त्यो बेला पनि पैसा बिक्ने बजार थियो, भालुवाङ

दाङ,१८ असोज । म अहिले ७७ वर्ष भर्खरै नाघेको छु । पाँच नम्बर प्रदेशसभाले स्थायी राजधानी भालुवाङलाई प्रस्ताव गरेपछि मैले त्यो बेलाको भालुवाङलाई यसरी स्मरण गर्न चाहन्छु, अर्थात् पैसा बिक्ने नजिकको बजार थियो, भालुवाङ ।

हाम्रो नून, तेल र लत्ताकपडाको बजारका रुपमा दुईवटा सीमावर्ती बजारहरु थिए । सायद ५७ वर्ष अघिको इतिबृतान्त मैले तपाईं सामू पोख्न चाहन्छु । प्यूठानी, रोल्पाली र अर्घाखाँची तथा दाङका पनि केही भूभागका स्थानीयबासीको बजार प्रस्थानको संगमस्थल थियो भालुवाङ । हामी भालुवाङमा जुटेपछि एउटा सल्लाह हुन्थ्यो, कोइलाबास जाने कि झण्डीनगर (हालको कृष्णनगर) । उस्तै–उस्तै दूरी पथ्र्यो दुवै सीमावर्ती बजार पुग्न । भालुवाङ आइपुग्न दुई दिन लाग्थ्यो, पैदल यात्रामा ।

यी दुई दिनका लागि खाना पकाउने भाँडाकुँडा, सुत्ने कम्मल, पाखी बोकेर आउनुपथ्र्यो तर अचम्म लाग्थ्यो, त्यो बेला पनि भालुवाङमा ८÷१० वटा होटलहरु थिए । भाँडाकुँडा थन्क्याएर हामीले राइरंगो गर्ने सानो बजार भालुवाङ थियो, अहिलेको भालुवाङ होइन नि, पुरानो भालुवाङ । कहिलेकाहीँ खाना सहित सुत्ने कोठा समेत पाइन्थ्यो, पैसा तिरेपछि तर प्याक भएकाबेला दलानमै सुत्थ्यौँ, लस्करै ।

हामी धेरै हुलमा बजार आउँथ्यौँ । किनकि प्यूठान होस् वा रोल्पा र अर्घाखाँचीको पश्चिमी बेल्टका मान्छेहरु । एकपटक बजार गरेर फर्कन कम्तिमा ७ दिन लाग्थ्यो, कहिलेकाहीँ ६ दिनमै पनि घर पुग्थ्यौँ । पहाडी पैदलमार्ग छिचोल्दै तराई झरेपछिको भाुलवाङले हाम्रो थकाईलाई मेटाउँथ्यो ।

त्यसपछि सरसल्लाह गरेर नून–तेल लिन सीमावर्ती भारती बजारतर्फ । राप्ती नदीमा त्यो बेला पुल थिएन तर धेरैपछि पूर्व–पश्चिम राजमार्गको निर्माण सुरु भएपछि हालको पुल्चोक बजारमा केही चहलपहल हुन थालेको हो । मैले तपाईंलाई पुल्चोक बजार बन्नुभन्दा पहिलेको कुरा स्मरण गराउन चाहन्छु ।

भालुवाङ पुगेपछि हामी धेरैजसो झण्डीनगर हानिन्थ्यौँ, कहिलेकाहीँ कोइलाबासमा पनि । दुवै बजारमा गाडीमा होइन पैदल यात्रामा । फेरि फर्केपछि बास बस्ने बजार पनि यहीँ हुन्थ्यो । त्यसको दुई दिनपछि मात्रै हामी नूनको भारी बोकेर घर पुग्थ्यौँ । मैले त त्यो बेला बस्नु विनिमय गरिनँ तर त्यो बेला बस्नु विनिमयको पनि अभ्यास थियो । हाम्रो गाउँका दाजुभाइहरुले कसैले भाँगो, कसैले दाल त कसैले जडिबुटी पनि ल्याएर कोइलावास र कृष्णनगरमा विनिमय गर्ने । भागोसँग चामल र नून साट्ने पनि चलन थियो ।

मलाई याद छ, कोइलाबास जाने क्रममा आम्बास भन्ने स्थानमा त घोडा पनि पाइन्थे तर हामी पैसा कम हुनेले घोडा चढेर कोइलाबास जाने कल्पनै हुन्नथ्यो । हामी घोडाका पछिपछि भारी बोकेर कोइलाबासबाट जमुनीवास, अम्बास हुँदै भालुवाङ आएर भारी बिसाउँथ्यौँ । कहिलेकाही अचेलको लमही बगैचा हुँदै कोइलाबास छिर्दा सल्यान रुकुमकाहरुसँग पनि भेटघाट र भलाकुसारी हुन्थ्यो ।

हामी कोइलाबास आउने–जाने क्रमसँगै पूर्व–पश्चिम राजमार्ग पनि निर्माण हुन थालिसकेको थियो । अहिलेको पुल्चोक बजार त सडक निर्माण कम्पनीले अस्थायी डेरा गराएको स्थल मात्रै हो । खासमा भालुवाङ भनेको त हालको पुरानो भालुवाङ बजार हो । पुल र सडक निर्माणकै क्रममा हालको भालुवाङ बजारमा बजार विस्तार हुन थाल्यो । कसैले होटलका रुपमा व्यापार गर्न थाले, कसैले पसलका रुपमा व्यापार गर्न थाले । यसै गर्दागर्दै अहिलेको भालुवाङ बजार पनि बस्यो ।

त्यसो त म त्यसपछि अध्ययनका क्रममा बनारस जाँदा पनि यही बाटो पछ्याउनुपथ्र्यो । त्यसपछि त भालुवाङको समिप्यता पनि बढ्दै गयो । भालुवाङ बजार तीन जिल्लाको उद्गम स्थल यो मानेमा पनि हो कि अहिलेको भालुवाङ बजारबासीको तथ्याङ्क लिने हो भने पनि रोल्पा, प्यूठान र अर्घाखाँचीका स्थायीबासीको वाहुल्यता भएको व्यापारिक केन्द्र हो, भालुवाङ ।

यही बजार हिँड्दाहिँड्दै म कम्युनिष्ट पार्टीको राजनीतिसँग पनि जोडिएँ । त्यसबेला नेपाल मज्दुर किसान पार्टीका नेता नारायणमान विजुक्छेसँग भेट हुँदा उहिल्यै भनेका थिए– ‘गोविन्दजी ! दाङ त केन्द्रीय राजधानी बन्ने जिल्ला हो नि, सबैभन्दा फराकिलो, सुरक्षित, वातावरणीय हिसाबले उपयुक्त अनि सबैलाई पायक पर्ने यति फराकिलो जिल्लालाई मैले संघीय राजधानीका रुपमा प्रस्तुत गर्दा तपाईंलाई कस्तो लाग्ला ?’ मैले मुस्कुराएको मात्रै थिएँ, किनकि विजुक्छेको विचार ठूलो भए पनि दल सानो थियो ।

अहिले ठूलो दल भएका कारण दाङको भालुवाङलाई स्थायी मुकामका रुपमा प्रस्ताव गरिएकोमा धन्यवाद व्यक्त गर्न चाहन्छु । केके नेकपा मालेका केन्द्रीय सल्लाहकार हुन् ।

प्रस्तुती : खेमराज रिजाल