नारायणप्रसाद श्रेष्ठ
स्वच्छ र पवित्र मनबाट उब्जने जति पनि विचारहरु हुन्छन्, ती सबै मानव हितअनुकूल निर्वाह गर्नुपर्ने दायित्व र कर्ममा आधारित भई प्रष्फूटन भइरहेको हुन्छ । तर मानवीय चेतनाले यसलाई हल्कारुपले हेरी यसको महत्व र पवित्रतालाई खासै महत्व नदिएको अवस्था देखिन्छ ।
विचार, मानिसलाई सही र स्पष्ट दिशानिर्देश गर्ने शक्ति हो । यो काल, कर्म र प्रकृतिमा बाँधिएको हुन्छ । यदि यसलाई समयअनुकूल प्रयोग गर्न जानिएन र भौतिकवादी विलासी सोचतर्फ मोड्न खोजियो भने मानिसले आफूमात्रलाई होइन समग्र समाजलाई दुसित बनाउन सक्ने आधार तयार हुनसक्छ । जसरी स्वच्छ तलाउमा थोरै फोहर प¥यो भने पनि पूरै पानी फोहर देखिन्छ र त्यही फोहरले शुद्ध जल अपवित्र बनी मानिस स्वयं यसलाई परित्याग गर्छन्, वातावरण प्रदूषित बन्न पुग्दछ ।
त्यसरी नै स्वच्छ र पवित्र मनमा पनि यदि गलत विचारहरु अथवा चिन्तन प्रवेश भई मन धमिलिने अवस्था भयो भने त्यसबेला मानिस स्वयं मात्र होइन, समाज, राष्ट्रसमेत दुसित बन्न पुग्दछ । विचारले गलत मार्ग अपनाई बसुधैव कुमुम्बकम्को सिद्धान्तविपरीत स्वार्थ, अहंकार र घमण्डले मानिस अनैतिक कर्म र व्यवहारमा परिस्कृत हुन पुग्दछ ।
तसर्थ समय र परिस्थितिलाई मूल्यांकन गरी बुद्धिजीवी प्राणीको उपमा पाएको मानव जीवनले आफू र आफ्नो परिवेशलाई हेरी समष्टिगतरुपमा मनलाई स्वच्छ वातावरणमा हुर्काउन जरुरी छ । मनभित्र कुनै अपवित्र विचार उत्पन्न हुन नदिने गरी काल, कर्म र प्रकृतिअनुकूल जीवनलाई गतिशील बनाउनुपर्दछ ।
सूर्यको उदयसँगै संसारका हरेक व्यक्तिमा विचारको नयाँ सञ्चार पलाउन थाल्दछ । वातावरणमा नयाँ सोच र परिस्थिति उत्पन्न हुन्छ । समयको शुभमुहुर्तसँगै मानिसमा नयाँ चहल–पहल शुरु हुन थाल्दछ । सबैलाई नयाँ किसिमको अनुभूति देखापर्न शुरु हुन्छ । यही क्रममा सामाजिक बनोटअनुसार कोही आमा बन्छन् त कोही बाबा बन्छन् ।
समय चक्रअनुसार उनीहरुले आफूलाई कर्म र व्यवहारमा रुपान्तरण गर्दै अस्ताउँदो सूर्यको किरणसँगै आफूलाई चीरनिद्रामा पु¥याउँछन् । श्रृष्टिको इतिहास यसरी नै शुरु र अन्त भइरहेको हुन्छ । सूर्यको उदयसँगै चलायमान हुने जीवनचक्रभित्र मानिसले आफूलाई चर्मदृष्टि, ब्रम्हदृष्टि, दिव्यदृष्टि यिनको आधारमा आफ्ना विचारहरु कर्ममा रुपान्तरण गर्दै जान्छन् । सुख–दुःख, लाभ–हानी, स्वार्थ–निःस्वार्थ, रात–दिन गन्दै जीवन चलायमान बनाउँछन् । यसरी सोच र चिन्तनको आधारमा सिर्जना भएको सुख–दुःखलाई अनुभूति गर्दै मानिसले आफ्नो जीवन बिताइरहेका हुन्छन् भनौ या हुन्छौं ।
