Goraksha

National Daily

राजनीतिक संवादमा ‘जेन–जी’ पुस्ता : कस्ता उम्मेदवार, कस्तो सरकार ?

कृष्णप्रसाद न्यौपाने
दाङ, ५ फागुन । विभिन्न कलेज पोशाकमा हलभरि खचाखच भरिएका थिए, विद्यार्थी ? । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सबैजसो राजनीतिक दल र उम्मेदवार ‘नयाँ पुस्ता’को नाममा भोट मागिरहेका बेला दाङका यी नवपुस्ता अब देशको मार्गचित्र कस्तो हुनुपर्छ ? भन्ने ‘संवाद’मा जुटेका थिए ।

गत भदौ २३ र २४ गते भएको जेन–जी विद्रोहकै जगमा हुन थालेको यो निर्वाचनमा देशभरि युवा चासो उत्तिकै छ । ‘राजनीति’बाट टाढा छन् भनिएका यी नवपुस्ताले भने अब राजनीति बारे बहस र संवादमा खुलेरै जम्न थालेका छन् । बेस संस्था तुलसीपुरको व्यवस्थापन तथा संवाद समूहको सहजीकरणमा ‘नेपालको वर्तमान अवस्था, नवयुवाको माग र आगामी निर्वाचन विषयक संवाद’ कार्यक्रममा सहभागी भएका दाङका कजेल विद्यार्थीले आगामी निर्वाचनमा दल र उम्मेदवारको घोषणापत्र कस्तो हुनुपर्छ भन्नेदेखि देशको भावी प्रधानमन्त्रीसम्मका परिकल्पना गरेका थिए । त्यत्ति मात्रै होइन अहिले देशको राजनीतिदेखि यी नवपुस्ताका विद्यार्थीले देशको शासकीय स्वरुप कस्तो हुन सक्छ भन्नेबारे आफ्नो मत राखे अनि त्यसमा बहस र खुल्ला संवाद पनि गरे ।

जेन–जीको त्यो विद्रोहले नवपुस्तमा ल्याएको चेतनाले अहिले पनि घरदैलोमा पुगेका उम्मेदवारलाई आच्छु आच्छु पारिरहेको छ । प्रश्न सोधिरहेको यो पुस्ताले कस्तो देश चाहन्छ ? कस्तो शासकीय स्वरूप चाहन्छ ? राजनीतिक दल अनि उम्मेदवारको घोषणापत्रमा आफ्नो भविष्यको कस्तो चित्र देख्न चाहन्छ ? सोमवार तुलसीपुरमा जुटेका यी विद्यार्थीले त्यसबारे फरक फरक तर विल्कुलै नयाँ सोचका साथ आफ्ना धारणा प्रस्तुत गरेका थिए । अहिले हरेक दल र उम्मेदवारले परम्परागत शैली र उही नारा दोहो¥याउँदै घोषणापत्र ल्याइरहेका छन् ।

विभिन्न नाममा ल्याइएका यी घोषणापत्रको एउटा साझा रुप भनेको त्यसमा ठोस योजना छैनन् । बरू उही कोरा भाषण र नाराहरूको लय मात्रै मिलाइएका छन् । ‘पुराना भन्ने तर नयाँले पनि उस्तै गर्न थालेका छन् । उसैगरी ढाँट्न थालेका छन् । सबैका घोषणापत्र हेर्नुहोस् त सबै उस्तै देखिन्छन् । पढ्दा कसैको मिठो लाग्ला वा अरूको कस्तो कस्तो लाग्ला तर कसैसँग ठ्याक्कै योजनाहरू छैनन्’, केही उदाहरणहरू दिँदै विद्यार्थी प्रमोद केसीले भने, ‘रोजगारी दिन्छौं भनेका छन् । यति लाखलाई रोजगारी दिने रे यो गर्ने रे भनेका छन् तर त्यो रोजगारी कसरी सिर्जना हुन्छ भनेर भन्नु पर्दैन ? उद्योग खोलेर हुन्छ कि अरू केही गरेर हुन्छ कि, के गर्दा कस्ता मान्छेलाई के रोजगारी प्राप्त हुन्छ भनेर प्रस्ट भन्नुपर्छ । सुशासन ल्याउँछौँ भनेर मात्रै हुँदैन । त्यो कसरी ल्याउन सकिन्छ भन्नेबारे स्पष्ट भन्नुपर्छ ।’

