महाभारतको कथामा कर्ण

राधेश्याम उपाध्याय

चित्रसेन गन्धर्व द्घारा कौरवहरुको सेखी हरण
कुनै दिन पाण्डवहरु द्वेत वनमा दुःख सहेर सन्ताप मान्दै बसेका छन् भन्ने समाचार कुनै एक ब्राह्मणबाट सुने र दुष्ट कौरवहरु खुशी भए । खुशी मात्र होइन पाण्डवहरुको त्यो दुःख–कष्ट हेरेर खुशी हुने अझ तीव्र इच्छा भयो ।

दुर्योधन, कर्ण, सकुनी र दुस्सासन यति चारजनाले सल्लाह गरेर राजा धृतराष्ट्रको स्वीकृति समेत लिई आफ्नो गौरव देखाउनका लागि आफ्ना रानीहरु र केही सेना समेत लिई द्वेत वनमा गए । पाण्डवहरु बसेका ठाउँदेखि नजिकै एउटा तालका चारैतर्फ पाण्डवहरुलाई लज्जित गर्नका लागि बस्ने तर्खर गर्दै थिए । त्यही ठाउँमा पहिलादेखि चित्रसेन गन्धर्व वन विहारका लागि बस्दै आइरहेका थिए ।

कौरवहरुले दम्भका कारण तिमीहरु अन्तै जाऊ, हामी याहाँ बस्छौँ भनी घमाण्डका साथ भने । यो सुनेर चित्रसेन पनि रन्केर तिमीहरु बाँच्ने भए घर फर्केर जाऊ भने । दुवैमा विवाद उत्पन्न भयो । दुर्योधनले आफ्ना सैनिकलाई गन्धर्वहरुलाई मार भन्ने आदेश दिए । दुवै सेनामा युद्ध सुरु भयो । अन्तमा चित्रसेनले कौरव सेनालाई पाता कसे ।

प्रत्येकका रानीहरुसँग अरु कोही पुरुष बाँधिदिए र कौरवहरुको सेखी तथा इज्जत हरे । सबैका मुख अगाडि गएर खिल्ली उडाउन लागे । तिनी सबैलाई स्वर्गका राजा इन्द्रका हजुरमा पेश गर्नका लागि लिएर जान थाले । यो देखेर दुर्योधनले लज्जित भई चिच्याई युधिष्ठिरसँग यो बन्धनदेखि छुटाउ भनी विन्ति गर्न लागे । यस्तो दुर्योधनको पुकार सुनेर युधिष्ठिरले चारै भाइलाई जम्मा गरे र कौरवहरु कष्टमा छन् छुटाएर ल्याऊ भने ।

भीमले कौरवहरुले पाप गरेकाले गन्धर्वले लग्न लागेका हुन्, यसमा हजुरले चिन्ता नलिनुहोस्, जुन काम हामीले गर्नुपर्ने थियो त्यो काम गन्धर्वले गरिदिए भनी सम्झाए । युधिष्ठिरले पनि जस्तै पापी भए पनि संकट परेका समयमा बन्धुहरुको रक्षा गर्नु ठूलो धर्म हो भने र जाऔँ कौरवहरुलाई गन्धर्वदेखि छुटाएर ल्याऔँ भनी आदेश दिए ।

दाजुको आदेश भाइहरुले काट्न सक्दैनथिए । त्यसैले चारै भाइ चित्रसेनसँग युद्ध गर्न गए र केही समय युद्ध गरी परास्त गरे र बाँधे र दाजुका अगाडि उपस्थित गराए । युधिष्ठिरले पनि फेरि यस्तो गल्ती नगर्नु भनी चित्रसेनलाई छाडिदिए । सबै कौरवहरुलाई हे बाबुहरु हो ! विष्मात नमान घर जाऔँ भनी सम्झाए । रैतिराजी गराउनु धर्मपूर्वक शासन गरी वंशको ऐश फैलाऊनु भनी हस्तिनापुर जाऔँ भनि सम्झाई–बुझाई बिदा दिए ।

यो कार्यले दुर्योधनले आफ्नो मानहानी भएको ठानी अन्न, जल त्यागि अब मर्छु भनी सबैलाई घर जाऊ भनि आफू आत्महत्याका लागि पद्याशनमा बसे । देवताहरुसँग हार खाएर पातालमा बसेका दैत्यहरुले यो सबै थाहा पाए र दुर्योधनलाई पाताल ल्याउन कृत्यालाई पठाए । कृत्याले पनि रातमा नै सपनाको सुरमा दुर्योधनलाई पाताल लगे ।