अनि भन्ने पनि गर्छौं, मैले त राम्रो कर्म गरेको थिएँ, मलाई किन दुःख भयो ? तसर्थ यहाँ बुझ्नुपर्ने के हो भने दुःख–सुख भनेको त मानिसले आफूले आफैलाई बनाएको भौतिक मान्यतामात्र हो । अन्यथा जीवनमा कहिले दुःख र सुख दुबै हुँदैन । यो चर्मदृष्टिको दोष हो । मानिसको मनबाट उब्जने विचारको परिणाम हो ।
देख्ने वस्तु जड हो, देखाउने क्रिया चेतना हो । र चेतनालाई वातावरणअनुकूल परिचालन गर्न निर्देशन दिने मन हो । त्यसैले नराम्रा कुराहरुलाई नाश गर्ने तथा समाजलाई पच्ने वातावरणलाई सुहाउने तथा प्रकृतिमा रमाउने विचारलाई ग्रहण गरी जीवनलाई चलायमान बनाउनुपर्दछ । प्रकृतिमा उत्पन्न हुने जति पनि प्राणीहरु छन्, ती सबैका आफ्नै किसिमका जीवनगति छन् । जीव सबैमा हुन्छ, फरक चैतण्य हो । जो मानिसमा मात्र हुन्छ ।
तसर्थ मानिसको अन्तहृदयभित्र लुकेको सत्यलाई मनमो तराजुमा तौलिएर जीवन र जगतलाई पाच्य हुने विचार प्रवाह गर्ने मनको आकांक्षालाई परिपूर्ति गर्नेतर्फ सबैको ध्यान पुग्न जरुरी हुन्छ । किनकि मन निराकार, निरञ्जन भएर आएको हुन्छ । यसलाई प्रदूषित गर्ने भनेको जति पनि तत्व छन्, ती सबै कर्म र प्रकृतिमा भएको मानवीय आचरण र व्यवहार हुन्छन् ।
त्यसैले मनको उच्च आदर्शलाई पहिचान गरी काल, कर्म र प्रकृतिमा आफूलाई प्राप्त दायित्वको बोध गर्नु–गराउनु जरुरी हुन्छ । जीवन तरंग हो, सागरको लहर हो, धर्तीको फूल हो । यो कुनै पनि बेला बिलाएर वा नष्ट भएर पुनः अर्को जीवन शुरु भइरहेको हुन्छ । जसरी समुद्रको तटमा बसी समुद्रतर्फ फर्किएर हेर्ने हो भने त्यहाँ क्षण–प्रतिक्षण पानीको लहरहरु एकपछि अर्को गर्दै आइरहेको हुन्छ, बिलाइरहेको हुन्छ ।
तथा फूल प्रत्येक वर्ष फुल्ने, ओइलाउने, झर्ने भइरहेको हुन्छ । यो कुरा हामी स्वयं हाम्रो चर्मदृष्टिले देखी–भोगी आएको सत्य हो । जीवन पनि यस्तै हो । यो समयचक्रअनुसार बदलिरहन्छ, कहिले घाम, कहिले छायाँ गरी । दूधमा पानी र घ्यू दुबै मिलेको हुन्छ । तर हाम्रो चर्मदृष्टिले यो देख्दैन । जब यसलाई मथेर नौनी निकाल्न शुरु गर्छौं तब पानी अलग, घ्यू अलग भएर छुट्टिन शुरु हुन्छ । त्यसरी नै मनरुपि चंगालाई पनि कर्मरुपि धागोले प्रकृतिको बहावसँगै अघि बढ्ने संकल्प गर्न सकियो भने जीवन सफल भएको मान्न सकिन्छ ।
