मध्यवर्ती क्षेत्रका पीडा : स्थान्तरणको ग्यारेन्टी भए मात्र मत

लीलाधर वली
दाङ, ५ फागुन । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने मध्यवर्ती क्षेत्रका स्थानीयले वन्यजन्तु जोखिम बढेको भन्दै अन्यत्र स्थान्तरणको माग गरेका छन् । मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने दाङको दंगीशरण गाउँपालिका–१ फुर्केसल्ली, बबई गाउँपालिका–१ मलई, माझगाउँ, जलजला, सिमलकुना, केउरिनी, बन्जरेलगायतका स्थानमा बसोबास गर्ने करिब १३ सय घरपरिवारले मध्यवर्ती क्षेत्रबाट अन्यत्र स्थान्तरण गर्न माग गरेका छन् ।

मध्यवर्ती क्षेत्रमा जङ्गली वन्जजन्तुको आतङ्क बढेको भन्दै स्थानीयले सुरक्षित वास्थानको ग्यारेन्टी माए मात्र मतदान गर्ने नत्र मतदान प्रक्रियामा सहभागी नहुने चेतावनी दिएका छन् । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको सङ्ख्या बढेसँगै कृषि बाली र गाईबाख्रा जोगाउन समस्या बढ्दै गएकाले स्थान्तरणको माग गर्नुपरेको बबई गाउँपालिका–१ जलजला निवासी लालबहादुर वली बताउँछन् । पहिले ढुक्कसँग जङ्गलमा घाँस, दाउरा गर्नेदेखि गाईवस्तु चराउने गरे पनि अहिले एक्लै जङ्गल जान नसक्ने अवस्था भएको बताए । उनका अनुसार गत कात्तिकमा मलई खोलाको छेउमा चराउँदै गरेका गाई र गोरुलाई बाघले मारेपछि बचेका गाईगोरु घरमै बाँधेर पाल्नु पर्ने अवस्था भएको छ । वर्षाैँदेखि बसोबास गरेर जीवन निर्वाह गर्दै आएका नागरिकभन्दा राज्यलाई बँदेल, बाँदर र बाघको माया लाग्दा स्थानीयको उठिवास लाग्ने अवस्था सिर्जना भएको भन्दै वलीले भने, ‘आपूm बसेहुर्केको ठाउँ छोड्न त कसलाई पो मन हुन्छ र ?’

वलीको जस्तै कात्तिक महिनामै माझगाउँ निवासी खिमलाल परियारले पालेका गोरु र दुई सुँगुर गोठमा बाँधेकै समयमा बाघले मारिदिएपछि स्थानीयलाई थप त्रसित बनाएको छ । ‘चराउन लगेका त मार्ने गरेको थियो तर घरमा आएर मारेको थाहा थिएन’, स्थानीय परियारले भने, ‘गोठमै बाँधेका गोरु र सुँगुर बाघले मारेपछि थप त्रसित बनाएको छ, कहिले मान्छेलाई पनि मार्ला भन्ने डर बढेको छ ।’ खेतबारीमा लगाएको कृषि बाली खाइदिनुका साथै घरमा पालेका गाईवस्तु मार्न थालेपछि बाली जोगाउन रातभरि टौवा बनाएर बारीमा बस्नु पर्ने बाध्यता भएको बबई गाउँपालिका–१ सिमलकुना निवासी टेकबहादुर बुढा बताउँछन् ।

‘निकुञ्ज नहुँदासम्म जङ्गली जनावर आउँदैनथे, अहिले दिउँसै आएर बारीमा रोपेको अन्नपात खाइदिन्छन्’, उनले भने, ‘जङ्गली जनावारबाट अन्नपात जोगाउन पनि रातभर जागै बस्नु पर्ने बाध्यता छ ।’ त्यही कारण आपूmलाई यो ठाउँबाट अन्यत्र सुरक्षित ठाउँमा लैजानु पर्ने स्थानीयले माग गरेका छन् । ‘निकुञ्जमा जङ्गली जनावर बढ्दै गएका छन्, त्यही कारण स्थानीयले खेतीसँगै पशुपालनसमेत घटाउनु पर्ने बाध्यता छ’, उनले भने, ‘यो बर्सेनि बढ्दै जाने समस्या भएकाले समयमै स्थान्तरण गर्न समस्या हुने थिएन ।’ त्यही कारण आपूmले प्रत्येक उम्मेदवारलाई साझा समस्या राखेको भन्दै जसले बस्ती स्थान्तरणका लागि योजनासहित प्रतिबद्धता जनाउँछन् उनैलाई निर्वाचनमा मतदान गर्नेसमेत बताए । जङ्गली जनावर बढेसँगै १५ कट्ठा जमिनमा लगाइने अन्नबाली स्याहार्न नपाएको उनको गुनासो छ । उनले समस्या बढेको भन्दै यो पछि झन बढ्ने हुँदा समयमै व्यवस्थापन हुनु पर्ने बताउँछन् । स्थानीयले बेहोर्दै आएको समस्या समाधानका लागि स्पष्ट प्रतिबद्धता आए मात्रै निर्वाचनमा भोट हाल्ने सामूहिक निर्णय भएको बताउँछन् ।

‘निकुञ्ज स्थापना भएपछि हामीले प्रत्येक वर्ष स्थानीयको स्थायी बसोबासका लागि सुरक्षित ठाउँमा स्थायी पुनर्वास गरियोस् भन्ने माग राख्दासमेत नेता र जनप्रतिनिधिले चासो नदिएपछि स्थानीयले सामूहिक रूपमा कुरा राखेका हौँ’, सिमलकुना निवासी लालबहादुर बुढा बताउँछन् । निकुञ्जका कारण मध्यवर्ती क्षेत्रमा कृषि बाली घरमा भित्राउनै नपाउने अवस्था भएपछि खेती नै गर्न छोडेको भन्दै उनले भने, ‘खेती गर्दा बिउसमेत उठ्दैन, त्यसैले धेरै किसानले खेत बाँझै छोड्न थालेका छन् ।’ बबई गाउँपालिका–१ मलई जलजलामा जम्मा भएका मध्यवर्ती क्षेत्रका पीडित नागरिकका कुरा सुनाउँदै बढाले भने, ‘यो हाम्रो अन्तिम विकल्प हो । धेरै वर्ष सहेका छौँ, अब सहदैनौँ । माग सम्बोधन नभए कुनै पनि उम्मेदवारलाई भोट दिँदैनौँ ।’

वन्यजन्तुबाट भएको क्षतिको यकिन तथ्याङ्क नभए पनि पछिल्लो समय स्थानीयले गरेको कृषि बालीसँगै पालेका पशुचौपाय मार्ने गरेको बबई गाउँपालिका–७ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता तिलक भण्डारी बताउँछन् । २०६७ सालदेखि बाँके राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्र घोषणासँगै मलईलगायतका क्षेत्रमा जङ्गली जनावर बढ्दै गएको र त्यसको असर स्थानीयले भोग्दै आएका छन् ।