Goraksha

National Daily

नयाँ भेरियन्टकैबीच मेला महोत्सव : बेसुरको बाँसुरी

खेमराज रिजाल

तुलसीपुर, १७ मंसिर । कोरोना भाइरसको विश्वव्याधिबाट तहसनहस भएको अर्थतन्त्र लयमा फर्कन नपाउँदै फेरि ओम्रिकाना भेरियन्टको नयाँ भाइरसको व्यापक त्रास भइरहँदा दाङको तुलसीपुरमा भने मेला महोत्सवको तयारी भइरहेको छ । यसलाई सामान्य व्यवसायी एवं नागरिक अगुवाहरूले भने बेसुरको बाँसुरी भनेका छन् ।

स्वास्थ्य क्षेत्रका विज्ञहरूले फेरि पनि अत्यन्त स्वास्थ्य सावधानी अपनाउन आम विश्वसमुदायलाई चेतावनी दिइरहँदा यहाँको स्थानीय सरकारले संस्थागत एवं व्यक्तिगत प्रभावका आधारमा मेला महोत्सवको सिफारिस दिइरहेको छ । स्थानीय प्रशासनले त्यसलाई आँखा चिम्लेर स्वीकृत गर्दै आएको छ ।

यसले दुई वर्षदेखि थलापरेको अर्थतन्त्रलाई माथि उकास्नुको साटो समग्र दाङमा कम्तिमा एक वर्ष आर्थिकमन्दी ल्याउनसक्ने बजार विश्लेषकहरूले गरेका छन् । अहिलेसम्मको अभ्यासलाई हेर्दा यहाँ सम्पन्न भएका औद्योगिक एवं व्यापारिक मेला महोत्सवले यहाँको स्थानीय उत्पादनको प्रबद्र्धन र व्यापारमा भन्दा वाह्य उत्पादन र प्रबद्र्धनलाई नै बढावा दिँदै आएको स्पष्ट देखिन्छ ।

मेला महोत्सवका नाममा एक पटकमा कम्तिमा पनि एक करोडभन्दा बढीको धनराशी भारतलगायत बाहिरी जिल्लामा जाने गरेको पनि व्यवसायीहरूको विश्लेषण छ । औपचारिक रूपमा स्थानीय उद्योग वाणिज्य संघ होस् वा च्याम्बर आयोजकका रूपमा बसिदिने भए पनि उनीहरू सेरेमोनियल आयोजक बन्ने गरेका छन् ।

खासमा कार्यकारी आयोजक भनेका मेलाका ठेकेदारहरू हुन् । जुन पूर्वी झापादेखि पश्चिम कञ्चनपुरसम्म मेला महोत्सव आयोजनाका ठेकेदार हुन् । कलाकार ल्याउनेदेखि स्टल व्यवस्थापन र बाल मनोरञ्जनका साधन ल्याउने पनि आयोजकले नभएर ठेकेदारले नै हो ।

तुलसीपुरकै सन्दर्भमा चन्द्र–सूर्य यातायात प्रालिले यही मंसिर २३ देखि २९ गतेसम्म प्रादेशिक महोत्सव लगाउने अन्तिम तयारी गरिरहँदा तुलसीपुर च्याम्बर अफ कमर्शले पनि तुलसीपुरमै पुस १ गतेदेखि त्यस्तै व्यापारिक महोत्सव लगाउँदै छ । उही रोटेपिङ, उही खालका व्यावसायिक स्टल, उही राजेश हमाल, ज्योती मगरजस्ता कलाकारहरू सहभागी हुने महोत्सवलाई एकपछि अर्को गरी सिफारिस दिनु र स्वीकृति दिनुलाई पनि जिल्लाबासीले अचम्म मानेका छन् । तर, स्थानीय सरकारले भने यसलाई व्यवसाय प्रबद्र्धनका रूपमा लिएको छ भने स्थानीय प्रशासनले स्थानीय सरकारको सिफारिसपछि आफूले स्वीकृति नदिइरहन नसक्ने बताएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार अहिले तुलसीपुरमा दुईवटै संस्थाले मेला महोत्सव सञ्चालनको अनुमति पाइसकेका छन् । एक पटकको मेलाले सामान्य परिवारमा कम्तिमा पनि एक महिना आर्थिक सन्तुलन खल्बल्याउने छ । क्रयमा बाहेक मनोरञ्जनमा एक परिवारको कम्तिमा पनि दुई हजार रूपैयाँसम्म खर्च हुनेछ । जुन खर्चको सबै हिस्सा यहाँको व्यवसाय प्रबद्र्धनमा नभएर जिल्ला बाहिर जानेछ । जसले मेला महोत्सवमा संकलन भएको प्रायः ठूलो धनराशी जिल्ला बाहिर जाने निश्चित छ । किनकि महोत्सवमा यहाँका स्थानीय मनोरञ्जन साधन हुने छैनन्, अधिकांश स्टलहरू बाहिरका व्यापारीहरूले भरिएका हुने छन् । प्रायः सबै उत्पादनहरू यहाँका नभएर बाहिरी जिल्लाकै हुनेछन् ।