आत्महत्या गर्नु महापाप हो आत्महत्या गर्नु हुँदैन, युद्धमा दानवहरुले पनि हजुरको सहयोग गर्ने छन् । दम्बोधव (नरकासुर) दैत्य मरेर कर्ण भएर जन्मेको छ । उ निकै सुरवीर र प्रतापि पनि छ । यसले अर्जुनलाई मार्ने छ भनी आत्महत्या नगर्न निकै सम्झाए र सपनाको हालतमा नै कृत्याद्वारा पहिलेको स्थानमै छोड्न पठाए । विहान सबै कौरवहरु उठेर जम्मा भइ सम्झाए ।

रात्रीको सपना पनि सम्झिए र धैर्य लिदै पश्चातापका साथ हस्तिनापुर फर्किए । पाण्डवहरु केही समय द्वेत वनमा बसे र त्यसपछि काम्यक वनमा गए । त्यहाँ श्रीकृष्णजी सत्यभामालाई साथमा लिएर भेट गर्न आउनुभयो । आपसमा कुशलमंगलका बारेमा सोधपुछ भयो । त्यही समयमा मार्कण्डेय मुनि आफ्ना शिष्यहरुका साथ आउनुभयो । नारद पनि त्यहीबेला आउनुभयो । मार्कण्डेय मुनिले युधिष्ठिरलाई अमरत्वको ज्ञान दिए । एक दिन मार्कण्डेय मुनिले पहिलेको एक कथा सुनाउन लागे ।

कर्णको पूर्व जुनि

त्रेता युगमा दम्बोधक नामको एउटा दुष्ट राक्षस थियो । उसलाई पनि अरु राक्षसजस्तै सबैलाई जितेर सर्वशक्तिमान हुने इच्छा थियो । यही सर्वशक्तिमान हुने इच्छा पूरा गर्न उसले सूर्यको तप गर्न लाग्यो । ‘द्र नमः शिवाय’ को तप दश हजार वर्ष कठोर तप पूरा गरेपछि श्री सूर्य देव खुशी भएर दर्शन दिनुभयो ।

सूर्य देवले वर माग भन्दा उसले अमरत्वको वरदान माग्यो । यो मबाट सम्भव छैन, कुनै पनि प्राणीले जन्मेपछि मर्नु पर्दछ । अमरत्व बाहेकको अन्य कुनै वर माग भनी सम्झाएपछि उसले घुमाउरो पाराले वर माग्यो । अमरत्वको वरदान देवहरुले दिँदैनन् भन्ने पनि दम्बोधवलाई थाहा थियो । तै पनि उसले चतु¥याइँपूर्वक भन्यो ‘हे सूर्य देव ! मलाई एक हजार वर्ष तप गरेको एक हजार सुरक्षाकवच दिनुहोस् ।

जसले एक हजार वर्ष तप गर्दछ उसले मेरो एक कवच मात्र तोड्न सकोस् र कवच तोड्नेबित्तिकै उसको मृत्यु सहोस् भनी माग्यो । यो वरदान अमरत्व भन्दा कम थिएन । तै पनि सूर्य देवले तथास्तु भनी स्वर्ग गए । वरदान पाउनेबित्तिकै दम्बोधवले संसारमा हाहाकार मच्चाउन लाग्यो । अत्याचारले पृथ्वी काप्न लागिन् । ऊ सहस्त्रकवचका नामबाट पनि चिनिन लाग्यो । उसले घमण्ड, अन्याय अत्याचारको सीमा नाघ्न लाग्यो ।

यता दक्षकी छोरी माची र ब्रह्माका छोरा धर्मको विवाह हुन्छ । जब माचीलाई दम्बोधवको अन्याय अत्याचारको विषयमा थाहा हुन्छ तब उनले विष्णुको तप गर्दछिन् र विष्णुसँग दम्बोधवलाई मार्नका लागि हजुर स्वयम् नै मेरो छोराको रुपमा जन्म लिनुहोस् भनि वरदान माग्दछिन् । विष्णु भगवान्ले पनि हाँस्दै ठिक छ म त्यस्तै गरुँला भनी वरदान दिई अन्तरध्यान हुनुहुन्छ ।

त्यसको केही समयपछि माचीले जुम्ल्याहा दुई पुत्र नर–नारायणलाई जम्म दिन्छिन् । यी दुई बालकको शरीर दुई भए पनि कर्म र आत्मा एक थियो । उनीहरु नर–नारायण जब ठूला भए नर दम्बोधवसँग युद्ध गर्न गए भने नारायण बद्रीमा तप गर्न लागे । नर दम्बोधवसँग गए र आफ्नो परिचय दिँदै म नर हुँ र तिमीसँग युद्ध गर्न आएको हुँ भने । हे नर तिमी जान्दैनै मेरो एक कवच तोड्न एक हजार वर्ष तप गर्नु पर्दछ । त्यो मलाई थाहा छ तिमी युद्ध गर्न आउ भने र दुवैमा घमासान युद्ध भयो ।