अहिले पनि दोहा¥याएरै पुरानै अनुहारहरू निर्वाचनमा देखिएको भन्दै नयाँ पुस्ताले दलहरूको उम्मेदवार छनोट प्रक्रियामा समेत प्रश्न उठाएका छन् । नेताहरूले आफ्नै मनमौजी उम्मेदवारलाई चुनाव लड्ने टिकट दिँदा नयाँले अवसर नपाइरहेको अहिलेको राजनीतिक अवस्था हो । नयाँ वा पुराना भन्नेले समेत उम्मेदवार दोहो¥याउन यसपालि पनि छोडेनन् । यसलाई रोक्नका लागि नयाँ पुस्ताले अबका चुनावमा उम्मेदवारको पूर्वपरीक्षाको व्यवस्था गर्न माग गरेका छन् । अहिले राजनीतिक दलभित्र बहस भइरहेको ‘प्रि–इलेक्सन’लाई उनीहरूले आफ्नै विद्यार्थी जीवनको परीक्षाका रूपमा तुलना गरेका थिए । ‘जसरी हामी पढ्ने विद्यार्थीलाई परीक्षामा सहभागी गराएर फेल वा पास गराइन्छ, देश चलाउने व्यक्तिको पनि परीक्षा हुनुपर्छ । उम्मेदवार बन्ने क्षमताको परीक्षा भयो भने मात्रै त्यो उम्मेदवारले केही गर्न सक्छ ।

नत्र जहिल्यै उही पुरानो अनुहार दोहोरिने हो’ पारस वली, तिलक रावत र ईश्वरी खड्कालगायत संवादमा सहभागी विद्यार्थीको भनाइको तात्पर्य थियो, ‘पहिलो परीक्षामै सहभागी नभई कसरी देश बनाउने परीक्षामा सहभागी हुन पाइन्छ । आम चुनाव भनेको त एउटाले जित्ने वा हार्ने भन्ने मात्रै होइन । देश बनाउने जिम्मेवारी कस्ता मान्छेले लिँदैछन् भन्ने पनि त होला नि । त्यसैले हाम्रो जस्तै चुनाव लड्ने उम्मेदवारको पनि परीक्षा हुनुपर्छ ।’

संवादमा सहभागीले निर्वाचनले जेन–जी पुस्ताको मागलाई सम्बोधन गर्न युवा पुस्ताको सहभागितालाई सबै राजनीतिक दलले समेट्नु पर्ने, विद्यार्थीले अध्ययन गर्दै कमाउँदै गर्ने जस्ता व्यवस्था अनिवार्य गरेर शिक्षा नीति संशोधन गर्नु पर्ने जस्ता माग राखेका थिए । राजनीतिक अस्थिरताका कारण देश विकासमा समस्या उत्पन्न भइरहेको भन्दै केहीले भने प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था हुनु पर्ने माग पनि राखे । जेन–जी आन्दोलनपछि अत्यधिक चर्चामा आएको प्रत्यक्ष कार्यकारी व्यवस्थाबारे अहिले राजनीतिक दलबिच मुख्य बहसका रूपमा स्थापित भएको छ । यद्यपि विज्ञहरूको यसबारे आआफ्नै तर्क छन् । जेन–जी पुस्ता पनि यसबारे विभाजित नै छ । सांसदहरूलाई कानुन तथा नीति निर्माणमा मात्रै सिमित गरेर संसद् र सरकार निर्माण अनि सञ्चालनका संयन्त्रहरू फरक फरक हुनु पर्ने कुरालाई यी पुस्ताले
बहसका रूपमा लैजान थालेका छन् ।

कार्यक्रममा सहभागी यी नयाँ पुस्ताका विद्यार्थीले खासगरी देशको शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा राजनीतिक दलहरूले आफ्नो स्पष्ट धारणा र खाका जनता माझ सार्वजनिक गर्न माग गरेका थिए । त्यस्तै उनीहरूले भ्रष्टाचार नियन्त्रण, त्यसका लागि बलियो र प्रभावकारी कानुन निर्माण र कार्यान्वयनमा युवाहरूको हस्तक्षेपकारी भूमिका औल्याएका थिए ।