नेतृत्वका लागि जिल्ला दौदाहामा व्यावसायिक नेताहरु

गोरक्ष समाचारदाता
दाङ, १९ असोज । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आउँदो निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोर प्रधानले उद्योग वाणिज्य संघमा परिवर्तनको जरुरी रहेको बताएका छन् ।

यसका लागि सुदृढीकरण र शुद्धीकरणको आवश्यक रहेको उनको भनाइ रहेको छ । सुदृढीकरण र शुद्धीकरण गरेर अगाडि बढेमा संस्थामा परिवर्तन गर्न सकिने उनले बताए । यसै अभियानलाई सार्थकता दिनका लागि नेपाल उद्योग वाणिज्य महासंघको आफ्नो वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी रहेको बताएका छन् ।

चुनावी प्रचार–प्रसारका क्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन् । ‘संस्थालाई बलियो बनाएर राज्यसँग आफ्नो अधिकार लिनका लागि लड्न आवश्यक छ’, प्रधानले भने । आफ्नो अधिकारका लागि आफै नै सक्रिय हुनुपर्ने उनको भनाइ रहेको छ ।

लामो समयदेखि व्यवसायीहरुको पक्षमा रहेकाले आफूले व्यवसायीहरुको समस्या बुझेको र त्यसको समस्या समाधानका लागिपर्ने उनले बताए । ‘मैले साना व्यवसायदेखि ठूला व्यवसायीहरुको मर्म राम्रोसँग बुझेको छु अहिले पनि उहाँहरुको साथमा नै रहेको छु’, उनले भने । त्यसैले समस्याको समाधान गर्नका लागि आफू नेतृत्वमा जान चाहेको बताए ।

देशभर रहेका जिल्ला, नगर, उद्योग वाणिज्य संघहरुको समस्याका बारेमा आफू जानकार रहेको भन्दै सयस्या समाधान गरी अगाडि बढ्ने समेत उनले बताए । आफूलाई काम गर्ने अवसर दिनसमेत उनले आग्रह गरे ।

त्यसैगरी प्रचार–प्रसार अभियानकै क्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पदका उम्मेदवार दिनेश श्रेष्ठले आफूहरुको टिमले निजी क्षेत्रको समस्या बुझेको बताए । निजी क्षेत्रको समस्या समाधान गर्ने आफूहरु अगाडि बढेको बताए । ‘नयाँ गन्तव्यको यात्रामा रहेका छौं यस यात्रामा सबैको सहयोग रहेने छ’, उनले भने ।

जिल्ला नगरबाट आउने सुझाव सल्लाहअनुसार आफूहरु अगाडि बढ्नेसमेत बताए । ‘हामीहरु तपाईहरु सँगसँगै छौं, यहाँहरुको पनि पक्कै पनि सहयोग रहनेछ’, उनले भने । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले निजी क्षेत्रका नेतृत्वले निजी क्षेत्रमा देखिने समस्याको समाधान गरेर अगाडि बढ्नुपर्ने बताए ‘नेतृत्वले हरेक क्षेत्रमा प्रभावकारीरुपमा काम गर्ने सक्नुपर्दछ’, अध्यक्ष भुसालले भने । केन्द्रीय नेतृत्वले जिल्ला, नगर उद्योग वाणिज्य संघका समस्या बुझ्न सक्नुपर्ने बताए । समस्या बुझेर समाधान गर्नेतर्फ लाग्न समेत उनले आग्रह गरे ।

त्यसैगरी सो व्यवसायी नेताहरुको टोलीलाई तुलसीपुर उद्योग वाणिज्य संघले पनि स्वागत गरेको छ । संघका अध्यक्ष बीरु रावत, निवर्तमान अध्यक्ष विमल रिजाललगायत तुलसीपुर उद्योग वाणिज्य संघका सबै पदाधिकारीहरुले व्यावसायिक नेतृत्वलाई स्वागत गरेको थियो ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल पनि केन्द्रीय सदस्यका उम्मेदवार भएकाले सहयोग आदान–प्रदानमा तुलसीपुर उद्योग वाणिज्य संघ हातेमालो र सहकार्य गर्न तयार रहेको संघका पदाधिकारीहरुले बताएका थिए । यसअघि सो टोली रोल्पा उद्योग वाणिज्य संघमा पनि चुनावी अभियान लिएर पुगेको थियो भने लमही उद्योग वाणिज्य संघमा पनि आइतवार आसन्न उद्योग वाणिज्य संघको निर्वाचनका विषयमा छलफल आदान–प्रदान भएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आउँदो मंसिरमा हुँदैछ । यसअघि तय गरिएको निर्वाचन कोरोनाका कारण पछि सरेको हो । नेपाल सरकार गृहमन्त्रालयले आगामी मंसिर १० र ११ गते महासंघको निर्वाचनका लागि स्वीकृति प्रदान गरिसकेपछि व्यवसायी नेताहरु चुनावी अभियानमा जिल्ला दौडाहामा लागेका छन् ।