सानैदेखि नै म रेडियो प्रेमी थिए । त्यतिबेला मैले ९ कक्षामा पढ्थें, समय मलाई याद भएन, मलाई लाग्छ, वि.सं. २०६२ सालमा रेडियो मध्यपश्चिम एफएममा मेरो आवाज अनएयर भएको थियो, त्यो बेला मैले गाउँमा एक्लो लजालु हिरो सम्झन्थे ।
खै के भएको हो, रेडियो मलाई नशाजस्तै लाग्यो, मेरो स्वर मादक भएकाले भने होइन, तर किन हो किन रेडियोमा मेरो स्वर गुन्जिँदा मैले जीवनमा सबैभन्दा खुसीको अनुभूति गरें । एक्लै रमाएको थिएँ, त्यो बेला । सायद म रेडियो पागलजस्तै हुँ ।
जतिबेलादेखि दाङ जिल्लामा रेडियोहरु घन्किन थाले त्यतिबेलै देखि मैले रेडियो सुन्न थाले ।
रेडियो सुन्दै जाँदा विस्तारै–विस्तारै मलाई रेडियोमा सहभागिता जनाउन मन लाग्थ्यो । रेडियोहरुमा बज्ने विभिन्न कार्यक्रमहरुमा टेलिफोन गर्ने वा चिठ्ठी पठाउने गर्थे । जब मेरो नाम रेडियोमा गुञ्जिन्थ्यो तब मलाई त्यसबेला लाग्थ्यो गाउँभरिकै म एक्लो हिरो हँुजस्तो । मलाई याद छ जतिवेला म कक्षा ६ मा राप्ती विद्या मन्दिरमा पढ्थे त्यसबेला मैले ‘च्यानल नेपाल’मा एउटा सिनेमासम्बन्धी कार्यक्रममा चिठी पठाएको थिए र त्यो चिठी लगभग दुई महिनापछि प्रशारणमा आयो ।
मैले त्यो दुई महिनासम्म कसरी अधैर्य प्रतिक्षामा बिताएँ हुला ? लेखिदिनुहोला प्रतीक्षा पनि खुसी हो । किनकि मैले नैतिक शिक्षामा पढेको थिएँ, प्रतिक्षाको फल मिठो हुन्छ । गाउँको बाटो हिँड्दा नै बेग्लै मज्जा हुने । घरबाट बाहिर निस्कन मन लाग्ने । मलाई त्यसबेला साह्रै खुसी लागेको थियो । त्यो मेरो टेलिभिजनको पहिलो र अन्तिम पत्र थियो । विस्तारै मैले स्थानीयस्तरमा खुलेका मिडियाहरुमा सहभागिता जनाउन थाले ।
मैले विशेषगरी रेडियोहरुमा सामान्य ज्ञानका प्रश्न सोधिने क्युज कन्टेस्ट सम्बन्धीका कार्यक्रमहरु, फिल्मसम्बन्धी कार्यक्रमहरु, गीत गाउने कार्यक्रमहरु र रेडियोमा कसरी बोल्ने भन्ने आ.र.जे छनोटसम्बन्धीका कार्यक्रमहरुमा विशेष चासोका साथ सहभागिता जनाउँथे । यी सबै कार्यक्रमहरुमा म कुनै न कुनै बेला विजेता भएर कतिमा स्टुडियोसम्म पुग्थे त कतिमा उपहार बोकेर घर आउँथे ।
मलाई गीत गाउन पनि रुचि लाग्थ्यो । मलाई सानोमा कक्षामा पढाउने सरहरुले पछि गएर के बन्ने भनेर साध्दा मैले गायक बन्छु भनेर उत्तर दिन्थे । गीत गाएर ऊ बेला म विभिन्न एफ.एम. स्टेशनमा महिनाभरीकै उत्कृष्ट भएर स्टुडियोमा नै गएको छु । यस्तै क्वीज कन्टेष्टका कार्यक्रमहरुमा पनि म विजेता हुन सफल हुन्थे भने फिल्मी कार्यक्रमहरुमा पनि म सफल हुन्थे ।
वि.सं. २०६४ सालतिर हो । रेडियो मध्यपश्चिममा खोजी आ.र.जेको कार्यक्रम सञ्चालनमा आयो । जसको सञ्चालकहरु वसन्त आचार्य र किशन रेग्मी हुनुहन्थ्यो । उहाँहरु दुवै जना मेरो जीवनको महत्वपूर्ण व्यक्तिहरु हुनुहुन्छ । उक्त कार्यक्रममा मैले पनि सहभागिता जनाएको थिए । जसमा म केटाको लाईनबाट टप ४ सम्म पुग्न सफल भएको थिए ।