‘दुई वर्षसम्म विश्वव्याधीका रूपमा फैलिएको कोरोनाका कारण जारी लकडाउनबाट थलिएका व्यवसायीहरूले केही राहतको अनुभूति गरिरहेको समयमा फेरि भीड बढाएर संक्रमणको निम्तो दिने लाइसेन्स स्थानीय सरकार र प्रशासनबाट दिइनु अत्यन्तै दुर्भाग्यको अवस्था हो’, तुलसीपुरका अग्रज व्यवसायी खगेन्द्र पोख्रेलले भने । कलाकार नचाउने र मनोरञ्जनमा मात्रै बढी केन्द्रित हुने तथा भीडभाड बढाएर संक्रमण फैलाउने खालका यस्ता कुनै पनि जमघट गर्न अहिल्यै समय आइनसकेको पनि उनको अभिव्यक्ति थियो ।

‘यो समयमा व्यापारिक मेला लगाउनु बेसुरको बाँसुरीजस्तै हो, कुनबेला मुलुक फेरि लकडाउनको अवस्थामा जाने भन्ने समयमा मेला महोत्सवको स्वीकृति र सिफारिस दुवै सोचनीय विषय हुन्’, तुलसीपुरकै अर्का अगुवा व्यवसायी सेवकराम भण्डारीले भने । अहिले भर्खरै कोरोनाको संक्रमण मत्थर भइरहँदा फेरि भीड बढाउने लाइसेन्स प्रदान गर्नु दुर्भाव्यपूर्ण भएको पनि उनको अभिव्यक्ति थियो ।

ठेकेदारको प्रभावमा परेर व्यवसायीहरूले मेला महोत्सव गर्दै आएको बताउँदै उनले अहिलेसम्म भएका मेला महोत्सवले यहाँको व्यवसायलाई प्रबद्र्धन गर्नुको साटो सुकाउँदै आएको पनि उनको अभिव्यक्ति थियो । दुई वर्षसम्म व्यापार बन्द हुँदा घरखेत बेचेर भाडा तिर्दै आएका व्यवसायीहरूलाई यो मेला महोत्सवले फेरि त्यस्तै अवस्थामा पु¥याउने पनि उनको अभिव्यक्ति थियो ।

त्यसै सन्दर्भमा नागरिक अगुवा तथा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले पनि अहिले व्यावसायिक जमघट बनाइहाल्ने अवस्था नरहेको बताउँदै भीड जम्मा गर्ने सिफारिस र लाइसेन्स दुवै रोक्न पनि उनले सम्बन्धित निकायलाई आग्रह गरे । ‘कोरोनाको नयाँ भेरियन्टका कारण विश्वका शक्तिमान मुलुकहरूले समेत अन्तर्राष्ट्रिय उडान बन्द गरी लकडाउनको तयारी गरिरहँदा यहाँको सरकारले भने भीड जम्मा गर्ने लाइसेन्स दिनु उपयुक्त होइन’—संयोजक पन्तले भने ।

