खेमराज रिजाल
दाङ, १९ असोज । दाङ जिल्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरुले प्रदेश सरकारले प्रदेशको नामाकरण र स्थानका सन्दर्भमा शुक्रवार प्रदेशसभामा गरेको प्रस्तावका पक्षमा मतदान गर्ने बताएका छन् । प्रदेश सरकारले गरेको प्रस्तावको समर्थन गर्दै उनीहरुले नामाकरण र स्थान दुवैमा आफूहरु सहमत भएको गोरक्षलाई बताएका छन् ।
‘हामीहरु त अस्थायी मुकामसमेत दाङमै तोकिनुपर्छ भनेर पार्टी केन्द्रीय समितिमा पनि लविङ गर्दै आए पनि अस्थायी मुकाम बुटवल तोकिएपछि आन्दोलनमै उत्रन समेत बाध्य थियौं, तर पछिल्लो समयमा प्रदेश सरकारले जुन प्रस्ताव गरेको छ, त्यसलाई स्वागत गर्दै पक्षमा मतदान गर्न तयार छौं’, प्रदेश सभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले गोरक्षलाई फोनमा भने ।
पाँच नं. प्रदेशको स्थायी मुकाम बुटवललाई कहिल्यै पनि परिकल्पना नगरिएको बताउँदै सांसद चौधरीले दाङले राजधानी मागेको नभई राजधानीले दाङ खोजेको अभिव्यक्ति थिए । यहाँको भूवनावट, पानीको सहज उपलब्धता, भौगोलिक अवस्थिति, वातावरणीय सन्तुलनको अवस्था, उपयुक्त हावापानी तथा पाँच नं. प्रदेशका सबै नागरिकहरुका लागि एकदमै पायक पर्ने स्थान दाङ हो, त्यसैले यसको पक्षमा मतदान गर्न हाम्रो विवेकशील निर्णय हुनेछ’, चौधरीले भने । स्थायी मुकाम बनाउनुपर्ने धेरै सम्भावनाहरु जस्तै उच्च अदालत तुलसीपुरमै, प्रादेशिक प्रहरी कार्यालय तुलसीपुरमै हुनुले पनि राजधानीले दाङ पछ्याउँदै आएको पनि चौधरीको अभिव्यक्ति थियो ।
त्यसैगरी अर्का प्रदेशसभा सदस्य अर्जुन श्रेष्ठ पनि पाँच नं. प्रदेशको स्थायी मुकाम दाङको देउखुरीलाई प्रस्ताव गरिएकोमा प्रस्तावको पक्षमा मतदान गर्न आतुर छन् । ‘हाम्रो यसमा पहिलेदेखि नै लविङ थियो, अनि विश्वास पनि थियो, प्रदेश सरकारले विवेकशील ढंगले उचित स्थानलाई स्थायी मुकामको प्रस्ताव गर्नेछ’, सांसद श्रेष्ठले भने– ‘दाङ पाँच नं. प्रदेशको सबैलाई पायक पर्ने मध्यविन्दु मात्र होइन, सबै आधारहरुले पनि उपयुक्त थियो ।
सांसद श्रेष्ठले यस विषयमा पार्टीका केन्द्रीय नेताहरुसँग पनि कुरा भइरहेको उल्लेख गर्दै प्रस्तावको पक्षमा मतदान गर्न केन्द्रीय नेताहरुको पनि सुझाव रहेको बताए । पाँच नं. प्रदेशका १२ जिल्लालाई सबैभन्दा पायक पर्ने विन्दु मात्र होइन, यहाँको जैविक विविधता, उपयुक्त वातावरण, सांस्कृतिक विविधताले पनि राजधानीका लागि उपयुक्त स्थान भएको श्रेष्ठको भनाइ थियो ।
हल्ला धेरै गर्नुहँुदैन भनेर नै आफूहरु यस विषयमा केही समय मौन रहेको पनि उनको अभिव्यक्ति थियो । आफूहरु दाङका तीनजना सांसदमात्र नभएर बाँके बर्दियाका सांसदहरुले पनि दाङलाई स्थायी राजधानीका लागि गरिएको प्रस्तावका पक्षमा मतदान गर्ने तयारी भइसकेको बताए ।