तसर्थ क्षणिक वासनामा बसिभूत भएर भड्किएको मनलाई चेतना, कर्म र व्यवहारबाट परिवर्तन गर्दै सत्य, प्रेम र अहिंसामा आधारित जीवनचक्रमा आफूलाई समाहित गर्न सक्नुपर्दछ । किनकि प्रकृति ऐना हो, ब्रह्म सृष्टि हो र जीव प्रतिविम्ब हो । यो कुरालाई हरहमेसा आफ्नो दिलोदिमागमा राखिरहनु पर्दछ । बगैचाको फूल थरिथरि भएझैँ मानिसको विचार पनि फरक–फरक हुनसक्छन् । तर ती सबैको गन्तव्य, पुग्ने शिखर एउटै हुन्छ ।
म कसरी अरुको लागि आदर्श बन्न सक्छु यही उद्देश्य रहेको हुन्छ । त्यसैले फोहर कुवालाई सफा गरी पानी पिउन योग्य बनाएझैँ मनभित्र अल्झिने कसिंगरलाई समयमै पन्छाई शुद्ध र आचरणयुक्त जीवनशैली अपनाउनुपर्दछ । लोभ र मोहरुपि जञ्जालले घेरिराखेको हाम्रो सोच र चिन्तनलाई दोषमुक्त बनाई आफूलाई परिचालन गर्न सक्नुपर्दछ । पछि पछुताउनुभन्दा पहिले नै होसियारीपूर्वक आफ्ना पाइला सञ्चालन गर्नुपर्दछ ।
यदि आफूमा कुनै दिग्भ्रमित भए त्यो व्यक्तिलाई सोध जसको आमा–बाबा छैनन् । किनकि आमा–बाबा नहुनेलाई थाहा हुन्छ, आमाको ममता र बाबुको त्याग । यति पनि गर्न सकिएन भने बृद्धाश्रममा गई हेर, अनुभव र भोगाईले प्रकृति र वातावरणलाई बुझेका ती खाल्डा परेका अनुभवी आँखालाई सोध, निरन्तर भोक र प्यासले छट्पटी बलिन्द्रधारा आँसु बगाएका निर्दोष आत्मालाई सोध, आफूलाई ढुंगा, लाठीले हिर्काउँदा पनि सहेर फल दिने जीवभित्रको रुखलाई सोध, प्रेमको प्रतीकको रुपमा चिनिने चरा जातको ढुकुरको जोडीलाई सोध, हेर, बुझ ।
त्यहाँ जीवनले लिनुपर्ने गति प्रष्ट हुनेछ, जुन कुरा मनको पवित्रतासँग गाँसिएको हुन्छ । त्यसैले क्रियात्मक, विचारात्मक र भावनात्मक हिसाबले जीवनचक्रलाई बुझी प्रत्येकले आफूलाई परिचालन गर्नुपर्दछ । कुनै पनि वस्तु र विचारको प्राप्ति एकैपटक हुने चाहना राख्नु हुँदैन । यो त क्रमशः समय र परिस्थिति तथा वातावरणअनुकूल विकसित हुँदै जाने यथार्थ हो । यस कुरालाई स्वीकारी आफू लालटिनको उज्यालो बत्ती बनी विस्तारै अगाडि बढ्दै जानुपर्दछ । किनकि लालटिनको सानो प्रकाशलाई यदि सुरक्षित र नियमित हिसाबले अगाडि बढाउन सकियो भने यसले संसारको प्रत्येक कुनामा सजिलै उज्यालो दिन सक्दछ ।
त्यसरी नै पवित्र मनबाट उब्जने विचारले काल, कर्म र प्रकृतिमा बाँधिएको जीवनलाई सहजै सकारात्मक, गतिशील बनाउन सम्भव हुन्छ । यो सत्य कहिल्यै भुल्नु हुँुदैन । यो वर्तमानको आवश्यकता हो । यसैमा हामी सबैको कल्याण छ ।