त्यो मेरो अर्को खुसीको अविस्मरणिय क्षण थियो । उक्त कार्यक्रमको सञ्चालन हुँदाखेरि नै टप १० जनालाई रेडियोमा बोल्ने अवसर दिने कुरा थियो । म टप ४ सम्म पुग्दा चाहिँ रेडियोमा बोल्ने त भइयो तर कहिलेदेखि भन्ने सधै प्रश्नचिन्ह खडा हुन्थ्यो । मैले नियमितरुपमा त्यस कार्यक्रमका प्रस्तोतामध्येका एक वसन्त आचार्यसँग सम्पर्क गरे र अन्ततः मेरो कार्यक्रम रेडियोबाट बज्ने मिति तय भयो, अर्को शनिवार ।
त्यसो त मैले चलाउने कार्यक्रमलाई सबैले सुन्नु भन्दै मेलै लगभग ४÷५ दिन प्रचार गरे । शनिवार आयो । म गाडी चढेर घोराही गए । रेडियो मध्यपश्चिममा पुगे । त्यसबेला शनिवार विहान ९ बजे तुफानबावु श्रेष्ठ दाइको कार्यक्रम बजिरहेको थियो । त्यसपछि किशन रेग्मी दाइको फिल्मसम्बन्धी कार्यक्रम आउँथ्यो । त्यसपछि वसन्त आचार्यको क्युज कार्यक्रम अनि पालो थियो मेरो ।
म भित्र–भित्र डराइरहेको पनि थिए । मैले कार्यक्रममा बोल्ने स्क्रीप्ट वसन्त दाइले हेर्नुभयो । उहाँले केही सच्याएपछि स्क्रीप्ट पास भयो र म रेडियोमा त्यो स्क्रीप्टमा जे लेखेको छ त्यही मात्र बोल्ने अरु धेरै केही नबोल्ने शर्तमा कार्यक्रम चलाउने फाइनल भयो ।
१२ बजेको पर्खाई थियो । स्टुडियोबाट वसन्त दाइको माईन्ड टेष्ट कार्यक्रम प्रशारण भइरहेको थियो । त्यो कार्यक्रम सकिनावित्तिकै १२ बजेको नेपाल खवरपछि मेरो कार्यक्रमको पालो थियो । अन्ततः १२ बजेको नेपाल खवर पनि सकियो अब रेडियोमा बोल्ने पालो मेरो आयो ।
त्यसबेला प्राविधिक कोठामा रोशन रत्गैया हुनुहुन्थ्यो । मेरो रेडियो कार्यक्रमको पहिलो रेडियो प्राविधिक रोशनजीलाई सम्झन चाहन्छु । उहाँले पनि मलाई त्यसबेला धेरै सहयोग गर्नुभयो । म स्टुडियोभित्र छिरे । मेरो कार्यक्रमको व्याक म्यूजिक बज्यो । अब म बोल्न थाले आफूले लेखेर गएको स्क्रीप्ट हेरेर ।
मेरो आवाज ९१.४ मेगाहर्जको तरंगमार्फत घर–घरका रेडियो सेटमा घन्कियो । म बोल्दै गएको गाउँघरका साथीहरु, इष्टमित्रलगायत सबैले सुनेका होलान् भन्दै अझै धेरै ऊर्जा प्राप्त भएको छ । कार्यक्रम म्यूजिक जर्नी जहाँ तपाईलाई हामीले सांगीतिक दुनियाँमा रमाईलो यात्रा गराउँछौ भन्दै कार्यक्रमको सुरुवात गरे । कार्यक्रम सकियो । म स्टुडियो बाहिर निस्किए ।
रेडियोका अग्रज सबैले राम्रो कार्यक्रम चलायौ भनेर प्रशंसा गर्नुभयो । म घर आउँदा गाउँघरका सबैले तारिफ गरे । अर्को दिन स्कुल जाँदा पनि साथीभाइ, सर म्यामहरुको प्रशंसाले मलाई थप हौसला तथा खुसी तुल्यायो ।
विद्यालयमा पढ्ने रुटिन अलि टाईट हुँदै गयो । वर्षाको समयमा पनि आवत–जावतमा समस्या भयो । म आफ्नो पढाईमा त्यसबेला राम्रो नै थिए । म पढाई विगार्न सक्थे तर रेडियो छाड्न सक्दैनथे । त्यति धेरै रहर थियो रेडियोमा बोल्ने । अनि मैले रेडियो तुलसीपुरमा रेडियो यात्रा शुरु गर्ने मनसायले रेडियो तुलसीपुरका त्यसवेलाका कार्यक्रम संयोजक विनोद गिरीसँग कुरा गरे ।
