घोराही–कोइलावास साइकल

गोरक्ष समाचारदाता
दाङ, १८ असोज । घोराहीदेखि सीमानाका कोइलावाससम्म साइकल राइड गरिएको छ । दाङ साइकल सिटीको आयोजनामा शनिवार घोराहीदेखि नेपाल–भारत सीमा नाका कोइलावाससम्म पहिलो पटक साइकल यात्रा भएको हो ।

शनिवार घोराही हुँदै कोइलावाससम्म साइकल यात्रा गरिएको साइकल संघका दाङका अध्यक्ष रेशम केसीले बताए । ‘हामी करिब १७÷१८ जना युवाहरु घोराहीदेखि कोइलाबाससम्मको ५६ किलोमिटर दूरीमा साइकल यात्रा गरी अहिले फर्किरहेका छौँ’–अध्यक्ष केसीले भने–‘नयाँ ठाउँमा पहिलो पटक भएको यात्रा निकै रमाइलो भयो ।’

लमही–कोइलावास हुलाकी सडक स्तरोन्नति भएसँगै कोइलावासमा चहलपहल बढ्न थालेको छ । जिल्लाको पुरानो नाकासँगै पर्यटकीय दृष्टिकोणले पनि कोइलावासलाई बाहिर ल्याउनका लागि आपूmहरुले साइकल राइडको आयोजना गरेको अध्यक्ष केसीले बताए ।

‘साइकलमा घोराहीबाट करिब–करिव ६ घण्टामा कोइलावास सीमानाकामा पुगिने रहेछ’–उनले भने–‘ देउखुरीको समथर मैदानसँगै पहाडी क्षेत्रमा साइक्लिङ गर्न उपयुक्त देखिएको छ ।’

१२ बजे कोइलावास पुगेको उक्त साइकलयात्रीहरुको टोलीले गढवा गाउँपालिका वडा नं. ८ का अध्यक्ष सद्धाम सिद्दिकीलगायतका व्यक्तिहरु भेटघाट गरी त्यहाँको अवस्थाको बारेमा जानकारी लिने काम गरेको थियो । दाङको पर्यटन क्षेत्रको विकाससँगै जिल्लालाई साइकल सिटीका रुपमा विकास गर्ने उद्देश्यले साइकल राइडको आयोजना गरिएको बताए ।

त्यस्तै नयाँ ठाउँको पहिलो साइकल यात्राले रमाइलो अनुभूति दिलाएको साइकलयात्री समेत रहेका पत्रकार नारायण खड्काले बताए । साइक्लिङले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले यसप्रति युवा पुस्ताको आकर्षण बढेको हो ।

तुलसीपुरमा महिला पुरुष गरेर ५० जना जति, घोराहीमा ४० जना जति र लमही क्षेत्रमा १२ र १५ जना जति साइकल राइडर तयार भएका छन् । जिल्लाका सहरहरुमा भने साइकल लेन बनाउनुपर्ने आवाज पनि सँगसँगै उठ्न थालेको छ ।

‘हाम्रो उद्देश्य रुट चेक पनि गर्ने हो’–अध्यक्ष केसीले भने–‘हाम्रो नाकामा हेर्नलायक धार्मिक र पर्यटकीय महत्वको ठाउँ के रहेछ ? भनेर पत्ता लउनु पनि हो ।