सांसद शंकर गिरीले पनि स्थायी राजधानीको प्रस्तावको पक्षमा मतदान गर्न आफूहरु तयार रहेको बताएका छन् । बुटवललगायत पूर्वी क्षेत्रका केही कांग्रेस पार्टी सभापतिहरुले प्रस्तावका विपक्षमा विज्ञप्ति जारी गर्नुलाई स्वाभाविकरुपमा लिँदै सांसद गिरीले सबैका लागि पायक पर्ने उपयुक्त स्थानमा स्थायी राजधानी बनाउनका लागि आफूहरु विवेकपूर्ण निर्णय गर्न तयार रहेको बताएका छन् ।
‘संसदमा प्रदेशको नामाकरण र स्थायी मुकामको स्थानका विषयमा प्रस्ताव दर्ता हुँदा बुटवलमा कांग्रेस नेता कार्यकर्ताहरुबाट आन्दोलन हुनुलाई हामीले स्वाभाविकरुपमा लिएका छौं, तर मतदानमा भने विवेकपूर्ण निर्णयसहित प्रस्तावको पक्षमा उभिने छौं’, सांसद गिरीले भने ।
प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्तावलाई लिएर कांग्रेस संसदीय दलको बैठक पनि सोमवारै बस्दै छ । यसमा कांग्रेस संसदीय दलले ह्वीप लगाउने प्रस्ताव त ल्याउँदैन ? भन्ने जिज्ञासामा सांसद गिरीले यो विषयमा ह्वीप लगाउने अवस्था नहुने बताए ।
यदि ह्वीप लागिहालेको खण्डमा पनि आफूहरुले ह्वीपभन्दा पनि विवेकलाई सर्वोपरी ठान्दै प्रस्तावको पक्षमा नै मतदान गर्ने सांसद गिरीले बताएका छन् । ‘हामी आशावादी मात्र होइन, पूर्णरुपमा विश्वस्त पनि छौं, प्रस्तावको पक्षमा दुई तिहाई बहुमत पुग्ने छ, किनकि स्थायी राजधानीका लागि आएको प्रस्ताव नै विवेकपूर्ण छ’, गिरीले भने– ‘यसमा प्रदेश सरकारलाई विशेष धन्यवाद दिन पनि चाहन्छौं ।’ ह्वीप लाग्न सक्ने नसक्ने विषयमा केन्द्रीय नेतृत्वसँग पनि कुरा भइरहेको उल्लेख गर्दै केन्द्रीय नेताहरुको आशय पनि प्रस्तावको पक्षमा मतदान गर्न सल्लाह दिएको पनि गिरीको अभिव्यक्ति थियो ।
कानुन तथा आन्तरिक मामिला मन्त्री कुलबहादुर केसीले पाँच नं. प्रदेशको स्थायी मुकाम तथा नामाकरणको प्रस्तावलाई लिएर सोमवार विहान नेकपा संसदीय दलको विशेष बैठक बस्दैछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेको पनि संसदीय दलको बैठक आज सोमवार विहानै बस्दैछ । त्यसपछि दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ । प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री केसीले राखेको प्रस्तावउपर छलफलको कार्यक्रम रहेको छ ।
छलफलमा आएका विषयबस्तुका विषयमा सभामुखले सहजीकरण पनि गर्ने कार्यक्रम तय भएको छ । सम्भवतः प्रस्तावका पक्ष–विपक्षमा मंगलवार दिउँसो मतदान हुनेछ । मतदानको परिणाम पनि मंगलवारै सार्वजनिक गरी प्रदेशको नामाकरण र स्थायी राजधानी विधिवतरुपमा घोषणा गरिने छ ।