उहाँले केही दिनपछि म जवाफ दिन्छु भन्नुभयो । केही दिनपछि उहाँले मलाई रेडियोमा स्थान दिने पक्का गर्नुभयो । अनि मेरो रेडियो मध्यश्चिमको यात्रा लगभग ६÷७ महिनामा सकियो । त्यसपछि मलाई रेडियो तुलसीपुरमा विनोद दाइले थुप्रै सहयोग गर्नुभयो ।
रेडियो तुलसीपुरमा काम गर्दै गर्दा स्टेशन म्यानेजर अर्जुन गिरी, प्राविधिक प्रमुख निराजन डाँगीलगायतका अग्रजहरुले पनि मलाई हौसला दिँदै काममा सहयोग गर्दै जानुभयो । उक्त रेडियोमा विनोद दाइले मैले भनेकै जस्तो कार्यक्रम सञ्चालन गर्न दिनुभयो । मलाई धेरै नै विश्वास गरी उहाँले मलाई रेडियोमा स्थापित गराउँदै लग्नुभयो ।
म सानैदेखि फिल्मी गतिविधितिर पनि चासो राख्थे । फिल्म हेर्थे । कहिलेकाहिँ त क्लास नै छाडेर फिल्म हेर्न जान्थे । रेडियोमा पनि फिल्म कार्यक्रम सञ्चालन गर्दा छुट्टै मज्जा आउँथ्यो । यही फिल्मी कार्यक्रम सञ्चालन गर्ने भएकै कारण म चलचित्र पत्रकार संघ दाङ शाखाको अध्यक्षजस्तो महत्वपूर्ण पदको जिम्मेवारी लिन सफल भए ।
जुन बेला म दाङ शाखाको अध्यक्ष भएको थिए त्यस दिन पनि मेरो जीवनको अर्को महत्वपूर्ण खुसी थियो । यो खुसी पनि जीवनमा सधै स्मरणयोग्य रहनेछ किनकि मैले आफूलाई सावित गर्ने एउटा राम्रो प्लेटफर्म पाएको थिए ।
यसैगरी फिल्म कार्यक्रम सञ्चालनकै दौरानमा अन्तर्राष्ट्रिय स्तरको अवार्ड कार्यक्रम दुवईमा हुँदै थियो । उक्त कार्यक्रममा म पनि सहभागिता जनाउने अवसर प्राप्त गरेको थिए जसको अध्यक्ष वरिष्ठ साहित्यकार तथा चलचित्र पत्रकार शान्ति प्रिय हुनुहुन्थ्यो । उक्त कार्यक्रममा मलाई मोफसलमा बसेर उत्कृष्ट चलचित्र पत्रकारिता गरेको भन्दै दुवईमा अवार्ड दिइएको थियो ।
त्यसवेला पनि म निकै खुसी थिए । अनि म तपाइलाई अर्को खुसी पनि नबताइरहन सक्दिनँ किनकि मेरो निरन्तरको मेहनतले मेरो जिन्दगीको अर्को लक्ष्य पनि पूरा भएको छ, त्यो लोकसेवाको जागिरे । अधिकृतमा नाम निस्किएको दिन थियो, त्यो । यसमा पनि छुट्टै खालको आनन्द आउँदो रहेछ ।
बाहिर देखिँदा म रंगीन दुनियाँमा थिए तर पनि म प्रतिस्पर्धाको माध्यमबाट अधिकृत बन्दा सबैलाई आश्चर्यचकित पार्न सफल भए । यो त फस्ट स्टेप मात्रै हो, अब म फेरि बेग्लै निजामती कर्मचारीको दुनियाँमा प्रतिष्पर्धामा आएको छु, जेहन्दार र मेहनेतसँगै प्रतिफलको अपेक्षामा छु । मेरो खुसी सरकारी जागिरे पनि हो नि ।
तुलसीपुर उपमहानगरपालिका–७ टिक्रापातुमा वि.सं. २०४८ सालमा जन्मिएका न्यौपानेले पढाइकै दौरानमा मास कम्युनिकेशनमा स्नातकोत्तर उत्तीर्ण गरिसकेका छन् भने सञ्चारक्षेत्रमा पनि उनी अझै अनौपचारिकरुपमा क्रियाशील छन् ।
प्रस्तुति : खेमराज रिजाल