको लागि संघ र प्रदेश सरकारले जति सक्दो चाँडो योजना र कार्यक्रम ल्याउन आवश्यक भइसकेको छ ।
अन्त्यमा, त्यहाँबाट आफ्नो देश, अझ भनौ गृहजिल्ला दाङवासीलाई केही भन्न चाहनुहुन्छ ?
यो हामी सबैका लागि अभूतपूर्व संकटको स्थिति हो । खासगरी दैनिक ज्याला मजदुरी गर्ने, रोजगारी गुमाएका, साना व्यवसायीहरुलाई तत्काल सहयोगको खाँचो छ । हाम्रो गाउँघरमा रोग र भोकका कारण कसैको पनि ज्यान जाने अवस्था नआओस् भनेर, स्थानीय सरकार तथा समुदाय सबै सजग र तत्पर रहन म अनुरोध गर्न चाहन्छु । लामो बन्दाबन्दी र त्यसले उत्पन्न गरेको आर्थिक संकटका कारण किशोर–किशोरी तथा वयष्कहरुमा पनि मानसिक समस्याहरु देखिएका छन् । त्यस्ता व्यक्तिहरुलाई जति सक्दो चाँडो मनोपरामर्श सेवा दिन र सामाजिक जीवनमा सक्रिय बनाउन सहयोगको आवश्यकता छ । हाम्रो समाजको विशेषता भनेको नै मर्दा, पर्दा एक अर्कालाई सहयोग गर्ने हो । राजनीतिक आस्था जे भए पनि, जुनसुकै जात धर्मको नेपालीले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न म अपिल गर्दछु । त्यस्तै हाम्रा स्वास्थ्य संस्था, सामुदायिक विद्यालयहरुको गुणस्तर सुधार गर्ने अभियान चलाउन आवश्यक छ । अब जनताले पुरानै शासन शैली स्वीकार्ने छैनन् । एउटा नयाँ सामाजिक सम्झौता (New Social Contract) मा जान हामी सबै तयार रहनुपर्छ ।