नयाँ नेपाल र लाजको राजनीति
हालैका दिनमा नेपालको राजनीतिमा केही अभिव्यक्तिहरूले आमजनमानसमा तीव्र आक्रोश र निराशा उत्पन्न गरेका छन्। यस्तै एउटा विवादास्पद भनाइ नेकपा एमालेका सचेतक तथा महासचिव शंकर पोखरेलबाट सार्वजनिक भयो, जसमा उनले गणतन्त्रपछि कर्णालीका जनताले ‘भात खान पाएका छन्,’, ‘बिजुली र बाटो पुगेको छ’ जस्ता अभिव्यक्ति दिएका छन्। यो भनाइ न केवल संवेदनहीन र लाजमर्दो छ, बरु यसले सिंगो गणतान्त्रिक आन्दोलनको मूल मर्म र कर्णालीका जनताको आत्मसम्मानमाथि नै कुठाराघात गरेको छ।
पोखरेलको यस्तो अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा तीव्र प्रतिक्रियाहरू आइरहेका छन्। यसै सन्दर्भमा भाई शंकर डाँगीले आफ्नो फेसबुक वालमा कडा व्यङ्ग्य गर्दै लेखेका छन्स्
गणतन्त्रमा कर्णालीले चामल खायो रे
अनि
तिमिहरुले खाएको कर्णालीको सपना र समृद्धि चाँही
कुन तन्त्रको मेनुमा परेछ ?
के,बोल्या
यस्तो,बोल्न,कसले,सल्लाह, दिन्छ ?
लाज
यो व्यङ्ग्यले जनताको मनमा खेलिरहेको मूल प्रश्नलाई उजागर गर्छ—कर्णालीले आज केही सुविधा पाएको छ भने त्यो कुनै राजनीतिक दलको कृपाबाट नभएर दशकौंको संघर्ष र आन्दोलनको प्रतिफल हो। तर सत्ताको उन्मादमा चुर भएर नेताहरूले आफूलाई भगवान सरह ठान्दै जनतालाई उनीहरूको दया र कृपाबाट बाँच्न बाध्य बनाउने मनोवृत्ति देखिनु दुर्भाग्यपूर्ण छ।
कर्णाली जस्ता क्षेत्रहरू जहाँ राज्यको उपेक्षा ऐतिहासिक रूपमा देखिएको छ, त्यहाँ थोरै सुविधा पुगेपछि पनि त्यो उपलब्धिलाई नेताहरूले ‘सद्गुण’ का रूपमा प्रस्तुत गर्नु विडम्बनापूर्ण छ। गणतन्त्रको मर्म नै जनताको सशक्तिकरण र समावेशी शासन प्रणाली हो, जहाँ जनता अधिकारका हकदार हुन्, दया माग्ने पात्र होइनन्।
शंकर पोखरेलको अभिव्यक्ति केवल उनको व्यक्तिगत सोच मात्र होइन, यो आजको सत्तामा बसेका धेरै नेताहरूको मनोवृत्तिको प्रतिबिम्ब हो—जनतामाथि दया देखाउने, संघर्षको श्रेय आफैंले लिने, र आलोचना हुँदा “देशलाई गाली नगर” भन्ने।
नेपालमा गणतन्त्र आएको दुई दशक पुग्न लाग्दा पनि नेताहरूको सोच अझै सामन्तीय छ—सत्तामा पुगेपछि जनतालाई “भात खुवाउने” उदार मालिक बन्ने। तर यस्ता मानसिकता बोकेकाहरूलाई सम्झाउन जरुरी छ—जनताले गणतन्त्र ल्याएका हुन्, नेताहरूले होइन। जनताले शासकलाई सिंहदरबार पठाएका हुन्, मालिक होइन।
आजको यथार्थ यही हो—सपना नेताहरूले खाएका छन्, समृद्धिको मीनू उनीहरूले लुकाएका छन्, र भात खाएको भनेर जनतालाई व्यंग्य गरेका छन्। लाजको राजनीति यति तल्लो स्तरमा झरेको छ कि अब हामीले लाजको परिभाषा फेरि लेख्नुपर्ने बेला आएको छ।
अब प्रश्न उठ्छ—अझै पनि हामी चुप लागिरहने ?