जव नारायणको तप एक हजार वर्ष पूरा भयो नरले दम्बोधवको एक कवच फुटाइदिए र दम्बोधवको वरदानअनुसार नरको मृत्यु भयो । त्यही समयमा नारायण आउँछन् र सञ्जीवनी (मृत्युन्जय) मन्त्र पढेर नरलाई जिवित गराउँछन् । त्यो देखेर दम्बोधव दानव आश्चर्यचकित हुन्छ । अब नारायण दम्बोधव दानवसँग युद्ध गर्न लाग्दछन् भने नर केही पर तप गर्न लाग्दछन् ।

जब नरले तप एक हजार वर्ष पूरा गर्दछन् तब नारायणले दम्बोधवको अर्को कवच फुटाउँछन् र नारायणको तुरुन्तै मृत्यु हुन्छ । त्यही समयमा नर आउँछन् र सञ्जीवनी (मृत्युन्जय) मन्त्र पढेर नारायणलाई जीवित गराउँछन् । एवं प्रकारले यसरी युद्ध, तपस्या, कवच फुटाउनु र मृत्युको क्रम नौ सय उनान्इसौँ पटक भयो र दम्बोधवको नौँ सय उनान्इसौ कवच फुटे ।

दम्बोधव डराएर युद्धबाट भागेर सूर्यदेवको शरणमा गयो । मेरो रक्षा गर्नुहोस् म हजुरको शरणमा आएको छु भन्यो र सूर्यदेवले पनि केही चिन्ता नमान तिमीलाई म शरण लिन्छु तिमी डर नमान सूर्यलोकमा तिमी सुरक्षित छौ भनुभयो । त्यही बेला दौड्दै नर–नारायण पनि त्यहाँ पुगे र दम्बोधवलाई युद्ध गर्न हाँक दिए । यो सुनेर दम्बोधव र नर–नारायणका बीचमा सूर्य आएर दम्बोधव अब उ मेरो शरणमा छ उसको सुरक्षा गर्नु मेरो जिम्मेवारी हो, उ मेरो पनि भक्त हो ।

तपाईंहरु सूर्यलोकमा आएर दम्बोधवसँग युद्ध गरी मार्न सक्नुहुन्न भने । सूर्यको यस्तो कुरा सुनेर नर–नारायणले पनि यसैलाई मार्नका लागि हाम्रो जन्म भएको हो, त्यसैले त्यो पापीलाई हाम्रो जिम्मा दिनुहोस् भने तर सूर्यले मानेनन् । सूर्यले बरु एक त्यजको रुपमा दम्बोधवलाई आफूमा समाहित गरे । नारायणले रिसायर दुवैलाई श्राप दिए । हे दम्बोधव तेरोे पापको दण्ड अर्को जुनीमा पाउनेछस् भनी श्राप दिए ।

सूर्यदेवले पनि पापीको संरक्षण गरेकाले बराबरको दण्डको भागिदार हुनुपर्ने छ भने । हाजारौँ वर्षपछि द्वापर युगमा दम्बोधव नामको दैत्यले कर्णको नामबाट पहिलाको बाँकी एक कवच सहित हस्तिनापुरमा जन्म लियो । कर्णमा दम्बोधव र सूर्यको बराबर अंश छ । सूर्यको अंशबाट सुन्दर तेजवान सुरवीर नीतिज्ञ र दानी पनि छ भने दम्बोधवको अंशबाट क्रोधी अत्याचारी र पापी पनि छ । उसलाई जीवनभर संघर्ष गर्नु परिरहने र सन्तुष्टि कहिल्यै पनि नहुने भाग्य छ ।

जयद्रथको पश्चाताप

जयद्रथ मृतसत्रका छोरा तथा सिन्धु देशका राजा थिए । मृतसत्र ठूला तपस्वी थिए । एक दिन जयद्रथ आफ्ना बाबु मृतसत्रँसंग गएर मलाई राजा सान्तनुले आफ्ना छोरा भीष्मलाई दिएझै इच्छामृत्युको आशीर्वाद दिनुस् भनि मागे ।

त्यो सुनेर मृतसत्रले हे बावु ! नत तिमी भीष्म हौ न त म त्यस्तो आशीष दिनसक्ने म सान्तनु नै हुँ । त्यस्तो आशीर्वाद दिन म सक्दैन तर तिमीलाई म यो आशीर्वाद दिन्छु कि जसले तिम्रो शिर छेदन गरी पृथ्वीमा खसाउला वा खसाउनमा कारण बन्ला उसको शिरमा तुरुन्तै विस्फोटन भई सय टुक्रा भई मर्ने छ’ भन्ने आशीर्वाद उनले आफ्ना बाबुसँग पाएका हुन्छन् ।

