अमरराज आचार्य
दाङ, १९ असोज । कुनै बेला नेपालकै दोस्रो ठूलो भन्सारका रुपमा रहेको दाङलाई भारतसँग जोड्ने सीमावर्ती कोइलाबास पछिल्लो समयमा केही दशक सुस्तायो । अहिले सडकको स्तरोन्नति भएसँगै कोइलाबासमा फेरि चहल–पहल हुन थालेको छ ।
अहिले भने कोइलाबास आन्तरिक पर्यटकको रोजाइँको केन्द्र बन्न थालेको छ । दैनिकजसो कोही न कोही आन्तरिक पर्यटक कोइलाबास पुगेर फर्कन थालेका छन् ।
शनिवार आन्तरिक पर्यटकहरुको एक हुल साइक्लिङ गर्दै कोइलाबास पुग्दा यहाँका स्थानीयबासीहरुमा पनि कोइलाबास पुरानै अवस्थामा फर्कनेमा आशा पलाएको स्थानीयबासीले अनुभूति गरे । अचेल फाटफुट रुपमा जिल्लाका युवाहरु पनि विदा मनाउन कोइलावाससम्म पुग्ने गर्न थालेका छन् । जसले गर्दा चहल–पहल समेत बढ्न थालेको छ ।
जिल्लाका विभिन्न स्थानबाट मानिसहरु घुम्नका लागि कोइलावाससम्म पुग्ने गरेका छन् । घोराही निवासी रत्नराम बञ्जारा पहिलोपटक आफ्नो परिवारसहित घुम्नका लागि कोइलावाससम्म पुगे । कोइलाबास पहिलोपटक पुगेका बञ्जाराले कोइलाबाससँगै सीमाबजार तथा त्यहाँ रहेका धार्मिक सम्पदाको पनि अवलोकन गर्न पाउँदा आफूलाई निकै आनन्द लागेको बताए । घोराहीमा बसेको धेरै भए पनि उनी अहिलेसम्म कोइलावास पुगेका थिएनन् । तर अहिले बाटो बनेपछि कस्तो रहेको छ भनेर घुम्न गएको उनले बताए । ‘घोराहीबाट कोइलावाससम्म पुग्न बाटो सहज हुँदा डेढ घण्टामै पुगियो’, बञ्जाराले भने । बाटो पक्की भएकाले पुग्न सहज भएको उनले बताए ।
कोइलावासमा रहेको रामजानकी मन्दिरमा गएर धेरै समय बिताएको उनले स्मरण गरे । जनकपुरमा जस्तै रामजानकीको मन्दिर रहेको उनले बताए । ‘आफ्नै जिल्लाको नाका कस्तो अवस्थामा रहेको छ भनेर हेर्ने इच्छा भएकाले गएको हुँ’, उनले भने । पहिले नूनदेखि सुनसम्म यहीबाट ल्याउने भनेको सुनेको थिए । त्यही स्थान आफैले हेरेर आएको उनले बताए । कोइलावासमा रहेको नेपाल भारत सीमानामा गएर फोटो समेत खिचेको उनले बताए । त्यही नाका भएर भारतको बजारसम्म पुग्ने उनको इच्छा भए पनि इच्छा पूरा हुन भने सकेन ।
कोरोना संक्रमण फैलन नदिनका लागि उक्त नाका भएर आवत–जावत गर्न नदिने भएकाले भारतको बजारसम्म जान नपाएको उनको भनाइ रहेको छ । कोइलावासलाई पर्यटकीय स्थल बनाउन सकिने उनले बताए । पर्यटकीय क्षेत्र बनाउन सकिएमा यस क्षेत्रको विकासमा समेत सहयोग पुग्ने उनी बताउँछन् । कोइलावासमा बजार भएमा घुम्न जानेहरुलाई पनि सहज हुने बञ्जारा बताउँछन् । उनीजस्तै पछिल्लो समयमा धेरैको घुम्ने स्थानको रोजाइँ बन्दै गएको छ, कोइलावास ।
कोइलावास आउनेहरुको दैनिक चाप बढ्दै गएको गढवा गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष सद्धाम सिद्धीकीले बताए । अन्य दिनमा भन्दा विदाको समयमा बढी आउने गरेको उनको भनाइ रहेको छ । ‘विदाको दिनमा दैनिक हजारभन्दा बढी आउने गर्नुभएको छ’, अध्यक्ष सिद्धीकीले भने । विदा बाहेकका दिनका दैनिक डेढ सयदेखि २ सयसम्म आउने गर्नुभएको छ । अहिले दाङ जिल्लाभित्रका मात्र आउने गरेको उनको भनाइ रहेको छ । कोरोनाका कारण बाहिरका मानिस नआएको उनले बताए ।
दाङको लमही, घोराही, तुलसीपुर, भालुवाङलगायतका स्थानबाट मानिसहरु आउने गरेको उनी बताउँछन् । ‘बावु बाजेले नूनदेखि सुनसम्म ल्याउने स्थान कस्तो रहेछ भनेर हेर्ने आएका हौं भन्ने गर्नुहुन्छ’, अध्यक्ष सिद्धिकीले भने । भारतबाट पनि धेरै पहाड हेर्नका लागि कोइलावास आउने गरे पनि अहिले कोरोना संक्रमण फैलन नदिनका लागि आवत–आवतमा रोक लगाएका कारण भारतबाट मानिस नआएको अध्यक्ष सिद्धिकी बताउँछन् । पहिले चलेको नाकालाई पुनः सञ्चालनमा ल्याउनका लागि प्रयास गरिरहेको उनको भनाइ रहेको छ । यसका लागि विस्तारै आवश्यक पर्ने पूर्वाधारको विकास गर्दै गएकोे उनी बताउँछन् ।
कोइलावासलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफूहरु लागिपरेको बताए । भारतीय मानिसलाई नेपालसम्म ल्याउन र नेपालकालाई कोइलावाससम्म पु¥याउन आवश्यक रहेको उनले बताए । पर्यटकीय क्षेत्रको विकास गर्न सकिएमा यस क्षेत्रको विकासमा समेत सहयोग मिल्ने अध्यक्ष सिद्धिकीको उनको भनाइ रहेको छ ।