देउखुरी राजधानी र नाम लुम्बिनी प्रदेशको कांग्रेसद्वारा स्वागत

दाङ, १८ असोज । प्रदेश नं. ५ को राजधानी देउखुरी र लुम्विनी प्रदेश नाम राख्ने प्रदेश सरकारको निर्णय स्वागत योग्य काम भएको नेपाली कांग्रेस क्षेत्र नं. १ ले जनाएको छ ।

क्षेत्रीय सभापति भेषराज पाण्डेयले आइतवार विज्ञप्ति जारी गर्दै प्रदेश नं. ५ सरकारले प्रदेशको भौगोलिक केन्द्रका रुपमा रहेको प्रस्ताविक ठाउँमा नै प्रदेश राजधानी बनाउने निर्णयको स्वागत योग्य भएको जनाएको हो ।

‘आ–आफ्नो भेगतिर राजधानी भै दिए हुन्थ्यो भन्ने चाहना रहनु स्वभाविकै मानिएला तर समग्र प्रदेशको भौगोलिक केन्द्र रहेको प्रस्ताविक ठाउँलाई कुशलतापूर्वक यकिन गरी निर्णयार्थ संसदमा दर्ता गर्ने कार्यलाई उच्च सम्मान गर्दछौ’–क्षेत्रीय सभापति भेषराज पाण्डेयद्वारा हस्ताक्षेरित विज्ञप्तिमा भनिएको छ ।साथै विज्ञप्तिमा माननिय संसदहरुलाई न्यायपूर्ण रुपमा मतदान गरि संसदबाट सर्वसहमतिमै प्रदेशको नाम र केन्द्र टुङ्गो लगाउन समेत आग्रह गरिएको छ ।

‘छिमेकी जिल्ला अर्घाखाचीको सितगंगा नगरपालिकाको केही भागलाई समेटिएर दक्षिण एसियाकै दोश्रो ठुलो उपत्यका रहेको दाङ जिल्लाको केही भाग भौगोलिक रुपमा पनि प्रदेशको समदुरीमा अवस्थीत रहेको छ’–उनले भने–‘त्यस्तो भूमीलाई राजधानी चयन गर्ने र उक्त प्रदेशको नाम विश्वशान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मभुमि लुम्विनी नामाकरण गर्ने सरकारको प्रस्तावलाई हार्दिक स्वागत समर्थन गर्दछौ ।’