सदाझैँ कुनै एक दिन पाण्डवहरु शिकार खेल्न वनमा गएका थिए । कुटीमा द्रौपदी एक्लै थिइन् । त्यही बाटो भएर सिन्धु नरेश जयद्रथ आफ्ना सेनहरुका साथ विहार गर्न शाल्व नगरी जाँदै थिए । केहीबेर विश्रामका लागि पाण्डवहरुको कुटी नजिक बसे र द्रौपदीलाई देखि मोहित भए । मोहित भएकाले ती को रहिछन् भनी बुझ्न अर्का राजा कौतिकलाई द्रौपदीकहाँ पठाए । राजा कोतिक पनि मित्रले पठाएकाले बुझ्न गए ।

तिमी को हौ ? तिम्रा पिता वा पति को हुन् ? किन यो जंगलको कुटीमा एक्लै दुःखको अवस्थामा बसेकी छौ ? भनी सोधे र द्रौपदीले आफ्नो परिचय दिँदै म द्रौपदी हुँ । एकछिन बस पाण्डवहरु शिकार खेल्न वन जानुभएकोछ । अहिले आएर वान्धवहरुको स्वागत गर्नुहुनेछ भनिन् । राजा कोतिक पनि मित्र जयद्रथ कहाँ फर्के र त्यही कुरा भने । द्रौपदी कुटीमा एक्लै रहिछन् भनी बुझेर जयद्रथको मनमा पाप जाग्यो र उ आफ्ै गयो ।

पाण्डवहरु अहिले राज्य हारे र दुःख–कष्ट र श्रीहीन छन्, यस्तासँग बसेर तिमी पनि दुःखी छौ । तिमी सन्ताप नगर त्यस्ता मूर्खहरुलाई छाडिदेऊ र मेरी पत्नी बनेर सुखभोग मोजमस्ती गर भने । यो सुनेर द्रौपदी क्रोधित हुँदै तिमी मेरा नन्दभाइ हौ, किन यस्तो नचाहिँदो कुरा नगर भनी नमानेकाले धम्की भाषामा सिंहलाई किन जिस्काउँछस् दुष्ट काल आयो कि कसो तुरुन्त घर गैहाल् भनी हप्काइन् । यो सुनेर दुष्ट जयद्रथले झन पाण्डवहरु नभएको मौका छोपी द्रौपदीको हात समायो र जबर्जस्ती रथमा बसाउनुका साथै अपहरण ग¥यो ।

यो देखेर द्रौपदीले धौम्य ऋषिको पुकारा गरिन् । ऋषि दौडेर आए र पाण्डवहरुलाई पनि खबर पठाए । पाण्डवहरु पनि खबर पाउनासाथ कालाग्नी जस्ता बनेर द्रौपदीको खोजी गर्न हिडे । खोज्दैजाँदा द्रौपदीको पुकार सुने र भाग्दै गरेको जयद्रथलाई देखे । भीम र अर्जुनले जयद्रथका सवै सेनाहरु मारे र जयद्रथलाई पक्रन खोज्दा द्रौपदीलाई छोडी भाग्यो । भीमले पक्रेर मार्नै आँटेका थिए, युधिष्ठिर पुगेर यो बहिनी दुशलाको पति, ज्वाइँ हो मार्न हुँदैन नमार भनी बचाए ।

भीम क्रोधित भए र पाता कसी तीखो खड्ग लिए र पाँच गोटा टुप्पी राखी मुण्डन गरिदिए । युधिष्ठिरले अब यो मरे सरह भयो यसलाई छाडिदेऊ भनी भीमलाई भने र भीमले दाजुको आदेशमा छाडिदिए ।

जयद्रथ पनि लाज र दुःख माने र तप गर्छु भनी गङ्गाद्वार गए । गङ्गाद्वारमा शिवको ठूलो तप गरे र केही समयपछि शम्भु खुशी भई दर्शन दिनुभयो र पाण्डवहरुलाई मार्नसक्ने शक्ति मागे । त्यो सुनेर शिव चिन्तित हुनुभयो । अर्जुन भनेका नारायणका अंश हुन् । पाण्डवका संरक्षक स्वयम् कृष्ण छन् । त्यसैले तिमीले पाण्डवहरुलाई मार्न सक्दैनौँ । त्यसैले हे जयद्रथ ! तिमीले अर्जुन बाहेक अरु चार भाइ तथा उनका सेनालाई एक दिन रोक्न सक्ने छौँ भनी वरदान दिई शिव अन्तरध्यान हुनुभयो ।

जयद्रथ पनि अत्यन्त दुःखी तथा पश्चाताप मान्दै आफ्ना राज्यमा फर्किए । सोही वर अनुसार महाभारतको तेह्रौं दिनको युद्धमा गुरु द्रोणले रचना गरेको चक्रव्यूहभित्र जान लाग्दा पाण्डवका चार भाइ तथा उनका सेनालाई व्यूहभित्र जान नदिइ बाहिर रोके ।