अझै पनि मुलुक संक्रमणको धारमै रहेकाले स्वास्थ्य सावधानीमा अझै उच्च सचर्कता अपनाउनुपर्ने पनि उनको अभिव्यक्ति थियो । ‘म विनम्रतापूर्वक आग्रह गर्दछु, उद्योग वाणिज्य संघ वा च्याम्बर अफ कमर्शका अधिकारीहरूलाई, यो मेला महोत्सव लगाइहाल्ने उपयुक्त समय होइन, पुनः विचार गर्नुहुनेछ’, संयोजक पन्तको आग्रह थियो । भारतमा त्यहाँको सत्तारुढ दल विजेपीले कोरोनाको संक्रमणकैबीच हरिद्वारमा कुम्भमेला लगाउँदा भारतको अर्थतन्त्र निकै तहसनहस भएको थियो । भारतका आर्थिक विश्लेषकहरूले त्यो कुम्भ मेलाका कारण देशलाई अर्बौ रूपैयाँको आर्थिक क्षति पुगेको समेत टिप्पणि गरिसकेका थिए ।

सिफारिसका आधारमा स्वीकृतिः प्रशासन

स्थानीय प्रशासनले भने यसलाई स्थानीय सरकारले नै समन्वय गर्नुपर्ने बताएको छ । कुनै पनि पालिकामा मेला महोत्सव आयोजना गर्ने सन्दर्भमा स्थानीय सरकारले दिएको सिफारिसका आधारमा स्थानीय प्रशासनले स्वीकृति प्रदान गर्ने अभ्यास रहेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका छन् । प्रशासनले हँचुवाका तालमा आँखा चिम्लेर भीड जम्मा गर्ने लाइसेन्स भने नदिने उनको अभिव्यक्ति थियो ।

‘जुन उद्देश्य राखेर मेला महोत्सव आयोजना गरिन्छन्, त्यसलाई भेरीफाइ गरेर सिफारिस गर्ने दायित्व स्थानीय सरकारका जनप्रतिनिधिहरूको हो, हामीले त उहाँहरूको सिफारिसका आधारमा अनुमति मात्र दिने हो’, प्रमुख जिल्ला अधिकारी रेग्मीले भने । प्रशासनलाई मेला महोत्सवको स्वीकृति नदिने भन्ने मन्त्रालयबाट कुनै निर्देशन नआएको अवस्थामा स्वीकृति रोक्न नमिल्ने पनि बताए ।

‘हो नयाँ भेरियन्टको पनि चर्चा भइरहेको छ, यदि नेपालमा पनि यो फैलने सम्भावना देखियो भने सरकारले जुनसुकै बेला पनि निर्देशन गर्नसक्छ, त्यो बेला हामी एक मिनेट पनि नरोकिएर सरकारको निर्णयलाई कार्यान्वयनमा ल्याउने छौँ’—प्रजिअ रेग्मीले भने । मेला महोत्सव गर्ने र भीड जम्मा गर्ने अहिलेको अवस्था नरहेको आफूलाई लागे पनि स्थानीय सरकारले सिफारिस गरिसकेपछि रोक्न नमिल्ने उनले बताए ।

स्थानीय सरकारले भने स्थानीय व्यवसायको प्रबद्र्धन हुने तथा स्थानीय पालिकालाई पनि मनोरञ्जन करलगायतका विषयमा आर्थिक लाभ हुने भन्दै मेला महोत्सवलाई प्राथमिकतामा राख्ने गरेको बताएको छ । तर कुन बेला सिफारिस दिने वा नदिने भन्नेमा स्थानीय पालिकाका जनप्रतिनिधिकै भूमिका हुने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले बताएका छन् । ‘जनप्रतिनिधि नेतृत्वको पालिकाको आधिकारिक भ्वाइस मैले बोल्न मिल्दैन तर मेरो व्यक्तिगत विचारमा भने अहिले मेला महोत्सव आयोजना गरिहाल्नुपर्ने समय होइन’, प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने ।